कुकुर हाम्रो साथी

कुकुर हाम्रो साथी

कुकुर हाम्रा मित्र भएकाले घर र सडक जहाँ रहे पनि सम्मान गरौं। कुकुर पाल्ने सौखिनले स्थानीय प्रजातिलाई प्राथमिकता दिन आवश्यक छ


स्वास्थ्यसम्बन्धी सावधानी दिने कुकुरले व्यक्ति कामेमा, उसको ग्लुकोजको मात्रा घटेमा, एलर्जी गर्ने वस्तु देखिएमा वा त्यस्तै अन्य स्थितिमा संकेत दिन सक्छन्। कुकर साइकियाट्रिक बिरामीलाई सघाउन सक्छन्। यस्ता कुकुरले अँध्यारोमा डराउने व्यक्तिका लागि कोठामा पसेर बत्ती बालिदिने गर्छन्। बेहोसमा लगातार एउटै काम गरेको अवस्थामा सो अवस्था भंग गरिदिने, औषधि खान सम्झाउने जस्ता काम गर्न सक्छन्। पछिल्ला दिनमा अशक्तहरूलाई स्वतन्त्र जीवनयापन गर्न मद्दत पुर्‍याउने सेवक कुकुरको सहयोग लिने प्रचलन बढ्दै छ।

यहाँ अशक्त भन्नाले शारीरिक वा मानसिक कारणले एक वा धेरै मुख्य जैविक गतिविधि गर्न असमर्थ भएको वा अरूका आँखामा असमर्थ देखिएको व्यक्ति बुझिन्छ। सेवक कुकुर चाहिँ अपांगता भएका व्यक्तिका लागि काममा सघाउन व्यक्तिगत रूपमा प्रशिक्षित कुकुर हो। कुकुरले गर्ने काम सिधै व्यक्तिको अशक्ततासँग सम्बन्धित हुन्छ। दृष्टिविहीनको सहयोगी प्रदर्शक कुकुर उनीहरूलाई वरिपरिको वातावरण बुझ्न मद्दत गर्छन्। श्रवण कुकुर बहिरालाई आवाज बुझ्न सघाउँछन्। गतिशीलता कुकुर व्यक्तिलाई ह्विल चेयर, हिँड्ने यन्त्र प्रयोगमा र स्थिर भई नलड्नमा मद्दत गर्छन्।

स्वास्थकर्मीका रूपमा पनि कुकुरको प्रयोग हुन थालेको छ। सन् २०१८ मा बीएमसी साइकियाट्रीमा प्रकाशित एक अध्ययनअनुसार मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई कुकुरद्वारा उपलब्ध स्वास्थ्यसेवाले राम्रो गरेको पाइएको छ। केही अध्ययनले डिप्रेसन, बाइपोलार समस्या, अटिज्म, ट्रमापछिको स्टे«स, आल्त्सहाइमरजस्ता समस्या भएका व्यक्तिलाई कुकुर र अन्य साथ दिने जन्तुबाट फाइदा पुग्ने देखिएको छ। थोरै सन्तान पाउने र सानो परिवारमा बस्ने जनसंख्या बढेसितै साथीका रूपमा कुकुर पाल्ने सौखिनको संख्या विश्वमै बढ्दैछ। सन् २०१८ मा ४७ करोड पुगेको छ।

जीवनयापनमा कुकुर

कुकुरले पशुपालनमा मानिसलाई हजारौं वर्षदेखि सघाउँदै आएका छन्। अहिले पनि हाम्रा गोठालाले चौंरीपालन, भेडाबाख्रा पालनमा कुकुरको सहयोग लिने गरेका छन्। आफ्ना वस्तुभाउलाई वन्यजन्तुको आक्रमणबाट जोगाउने, चराउने क्रममा छरिन लागेका घरपालुवा जन्तुलाई निर्दिष्ट दिशातिर फर्काउने काममा कुकुरको मद्दत लिने गरिन्छ। शिकारीका लागि कुकुर ज्यादै भरपर्दो साथी हो। कतिपय शिकारमा कुकुरको प्रयोग यथावत छ।

