वित्तीय अधिकार सहितको संघीयता

वित्तीय अधिकार सहितको संघीयता

वित्तीय जोखिम र अनुशासनको पक्ष अझै पेचिलो छ । स्रोतको गलत प्रयोग हुने सम्भावना प्रबल छ


नेपालमा संघीय शासन प्रणालीको कार्यान्वयन भइरहेको छ । देशभर सात सय ६१ सरकार छन् । नेपालमा करिब तीन करोड जनसंख्यालाई सुशासन प्रदान गर्न यति धेरै संख्याका सरकारहरूले क्रियाशीलता दिइराखेका छन् । संघीयतालाई नेपालमा सबै समस्याको एकमुष्ट समाधानको रूपमा हेरिएको छ । विश्वभरको अभ्यास हेर्दा संघीयताको सैद्धान्तिक र व्यावहारिक पक्ष निरपेक्ष रूपमा मिलेको पाइँदैन । सैद्धान्तिक पक्षलाई दृष्टिगत गर्दा यो आफैंमा लोकतन्त्रको अत्यन्त राम्रो र विकसित राजनीतिक प्रणालीका रूपमा संघीयता अवलम्बन गर्नेहरूले मान्दैआएका छन् । यसमा प्रत्येक स्तरका सरकार स्वतन्त्र हैसियतमा कायम गर्दै आपसी हित र जनताको भलाइका लागि समानान्तर स्तरका सरकारदेखि माथिल्लो स्तरका सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरिराखेका छन् ।

संघीयता एक प्रकारको शासन प्रणाली भएकाले यो आफैंमा साध्य नभई साधन वा माध्यमको रूपमा हुन्छ । यसले स्रोतसाधन सम्पन्न बनाई सबै क्षेत्रको सन्तुलित विकास गर्ने लक्ष्य राख्छ । सबै प्रकारका असमानताको अन्त्य गर्ने लक्ष्यका साथ सबै जनतालाई समेटी आफ्ना बारेमा लिइने सबै प्रकारका निर्णय, सम्पादन हुन गइराखेका योजना, काम कारबाही सबैमा सहभागिता एवं क्रियाशीलताको सुनिश्चितता गर्दछ । एकात्मक शासनमा जस्तो केन्द्रको अधिकारको विकेन्द्रीकरण र प्रत्यायोजन नभई संविधानद्वारा नै आर्थिक र राजनीतिक अधिकारको प्रस्ट विभाजन गरिदिएको हुन्छ । सुरक्षा, सहअस्तित्व, सम्वृद्धि, सन्निकटता, सहभागिता र समानुपातिक प्रतिनिधित्व आदिलाई आर्थिक, लोकतान्त्रिक र सहकारी गरी तीन वर्गमा हेर्ने गरिन्छ । संघीयता विभिन्न तहका सरकारबीच गरिने शक्तिको सन्तुलित विभाजनको व्यवस्थासँग सम्बन्धित हुन्छ । शासन सञ्चालनका विभिन्न आधारमध्ये एउटा आधार संघीयता हो । त्यसैले संघीयता परिवेश अनुकूल हुनुपर्छ । यसको कुशल व्यवस्थापनमा संघीयताको सफलता निर्भर गर्दछ ।

