विश्‍वभर आज: चिनियाँ विद्यार्थीलाई सी जिनपिङ बिचार अनिवार्य, संसारभर रक्‍तचापका बिरामी ह्‍वात्तै बढे

विश्‍वभर आज: चिनियाँ विद्यार्थीलाई सी जिनपिङ बिचार अनिवार्य, संसारभर रक्‍तचापका बिरामी ह्‍वात्तै बढे

चीनको पाठ्यक्रममा राष्ट्रपति सी जिङपिङको विचारधारा अनिवार्य

बेइजिङ: चीनले आफ्नो राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै विद्यार्थीहरुले चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका नेता सी जिङपिङको बिचारधारा अनिवार्य रुपमा लागू गरेको छ ।

समाजवादलाई प्राथमिकतामा राख्न प्राथमिक विद्यालयलदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीहरुले राष्ट्रपति सी जिङपिङको बिचार अनिवार्य रुपमा पढ्नुपर्ने बनाइएको हो ।

नयाँ पाठ्यक्रम मंगलबारदेखि जारी गरिएको छ । चीनको शिक्षा मन्त्रालयका अनुसार राष्ट्रपति सी जिङपिङको बिचार राष्ट्रिय पाठ्यक्रममा समावेश गराइँदा युवा पुस्तामा मार्क्सवादी बिचारधारा स्थापना गर्न मद्दत पुग्ने समेत बताइएको छ ।

नयाँ पाठ्यक्रमको लागि नयाँ निर्देशिकाहरु समेत जारी गरिएको छ । परिमार्जित पाठ्यक्रममार्फत विद्यार्थीहरुमा देशभक्तिको भावना र पार्टीको संकल्प पूरा गर्ने उद्देश्य राखिएको छ ।

राष्ट्रपति सी जिङपिङको बिचारधारामा आधारित परिमार्जित पाठ्यक्रमलाई सन् २०१८ को संविधानअनुसार जारी गरिएको हो । चीनका कतिपय विश्वविद्यालहरुमा पहिलेदेखि नै राष्ट्रपतिको बिचारधारा पठनपाठन गराउँदै आइएको छ । चीनका सबै तहका विद्यालयहरुमा राष्ट्रपतिको बिचारधारा अनिवार्य हुने गरी राष्ट्रिय पाठ्यक्रममा समावेश गराइएको यो पहिलो पटक हो ।


०००

अगष्ट ३१ भित्रै सेना फिर्ती गर्न बाइडेनको जोड

वासिङटनः अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्न तिब्र रुपमा काम गरिरहेको बताएका छन् ।

मंगलबार ह्वाइट हाउसमा आयोजित शीर्ष बैठकमा बाइडेनले सैन्य फिर्तीको लागि तोकिएको अगष्ट ३१ भित्रै पूर्ण रुपमा सेना फिर्ता गर्न आफूहरुले तिब्र रुपमा काम गरिरहेको बताएका हुन् ।

अफगानिस्तानबाट सैन्य फिर्ताको लागि ३१ अगष्टसम्मको मिति तोकिएको थियो । अगष्ट ३१ सम्म सेना फिर्ता नगरे परिणाम नराम्रो हुने भन्दै तालिबानले चेतावनी दिसकेको छ । जी ७ का शीर्ष नेताहरुले अगष्ट ३१ को समयसीमा थप्न अमेरिकालाई दबाब दिइरहेका थिए ।

राष्ट्रपति बाइडेनले भने समयसीमा भित्रै सेना फिर्तीमा जोड दिएका छन् । सैन्य फिर्तीको समयसीमा पुग्न सकिने या नसकिने तालिबान शासकमा भर पर्ने बताउँदै राष्ट्रपति बाइडेनले भनेका छन्, ‘लक्ष्यसम्म पुग्ने या नपुग्ने भन्ने नयाँ तालिबान शासकमा निर्भर छ । यद्यपि, अमेरिकाले भने अगष्ट ३१ भित्रै सेना फिर्तीको लागि तिब्र रुपमा काम गरिरहेको छ । यदी योजनाअनुसार काम भएमा हामीले एक हप्ताभित्रै सबै सेना फिर्ता गर्ने लक्ष्य राखेका छौँ ।’

