विश्‍वभर आज: समुद्रमा सुरुङ बनाउँदै जापान, पाकिस्तान तालिबानको 'दोस्रो घर'

विश्‍वभर आज: समुद्रमा सुरुङ बनाउँदै जापान, पाकिस्तान तालिबानको 'दोस्रो घर'

युएईका वरिष्ठ अधिकारी र कतारका राजकुमारविच दुर्लभ भेट

दोहा: संयुक्त अरब इमिरेट्सका वरिष्ठ अधिकारी र कतारका राजकुमारबीच बिहीबार दोहामा भेटवार्ता भएको छ। युएईका राष्ट्रिय सुरक्षा सल्लाहकार शेइख ताहनौन वीन जायद अल नाहयान र कतारका राजकुमार अमिर शेइख तामिम वीन हमाद अल थानीबीच अमिरको कार्यालयमा भेटवार्ता भएको बताइएको छ ।

करिब चार वर्षपछि गरिएको उनीहरुको भेटवार्तालाई स्थानीय मिडियाहरुले दुर्लभ भेटको संज्ञा दिएका छन् । कतारसँग भएको विवाद समाप्त गर्न सन् २०१७ मा साउदी अरेविया, युएई, बहराइन र इजिप्टले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए  ।

000

भारतमा सांसदमाथि बलात्कार आरोप लगाउने युवतीले गरिन् आत्मदाह

नयाँदिल्ली: भारतमा एक सांसदमाथि बलात्कारको आरोप लगाउने २४ वर्षीय युवतीले आत्मदाह गरेकी छन् ।
उपचारको उपचारका क्रममा मृत्यु भएको हो।

उत्तर प्रदेशका सांसद अतुल रायले आफूमाथि बलात्कार गरेको भन्दै अगष्ट १६ मा पीडित युवती र उनका साथी सत्यम प्रकाश रायले भारतको सर्वोच्च अदालतबाहिर आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए ।

यस्तो प्रयासपछि गम्भीर घाइते बनेका सत्यम प्रकाशको तीन दिनअघि र पीडित युवतीको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको थियो ।

पीडित युवतीले बहुदल समाज दल लोकसभाका सांसद अतुल रायले वणारसीस्थित आफ्नै निवासमा बलात्कार गरेको भन्दै सन् २०१९ मा प्रहरीसमक्ष जाहेरी दिएकी थिइन् ।

अदालतसम्म पुगेको उक्त मुद्दाले २०२१ अगष्ट २ मा गैरजमानत वारेन्ट जारी गरेको थियो । महिलाको आरोप गलत भनिए पनि अदालतले आरोपित व्यक्ति यतिबेला हिरासतमा रहेको बताइएको छ ।

यद्यपि आरोपितले पीडितमाथि हिरासतबाटै धम्की दिने र अन्य व्यक्तिमार्फत थप मानसिक यातना दिने गरेको बताइएको छ । उनको पीडा सहन नसकी पीडित र उनका साथीले आत्मदाह गर्न बाध्य भएको बताएका थिए । भारतमा हरेक वर्ष बलात्कारपछि पीडितले न्याय नपाउने र पीडितहरुमाथि नै धम्की आउने गरेका घटना दोहोरिने गर्छन्।
000

भेनेजुयलामा बाढीका कारण २० को मृत्यु

काराकास: दक्षिण अमेरिकी मुलुक भेनेजुयलाको मेरिडामा राज्यमा पहिरोसहित आएको बाढीका कारण कम्तीमा पनि २० मानिसको मृत्यु भएको बताइएको छ ।

मेरिदा नदीमा बुधबार राति आएको बाढीका कारण १७ मानिस हराइरहेको र १२ सयभन्दा बढी घरहरुमा क्षति पुगेको स्थानीय मिडियाले जनाएका छन् ।

बाढीका कारण बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सडक र टेलिफोन विच्छेद भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने भेनेजुयलाको समाजवादी पार्टी कार्यालयले स्थानीय सञ्चारमाध्यममार्फत जानकारी दिएको छ ।