संविधानले नै स्वतन्त्रता प्रदान गरिने भएकाले प्राप्त स्वतन्त्रताको उपयुक्त र प्रभावकारी हिसाबले उपयोग गर्न संस्थागत व्यवस्था र कानुनी प्रावधानको व्यवस्था गरी सबै प्रकारका अधिकारबाट सबै तहका अधिकार विशेषगरी जनतासँग सबैभन्दा नजिक रहेका सरकार अधिकार सम्पन्न र प्रभावकारी हुनुपर्छ भन्ने मान्यता राख्दछ । संघीयतामा सरकारहरूलाई अधिकार प्रदान गर्दा स्रोतसाधनको अभाव नहोस् । त्यसैले पर्याप्त मात्रामा स्रोतसाधन जुटाई दिने र यसरी प्राप्त स्रोतसाधनका अतिरिक्त आफ्नै क्षमताको उपयोग गरी आन्तरिक स्रोत जुटाउने गरिन्छ । ती उपलब्ध स्रोतसाधनलाई स्थानीय स्तरका जनताको आवश्यकता अनुसार प्राथमिकीकरण गर्दै रकमको भरपूर सदुपयोग गरेर सार्वजनिक सेवा प्रवाह (विकास निर्माणका कार्यसमेत) गर्नुपर्छ । यसका लागि माथिल्लो सरकारको स्वविवेकमा कुनै स्रोत, साधन र अधिकार प्राप्त गर्ने नभई अधिकारको रूपमा स्थापित गराउनु नै संघीयताको मूल मर्म हो । त्यसैले वित्तीय अधिकार पर्याप्त मात्रामा सरकारहरूलाई प्रदान गरिनु पर्दछ । अन्यथा संघीयताको मर्मअनुरूप सरकारहरू परिचालित हुन सक्दैनन् । वित्तीय विकेन्द्रीकरण संघीयताको सफलताको मूल आधार हो ।

वित्तीय संघीयता भनेको सबै तह र प्रकारका सरकारमा वित्तीय जिम्मेवारी प्रदान गर्नु हो । वित्तीय जिम्मेवारीका अधिकारहरू प्रदान गर्नु र यसको विभाजनसमेत गर्नु हो । कर प्रशासनका सबै कार्य गर्ने, कर लगाउने, उठेको कर आवश्यकताअनुसार खर्च गर्ने, नियमन व्यवस्थापन एवं अनुगमन गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने सबै कार्यहरू समावेश भएको हुन्छ । यो केन्द्रीय सरकारले अन्य सरकारमाथि प्रभाव पार्ने माध्यम पनि हो । संघीय सरकारले केन्द्रीय ढुकुटीको विवरण तयार पारिएको पद्धति पनि हो । यस्तो रकमको वितरण गर्दा समावेशी सिद्धान्त एवं समतामूलक समाजको निर्माण गर्ने उद्देश्यले गर्नुपर्छ । यसबाट बजारको अवस्थामा सुधार ल्याउन बजारको कमीकमजोरीलाई सुधार गर्दै प्रतिस्पर्धी बनाउने कार्य गरिन्छ ।

राज्यबाट संकलित सम्पूर्ण स्रोतसाधन अत्यधिक उपयोग गर्दै सम्पूर्ण जनतालाई समुचित न्याय प्रदान गर्ने अवधारणा पनि हो । देशभित्र मूल्य स्थिरता कायम राख्न उपयुक्त प्रकारको मौद्रिक र वित्तीय नीतिहरूको निर्धारण गरी यी नीतिहरूको कुशलातापूर्वक प्रयोग गर्न सहजीकरण गर्ने कार्यलाई वित्तीय संघीयताले सम्भव बनाउँछ । सार्वजनिक हितको सम्वद्र्धन र प्रवर्धनको दिशामा यो परिचालित हुन्छ । जनतासँग प्रत्यक्ष सम्पर्कमा रही जनतासँगै अन्तक्र्रिया र समन्वय गर्नुपर्छ । उनीहरूकै कल्याणका दिशामा अघि बढ्ने जनताको सबैभन्दा नजिकको सरकारलाई सशक्त बनाई सबै काम तल्लो स्तरको सरकारबाटै सञ्चालन गराउने प्रक्रिया हो । यसले निर्णय प्रक्रियामा अनावश्यक तहहरू कम गराई सबै काम जनताकै सामुन्ने प्रत्यक्षरूपमा सम्पादन गर्न मार्गप्रशस्त गर्छ ।