अगष्ट १४ पछि अफगानिस्तानबाट करिब ७० हजार ७ सय मानिसको उद्धार गरिसकेको समेत राष्ट्रपति बाइडेनले जानकारी दिएका छन् । हाल अफगानिस्तानमा ६ हजार अमेरिकी सेना तैनाथ छन् ।

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जी ७ का सदस्य राष्ट्रहरुले तालिबान सरकारलाई मान्यता नदिने बताएका छन् । ‘तालिबानको शासनमा सबैथोक चल्दैन । आफूले चाहेको खण्डमा अगष्ट अघि र पछि पनि मानिसहरु अफगानिस्तान छोड्न पाउँछन्’, उनले भनेका छन् ।


०००

जापानी अदालतद्धारा आपराधिक समूहका नाइकेलाई मृत्युदण्ड

टोक्यो: एक आपराधिक समूह याकुजा माफियाका नाइकेलाई जापानी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । याकुजा माफिया समूह अन्तर्गत कुदो–काईका नाइके सातोरु नोमुरालाई अदालतले सो सजाय सुनाएको हो ।

नोमुरालाई निर्दोष नागरिकको अपहरणपछि हत्या, दर्जनौँ उच्च पदस्थ व्यक्तित्वहरुको हत्या आदिको आरोपमा मृत्युदण्डको सजाय सुनाएको अदालतले जनाएको छ ।

फुकोउका जिल्ला अदालतले मंगलबार ७४ वर्षीय नोमुरालाई मृत्युदण्ड सुनाएको हो । यद्यपि, जापानी सञ्चारमाध्यमहरुले भने अपराधीले गरेको सजायको लागि अदालतले पर्याप्त प्रमाणविना नै मृत्युदण्ड सुनाएको बताएका छन् ।

जापानमा १७ औँ शताब्दीमा स्थापना भएको याकुजा गिरोह अन्तर्राष्ट्रिय अपराधीहरुको समूहको रुपमा चिनिन्छ । याकुजा गिरोहले जापान, दक्षिण कोरिया, अमेरिका लगायत क्षेत्रमा अधीन जमाएको बताइन्छ । करिब २ लाख भन्दा बढी सदस्य रहेको भनिएको याकुजा माफिया पछिल्लो समय विभाजित बनेको बताइन्छ । यो समूह लागूऔषध, हत्या हिंसा, ठगी, गैरकानूनी व्यापार आदिमा संलग्न हुने गरेको बताइन्छ ।


०००
तालिबान नेता र चिनियाँ राजदूतबीच भेटवार्ता

काबुलः तालिबानी नेता अब्दुल सलाम हनफी र चिनियाँ राजदूत वाङ यूबीच मंगलबार काबुलमा भेटवार्ता भएको छ । भेटमा अफगानिस्तानको हालको अवस्था, राजनैतिक सुरक्षा, दुईपक्षीय सम्बन्ध र चीनको सहायताबारे चर्चा भएको तालिबानका प्रवक्ता मोहम्मद नईमले जानकारी दिएका छन् ।

अफगान नागरिक, विदेशी नागरिक र अफगान सहयोगीहरुले अफगानिस्तान छोडिरहेका छन् । अमेरिकालगायत कैयौँ मुलुकले अफगानिस्तानस्थित आफ्ना दूतावास बन्द गरिसक्दा चिनियाँ अधिकारीहरु तालिबानसँग सम्बन्ध विस्तार गर्न अग्रसर देखिएको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि पनि चीनले काबुलस्थित आफ्नो दूतावास सञ्चालन गर्दै अफगानिस्तानको पुनर्निर्माणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


