यसरी सम्भव छ सेफ्टी ड्राइभिङ

यसरी सम्भव छ सेफ्टी ड्राइभिङ

तपाईंले गाडी चलाउनुभन्दा अगाडि जहिले पनि गाडीको सेफ्टीका बारेमा ख्याल गर्नुपर्छ। यसका लागि आफ्नो गाडीको ब्रेक आयल, ब्याट्रीमा डिस्ट्रीवाटर र रेडिएटरमा पानी छ कि छैन आदि हेर्नुपर्छ। गाडीलाई एक राउन्ड घुमेर वरिपरि हेर्नुपर्छ। कहिलेकाँही गाडीको तल बच्चा खेलिरहेको हुनसक्छ, कुकुर र अन्य कुराहरू हुनसक्छ। अझ हेभी गाडीको मुनि त मान्छेसमेत हुनसक्छ।

यसरी हुनसक्छ दुर्घटना
गाडीमा चढिसकेपछि आफूलाई सहज बनाउँदै दायाँ, बायाँ र पछाडि गरी तीनवटै ऐना मिलाउनुपर्छ। त्यसपछि सिट बेल्ट बाँधेर बस्नुभयो भने त्यसलाई सेफ्टी ड्राइभिङ भनिन्छ। हडबड गरेर गाडी चलाउँदा दुर्घटना हुने सम्भावना हुन्छ। माथिका कुरा ख्याल गरेर गाडी चलाउन सुरु गर्नुपर्छ। ग्यारेजबाट गाडी निकाल्दा पनि बाटोमा आउने सवारीसाधन र मानिसलाई ध्यान दिनुपर्छ। साथै बच्चालाई विशेष र जनावार पनि याद गर्नुपर्छ। हामीले छातीभन्दा अगाडिको भाग पाँच छ फिटलाई मात्र ध्यान दिइरहेका हुन्छौं।

आफूभन्दा पछाडिका कुरालाई ध्यान दिइरहेका हुँदैनौं। गाडी टर्न गर्दा अगाडिको टायर कटिसकेको हुन्छ तर पछाडिको टायर नकटेको हुनसक्छ। यस्तो अवस्थामा टर्न गर्‍यौं भने दुर्घटना हुन्छ। किनभने नेपालका पहाडी बाटाहरू कुनै इन्जिनियरिङबिनै बनाइएका छन्। खासगरी कारमा टर्निङमा अगाडिको टायर र पछाडिको टायरबीच १८ इन्चदेखि दुई फिटको डिस्ट्यान्स हुन्छ। हेभी गाडीमा अझ बढी डिस्ट्यान्स हुन्छ। अगाडिको टायर परेको भागमा पछाडिको टायर पर्दैन। अझ टर्निङका समयमा अगाडिको टायर ठीक ठाउँमा हुन्छ, पछाडिको टायरले ठाउँ छोडिदिन्छ तर चालकले त्यो कुरा याद गर्दैन। त्यसैले गाडी दुर्घटना हुनसक्छ। 

गाडी टर्न गर्दा अगाडिको टायर कटिसकेको हुन्छ तर पछाडिको टायर नकटेको हुनसक्छ। यस्तो अवस्थामा टर्न गर्‍यौं भने दुर्घटना हुन्छ।

नेपालमा ड्राइभिङ सेन्टरहरूमा पनि टर्निङको विषयमा पढाइ पनि नहुने सिकाइ र रोड टेस्ट पनि नहुने भएकाले यस्ता समस्या देखिएका हुन्। उकालोमा सरर गाडी लैजान नसक्नु वा रोकेपछि क्लज, ब्रेक, एक्सिलेटर र ह्यान्डब्रेकको संयोजन नमिल्दा पछाडि सर्ने र अन्य गाडीमा ठोक्किने साथै पछाडि सरेर दुर्घटना हुने पनि देखिएको छ।

लाइसेन्स दिनुअघि रोड टेस्ट
सरल खालको ट्राफिक नियम परीक्षण गरेर ड्राइभिङ लाइसेन्स उपलब्ध गराउने चलन छ। रोड टेस्ट नगरी यसरी लाइसेन्स दिँदा दुर्घटना बढिरहेको छ। अहिले एउटा अंग्रेजीको अंक एटमा अभ्यास गर्ने चलन राम्रो छ। त्यसले गर्दा दुर्घटना कम पनि भएको छ। पहिलाको हिसाबले हो भने सेफ्टी थिएन। टर्निङ गर्न पनि राम्रो जानेका थिएनन्। ड्राइभिङ बुबा–आमा, दाजु–भाइ, दिदीबहिनी र साथीले सिकाउने होइन। 

