‘ओलीले धोका दिए, अब क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा लाग्छौँ’

‘ओलीले धोका दिए, अब क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा लाग्छौँ’

काठमाडौं : चन्द्रागिरी रिसोर्टबाट बुधबार बिहान ११ :३० बजे दुई पर्यटक गाडीमा माधवकुमार नेपालको नेतृत्वमा दलबलसहित सांसद र केन्द्रीय सदस्य निर्वाचन आयोग पुगे। उनीहरुमा चमक त थियो तर, जीवनको भर्भराउँदो बैंस नेकपा एमालेमा खर्च गरेका उनीहरु त्यति खुल्न सकेका थिएनन्। 

गाडीबाट झरेपछि पत्रकार माझ तत्कालीन नेकपा एमाले एवम् हालका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गंगालाल तुलाधरले भने, ‘सिंगो जीवनको आधा समय एमालेमा बितायौं। पार्टी अर्को बनाउने चाहना थिएन। आन्दोलन जोगाउन विभाजनको विकल्प भएन।’

दल दर्ताका लागि सनाखत गर्ने व्यवस्था निर्वाचन आयोगले मिलाएको थियो। उनीहरुको भनाई थियो, ‘केपी शर्मा ओलीले धोका दिए। अब क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा एक भएर लाग्छौँ।’ 

पार्टीका केन्द्रीय सदस्य गंगालाल तुलाधरले पार्टी अर्को बनाउने चाहना नहुँदा नहुँदै पनि बाध्यकारी भएको बताए। उनले अन्तिमसम्म पनि पार्टीका अध्यक्षको व्यवहारलाई नियालेको भन्दै नसुध्रिएपछि बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको दाबी गरे। उनले भने, ‘विसर्जनवाद र संसोधनवादबाट पार्टीलाई जोगाउन पुनर्गठन भएका हौं। अब कम्युनिस्ट क्रान्तिकारी पार्टी निर्माणमा लाग्छौं।’ उनले केहि नेताले पार्टी गठनमा धोका दिएको बताए।

भीम रावल, घनश्याम भुषाललगायतका नेताप्रति लक्षित गर्दै नेता तुलाधरले भने, ‘तीनै १० जना साथी जो केपी ओली कमरेडलाई दाँयाबाँया राखेर फोटो खिचाउँदै हुनुहुन्छ। उहाँहरु मध्यपन्थी हुनुभयो। पार्टी गठनमा धोका दिनुभयो।’ 

नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले क्रान्तिकारी पार्टीहरुबीच निकट भविश्यमै एकता हुने बताए। ‘अब हामी अगाडि बढिसक्यौं। छिट्टै नै कम्युनिस्ट पार्टीहरुबिच एकता भएर ठूलो पार्टी बन्छ।’ उनले भने, ‘तर, केपी ओली अध्यक्ष रहँदासम्म एमालेसँग एकता र सहकार्य हुँदैन। किनकी उहाँले पटक पटक हामीलाई धोका दिनुभएको छ।’

उनले यो चार महिनामा सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे।

कस्तो बनाइदैँछ पार्टीको संरचना ?
नेकपा एकीकृत समाजवादीमा एकल अध्यक्ष रहने व्यवस्था अघि सारिएको छ। पार्टीमा एकल अध्यक्ष रहनेछन्। महासचिव एक, ७ सचिवसहित १७ सदस्यीय पदाधिकारी हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ।

पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेका अनुसार पार्टीमा आमन्त्रणका लागि प्रदेश सांसद र जनप्रतिनिधिका लागि २१ दिन समय छुट्याइनेछ। उनले भने, ‘केहि समयमै राष्ट्रिय सम्मेलन गर्नेछौं। अब हाम्रो जोड संगठन विस्तारमा हुनेछ।’ तत्कालीन एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ५४ जना नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन्। यस्तै, २९ सांसद समाजवादीमा आएका छन्। निर्वाचन आयोगले सनाखत गरेपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई वैधानिकता दिन आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

सनाखतमा हस्ताक्षर गर्ने सांसदहरुमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणकुमारी खड्का, विरोध खतिवडा, जिवनराम श्रेष्ठ, मेटमणी चौधरी, रामकुमारी झाक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलीला खातुन रहेका छन्। 

यस्तै, सांसद हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम,पार्वतीकुमारी विशुंके, लक्ष्मी चौधरी,विना बुढाथोकी, बेदुराम भुसाल,शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा(पौड्याल),सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.