नेपाल र ठाकुर पक्षका नेताहरुको सनाखत सकियो, दल दर्ताको प्रमाणपत्र आजै
काठमाडौं : निर्वाचनमा आयोगले नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बुधबार दल दर्ताको प्रमाणपत्र दिने भएको छ। आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले बुझाएको निवेदनमा प्रस्तावित संघीय सांसद र केन्द्रीय सदस्यहरुको सनाखत सकिएलत्तगै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको हो।
नेपाल पक्षका केन्द्रीय सदस्य गंगाधर तुलाधरले दल दर्ताका लागि आवश्यक संख्या पुगिसकेकाले आजै प्रमाणपत्र प्राप्त हुने बताए। आयोगले २ बजेसम्मका लागि सनाखतका लागि समय तोकेको थियो।
नेपाल पक्षका दुवै सदनका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत भएको छ। चारजना सांसदको भने हस्ताक्षर बाँकी छ। सोमनाथ पाण्डे,शारदा भट्ट, माया ज्ञवाली र तुलासा थापाको हस्ताक्षर बाँकी रहेको हो। उनीहरुकोबारे निर्वाचन आयोगमा छलफल जारी छ ।नेपाल समूह चन्द्रागिरीबाट सिधै निर्वाचन आयोग पुगेको थियो।
यस्तै, ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना संघीय सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत भएको छ। रेशम चौधरीले भने जेलबाटै हस्ताक्षर गरे। निर्वाचन आयोगले पार्टी सनाखतका लागि दुईवटा डेस्क छुट्याएको थियो। आयोगले दुबै दलको सनाखतका लागि अढाइ घण्टा समय तोकेको थियो।
दुवै पार्टीले नयाँ दल दर्ताका लागि भदौ ४ गते आयोगमा निवेदन दिएका थिए । सोही दिन आयोगले निवेदन दर्ता गर्दै आजकै दिन सनाखतका लागि बोलाएको थियो।