युद्धमा ध्वस्त बनेको अफगानिस्तानको अर्थतन्‍त्र तालिबान सरकारले कसरी उकास्ला ?

युद्धमा ध्वस्त बनेको अफगानिस्तानको अर्थतन्‍त्र तालिबान सरकारले कसरी उकास्ला ?

काबुल: अफगानिस्तानमा तालिबानलाई शासन चलाउन के कस्ता अप्ठ्यारा आउनेछन् ? पछिल्ला दिनमा अफगान राजनीति यसकै वरिपरी बहस र चर्चा हुन थालेको छ ।

तालिबान शक्तिको नयाँ शासनकालमा पक्कै पनि गम्भीर सैन्य विरोधको सामना हुने छैन । अफगान सेनाले लगभग तालिबानलाई सहयोग नै गर्ने अपेक्षा गरिएको छ ।

तर तालिबानका लागि प्रमुख चुनौतीको रुपमा खडा भएको छ अफगानिस्तानको बिग्रँदो आर्थिक व्यवस्था । २० वर्षको युद्धको क्रममा अफगानिस्तानको आर्थिक अवस्था खस्किएको मात्रै छैन पूरै विदेशी अनुदानमा चल्न थालेको छ । यहाँको आर्थिक अवस्था लगभग पतनको अवस्थामा पुगेको छ ।

त्यसो त यसअघि अफगान सरकारले शिक्षा लगायत क्षेत्रका लागि ल्याउने गरेको आर्थिक सहायता पनि अब बन्द हुने अवस्था हुनसक्ने आंकलन गर्न थालिएको छ । त्यसवाहेक अबको सरकारले ठूलो आर्थिक भारको सामना गर्नुपर्ने विश्लेषण हुन थालेको छ ।

अब बन्ने तालिबान सरकारले भोग्नुपर्ने सम्भावित आर्थिक चुनौतीको संकेत पछिल्लो एक सातामै प्रसस्त देखिन थालेको छ । १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि नै यहाँ वैध सरकार छैन । वाल स्ट्रीट जर्नलका अनुसार अशरफ घानी सहित उनको सरकारका अधिकांश मन्त्रीहरुले देश छाडेर भागेपछि अर्थात तालिबानले सत्ता कब्जा गरेपछि पछिल्लो एक सातामा बैंक तथा मुद्रा विनिमय बन्द रहेको छ ।

साथै दैनिक उपभोग्य वस्तुको मुल्यमा भारी मुल्य वृद्धि भएको छ । आर्थिक गतिविधि ठप्प जस्तै बनेको छ । मानिसहरुसँग पैसा त छ तर त्यो सबै बैंकमा थन्किएको छ । यसको मतलब उपभोक्तासँग दैनिक चालू रकमको अभाव रहेको बताइन्छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार काबुलमा आर्थिक कारोबार नै ठप्प छ ।

तर तालिबान शक्तिले यसअघि अर्थात २० वर्षअघिको शासनमा भने आर्थिक अवस्था सुधार गरेको बताइन्छ । त्यसबेला पाकिस्तान, यूएई, साउदी अरब लगायत देशसँग सम्बन्ध बलियो थियो । हाल त्यो पुरानो अवस्था फिर्ता गर्न तालिबानका लागि जटिल अवस्था आउने बताउन थालिएको छ ।

यद्यपि चीनले तालिबानलाई सहयोग गर्ने प्रतिवद्धता गरेको छ । अफगानिस्तानमा लगानी बढाउने समेत बाचा गरेको छ ।
तर अन्य देशको सन्दर्भमा तालिबानले सहायता पाउला वा नपाउला भन्ने यकिन छैन । अधिकांश देशले तालिबान शासनलाई मान्यता नै नदिइरहँदा आगामी दिनमा आर्थिक सहायता जुटाउन तालिबानका लागि चुनौतीको रुपमा देखिनेछ ।

अर्कोतर्फ तालिबानका अगाडि केही शर्त भने लागु हुनसक्ने विश्लेषण पनि हुन थालेका छन् । लोकतान्त्रिक पद्धति अपनाएको खण्डमा वा उदारवादी शासन अवलम्वन गर्ने शर्तमा तालिबानले जरुर विदेशी मान्यता र अन्य सहयोग पाउनसक्ने सम्भावना देखिन्छ ।

यसका लागि उसले आफ्नो नीति समेत सार्वजनिक गरिसकेको छैन । सबै नेताहरु समेत सार्वजनिक भइसकेका छैनन् । यद्यपि नागरिक स्वतन्त्रता दिने कुरामा भने तालिबान नेताहरुले आफूहरु प्रतिबद्ध रहेको प्रतिक्रिया दिइसकेका छन् । त्यसले उनीहरु आगामी दिनमा शासन चलाउने सन्दर्भमा लचिलो हुने अपेक्षा गर्न सकिन्छ ।

तालिबानका प्रमुख नेताहरुले विदेशीहरुसँगको संवाद कसरी अगाडि बढाउलान् वा आफ्ना राजनीतिक तथा आर्थिक नीति कसरी विस्तार गर्लान् भन्ने कुराले पनि तालिबान सरकारले सम्भावित आर्थिक चुनौतीको सामना कसरी गर्नेछ भन्ने देखाउनेछ ।

युद्धले २० वर्षसम्म थिलथिलो बनाएको अफगानिस्तानको आर्थिक अवस्था उकास्‍न सजिलो भने पक्कै छैन । आगामी दिनमा चीन, रुस सहित शक्तिराष्ट्रहरुको टकराव पनि यहाँ देखिनेछ । अमेरिकाले कस्तो व्यवहार गर्ला भन्ने विषयले पनि विशेष रुपमा आर्थिक अवस्था प्रभावित बनाउनेछ । त्यसो त यसअघि युद्धकै लागि यहाँ पैसाको खोलो बगेको थियो भनिन्छ । तर त्यो रकम निरर्थक समेत थियो भनी आलोचना हुने गरेको छ ।

तैपनि अफगान सरकारलाई जसरी आर्थिक सहायता जुटाउन सजिलो थियो त्यो सहजता तालिबानलाई पक्कै छैन । त्यसको बदलामा विकल्प भने उसले खोज्न सक्नेछ जुन उसका लागि जोखिमयुक्त र प्रत्युत्पादक हुनसक्छ । जस्तै आर्थिक रुपमा चीनसँग निर्भर भएको अवस्थामा यहाँ अमेरिका, भारत लगायत देशको रणनीतिक चासो पनि जोडिनसक्ने हुनाले त्यो जोखिमयुक्त हुनसक्नेछ ।

(एजेन्सीहरुको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.