अन्तरसरकार प्रतिस्पर्धा र नयाँ नयाँ तरिकाको अन्वेषण प्रयोग र सफल कार्यान्वयन गर्दै अघि बढ्छ । स्थानीय आवश्यकताहरूको पहिचान गरी सोको परिपूर्तिका लागि पर्याप्त स्रोत र साधन प्राप्त हुने गर्छ । स्रोत र साधनको वितरणात्मक उत्पादन दक्षतामा समेत सुधार आउँछ । न्यूनतम लागतमा बढी सुविधा प्राप्त गर्न उपभोक्ता सचेत हुने वातावरण बन्छ । यसलाई कार्यको विभाजन, राजस्व अधिकारको विभाजन, वित्त हस्तान्तरण र ऋण उठाउने अधिकारसमेत गरी चार वर्गमा व्यवस्थित गरिएको छ । सबै सरकारमा वित्तीय असन्तुलन कम गर्न, सेवामा एकरूपता कायम गर्न र संघीय सरकारको प्रभावकारिता बढाउन वित्तीय हस्तान्तरणलाई संघीयतामा महत्वपूर्ण मानिँदै आएको छ ।

संविधानको अनुसूची पाँचदेखि नौसम्म प्रत्येक तहका सरकारले गर्ने कार्य, अधिकार, एकभन्दा बढी तहका सरकारबीच साझा जिम्मेवारी तोकिएका छन् । प्राकृतिक स्रोतसाधनको विभाजनमा एकभन्दा बढी सरकारसँग सम्बन्धित देखिएमा त्यसको निरूपण गर्ने संस्थागत व्यवस्था छ । अवशिष्ट अधिकारहरू केन्द्रमा राखिएको छ । नेपालको संविधान र अन्य कानुनी प्रावधानअनुरूप प्रदेश सरकार र स्थानीय तहहरूले कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहहरूले प्रदेशको विधान र अन्य कानुनी आधारमासमेत सरकार सञ्चालन गर्नुपर्ने, स्रोतसाधनको वितरण न्यायोचित प्रकारले गर्नुपर्ने, यी कार्यहरू गर्दा वित्तीय आयोगको सिफारिस र सुझावअनुरूप गर्नुपर्ने हुन्छ ।
केन्द्र र प्रदेशले वित्तीय समानीकरण अनुदान दिने, पूर्वाधार विकास गर्न र आयोजनाहरूको कार्यान्वयन गर्न समपूरक अनुदान दिने, आधारभूत सेवा, सन्तुलित विकास र समन्याय प्रदान गर्न विशेष अनुदान दिने व्यवस्था छ । २५ वर्षको अवधिभित्र चुक्ता गर्ने शर्तमा सम्बन्धित सभाको निर्णय गरी पुँजीगत कार्य, उत्पादनशील कार्य, आन्तरिक आय वृद्धि र रोजगारका अवसर प्रदान गर्न स्थानीय ऋण लिन सकिने आदि प्रावधान छन् । वित्तीय आयोग र केन्द्रीय सरकारको स्वीकृति लिई केन्द्र र प्रदेशले ऋणपत्र जारी गर्नसक्ने पनि व्यवस्था छ । आफ्नो आयको दश प्रतिशतसम्म पूँजी निर्माण र दीर्घकालीन लाभको क्षेत्रमा खर्च गर्ने गरी ऋण उठाउन पाउने प्रावधान छ ।
स्थानीय तहले आफ्नो वित्तीय स्रोतको रूपमा वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष गरी चार प्रकारका अनुदानहरू, राजस्व बाँडफाँडबाट प्राप्त रकमहरू, प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने रोयल्टी, लगानीबाट प्राप्त रकम, आन्तरिक राजस्व परिचालन, केन्द्रको पूर्वस्वीकृति लिई वैदेशिक सहायता र ऋणस्वरूप प्राप्त रकम र आन्तरिक ऋणबाट प्राप्तसमेत गरी सबै रकमको सही उपयोग स्थानीय तह आफैंले गर्नसक्ने व्यवस्था छ । संविधानले सबै प्रकारका सरकारलाई सबै प्रकारका अधिकारहरू वित्तीय अधिकारसहित पूर्णरूपमा प्रदान गरिएको छ । 