मानिससँग यसरी नजिक

कुकुर मंगोलिया वा नेपालमा पहिलोपटक घरपालुवाका रूपमा पालिएको देखिएको छ। सन्् २०१५ मा अमेरिकाको प्रोसिडिङ अफ द नेशनल एकेडेमी अफ साइन्सेसमा येल विश्वविद्यालयका र्‍यान ब्वाइको र उनका सहकर्मीले प्रकाशित गरेको एक अध्ययनले यो देखाएको हो। कुकुर र मानिसबीचको सम्बन्ध निकै पुरानो हो। मानिसहरू अफ्रिका र मध्यपूर्वबाट युरोप र एसियातिर फैलिँदा कुकुर पनि साथै रहेको मानिन्छ। कहिलेकाँही मासु पनि खाने मानिस र सर्वहारी कुकुर सुरुमा कसरी नजिकिन पुगे भन्ने कुरामा अनेक अड्कलबाजी छन्। कुकुर मानिसले खेर फालेको हड्डी र अन्य खानामा पल्किएर मान्छेसित नजिकिन थालेको हुनुपर्छ। अन्य जंगली जनावरलाई सजिलै झम्टिने तर मानिसका अगाडि भद्र हुनाले कुकुरले सजिलै मानिसको विश्वास जितेको हुनुपर्छ। कुकुर मानिससित बफादारीपूर्वक बस्दै आएको छ। शिकार खेल्दा र घरगोठको सुरक्षामा मात्र होइन, अपराध अनुसन्धानदेखि मनोरंजन र सुखदुःखमा पनि मानिस र कुकुर साथी बनेका छन्।

धर्मसंस्कृतिमा कुकुर

हिन्दू धर्ममा कुकुरको महत्वपूर्ण स्थान छ। कुकुरलाई यमराजको दूत र भैरवको बाहनको रूपमा लिइन्छ। ऋग्वेदमा सरमा नामक कुकुर्नीले इन्द्रलाई पणि दैत्यहरूले चोरेको गाई फिर्ता पाउन मद्दत गरेको प्रसंग छ। महाभारतमा पाण्डवहरू स्वर्ग जान हिँड्दा एउटा कुकुर उनीहरूको पछि लागेको, बाटामा अरू सबैजना लडेर युधिष्ठिर र कुकुर मात्र ज्युँदै स्वर्ग पुगेको र अन्तिममा धर्मको स्वरूप रहेको भेद खुलेको कथा छ। कार्तिक कृष्ण चतुर्दशी वा यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाउने गरिन्छ। मानवदिसा खाने भएकाले कुकुरलाई पवित्र मानिँदैन। पितृकार्य र देवकार्यमा पनि कुकुरलाई परै राखिन्छ। कुकुरलाई घरको ढोकाबाहिरै राख्ने चलन ग्रामीण क्षेत्रमा अझसम्म कायमै छ। हिन्दूइतरका धर्मसंस्कृतिमा पनि कुकुर अपवित्र जन्तु हो।