सकेसम्म ड्राइभिङ स्कूलमै जानु पर्छ। यस्ता स्कूलमा पनि केही विकृति छन्। जस्तो यस्ता स्कूलमा कम्तिमा दुई महिनाको कोर्स हुनुपर्छ। अन्तर्राष्ट्रिय मापदण्ड ९० घण्टाको छ भने नेपालको मापदण्ड कम्तिमा ४५ घण्टाको छ। सिकारुलाई कम्तिमा ४५ दिन र ती दिनमा समग्र ४५ घन्टा सिकायौं भने त्यो मान्छेले काठमाडौंमा मजाले गाडी चलाउन सक्छ। हाम्रो हकमा युवा पुस्तालाई सिकाउन सजिलो हुन्छ। स्कुटर र मोटरसाइकल सिकाउँदा थोरैले मात्र सेफ्टीका विषयमा सिकाएको पाइन्छ। यी साधनमा एक्सिलेटर चलाउँदा दाहिने हातको बुढी औंलालाई माथ्लोपट्टिको भागमा राखेर चलायौं भने दुर्घटना कम हुन्छ। 

रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिँदा दुर्घटना बढिरहेको छ।

कथंकदाचित दुर्घटना भइहाल्यो भने पनि एक्सिलेटर बढेर दुर्घटना हुने सम्भावना कम हुन्छ, यसले क्षति कम गर्छ। कार सिक्दा वा चलाउँदा नेपालका सन्दर्भमा एक्सिलेटरको सेफ्टीको विषयमा कमैले सिकाएको पाइन्छ। यसलाई युरोपतिर ग्याँस दिने भनिन्छ भने नेपालमा एक्सिलेटर भनिन्छ। ज्ञान नभएकाले गर्दा सिकारु आत्तिन्छ, आत्तिन थालेपछि गाडीको स्पिड झन् बढेर दुर्घटना हुन्छ। त्यो नहोस् भन्नका लागि त्यो ज्ञान पनि सिक्नुपर्छ। यो ज्ञान मैले पनि नेपालमा होइन, ब्रिटिस कोचरले ड्राइभिङ सेफ्टीका विषयमा पढाउँदा थाहा पाएको हुँ। त्यो कोचरले प्रशिक्षण दिँदा पो थाहा भयो कि नेपालमा मैले धेरै कुरो नजानेको रहेछु।

चालकलाई इन्जिनको ज्ञान
नेपालमा आएपछि मैले जुन ड्राइभिङ स्कूल चलाएको छु। त्यहाँ हरेक शनिबार सात बजेदेखि नौ बजेसम्म ट्राफिक नियम, इन्जिनसम्बन्धी पूर्ण ज्ञान, दुर्घटना कसरी कम गर्ने, गाडीको ब्रेक फेल भयो भने त्यो गाडीलाई कसरी नियन्त्रण गर्ने र वर्कसपसम्म कसरी पुर्‍याउने आदि सम्पूर्ण जानकारी दिने गरेको छु। एक्सिलेटरको तार चुँडियो भने के गर्ने, सेन्सरले काम गरेन भने कसरी हेर्ने ? यस्ता विषयमा राम्रो तालिम दिने स्कूल छानेर सिक्नुपर्छ। 

नेपालका सडकमा किलोमिटर लेखेका पिलरहरू देख्छौं। एक ठाउँबाट अर्को ठाउँको दूरी (काठमाडौं ४५ किलोमिटर आदि) लेखेको पाइन्छ। सबैतिर एउटै खालको सेतो कलर राखेको हुन्छ। ड्राइभिङ नियम विश्वभरि एउटै हुन्छ। कोही दायाँ साइड भएर कोही बायाँ साइड गाडी चलाइन्छ। त्यस्ता पिलर नेपालमा वैज्ञानिक ढंगले राखिएका छैनन्। यसबारे स्कुलहरूले सिकारुलाई अध्ययन गराइएको पनि पाइँदैन। कुनै ड्राइभिङ स्कूलको किताबमा पनि यस विषयलाई समेटिएको छैन।

ड्राइभिङको विषयमा पूर्ण ज्ञान नभएकालाई लाइसेन्स दिनु सानो बच्चालाई पेस्तोलमा गोली भरेर खेल्न दिनुसरह हो।