स्रोतसाधनको संग्रह बढी हुने निकायमा भ्रष्टाचार ज्यादा हुने गरेको छ । जनप्रतिनिधिमा जनताबाट निर्वाचित भएकाले सर्वज्ञ बनेको मनोदशाले पकड जमाएको छ ।
 

तर नेपालमा वित्तीय विकेन्द्रीकरणको पक्ष सहज देखिँदैन । स्रोतसाधन र विकासका गतिको हिसाबले विभिन्न सरकारहरूमा ठूलो भिन्नता पाइन्छ । देशभित्र छ जिल्लाबाट ८५ प्रतिशत राजस्व संकलन भई बाँकी ७१ जिल्लामा १५ प्रतिशत मात्र उठ्ने अवस्था छ । यसले संघीयताको मूल्यमान्यता र सिद्धान्तलाई दृष्टिगत गर्दै पछि परेका क्षेत्रमा बढी रकम उपलब्ध गराउनुपर्ने अवस्था छ । यसमा केन्द्रीय सरकार प्रतिबद्ध देखिएको छैन । संविधानमा भएको प्रावधान अनुसारको बजेट स्थानीय र प्रदेशलाई उपलब्ध भएपश्चात् त्यसको योजना गरी खर्च गर्ने जिम्मेवारी र जवाफदेहिता सम्बन्धित सरकारमा रहन्छ ।

तर संघीय सरकारबाट गरिने विभिन्न आर्थिक वर्षको वित्तीय बाँडफाँड र वितरणको आँकडा हेर्दा केन्द्रीय सरकार स्वेच्छाचारी र स्वविवेकीय आधारमा कार्य गरिराखेको छ । केन्द्रिकृत शासन प्रणालीको मनोविज्ञानबाट ग्रसित भएको देखिँदैछ । अन्तरप्रादेशिक विषमताको  निराकरण गर्नेतर्फ अभिमुख भएको पाइँदैन । कमजोर र पछि परेका प्रदेशलाई न्युन रकम र तुलनात्मक हिसाबमा बढी प्रगति गरेकालाई बढी बजेट विनियोजन भएको अवस्था छ । यो संघीय सिद्दान्त प्रतिकूल हो । यस्तो अभ्यास एकात्मक शासनमा समेत आलोचित हुन्छ । केन्द्रीय सरकार संघीयताको पूर्णरूपमा कार्यान्वयन गर्न मानसिकरूपमा तयार भएको छैन । दुरुपयोग भएमा जनतासमक्ष त्यसको जिम्मेवारी सम्बन्धित सरकारले लिने कुरालाई केन्द्रले आत्मसात गरेको छैन । यो प्रक्रिया संविधानसँग मेल खाँदैन ।

वित्तीय जोखिम र अनुशासनको पक्ष अझै पेचिलो छ । स्रोतको गलत प्रयोग हुने सम्भावना प्रबल छ । स्रोतसाधनको संग्रह बढी हुने निकायमा भ्रष्टाचार ज्यादा हुने गरेको छ । जनप्रतिनिधिमा संघीय शासनको सामान्य ज्ञानको अभाव छ । जनताबाट निर्वाचित हुनु नै आफू सर्वज्ञ भएको मनोदशाले पकड जमाएको छ । यी कारणले सरकारहरूमा भ्रष्टाचारमा लिप्त हुने सम्भावनासमेत प्रबल देखिँदै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका भ्रष्टाचारसम्बन्धी उजुरीमध्ये ५५ प्रतिशत स्थानीय तहमा भएका भ्रष्टाचार सम्बन्धमा भएको सूचना सम्प्रेषण हुनुबाट समेत यही अवस्थाको पुष्ट्याइँ भएको छ । यी सबै अवस्थाले गर्दा नेपालमा संघीयताको कार्यान्वयन अत्यन्त संवेदनशील बन्दै गएको छ । यसमा सम्बन्धित सबै पक्ष गम्भीर नहुँदाको अवस्थामा अल्पअवधिमै संघीयताप्रति जनताको धारणा नकारात्मक बन्न सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.