तालिबानसँग चीनको अनपेक्षित मित्रता: अमेरिकाले छाडेको 'मैदान' भर्न खोज्‍दैछ चीन ?

तालिबानसँग चीनको अनपेक्षित मित्रता: अमेरिकाले छाडेको 'मैदान' भर्न खोज्‍दैछ चीन ?

काठमाडौँ: झण्डै २०० वर्षको अन्तरालमा अफगानिस्तानले तीन विशाल देशका लाखौँ सैनिकलाई पराजित बनाएर फिर्ता  गरिदियो । बेलायत, सोभियत संघ र अमेरिका विभिन्न समयमा यी तीन देश निकै शक्तिशाली थिए र छन् । तर अफगानिस्तानका सामु उनीहरुको अत्याधुनिक हतियार र सैन्य कौशल फिका बन्यो ।

पछिल्लो पटक अफगानिस्तानका सशस्त्र लडाकूले अमेरिकालाई अपमानजनक रुपमा घर पठाइदिए । र २० वर्षपछि अफगानिस्तान त्यही घरेलु सशस्त्र समूह तालिबानको कब्जामा छ ।

अमेरिका फिर्ता गइरहँदा तालिबान नेतृत्वको अफगानिस्तानसँग चीन भने अनपेक्षित रुपमा नजिकिँदैछ । जुन घटनालाई आलोचकहरुले अनौठो रुपमा हैन, एक स्वभाविक परिघटनाको रुपमा हेरिरहेका छन् । अफगानिस्तानबारे जानकारहरु भन्दैछन्, अमेरिकाको ठाउँ अब चीनले भर्दैछ ।

तर कसरी ? के अफगानिस्तानमा अमेरिकाले पहिले जे गरेको थियो त्यस्तै गर्न सम्भव छ त ? अफगानिस्तान मा ब्रिटिश सैन्य बलका पूर्व कमान्डर कर्नेल रिचर्ड केम्पले हालै फक्स न्यूजका लागि दिएको अन्तर्वार्तामा भनेका छन्, "चीन, रूस र पाकिस्तान अफगानिस्तानलाई लुटेर समृद्ध बन्नेछन् ।"

ब्रिटिश कमान्डर रिचर्डको कडा आरोपमा धेरै जना सहमत नभए पनि आधारभुत रुपमा के कुरामा धेरैको सहमति छ भने, तालिबानसँग नजिक हुँदै गर्दा चीनले आफ्नो रणनीतिक चासोलाई प्रमुख रुपमा ध्यान दिएको छ । उसले अफगानिस्तानको पुनर्निर्माण गर्ने घोषणा त गरेको छ तर त्यससँगै दिर्घकालीन रुपमा महंगो नाफा पनि हेरिरहेको छ ।

त्यसैले त तालिबानले अफगानिस्तान कब्जा गरिसक्दा नसक्दै हतारमा चीनले तालिबानको सत्तालाई मान्यता दियो । तालिबानसँग मित्रतापूर्ण सम्बन्ध स्थापित गर्ने घोषणा गरिसकेको छ ।

यसरी चीनले तालिबानलाई साथ दिनुको पछाडिका प्रमुख कारणमध्ये एक हो उसको महत्वाकांक्षी परियोजना 'बेल्ट एन्ड रोड इनिसियटीभ' (बीआरआई) । चीन आफ्नो यस परियोजनालाई अफगानिस्तानमा लागू गर्न आतुर देखिन्छ । अफगानिस्तानलाई उसले भर्जिन ल्याण्डको रुपमा हेरिरहेको छ । चीनले यस परियोजना क्षेत्रमा ठूलो मात्रामा उर्जा तथा यातायात पूर्वाधारका लागि लगानी गर्ने गरेको छ । यस परियोजनाका लागि चीनले पाकिस्तानलाई निकै प्राथमिकता दिएको छ । अघिल्लो वर्ष मात्रै कोरोना महामारीका बावजुद पाकिस्तानमा चीनले २३ वटा नयाँ पूर्वाधार निर्माण गरेको थियो ।