अपराध छानबिनमा कुकुर

कुकुर घ्राणशक्तिमा अब्बल छ। सुँघेर सूचना पत्ता लगाउनमा कुकुर मानिसभन्दा दस हजारदेखि एक लाख गुणासम्म प्रभावकारी हुन्छन्। प्रहरी र सम्वद्ध पक्षले कुकुरको यो क्षमतालाई सूचना संकलन, अपराध अनुसन्धान र लुकाइएका वस्तु पत्ता लगाउने काम र दुर्घटना तथा दैवीप्रकोपमा पुरिएका वा हराएका ज्यूँदा वा मृत व्यक्ति खोज्ने कार्यमा प्रयोग गर्ने विधि विकास गरेको छ। नेपालमा २०२६ सालदेखि प्रहरी सेवामा कुकुरको प्रवेश भयो। २०३२ सालदेखि भने नेपाल प्रहरीले प्रहरी कुकुर शाखा स्थापना गरेर औपचारिक रूपमा अनुसन्धानका लागि कुकुर पाल्न थाल्यो। जुन केन्द्रीय कुकुर तालिम केन्द्र हुँदै अहिले महाशाखा बनेको छ। नेपाल प्रहरीसित शुद्ध जातका कुकुर छन्, तीमध्ये कुनै विदेशबाट किनेर ल्याइएका हुन्। कुनै भने आफ्नै उत्पादन हुन्। विशेष खालका कुकुर त्रिभुवन अन्तर्राष्ट्रिय, विराटनगर र जनकपुर विमानस्थलमा खटाइएका छन्। नेपाली सेनाले २०५५ सालदेखि कुकुरको मद्दत लिने गरेको छ। सेनाले भैरव बहान गुल्ममा जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल र बेल्जियन म्यालेन्वा कुकुर पालेको छ। सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी कुकुर विदेशमा शान्ति मिसनमा पनि पठाउने गरेको छ।

वैज्ञानिक अनुसन्धानमा कुकुर

मानिसले अन्तरिक्ष यात्रा कुकुरबाट सुरु गर्‍यो। सन् १९५७ मा सोभियत संघले स्पुतनिक–२ यान अन्तरिक्षमा पठाउँदा त्यसमा सडकबाट समातिएको लाइका नामक कुकुर राखिएको थियो। औषधि अनुसन्धान तथा विकासमा कुकुर पनि प्रयोग हुन्छ। पछिल्ला दिनमा पशुअधिकारकर्मीले कुकुरलगायत जन्तुमा गरिने औषधि परीक्षणको विरोध गरेका छन्। तैपनि औषधि विकास, तिनको सुरक्षा परीक्षणमा जन्तुको प्रयोग भइरहेको छ। मानिसमा देखिने क्यान्सर, बुढ्यौली, मल्टिपल स्क्लेरोसिस, मुटुरोगसम्बन्धी अध्ययनका लागि कुकुर उपयुक्त मोडेल देखिएको छ, यी समस्याको समधान खोज्ने अध्ययनमा कुकुरले ठूलो भूमिका खेलेको छ।

नेपालमा कुकुरको स्थिति

नेपालमा दुई अवस्थाका कुकुर छन्। पहिलो वर्गका कुकुरको जनसंख्या लामो समयदेखि नियन्त्रित रहिआएको छ। सौखिन र सहरी क्षेत्रमा नागरिकले कुकुर पाल्छन्। ती कुकुर सौख र सुरक्षाका लागि पालिन्छन्। ग्रामीण र सडक सञ्जालले बनेका बजार क्षेत्रमा कुकुर बाँध्ने चलन कमै छ। एक हिसाबले ती कुकुर सामुदायिक हुन्। कसैको स्वामित्वमा दर्ता नभएका र बन्धनमा नरहेका त्यस्ता कुकुरलाई गाउँघरमा भुस्याहा नसम्झी सबैले प्रेमपूर्वक हेर्ने र घरमा आइपुग्दा तिनलाई यथायोग्य खानबस्न दिने चलन छ। यी कुकुर पनि आफ्नो गाउँबस्तीका मानिसलाई चिन्छन् र तिनप्रति मित्रवत व्यवहार गर्छन्। बाहिरी क्षेत्रबाट अपरिचित मानिस, खासगरी अँध्यारोमा आएमा यिनले तिनलाई भुक्ने र उस्तै परे टोक्ने पनि गर्छन्।

  • मानिसले अन्तरिक्ष यात्रा कुकुरबाट सुरु गर्‍यो 
  • शिकारीका लागि कुकुर ज्यादै भरपर्दो साथी हो
  • अपराध अनुसन्धानका साथै सुखदुःखमा मानिस र कुकुर साथी बनेका छन्
  • कुकुरले मानिसलाई पशुपालनमा हजारौं वर्षदेखि सघाउँदै आएका छन्
  • कुकुरलाई यमराजको दूत र भैरवको बाहनको रूपमा लिइन्छ

