पत्रकारको मोटरसाइकलमा लागुऔषध राख्ने दुई प्रहरी निलम्बित, निर्दोष पत्रकार छुटे
रौतहट : पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन्। प्रहरी संगठनको आचरणविरुद्ध कार्य गरेको भन्दै एक जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका हुन्।
घटनामा संलग्न भएका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। गत साउन ३२ गते पत्रकार मोहम्मद मोजुबुल्लाहको मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेर पक्राउ गरिएको थियो। उनी निर्दोष देखिएपछि सोमबार छुटेका छन्।
रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहले पत्रकार महासंघ रौतहटका सहसचिव सजय सहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोटरसाइकलमा लागुऔषध राख्न लगाएको पाइएको जानकारी दिए।
गौरस्थित ग्रिन सिग्नल होटलमा खाजा खान बोलाएर आफुलाई फसाएको हिरासतबाट छुटेका पत्रकार मो.मोजुबुल्लाहले बताए। नेपाल पत्रकार महासंघ जिल्ला , प्रदेश र केन्द्रले पत्रकार पक्राउ घटनाको छानबिन हुनुपर्ने दोषिमाथि कारबाही हुनुपर्ने माग राख्दै विज्ञप्ति निकालेका छन्।