यदी बीआरआई अन्तर्गत चीनले पाकिस्तानबाट अफगानिस्तानसम्म सडक विस्तार गर्न सक्षम भयो भने मध्यपूर्वका ठूला बजारसँग अफगानिस्तानलाई जोड्नसक्ते विश्लेषकहरु बताउँछन् । चीनले पेशावर-काबुल जोड्दै मध्यपूर्वको बजारमा अफगानिस्तानको पहुँच पुर्‍याउन एक छोटो स्थलमार्ग खोल्ने लक्ष्य राखेको बताइन्छ। जुन एक नयाँ मार्गको रुपमा प्रयोग हुनेछ ।

पाकिस्तान सहित मध्य एसिया, भियतनाम, इन्डोनेसिया र अरु दर्जनौँ अफ्रिकी मुलुकमा चीनले लगानी गरिसकेको छ। सोही परियोजनामा चीनले तालिबान नेतृत्वको अफगानिस्तानलाई पनि जोड्नसक्छ ।

यसवाहेक चीन विरोधी हुनसक्ने गतिविधि रोक्नका लागि पनि अफगानिस्तान उसको साथमा हुनु जरुरी ठानिन्छ । पछिल्लो पटक तालिबानसँग चीनले सम्बन्ध विस्तार गर्न खोज्नुको एक कारण चीन विरोधी रोक्ने उद्देश्य पनि एक हो । एक छिमेकी देशको रुपमा अफगानिस्तानले चीन विरोधी समूह नियन्त्रण गरोस् भन्ने चीनको चाहना छ । यसअघि जुलाइमा चिनियाँ विदेशमन्त्री वाङ यी र तालिबानका प्रवक्ता तथा सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरबीच भएको वार्तामा समेत वाङले यसबारे चासो देखाएका थिए । जवाफको रुपमा बरादरले अफगानिस्तानमा चीनविरोधी कुनै समूहले गतिविधि गर्न नपाउने बाचा गरेका थिए ।


अमेरिकाको सट्टा चीन:

यसबीचमा चीनले अफगानिस्तानलाई चिकित्सा सहायता, अस्पताल, सौर्य उर्जा केन्द्र लगायत लाखौं डलरको सहयोग प्रदान गरिसकेको छ । अफगानिस्तानमा अमेरिकी उपस्थितिका बावजुद चीन भने अफगानिस्तानको बलियो व्यापार सम्बन्धलाई प्राथमिकता दिइरह्यो । अन्तत अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये चीन एक बनेको छ ।

विश्लेषकहरु के पनि भन्छन् भने चिनियाँ लगानीका लागि अफगानिस्तान जति महत्वपूर्ण छ, अफगानिस्तानका लागि पनि चीन उत्तिकै महत्वपूर्ण बनेको छ । २० वर्षको युद्ध अन्त्य भइसक्दा अफगानिस्तानको ८० प्रतिशत अर्थतन्त्र अमेरिका र अन्य विदेशी दातृ राष्ट्रहरुमा निर्भर छ ।

तर तालिबानले सत्ता कब्जा गरिसकेपछि नियमित आर्थिक गतिविधि ठप्प बनेको छ । २०२० मा अफगानिस्तानको व्यापार घाटा ५ दशमलब ७ बिलियन डलर थियो। ८०० मिलियन डलर फलफूल तथा गेडागुडी निर्यातबाट कमाउने अफगानिस्तानले ६ दशमलब ५ बिलियन डलरको आयात गर्नुपर्ने बाध्यता छ ।

विश्व बैंकका अनुसार अफगानिस्तानको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ३०% छ । विदेशी सहायता विना अफगानिस्तानको अर्थतन्त्र चल्न नै नसक्ने बताइन्छ । सबैभन्दा ठूलो दातृ राष्ट्र अमेरिकाले पछिल्लो समय सबै वित्तीय सहयोग रोकेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नगद प्रवाह समेत बन्द गरिसकेको छ । तालिबानलाई तत्काल यहाँका जनताको दैनिकी चलाउनु र अर्थतन्त्र नियमित रुपमा चलाउनु आधारभुत चुनौती र चिन्ता बनेको छ।

