स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने : 'भदौ अन्तिम साताबाट गर्न सकिन्छ'
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा भदौ अन्तिम साता या असोज पहिलो साताबाट सञ्चालन गर्न सकिने जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको बताए ।
उनले भने, ‘जापानबाट प्राप्त भएको १६ लाख मात्रा एष्ट्रेजेनका खोपमध्ये विद्यार्थीलाई पनि उपलब्ध गराइएको छ । परीक्षा भदौ अन्तिम साता या असोज पहिलो साताभित्र गर्न सकिन्छ । विद्यार्थीलाई खोप लगाउने अभियानलाई तीव्ररुपमा अघि बढाइएको छ ।’
उनले धेरै परीक्षार्थी भएको स्थानमा होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए । उनले परीक्षा छिटोभन्दा छिटो गर्नुपर्ने भन्दै त्यसका लागि सरोकारवाला निकायसँग समन्वय गरिने बताए ।
पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका संसदीय समितिका सदस्य गिरीराजमणि पोखरेलले यथासीघ्र कक्षा १२ को परीक्षा गराउनुपर्ने बताए । समिति सभापति जयपुरी घर्तीले जनस्वास्थ्यका मापदण्ड पालना र खोप उपलब्ध गराएर छिटोभन्दा छिटो परीक्षा संचालन गर्न सरकारलाई निर्देशन दिइन् ।