विश्‍वभर आजः अफगानिस्तानबाट सेना फिर्ता नगर्न अमेरिकालाई दबाब, तालिबानसँग सिआइएको गोप्य वार्ता

विश्‍वभर आजः अफगानिस्तानबाट सेना फिर्ता नगर्न अमेरिकालाई दबाब, तालिबानसँग सिआइएको गोप्य वार्ता

मिसाइल आपूर्तिका लागि टर्कीसँग नयाँ सम्झौता गर्दै रुस

मस्को: मिसाइल आपूर्तिका लागि रुसले टर्कीसँग चाँडै नयाँ सम्झौता गर्ने जनाएको छ । एस–४०० सैन्य सुरक्षा मिसाइल प्रणाली आयातको लागि रुसले टर्कीसँग चाँडै नयाँ सम्झौता गर्ने रुसी सरकारी सैन्य हतियार निर्यातकर्ता रोसोबोरोनेस्पर्टले जनाएको छ ।

‘बढी भन्दा बढी एस–४०० सैन्य सुरक्षा मिसाइल प्रणाली आयातका लागि रुस र टर्कीबीच छलफल जारी छ । मिसाइल आपूर्तिको विषय अन्तिम चरणमा पुगिसकेकोले टर्कीसँगको नयाँ सम्झौता चाँडै हुनेमा म विश्वस्त छु’ इन्टरनेसनल टेक्निकल फोरम ‘आर्मी–२०२१’ फोरममा सोमबार रोसोबोरोनेस्पर्टका कार्यकारी निर्देशक एलेक्जेन्डर मिखिभले भनेका छन् ।

सन् २०२१ मा रुसले सैन्य हतियार आयातमा करिब ८.६ विलियन अमेरिकी डलरको खर्च गरेको पनि मिखिभले जानकारी दिएका छन् । रुस  र टर्कीबीच एस–४०० मिसाइल प्रणाली आपूर्तिबारे सन् २०१७ मा पहिलो पटक सम्झौता भएको थियो । सन् २०१९ जुलाईमा टर्कीले पहिलो पटक ढुवानी गरेको थियो ।

टर्की एस–४०० मिसाइल प्रणाली खरिद गर्ने नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नाटो) को पहिलो सदस्य मुलुक हो । एस–४०० मिसाइल प्रणाली रुसको अल्माज एन्टी आर्मस् म्यानुफ्याक्चरले उत्पादन र डिजाइन गरेको शक्तिशाली हतियार हो । जसले ४ सय किलोमिटरको दूरी र ३० किलोमिटर उचाइसम्म क्षति पुर्‍याउन सक्छ ।
०००

सेना फिर्तीको समयसीमा लम्ब्याउन अमेरिकामाथि दबाब

काबुल: अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको समयसीमा लम्ब्याउन अमेरिकामाथि दबाब परेको छ । अमेरिककाका अधिकारीहरुले ३१ अगष्टपछि पनि अफगानिस्तानमा सेनाको उपस्थिति कायम राख्ने या नराख्ने भन्ने विषयमा तत्काल निर्णय लिन राष्ट्रपति जो बाइडेनलाई दबाब दिएका छन् ।

काबुलबाट थप मानिस उद्धार गर्नुपर्ने भएकोले अफगानिस्तानबाट तत्काल सेना फिर्ता नगर्न अमेरिकाका साझेदारी मुलुकहरुले राष्ट्रपति बाइडेनलाई दबाब दिइरहेका छन् । मंगलबारका लागि तय गरिएको भर्चुअल जी ७ को शीर्ष बैठक ३१ अगष्टको समय सीमामा केन्द्रित हुनेछ । बेलायतले अफगानिस्तानबाट सेना फिर्ता नगर्न अमेरिकालाई पटकपटक दबाब दिइरहेको छ ।

यता तालिबानी नेताहरुले ३१ अगष्टभन्दा एक दिन बढी अफगानिस्तानमा सेना खटाए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिइसकेका छन् ।

काबुल एयरपोर्टमार्फत पछिल्लो २४ घण्टामा करिब १६ हजार मानिसको उद्धार गरिएको छ । यसअघि अमेरिकाले तोकिएकै समयमा आफ्ना सेना फिर्ता गर्ने र त्यहाँ भएका सबै मानिसको उद्धार गरिसक्ने बताएको थियो । १४ अगष्टपछि अमेरिकाले अफगानिस्तानबाट  करिब ४८ हजार मानिसको उद्धार गरिसकेको छ ।