अफगानिस्तानको अर्थतन्त्रमा देखिएको संकट पूर्ति गर्नका लागि पनि कुनै ठूलो दातृ निकायको खाँचो परेको बताइन्छ । नजिकको छिमेकी पाकिस्तानले सहयोग गर्न सक्दैन । यस्तो अवस्थामा अर्को छिमेकी राष्ट्र चीनलाई नै तालिबानले आफ्नो प्रमुख दातृ राष्ट्र बन्नसक्ने देखेको छ । अर्थतन्त्र चलाउन मात्रै नभएर यहाँको भौतिक पूर्वाधार निर्माणका लागि पनि चीन अफगानिस्तानको लागि महत्वपूर्ण सहयोगी बन्नसक्नेछ । आलोचकहरु के भन्छन् भने, अमेरिकाले खाली गरिसकेको मैदानले अब चीनलाई स्वागत गरिरहेको छ ।


चीनसँगको सम्बन्धमा चुनौती:

अफगानिस्तानको २०० वर्षको इतिहास हेर्दा यहाँका समूह कुनै खास एक मात्र देशको अधिनमा रहन सकेका छैनन् । जसरी पछिल्लो २० वर्षसम्म अमेरिकी प्रभाव अफगानिस्तानमा रहँदा अफगानिस्तानका तीन शक्ति सेना, सरकार र तालिबान समूह आपसमा विभाजित थिए । यतिसम्म कि तत्कालीन अफगान सरकारलाई अमेरिकाले साथ दिँदा सेना रुष्ट थियो । पछिल्लो पटक तालिबानले सत्ता कब्जा गर्नुअघि पनि यहाँको सेनाले अशरफ घानीको सरकारलाई साथ दिएन भनिन्छ । र घानीको सरकारले पनि शान्ति वार्ताको पहल गर्दा सेनालाई बेवास्ता गरेका थिए ।

यस्तै आन्तरिक खिचातानी र शक्ति संघर्षको सामना चीनले पनि गर्नुपर्ने हुनसक्छ । त्यसो त चीन र अफगानिस्तानबीच रहेको ७६ किमि क्षेत्रफलको स्थल सीमा उत्तिकै जटिल पनि छ । ५००० हजार मिटर उचाइसम्मका पहाड उक्लिएर सीमा पार गर्नुपर्ने अप्ठ्यारो सँगै दुई देशबीच औपचारिक रुपमा सीमा खुल्न सकेको छैन । चीनले पनि हालसम्म सीमा खोल्न चासो देखाएको छैन । पामिर क्षेत्रमा स्थानीयका लागि प्रयोग हुँदैआएको सीमा वाहेक दुई देशबीच पारवहनका लागि अहिले सम्भव देखिएको छैन । वित्तीय सम्बन्धको प्रमुख चुनौती नै दुई देशबीच जटिल सीमा देखिएको छ।

यस्तै न्युन साक्षरता दर र गरिबी अफगानिस्तानको समृद्धिका लागि मुख्य चुनौती हुनेछ । विश्व बैंकको तथ्यांक अनुसार २०१४ मा ५४.५ प्रतिशत गरिबीको रेखामुनि रहेको अफगानिस्तान २०१८ सम्म आइपुग्दा झन निराशाजनक रुपमा खस्किएको छ । साक्षरता दर ४३ प्रतिशतमा सिमित भएको छ ।

न्यूयोर्क टाइम्सको २० वर्षअघिको एक रिपोर्टमा उल्लेख भए अनुसार १०५० मा चीनको अवस्था हेर्ने हो भने साक्षरता दर जम्मा २० प्रतिशत थियो । तर यसबीचमा चीनले पूर्वाधारसँगै साक्षरता उकास्‍न पनि ठूलो लगानी गरेपछि मात्रै चीनको समृद्धि सम्भव भएको हो । अफगानिस्तानमा निरक्षरताको दूरावस्थातर्फ चीन र तालिबान दुबैले महत्व दिने कुनै संकेत छैन।

चीनले अफगानिस्तानको पूनर्निर्माणमा सहयोगी हात फैलाउँदै गर्दा यहाँको भौतिक र मानवीय विकासमा उत्तिकै ध्यान दिनु जरुरी भएको विश्लेषकहरुको सुझाव छ । अन्यथा अफगानिस्तानका तामा, सुन, क्रोमियम, सीसा लगायत परम्परागत खनिजका विशाल भण्डारमा मात्रै चीनको नजर केन्द्रित हुनेछ वा यहाँका विपन्न जनताको सुन्दर भविष्यका लागि पनि ?

(एजेन्सीहरुको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.