नझुकोस् वीरको शिर
वीर अस्पताल मुलुककै जेठो अस्पताल हो। १३१ वर्ष बिरामीको सेवा गरेको अनुभव छ। मुलुकभर अस्पतालको संख्या बढे पनि यहाँ बिरामीको चाप घट्दैन। बेवारिसे होस् वा बेहोसीको अवस्था, जुनै समय सबैको उपचारमा उदार छ। त्यसैले त गरिबको अस्पताल पनि भनेर चिनिन्छ। दिने सेवावापत लिने रकम न्यून नै छ। पैसा नभए पनि अस्पतालले हरेकको उपचार गरेकै छ। हाम्रै देशभित्र लाखौं वा विदेशमा महँगो पर्ने उपचार पनि यहाँ कम शुल्कमै भएका धेरै उदाहरण भेटिन्छन्। अस्पतालको हरेक विभागको उपचारको परिणाम संसारकै राम्रो अस्पतालको दर्जामा पर्छ। तर, गरिबदेखि भीभीआईपीसम्मको उपचार गर्ने अस्पताल पुगे पनि व्यवस्थापनको पक्ष गर्व गर्न लायक छैन।
अस्पातलमा उपचार गर्न जाँदा बिहान चार बजेदेखि नै लाइन बस्नुपर्छ। साढे ८ बजेको प्रतिक्षामा पाँच घण्टा उभिनुको विकल्प छैन। सजाय दिए जसरी बिरामी र उनका आफन्तलाई उभ्याएको घटना यहाँ नयाँ होइन। दैनिक हजारौंले सेवा लिने अस्पतालमा एउटा सामान्य टोकन वितरण गर्ने प्रणाली स्थापना गर्न नसक्नु आफैंमा लाजमर्दो विषय हो। यसले वीरको इतिहासलाई गिज्याइरहेको छ। अस्पतालको आधारभूत संरचना हेर्न लायक छ। विशेषज्ञ डास्टर, नर्स र अन्य स्वास्थ्यसेवक पर्याप्त छन्। सरसफाईमा क्रमिक सुधार छ। तर, बिरामीका आफन्तलाई अस्पताल पेटी र प्यासेजमा रात काट्नुपर्ने बाध्यता छ। बाहिर झट्ट देख्दा र सुन्दाको जस्ता सहजता अस्पताल पुग्दा भेटिँदैनन्। पीडा बोकेर पुग्नेहरू सेवा लिन नै सास्ती भोग्नु परेको महसुस गर्छन्।
अस्पतालभित्र समस्या हरेक क्षेत्रमा भेटिन्छन्। फोहोर व्यवस्थापन, प्रशासनिक क्षेत्र, पार्किङ मात्रै होइन, नयाँ सेवाग्राही पुगे कहाँ कसरी जाने ? सोध्ने कर्मचारी भेटिँदैनन्। भीआईपी र भीभीआईपी आउँदा सबै तैनाथ हुने तिनै कर्मचारी सर्वसाधारणले भने खोज्दा पनि भेटिँदैनन्। भेटे झर्किएर जवाफ दिने गुनासो कम छैन। सोझैभन्दा सर्वसाधारणले सहज सेवाको महसुस यहाँ पुग्दा गर्दैनन्। पुरानो, इतिहास बोकेको, सरकारको प्रत्यक्ष निगरानी भएको अस्पतालको हालत पनि अन्य सरकारी अस्पतालको सरह नै छ। सबै समस्या केलाउँदा अस्पताल र सरकारले सार्वजनिक गर्ने वीरको अवस्था कागजमा फुलाइएका फूलजस्ता मात्रै देखिन्छन्। पुरानो भनेर गर्व गर्नुबाहेक अन्यभन्दा फरक अवस्था यहाँ छैन।
वीर अस्पताल मुलुकको गौरव गर्न लायक संरचना हो। अरू अन्य सरकारी अस्पतालजस्तै बन्नु दुःखको कुरा हो। प्रशासनिक कार्यमा धेरै कमजोरी छन्। यसको सुधार र सर्वसाधारणको सहज पहुँचका लागि धेरै आदेशका श्रृंखला पनि चले। तर, कार्यान्वयन भएनन्। अस्पतालका कर्मचारीलाई समयको पूर्ण प्रयोग कसरी गराउने त्यसमा कुनै निगरानी छैन। धेरै कर्मचारीको जागिर यता, समय कतै लाभमा नै बितेका छन्। दण्ड र पुरस्कारको व्यवस्था छैन। कहिले कर्मचारी नियुक्तिको अखडा बन्छ भने कहिले स्वार्थको राजनीति गर्ने स्थान पनि वीर नै बन्छ। अस्पतालभित्र मात्र बीसभन्दा बढी संख्यामा विभिन्न राजनीतिक पार्टीका संघ, संगठन छन्। यहाँ गरिने सबैजसो विशेष नियुक्ति पूर्ण रूपमा पार्टीगत छ। भागबन्डाको व्यवस्था छ। राजनीतिक संगठनसँग आवद्ध हुनेको प्रगति चाँडै हुन्छ। जो कुनै दल वा संगठनसँग आवद्ध छैनन्, उनीहरूको प्रगति हुँदैन। यसको असर सोझै सेवाग्राही र व्यवस्थापनमा परेको छ।
सेवाग्राहीको समस्या केलाउनेभन्दा पनि माथिकालाई रिझाउने धाउनमा कर्मचारी छन्। यो नै अस्पतालभित्र जरो गाडेको मुख्य रोग हो। अस्पतालको हरेक विभागको उपचारको परिणाम संसारकै राम्रो अस्पतालको दर्जामा तुलना गर्न सक्नेसम्म बन्यो। यसलाई टिकाउन अब व्यवस्थापनको पाटो चुस्त हुनुपर्यो। अस्पतालको मुख्य काम भनेकै बिरामीको उपचार गर्नु हो। रोग सबैलाई लाग्छ र गर्ने उपचार पद्धति पनि एउटै हुन्छ। विशिष्ठ व्यक्ति आए सुरक्षाका कुरा होलान् तर उपचार र औषधि त सर्वसाधारण दिइने जस्तै हो। यहाँ बिरामीलाई गर्ने व्यवहार एउटै हुनुपर्छ। पद र प्रतिष्ठा हेरेर उपचार गरे वीरको शिर झुक्न समय लाग्दैन। दिने सेवा र गर्नेपर्ने सुधारमा अस्पताल प्रशासनको ध्यान चाँडो पुगोस्।