सेता पिलरहरू चार प्रकारका क्याप लगाइएका हुन्छन्। सेतो पिलरको माथि पहेलो, हरियो, कालो र रातो हुन्छ। पहेलो क्याप देखे एक्सप्रेस हाइवेमा प्रवेश गर्ने संकेत भनेर बुझिन्छ। हरियो क्याप भए नेपालका राजमार्गजस्ता सडक आयो भन्ने बुझिन्छ। यस्तै कालो क्याप भए कुनै सहरमा पस्दैछौं भन्ने जानकारी पाइन्छ। र रातो क्याप छ भने पहाडी सडकमा प्रवेश गर्दैछौं भन्ने संकेत गरिएको हुन्छ। यो विषयमा यातायात मन्त्रालय र विभागजस्ता सम्बन्धित निकायले ड्राइभिङ स्कुल सञ्चालकहरूलाई बोलाएर ज्ञान लिने दिने काम गरेको छैन। त्यसैले यो तत्काल गर्नु आवश्यक छ। सडक र सवारीसाधन सञ्चालनका यी यावत विषयमा सरकारका विज्ञ, मन्त्रालयका उच्चपदस्थ कर्मचारी र सरोकारवालाबीच निरन्तर संवाद भइरहनु पर्छ। तर आजसम्म यो काम न्युन मात्रा मात्र भएको पाइन्छ।

नेपाल र विदेशमा के फरक छ ?
नेपालमा खाली एक्सिलेटर दबाउने, ब्रेक लगाउने, जथाभावी ओभरटेक गर्नेजस्ता कुरा हावी छन्। विदेशमा घरबाट गाडी निकाल्दा के के गर्नुपर्ने हो। रोड सिग्नलको विषयमा त्यहाँ अध्ययन गराइन्छ। नेपालमा हाइवेमा खासगरी चारपांग्रे र हेभी सवारी साधन पल्टिए भने अन्तिममा चालकको गल्ती भयो भनेर कुरो टुंग्याइन्छ। 

यातायातसम्बन्धी इन्जिनियरहरूले किन र कसरी दुर्घटना भयो र दोषी खास को हो ? त्यसको निष्पक्ष छानबिन गर्दैनन्। सडक दुर्घटनाका सम्बन्धमा नेपालको यो ठूलो रोग हो। यातायात कार्यालयलाई सवारी चलाउन कसरी सिकाइरहेका छन् भन्ने विषयमा चासो पनि खासै देखिँदैन। सरकारको आफ्नो कुनै ड्राइभिङ स्कुल पनि छैन। विदेशमा हेर्ने हो भने सरकारले नै यस्ता स्कुल सञ्चालन गरेको पाइन्छ। नेपाल सरकारको ट्रायल फिल्ड कहीँकतै छैन। सरकारले निजी ड्राइभिङ स्कुलका फिल्ड प्रयोग गरेका छन्।

ड्राइभिङको विषयमा पूर्ण ज्ञान नभएकालाई लाइसेन्स दिनु अहिलेको अवस्थामा सानो बच्चालाई पेस्तोलमा गोली भरेर खेल्न दिनुसरह हो। जसले गर्दा धेरै दुर्घटना भइरहेको  छ। जसले गर्दा मानिसको अंगभंङग भई परिवारसमेतको बिचल्ली भएको छ। अझ औषधिउपचार गर्दागर्दै घरबारविहीन हुन पुगेको पनि देखिएको छ। त्यसैले यस्तो विषयमा सरकारले पनि ध्यान दिनुपर्छ। ड्राइभिङ स्कुलहरूले ५० सालदेखि इन्स्ट्रक्चर लाइसेन्स चाहिन्छ भनेर कुरा उठाउँदै आएका छौं। सरकारले आजसम्म यो कुरा सुनेको छैन। 

ड्राइभिङ स्कूलहरूका लागि इन्स्ट्रक्चर लाइसेन्स अति आवश्यक छ। यातायात विभागले अहिले प्रोफेसनल लाइसेन्स र नन प्रोफेसनल लाइसेन्स निकाले जस्तै एउटा इन्स्ट्रक्चर लाइसेन्स दिनु अत्यावश्यक छ। जुन अति आवश्यक छ। यो व्यवस्था विश्वभरि नै छ। कुनै पनि ड्राइभिङ स्कूलले इन्स्ट्रक्चरबिना सिकाउन पाउँदैन। इन्स्ट्रक्चर लाइसेन्सबिना अहिले चलिरहेको छ जुन कानुनी रूपमा नमिल्दो विषय हो। यदि यस्तो लाइसेन्स दिने हो भने नेपालमा दुर्घटना कम हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.