मालढुङ्गा-बेनी सडक जिर्ण
बेनी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक जिर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने साघुँरो र जिर्ण अवस्थाको यो सडक बर्खा याममा पहिरोले छियाछिया बनाएको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरीडोर आयोजनाअन्र्तगत पर्ने १३ किलोमिटर दुरीको मालढुङ्गा–बेनी सडक मर्मत अभावमा जिर्ण बनेको हो ।
जलजला-७ धाइरीङका हरि आचार्यले बर्खामा पहिरोले दैनिकजसो अबरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झञ्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको बताए ।
'सजिलो हुने हो भने २० मिनेटमा बेनीबाट मालढुङ्गा पुग्न सकिन्छ,' उनले भने, 'तर एक डेढ घण्टा समय लाग्छ । दुर्घटनाको जोखिम पनि उत्तिकै छ । त्रसित भएर यात्रा गर्नुपर्छ ।' दश बर्षअघि गरिएको कालोपत्रे अधिकांश ठाउँमा उप्किएको छ । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवत-जावत प्रभावित हुने गरेका छन् ।
यो सडकको १२ ठाउँमा पहिरो र खोल्सा पार गर्नुपर्छ । मालढुङ्गा, फर्से, फनफने, केराबारी, मिलनचोक, लामाखोत, आँखोला, वारीबेनीमा सक्रीय पहिरो छन् । मिलनचोक प्रहरी चौकीका ट्राफिक प्रहरी अनिल कार्कीले सामान्य बर्षा हुदाँ समेत पहिरो र बाढीले सडक अवरुद्ध हुने बताए ।
‘साघुरो सडक त्यसैमाथि पहिरो र बाढीले छिया-छिया बनाएकाले सवारी सञ्चालन गर्न समस्या भएको छ,’ उनले भने ‘दुर्घटनाको जोखिम घटाउन पहिरो नियन्त्रण र सडक स्तरोन्निति गर्नुपर्छ ।’ पुरिएको नाली सरसफाई नहुँदा सडकमा पानी जमेर हिलाम्मे भएको छ ।
सडक अवरुद्ध हुँदा बेनी अस्पतालले पोखरा रिफर गरेका बिरामीलाई समयमै अस्पताल पुर्याउन सकिएको छैन। सडक यातायात भरपर्दो नहुँदा जटिल अवस्थाका बिरामीलाई पोखरा-काठमाडाैंका अस्पतालमा लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।
बि.स. २०५२ मा मार्ग खोलेर बि.स. २०६८ मा कालोपत्रे भएको मालढुङ्गा-बेनीको बिकल्प मानिएको बेनी-रत्नेचौर-बागलुङ-मालढुङ्गा सडकको अवस्था पनि नाजुक छ। स्तरोन्नतिकै क्रममा रहेको यो सडकमा बर्खायाममा नियमित गाडी चल्दैन्न ।
सम्झौता भएको पाँच महिनापछि काम शुरु
बेनी-जोमसोम-कोरला सडक आयोजनाले मालढुङ्गा-बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको पाँच महिनापछि काम शुरु भएको छ । २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभी बाँकेले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ७२ करोड रुपैयाँ लागत अनुमान गरिएको सडक आयोजनाको ठेक्का अवधी २४ महिना छ ।
सहायक ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनले दोस्रो लहरको कोरोना भाइरसको महामारी र बर्खाका कारण रोकिएको सडक निर्माण भदौ महिनादेखि शुरु गरेको जनाएको छ ।
मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोर अन्र्तगत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न योजना छ । बेनीदेखि कोरल्ला र मालढुंगादेखि बागलुङ्ग र पर्वत तर्फबाट समानान्तर रुपमा सडकको काम भैरहेको छ ।
मालढुंगाबाट बेनी पुग्नका लागि मालढुंगा-बेनी सडक वा बागलुङ तर्फबाट कालीगण्डकी किनारै किनार सडक बनाउने भन्ने बिषय अन्योलमा थियो । मालढुंगा-बेनी सडक स्तरोन्नतिका लागि बजेट विनियोजन तथा कालिगण्डकी करिडोरको रुपमा विकास गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहल गरेका थिए ।
बि.स. २०४८ 'कामका लागि खाद्यान्न' कार्यक्रमअन्तर्गत यो सडक निर्माण शुरु भएको थियो। त्यसपछि मालढुंगा-बेनी-दरबाङ सडक आयोजनाका रुपमा यसमा काम भएको थियो । पछिल्लो समय डिभिजन सडक कार्यालय बागलुङले मर्मतको काम गर्दै आएको छ ।
सडक स्तरोन्नति भएपछि मुस्ताङ जाने पर्यटक र पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।