०००

संसारभर उच्च रक्तचापका बिरामी दोब्बरः अध्ययन

लण्डन: संसारभर उच्च रक्तचापका बिरामी अनपेक्षित रुपमा बढेको बुधबार लण्डनबाट सार्वजनिक एक अध्ययनले देखाएको छ । विश्वव्यापी रुपमा गरिएको सो अध्ययनले ३० वर्षयता संसारभर उच्च रक्तचापका बिरामी दोब्बर भएको देखाएको हो ।

इम्पेरियल कलेज लण्डनमा आवद्ध ग्लोबल हेल्थ विशेषज्ञ मजिद इज्जातीको नेतृत्वमा ग्लोबल टीमले उच्च रक्तचापसम्बन्धी सो अध्ययन गरेको थियो । रक्तचाप सम्बन्धी विश्वभरको तथ्यांकको आधारमा उक्त अध्ययन गरिएको थियो ।

‘अध्ययनका लागि हामीले सन् १९९० देखि सन् २०१९ सम्मको समय र ३० देखि ७९ वर्ष उमेर समूहका मानिसको तथ्यांक लिएका थियौँ’ग्लोबल हेल्थ विशेषज्ञ मजिदले भनेका छन्, ‘संसारभर गरिएको अध्ययनमा हामीले ३० वर्षयता उच्च रक्तचापका बिरामी दोब्बर बढेको पाएका छौँ ।’

उक्त अध्ययन करिब १८४ मुलुकमा गरिएको बताइएको छ । अध्ययन अनुसार सन् १९९० मा करिब ६४ करोड ८० लाख बिरामी रहेकोमा २०१९ सम्ममा १ अर्ब ३ करोड बिरामी पुगेका छन् ।

साथै आधाभन्दा बढी उच्च रक्तचापका बिरामीको उपचार नहुने गरेको पनि अध्ययनले देखाएको छ । ३० देखि ७९ वर्ष उमेर समूहका मानिसहरुमा बढी मात्रामा उच्च रक्तचापको समस्या देखिने गरेको पनि अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचाप र उच्च रक्तचापका कारण निम्तिने रोगबाट संसारभर वर्षेनी ८५ लाख मानिसको मृत्यु हुने गरेको छ ।


०००

कोभिड व्यवस्थापन फितलो भएकोमा ७५ चिनियाँ अधिकारीलाई कारवाही

बेइजिङ: चीनमा कोभिडको डेल्टा भेरियन्ट भेटिएपछि व्यवस्थापन फितलो पारेको भन्दै ७५ चिनियाँ अधिकारीहरु कारवाहीमा परेका छन् । संसारभर फैलिरहेको डेल्टा भेरियन्ट नियन्त्रणका लागि चीन सरकारले बनाएको मापदण्डअनुसार प्रभावकारी काम नगरेको भन्दै विभिन्न निकायका अधिकारीहरुलाई कारवाही गरेको बताइएको छ ।

ती पदाधिकारीहरुलाई कारवाही स्वरुप पदबाट निकालिएको बताइएको छ । जुलाई २० मा चीनमा पहिलो डेल्टा भेरियन्ट फेला परेको थियो । चीनको ३५ भन्दा बढी प्रान्तमा करिब १२०० डेल्टा भेरियन्टका संक्रमित फेला परेको र दैनिक १ सय नयाँ संक्रमित फेला पर्ने गरेको ग्लोबल टाइम्सले जनाएको छ ।


०००
अल्जेरियाले मोरोक्कोसँगको कुटनीतिक सम्बन्ध तोड्यो

अल्जेरिया: दक्षिण अफ्रिकी मुलुक अल्जेरियाले छिमेकी मुलुक मोरोक्कोसँगको कुटनीतिक सम्बन्ध तोडेको छ । छिमेकी मुलुकले शत्रुतापूर्ण कदम उठाएको भन्दै अल्जेरियाले कुटनीतिक सम्बन्ध तोडेको बताइएको छ ।