दोस्रो वर्गका कुकुर सहरी क्षेत्रमा भुस्याहाको रूपमा छन्। सडक, होटेलछेउ फालिएका फोहोर खाना, छेउमा आएका कुकुरलाई मानिसले गच्छेअनुसार खान दिने चलन, कुकुर नखाने चलन र कुकुरलाई हानी नपुर्‍याउने चलनले सहरी क्षेत्रमा सडक कुकुर छिटो फैलिने वातावरण छ। त्यसमाथि कतिपय कुकुरधनीले तालिम दिन नसकिएका, काम लिन नसकिएका र छिप्पिएका कुकुरलाई घरबाट निकालिदिनाले यस्ता कुकुर सहरबजारमा संख्यात्मक समस्याका रूपमा देखिएका छन्। पशु कल्याण संघलाई उद्धृत गर्दै एक अनलाइनमा गएको वैशाख अंकमा काठमाडौं उपत्यकामा करिब एक लाख सडक कुकुर रहेको उल्लेख छ। ठूलो संख्यामा रहेका यस्ता कुकुर आहारा नपाएको अवस्थामा मानिसप्रति आक्रामक पनि देखिन्छन्। कतिपय सहरमा यस्ता कुकुरको संख्या नियन्त्रणका लागि पोथीको बन्ध्याकरण अभियान चलाइएका छन्।

सबै कुकुरलाई रेबिजविरुद्ध अग्रिम खोप दिन नसक्दा यिनबाट मानिस र अन्य घरपालुवा जनावरमा रेबिज संक्रमण हुने गरेको छ। वर्षेनी धेरै मानिस र घरपालुवा जन्तुको ज्यान जाने गरेको छ। यसर्थ, माथिका दुवै वर्गका कुकुरलाई रेबिजविरुद्ध खोपको अनिवार्य व्यवस्था हुन आवश्यक छ। जंगली जनावर चमेरो, फ्याउरो, लोखर्के आदिमा रेबिज देखिए पनि अमेरिकामा सन् २००७ देखि कुकुरमा रेबिज देखिएको छैन। व्यापक खोप अभियानद्वारा नेपालमा पनि कुकुरलाई रेबिजबाट मुक्त राख्न सम्भव छ। अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्रले सन् २००७ देखि अमेरिकालाई कुकुरबाट कुकुरमा सर्ने रेबिजबाट मुक्त भएको देश घोषणा गरेको छ।

कुकुर्नीको बन्ध्याकरणमार्फत सडक कुकुरको संख्या घटाइनु अल्पकालीन हिसाबले उचित भए पनि दीर्घकालीन समाधानका लागि सडकमा फोहर खाद्य जथाभावी नफाल्नु र घरपालुवा कुकुर सडकमा नछाड्नु नै हो। सबै कुकुर मारेर सडकलाई कुकुरमुक्त राख्नु पनि बुद्धिमानी होइन। कुकुरको अभावमा सडकमा मुसा, स्याल र मानवप्रति मैत्रीभाव नराख्ने अन्य जन्तुको वृद्धि हुनेछ। यदि हामी नांगो आँखाले देखिने सबै जीवलाई सखाप पार्छौं भने तिनको ठाउँ सूक्ष्मजीवले लिनेछन्। विषादीको प्रयोगद्वारा सूक्ष्मजीवलाई पनि निर्मूल पार्न थाल्यौं भने हाम्रो औषधि र विषले नछुने घातक जीव देखा पर्नेछन्। जहाँसम्म कुकुरको सबाल छ, यी हाम्रा मित्र हुन्। घर र सडकमा यिनलाई सम्मान गरौं। कुकुर पाल्ने सौखिनले पनि स्थानीय प्रजातिलाई प्राथमिकता दिन आवश्यक छ। नत्र नेपालमा मात्र पाइने कुकुरमाथि पनि चासो नपुग्दा हामी प्याटेन्ट अधिकार गुमाउने छौं। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.