प्रधानमन्त्री रोजगार कार्यक्रम उपलब्धी विहीन, विज्ञ भन्छन्: दाताको पैसाले झार उखेलियो

प्रधानमन्त्री रोजगार कार्यक्रम उपलब्धी विहीन, विज्ञ भन्छन्: दाताको पैसाले झार उखेलियो

काठमाडौँः प्रधानमन्त्री रोजगार कार्यक्रम उपलब्धी विहीन देखिएको छ । दातृ निकायबाट ऋण लिएर कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम उपलब्धी विहीन देखिएको हो ।

अर्थविद् केशवराज आचार्यले विदेशी दाताबाट सहयोग लिएर झार उखेल्ने, कुचो लगाउने, सरसफाइ गर्ने काम गर्न नहुने बताउँछन् । ‘यस्तो काम विदेशी पैसामा नभई स्थानीय तहले आफ्नै स्रोतमा गर्न सक्छन्’, उनले भने ।

सरकारले यस वर्ष २ लाखलाई न्यूनतम रोजगारी दिने लक्ष्य लिएकोमा १ लाख ६९ हजार १९ जनाले रोजगारी पाएका छन् । सय दिने रोजगारी दिने घोषणा गरिए पनि बेरोजगारले औसतमा ६९ दिन रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट ऋण लिएको छ । ऋण लिएर कार्यक्रम सञ्चालन गरिए पनि बजेट सदुपयोग हुन सकेको छैन । स्थानीय तहले मनलाग्दी खर्च गर्ने गरेकाले प्रधानमन्त्री रोजगारको बजेट दुरुपयोग भएको अर्थविद्हरु बताउँछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १६ हजार २ सय ६८ आयोजना सम्पन्न भएका छन् । आयोजना छनोट प्रभावकारी नहुँदा बजेट दुरुपयोग भएको छ । बजेट खर्च गर्नका लागि मात्रै आयोजना छनोट गरिएकाले प्रभावकारिता घट्दै गएको छ ।

पूर्वसम्भाव्यता अध्ययन, विस्तृत योजना निर्माण भइसकेपछि मात्रै प्रोजेक्ट इन्चार्ज नियुक्त गरेर आयोजना सम्पन्न गर्न सके दिगो हुने अर्थविद् आचार्य बताउँछन् । ‘यसो गर्न सक्दा विदेशी सहयोग लिन सकिन्छ ।’उनले भने,‘पैसा बाड्नका लागि मात्रै विदेश ऋण लिनु आवश्यक छैन ।’

अर्थविद् आर्चायका अनुसार प्रधानमन्त्री रोजगार कार्यविधि नै स्पष्ट नभएको बताए । ‘कार्यविधि नै स्पष्ट नभएकाले बजेट दुरुपयोग भएको छ ।’ उनले भने । सरकारले ज्यालामा मात्रै बजेट विनियोजन गर्ने भएकाले स्थानीय तहले आयोजनामा बजेट विनियोजन गर्न सकेका छैनन् । कतिपय स्थानीय तहमा रोजगार संयोजक समेत छैन् । श्रम मन्त्रालयले संघीय तथा सामान्य प्रशासन मन्त्रालयमार्फत खर्च नभएको रकम फिर्ता गर्न निर्देशन जारी गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले आर्थिक वर्ष २०७७ मा १० अर्ब ३४ करोड बजेट छुट्टाएको छ । त्यसमध्ये ज्यालामा मात्रै ५ अर्ब ७३ करोड ४९ लाख बजेट खर्च भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सय दिने रोजगारी गर्नका लागि ७ लाख ५२ हजार ९ सय ७३ जना बेरोजगार सूचीकृत भएका थिए । १० वटा स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । मन्त्रालयका अनुसार ७ सय ४३ तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको छ ।

कम्तीमा सय दिन रोजगारी पाउने गरी सरकारले उक्त कार्यक्रम अघि सारे पनि यसअघिका वर्षहरुमा औसत १३ दिन मात्रै पुगेको थियो । मजदुरले दैनिक पाँच सय १७ रुपैयाँ पाउने गरी सय दिन काम गर्दा ५१ हजार ७ सय रुपैयाँ आम्दानी गर्न सक्छन् ।

व्यावसायिक, कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात, पूर्वाधार तथा तीनै तहका सार्वजनिक निर्माण समेटिए पनि योजना छनोट प्रभावकारी हुन सकेको छैन । पैसा बाड्नका लागि मात्रै काम गराएर पैसा खर्च भइरहेको जानकारहरु बताउँछन् ।

अर्थविद् आचार्यले नजिकका स्थानीय तह मिलेर बृहत परियोजना सञ्चालन गर्न सक्नुपर्ने बताउँछन् । ‘परियोजना छनोट दीर्घकालीन हुनुपर्छ’ उनले भने ।

सरकारले काम र रोजगारीलाई प्राथमिकता दिँदै हरेक तहबाटै स्थानीयलाई न्यूनतम सय दिने रोजगारी दिने ग्यारेन्टी गरे पनि पूरा गर्न सकेको छैन ।

सरकारले आउँदो पाँच वर्षभित्र वैदेशिक रोजगारीका लागि  वाध्यात्मकरुपमा विदेश जानु नपर्ने गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमको लक्ष्य भए पनि रोजगारी सिर्जना गर्न सकेको छैन । सुरुमा ५ लाखलाई रोजगारी दिने सरकारले उद्घोष गरेपनि डेढ लाख भन्दा केही बढीलाई मात्रै काम दिन सकेको छ । स्वदेशमै निर्माणाधीन ठूला आयोजनामा काम गर्ने कामदारको पनि अभाव बढ्दै गएपनि श्रमिकको क्षमता बढ्नेगरी कार्य गर्न सकेको छैन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न रोजगार ऐन, रोजगार नियमावली र निर्देशिका बनाएको छ । उत्पादनमैत्री वातावरण नभएकाले रोजगार सिर्जना गर्न चुनौती भएको निजी क्षेत्रले बताउँदै आएको छ । राज्यले रोजगार नीति अबलम्वन गर्न नसकी हचुवाको भरमा कार्यक्रम ल्याएकाले यसको प्रभावकारीता नरहेको अर्थविद्हरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.