पश्चिम सहाराको मुद्दामा मोरोक्को र अल्जेरियाबीच सम्बन्ध दशकौँदेखि तनावपूर्ण रहँदैआएको छ । ‘अल्जेरियाले आजदेखि मोरोक्को राज्यसँगको सम्बन्ध तोडेको छ’अल्जेरियाका विदेशमन्त्री रामदाने लामम्राले मंगलबार पत्रकार सम्मेलनमा भनेका छन्, ‘मोरोक्कोले अल्जेरियाविरुद्ध सत्रुतापूर्ण कदम चाल्न कहिल्यै रोकेन । कुटनीतिक सम्बन्ध तोडे पनि दुबै देशका वाणिज्य दूतावास भने एकअर्काका लागि खुला रहने छन् ।’ अल्जेरियाको यस्तो घोषणाप्रति मोरोक्कोले भने कुनै प्रतिक्रिया जनाएको छैन ।


०००

बेलायतमा हानिकारक विषाक्त ग्यास निस्किँदा २४ गम्भीर घाइते

लण्डन: बेलायतको ह्याम्पसायर काउन्टीस्थित एक होटलमा विषाक्त ग्यास निस्किँदा २४ जना गम्भीर घाइते भएका छन् । सोलेन्ट होटेल एण्ड स्पामा एक्कासी ठूलो मात्रामा विषाक्त ग्यास निस्किँदा २४ जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइते सबैलाई उपचारको लागि अस्पताल पुर्‍याइएको बताइएको छ । सालेन्ट होटेल एण्ड स्पाका जनरल म्यानेजर जर्ज फ्रेन्चले स्थानीय समाचारपत्रसँग भनेका छन्, ‘होटेलमा अकस्मात गम्भीर घटना भयो । विषाक्त ग्यास निस्किएपछि आगलागी भयो । हामीले होटेलबाट सबै गेस्टहरुको उद्धार गरे पनि २४ जना भने गम्भीर घाइते भएका छन् ।’ 


०००

भारतको चिनाब नदी परियोजनाबारे पाकिस्तानको आपत्ती

नयाँदिल्ली: जम्मु कश्मीरमा अवस्थित चिनाब नदीमा जारी भारतीय परियोजनामाथि पाकिस्तानले आपत्ती जनाएको छ । चिनाब नदीमा जारी किरु हाइड्रोइलेक्ट्रिक प्लान्ट प्रोजेक्टमाथि पाकिस्तानले फेरि आपत्ती जनाएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले गत हप्तादेखि चिनाब नदीमा जारी हाइड्रोइलेक्ट्रिक परियोजनाको डिजाइनमाथि आपत्ती जनाएको छ । भारतले सिन्धु जल सम्झौताअन्तर्गत उक्त परियोजनामा काम गरिरहेको बताए पनि पाकिस्तानले आपत्ती जनाउँदै आएको छ ।

भारतको किरु हाइड्रोइलेक्ट्रिक प्लान्ट परियोजनाले सिन्धु जल सम्झौताको उल्लंघन गरेको पाकिस्तानको आरोप छ । भारतको सिन्धु जल आयोग प्रमुख प्रदीप कुमार सक्सेनाका अनुसार सम्झौता विपरीत गरिएको उक्त परियोजनाको डिजाइन नमिलेको भन्दै पाकिस्तानले आपत्ती जनाएको हो ।

पाकिस्तानले हरेक तीन महिनाको अन्तरालमा सो परियोजनामाथि आपत्ती जनाउँदै आएको छ । सन् १९६० मा सिन्धु जल सम्झौता भएको थियो । यस विषयमा भारत र पाकिस्तानबीच पटकपटक विवाद हुँदैआएको छ ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.