हाल ५ हजार ८ सय अमेरिकी सेना अफगानिस्तानमा खटिएका छन् । राष्ट्रपति बाइडेनले ३१ अगष्टपछि पनि सेना फिर्ता गर्ने या नगर्ने भन्नेबारे २४ घण्टाभित्रमा निर्णय लिनेछन् ।
०००
काबुलबाट विमान अपहरणमा परेको युक्रेनका विदेशमन्त्रीको दाबी

युक्रेन: युक्रेनका विदेशमन्त्रीले अफगानिस्तानमा फसेका आफ्ना नागरिकको उद्धारका लागि काबुल पुगेको युक्रेनको विमान अपहरणमा परेको दाबी गरेका छन् ।

मंगलबार युक्रेनका विदेशमन्त्री येवगेनी यनिनले अज्ञात व्यक्तिद्धारा काबुलबाट आफ्नो विमान अपहरणमा परेको दाबी गरेका हुन् ।

‘हाम्रो विमान अपहरणमा परेको छ । आइतबार काबुल पुगेको विमान मंगलबार मात्र इरान पुगेको छ’ उनले भनेका छन्, ‘हतियारधारीले अपहरण गरी उद्धारका लागि पठाइएको विमान इरान पुर्‍याएका हुन् । युक्रेनको विमानमा युक्रेनका नागरिक नभई अज्ञात यात्रु सवार छन् । अफगानिस्तानमा फसेका आफ्ना  नागरिक बचाउन युक्रेन सरकारले गरेको तेस्रो प्रयास पनि असफल भएको छ ।’

साथै अफगानिस्तानको विभिन्न स्थानमा रहेका आफ्ना नागरिकलाई काबुल विमानस्थलसम्म आउन नदिइएको दाबी समेत विदेशमन्त्री येनिनले गरेका छन् ।

यद्यपि, युक्रेन सरकारले भने विदेश मन्त्री येनिनको दाबी अस्वीकार गरेको छ । तेहरान टाइम्सका अनुसार युक्रेनका नागरिक उद्धारको लागि काबुल पुगेको विमान अपहरणमा परेको मन्त्रीको दाबीको युक्रेन सरकारले बेवास्ता गरेको छ । 
०००

अफगानिस्तान मुद्दामा मोदी र पुटिनबीच वार्ता

नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अफगानिस्तानबारे मंगलबार वार्ता भएको छ ।

मोदी र पुटिनबीच करिब ४५ मिनेट लामो वार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले अफगानिस्तानको वर्तमान अवस्थाबारे लामो छलफल गरेको बताइएको छ ।

दुई देशका प्रमुखबीचको वार्ताले महत्वपूर्ण भूमिका खेल्ने भारतीय सञ्चारमाध्यमहरुको दावी छ । रुसले तालिबानको समर्थन गरिसकेको भारतीय सञ्चारमाध्यमहरुको दावी छ ।

तालिबानको विषयमा यसअघि भारतले अमेरिका र बेलायतसँग पनि छलफल गरिसकेको छ । सोही विषयमाथि छलफल गर्न मोदीले दुईपटक मन्त्रिपरिषदको बैठक पनि राखेका छन् ।
०००

श्रीलंकामा डेल्टा लहर बढ्यो, दाहसंस्कारको लागि कार्डबोर्ड

कोलम्बो: श्रीलंकाको देहिवाला माउन्ट शहरमा कोभिड १९ को डेल्टा भेरियन्ट तिब्र रुपमा फैलिएको छ । डेल्टा भेरियन्टको कारण मृत्यु हुनेहरुको दाहसंस्कारको लागि काठको सट्टा कार्डबोर्ड कफिन प्रयोग गरिएको बताइएको छ । 

हालसम्म करिब ५ सय कार्डबोर्ड निर्माण गरिएको बताइएको छ । प्रत्येक कार्डबोर्डको मुल्य ४ हजार ५ सय (श्रीलंकन मुल्य) रहेको बताइएको छ ।

डेल्टा भेरियन्टको कारण मृत्यु हुनेहरुको शव व्यवस्थापनको लागि धमाधम कार्डबोर्ड कफिन निर्माण थालिएको बताइएको छ । कार्डबोर्ड कफिन काठको तुलनामा सस्तो मानिन्छ ।