स्टेट गभर्नर रामोन गुयभाराका अनुसार यस वर्ष भेनेजुयलामा बाढी र पहिरोका कारण ५४ हजार ५४३ मानिस र ८७ नगरपालिका पूर्ण रुपमा प्रभावित भएका छन् । कैयौँ स्थानका सडक र पुलमा पूर्ण रुपमा क्षति पुगेको छ ।
000

अरब लीगले अल्जेरिया र मोरोक्कोलाई वार्तामा बोलायो

दोहा: दी अर्गनाइजेसन अफ इस्लामिक कोपरेसन (ओआइसी) र साउदी अरबियाले अल्जेरिया र मोरोक्कोलाई वार्तामा बोलाएका छन् ।

अल्जेरियाले मोरोक्कोसँग कुटनैतिक सम्बन्ध तोडेपछि अरब लीगले दुबै मुलुकलाई वार्तामा बोलाएको हो । मोरोक्कोले आफूमाथि शत्रुतापूर्ण व्यवहार र अन्याय गरेको भन्दै अल्जेरियाले मंगलबार मोरोक्कोसँगको कुटनैतिक सम्बन्ध तोडेको घोषणा गरेको थियो ।

दुई देशबीचको कुटनैतिक समस्या समाधान गर्न भन्दै अरब लीगले दुबै देशलाई वार्तामा बोलाएको हो । साउदी अरेबियाले दुई देशबीचको समस्या हल गर्न, सुरक्षा र स्थायीत्व कायम राख्न संवादलाई प्राथमिकतामा राखेको बताएको छ ।

अरब लीगका महासचिव अहमद अबुल गेइतले बुधबार विज्ञप्ती जारी गर्दै दुबै देशलाई संयमता अपनाउन र थप तनावबाट बच्न आग्रह गरेका छन् । अरब लीगले दुई देशको वार्ताका लागि आगामी सेप्टेम्बर ७ देखि ९ सम्मको मिति तोकेको छ । वार्ता इजिप्टको कायरोमा हुने बताइएको छ ।

000

पाकिस्तान तालिबानको दोस्रो घरः तालिबान

काबुल: तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले पाकिस्तान तालिबानको दोस्रो घर भएको बताएका छन् । पाकिस्तानी न्युज वेबसाइट एआरवाई न्युज टिभीका अनुसार मजाहिदले बुधबार राति पाकिस्तान आफ्नो दोस्रो घर भएको र आफ्नो घरको विरुद्ध संकट आउन नदिने बताएका छन् ।

एआरवाई न्युजको एक विशेष अन्तर्वार्तामा मुजाहिदले अफगानिस्तानमा चरमपन्थी सगठनको उपस्थिति, भारतमा कश्मीर र इस्लामिक स्टेट र भारत पाकिस्तान सम्बन्धबारे आफ्नो भनाइ राखेका छन् ।

अफगानिस्तानमा स्लामिक स्टेट र पाकिस्तानको मुद्दामाथि उनले भनेका छन्, ‘हामीले अरुको निम्ति आफनो जमिन गुमाउने छैनौँ, न त कसैलाई आफ्नो जमिन प्रयोग गर्न दिनेछौँ । यसबारे हाम्रो स्पष्ट नीति बनिसकेको छ । पाकिस्तान हाम्रो दोस्रो घर भएकोले अब हामी एकसाथ अघि बढ्नेछौँ ।’
000

पानीमुनि सुरुङ निर्माण गर्दै जापान

टोक्यो: जापानले पानीमुनि (अन्डर सी) सुरुङ निर्माण गर्ने भएको छ । न्युक्लियर (दुषित) पानीलाई शुद्धिकरण गरी समुद्रमा मिसाउने उद्देश्यले जापानस्थित फुकोसिमाका अपरेटरहरुले पानीमुनि सुरुङ निर्माण गर्ने भएका हुन् ।

फुकुसिमास्थित न्युक्लियर वाटर प्लान्ट निर्माण गरिएको छ । उक्त न्युक्लियर वाटर प्लान्टमार्फत सन् रेडियोएक्टिभ तत्व र दुषित पानीलाई शुद्धिकरण गरिएको पानी टनेलमार्फत समुद्रमा निस्कासन गरिने बताइएको छ ।

