अर्घा भगवती विमानस्थलको दोस्रो चरणको निर्माण शुरु
सन्धिखर्क:अर्घाखाँचीको सन्धिखर्कमा १० शिखरबार्नीमा निर्माण हुँदै गरेकाे अर्घा भगवति विमानस्थलको दोस्रो चरणको निर्माण कार्य शुरु भएको छ ।
पहिलो चरणको विमानस्थल निर्माणको काम सकिएको झण्डै एक बर्षपछि दोस्रो चरणको निर्माणको काम सोमबारदेखि शुरु गरिएको हो । सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली सहित वडाका सरोकारवालाको उपस्थितिमा काम शुरु गर्न थालिएको छ ।
८ करोड १० लाखको दोस्रो चरणको निर्माण कार्यको लागि प्रदिप प्रतिभा खनाल ब्रदर्श जेभीले ३ करोड ५६ लाखमा ठेक्का पाएको छ । जसअन्तर्गत एक लाख ८० हजार घन मिटर माटो कटिंग, १ लाख ७६ हजार माटो बोक्ने, ३९ सय घन मिटर फिलिंग र १८ सय घन मिटर ग्याभींग जालीको काम रहेको निर्माण व्यवसायी कविराम खनालले बताएका छन् ।
काम गर्नको लागि नागरिक उड्यन प्राधिकरणसँग एक बर्षको सम्झौता भएपनि तोकिएको मिति भन्दा कम आउँदो माघ १ गतेसम्म सबै काम सम्पन्न गर्ने निर्माण व्यवसायी खनालले बताए । स्थानीय बयोबृद्ध देवकीनन्दन भुसालले वैदिक विधिपुर्बक पुजाआजा गरेपछि विमानस्थलको दोस्रो चरणको निर्माण कार्यको शुभारम्भ गरिएको हो ।
शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, सदस्य ऋषिकेस भुसाल, राजनितिक दलका नेता तथा समाजसेवीहरु नारायण चुँदाली, राजेन्द्र जिसि, हरि मरासिनी, ठाकुर आचार्य, वडा सचिव धर्मराज भुसाल, सामुदायिक वनका अध्यक्ष रामजी मरासिनी, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कुशल भुसाल, आदर्श , स्थानीय विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज भुसाल, शिक्षक खगेश्वर नेपाली, हुमबहादुर बिक, निर्माण व्यवसायी कविराम खनाल, भोजराज भुसाल लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला बासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाइ यात्रा गरिरहेका छन । आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाडौं गई काम सकेर साझ घर फर्कन सक्ने सपना देखेका जिल्लाबासीको सपना पुरा हुन कति बर्ष लाग्ने हो त्यो भने हेर्न बाकी छ ।