डेल्टा भेरियन्टको कारण श्रीलंकामा दैनिक करिब १८० मानिसको मृत्यु हुने गरेको छ भने हालसम्म देशभर ७ हजार ५ सय ६० को मृत्यु भइसकेको छ । कोलम्बो जिल्ला देहिवाला माउन्ट लेभिनीका प्रमुख शाहबन्दुका अनुसार कोभिडसहित अन्य रोगको कारण श्रीलंकामा दैनिक करिब ४ सय मानिसको मृत्यु हुने गरेको छ ।
०००

इजरायली सेनाद्धारा प्यालेस्टेनी किशोरको हत्या

जेरुसेलम: इजरायली सैन्य हमलामा परी प्यालेस्टानी किशोरको मृत्यु भएको छ । वेस्ट बैंकस्थित नाब्लुज शरणार्थी शिविर नजिकै बलाटा शरणार्थी शिविरमा भएको हमलामा परी मंगलबार १५ वर्षीय प्यालेस्टानी किशोरको मृत्यु भएको हो ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली सेनाको बन्दुक हमलामा परी १५ वर्षीय इमाद खलिद सालेहको मृत्यु भएको हो ।

सेनाले चलाएको गोली सालेहको टाउकोमा लागेको थियो । घटनापछि अस्पताल पुर्‍याइएको उनको उपचारका क्रममा मृत्यु भएको हो । इजरायली सेनाले सोमबार अचानक प्यालेस्टाइनी शरणार्थी बसेको बलाटा शरणार्थी शिविर घेरा हालेको थियो ।
०००

अमेरिकी गुप्तचरको तालिबानसँग गोप्य भेट

काबुल: अमेरिकी गुप्तरचर एजेन्सी सिआइएले तालिबानसँग गोप्य भेट गरेको छ । सिआइएका निर्देशक विलियम जे वन्र्सले तालिबानी नेता अब्दुल घानी बरादरसँग सोमबार काबुलमा गोप्य भेट गरेको बताइएको छ ।

वासिङटन पोष्टमा मंगलबार प्रकाशित समाचारअनुसार तालिबान समूहद्धारा काबुल कब्जा भएपछि सिआइए प्रमुख र तालिबानबीच प्रत्यक्ष भएको यो उच्चस्तरीय भेट हो । भेटबारे सिआइएले आधिकारिक सूचना जारी नगरे पनि तालिबानी नेता अब्दुल र सिआइए निर्देशकबीच ३१ अगष्टको समयसीमाबारे छलफल भएको र दुई शीर्ष व्यक्तिबीचको भेटको ठूलो कारण हुनसक्ने वासिङ्टन पोष्टले जनाएको छ । 
०००
श्रीलंकाका पूर्व विदेशमन्त्रीको कोरोनाबाट मृत्यु

कोलम्बो: श्रीलंकाका पूर्व विदेशमन्त्री मंगला समभिराको कोरोनाका कारण मृत्यु भएको छ । ६५ वर्षीय मंगलाको मंगलबार मृत्यु भएको हो । उनलाई गत अगष्ट महिनाको सुरुवातमा कोरोना संक्रमण देखा परेको थियो । संक्रमणपछि उनको अस्पतालमा उपचार भइरहेको थियो । दुई पटक विदेशमन्त्रीको पद सम्हालेका मंगलाले गत वर्ष राजनीतिबाट संन्नयास लिएका थिए ।
०००

कोभिडका कारण एसियाको विकासमा खतराः एडिबी

कोरोना महामारीका कारण एसिया क्षेत्रको विकासमा खतरा बढेको एसियाली विकास बैंक (एडिबी) ले जनाएको छ । एडिबीले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै सन् २०३० सम्ममा एसियाको समग्रम विकासमा खतरा रहेको बताएको छ ।

एसियाली क्षेत्रमा गरिबी र भोकमरी घटाउन तय गरिएको लक्ष्य सन् २०३० सम्ममा पुरा हुन नसक्ने जनाउँदै एडिबीले सो जानकारी दिएको हो । एडिबीको रिपोर्टअनुसार कोभिड महामारीका कारण स्वास्थ्य, शिक्ष र अन्य क्षेत्रमा खतरा झनै बढ्ने छ ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.