फुकुसिमा न्युक्लियर प्लान्टद्धारा उद्घाटित योजनाले करिब एक मिलियन टनभन्दा बढी शुद्धिकरण गरिएको पानीलाई साइटमार्फत सीधा समुद्रमा निस्कासन गर्ने उद्देश्य राखेको छ ।

गत अप्रिल महिनामा दुई वर्षभित्र सञ्चालनमा ल्याउने उद्देश्यले निर्माण गरिएको १ किलोमिटर टनेलको योजना अघि बढिसकेको जापान सरकारले बुधबार घोषणा गरेको छ ।

न्युक्लियर प्लान्ट विस्फोट हुँदा निस्किएका रेडियोएक्टिभ तत्वहरुलाई शुद्धिकरण गरिएको पानी पानीमुनिको सुरुङमार्फत सुरक्षित तरिकाले समुद्रमा पुग्ने जापानका मन्त्रीहरुले बताएका छन् ।

टोक्यो इलेक्ट्रिक पावर कर्पोरेसन (टेप्को)ले पानीमुनि टनेल परियोजना २०२२ मार्चदेखि निर्माण थालिने बताएको छ । उक्त टनेल २.५ मिटर डायमिटरको हुनेछ भने शुद्धिकरण गरिएको १.२७ मिलियन टन पानी टनेलमार्फत समुद्रमा निष्कासन गरिने बताइएको छ ।
000

कतारले पायो अमेरिकाद्धारा निर्मित पहिलो ब्याच विमान 

दोहा: कतारले अमेरिकाद्धारा निर्मित न्यु जेनेरेसन एफ–१५ कम्व्याट विमान प्राप्त गरेको छ । खाडी मुलुकसँगको साझेदारीको उपलक्ष्यमा संयुक्त राज्य अमेरिका र बोइङ कम्पनीद्धारा निर्मित सो विमान कतारले पाएको हो।

अमेरिकाको मिसौरी राज्यस्थित बोइङ कम्पनीको मुख्यालयमा कतारलाई सो विमान हस्तान्तरण गरिएको थियो । कतारको रक्षा मामिला तथा राज्यमन्त्री खालिद बिन मोहम्मद अल अत्तियाहको उपस्थितिमा कम्पनीले सो विमान हस्तान्तरण गरेको थियो ।

कतारका राज्यमन्त्री खालिदले अमेरिकाले बनाएको सो विमान कतारको सैन्य सुरक्षामा निकै उपयोगी हुने बताएका छन् । कतारले आफ्ना छिमेकीहरुसँग राजनैतिक सम्बन्ध बिगारेसँगै सन् २०१७ मा अमेरिका र केही युरोपेली मुलुकहरुबाट युद्धपोत किन्नेबारेको सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । हालसम्म बोइङ कम्पनीले कतारको लागि करिब ३० विमान बनाइरहेको बताइएको छ ।
000

काबुलतर्फ हिँडेका १४० हिन्दू र शिखलाई तालिबानको रोक

काबुल: अफगानिस्तानका विभिन्न स्थानबाट घर फर्कन भन्दै काबुल विमानस्थलतर्फ हिँडेका करिब १४० हिन्दू, अफगान शिख र अन्य मानिसलाई तालिबानले रोक लगाएको बताइएको छ ।

अफगानिस्तान छोड्न काबुल विमानस्थलतर्फ हिँडेका हिन्दू, शिख र अन्य मानिसलाई तालिबानले बीच बाटोमै रोकेको इन्डियन वर्ल्ड फोरमका अध्यक्ष पुनित सिंहले जानकारी दिएका छन् ।

इन्डियन एयर फोर्स (आइएएफ) विमानमार्फत काबुल छोड्ने भनिएका ती मानिसलाई तालिबानले रोकेको र काबुल विमानस्थलमा आइएएफ विमान यात्रुलाई कुरिरहेको उनले बताएका छन् । करिब २ सय हिन्दू र अफगान शिखहरु बिहीबार बिहानसम्म हिन्डोन हवाइ मार्ग हुँदै भारत पुग्ने बताइएको थियो ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.