रहेनन् जनताका गायक जेबी टुहुरे
काठमाडौं : करिब दुई वर्ष अघि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बेग्लै रौनक थियो। तत्कालिन सरकार प्रमुखदेखि अग्रज सष्टा कलाकारको बाक्लो उपस्थित थियो। प्रज्ञा परिसर सुमधुर संगीतको धुनसँगै गुन्जायमान भएको थियो। परिसरजस्तै प्रफुल्ल थियो, त्यहाँ उपस्थित सष्टा, सर्जकको मन पनि। त्यहाँ ‘जेबी टुहुरेको निरन्तरता’ नामक सांगीतिक कार्यक्रम चलिरहेको थियो। कालो कोट पाइन्ट र सेतो सर्टमा सजिएका जेबी टुहुरे जब सभागृहको मञ्चमा उक्लिए। सांगीतिक रौनक बदलियो। कर्णप्रिय स्वरमा उनले सुरुमै गुनगुनाए...
आफ्नै पौरख खान्छन्, आफ्नै सीपमा बाँच्छन्
असल महान व्यक्तिहरू यिनैले जन्माउँछन्
ज्ञान गुन बुद्धिहरू यिनैले सिकाउँछन्
तर, पनि अँध्यारोमा जीवन बिताउँछन्।
आमा दिदी बहिनी हो कति बस्छौ दासी भई
सुखको सधै प्यासी बनेर ?
जब उनको स्वरसँगै संगीतको ताल मिल्यो, तब प्रज्ञा प्रतिष्ठानको माहोल तात्तियो। टुहुरेका गीत सुन्न बसेका पारखीहरू मन्त्रमुग्ध बनेका थिए। भर्खर पानी परेर हिलाम्मे भएको सडक पार गर्दै हजारौंको संख्यामा संगीत पारखीहरू कमलादी पुगेका थिए। हलमा उपस्थित भएका दर्शकले मन थाम्न
सकेनन्। कोही कुर्सीबाट उठेर नाच्न थाले त कोही अगाडि खाली रहेको ठाउँमा पुगेर हुटिङ गर्न थाले। गीत र संगीतमा मन्त्रमुग्ध भएका दर्शकलाई यथास्थानमा फर्काउन सुरक्षा निकायलाई समेत हम्मेहम्मे परेको थियो।
अब भने प्रत्यक्ष रुपमा उनको आवाज सुन्न नपाइने भएको छ। उनको स्वरमा ताल मिलाउँदै नाच्न नपाइने भएको छ। जनताको गीत गाउँदै, जनताको अधिकारको नारा बोकेर गाउँगाउँ डुलिहिँड्ने जनवादी गायक जेबी टुहुरे अब हामीमाझ छैनन्। बिहीबार दिउँसो बल्खुस्थित बयोधा अस्पतालमा उनले अन्तिम सास फेरेका छन्। गत भदौ १ गते कलंकीस्थित निवासमा लडेपछि उपचारका लागि उनलाई बयोधा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनलाई मस्तिष्कघात भएको थियो। मस्तिष्कघात भएर अचेत अवस्थामा रहेको उनको शरीरले बिहीबार भौतिक देह त्याग गर्यो।
वि.सं. २००१ साल कात्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे) कृष्णबहादुर खड्गी र दानदेवी खड्गीका जेठो सन्तान हुन्। २०२१ सालमा बुवाको निधनपछि उनले ‘जेबी टुहुरे’ लेख्न थाले। उनले २०२४ सालदेखि जनताका गीत गाउन सुरु गरे। न्याय, समानता, स्वतन्त्रता र परिवर्तनका पक्षमा गीतहरू गाउँदै हिंड्न थाले। जेबी टुहुरे गीत गाउने मात्रै होइन, गीतमा सामाजिक सन्देश पनि प्रवाह गर्थे। अजर, अमर र कालजयी बनेर अर्काइभ बनेका उनका गीतहरूले गाउँ ठाउँको चेतना बोल्छ। नागरिक स्वतन्त्रता, जनअधिकार, महिला मुक्तिको पक्षमा करिब डेढ सय गीतमा उनले स्वर दिएका छन्। सामाजिक र राजनीतिक अभियन्ताका रुपमा सक्रिय उनले जागरणमूलक र जनवादी गीत गाउँथे।
बसाइ हिंड्नेको ताँतीले
बस्नेको मन रुवाउँछ
लाखौंका लागि उजाड छ यो देश
मुठीभरलाई त स्वर्ग छ
टुहुरेका गीतहरू हरेकजसो राजनीतिक आन्दोलनको मेरुदण्ड बन्ने गरेको छ। उनी कम्युनिष्ट पार्टी निकट रहेर समाजको थिचोमिचो र अन्यायविरुद्ध आवाज उठाउँदै हिंडे। गाउँगाउँमा गीत घन्काउँदै हिंडे। क्रान्तिकारी र परिवर्तशील गीत गाएकै आधारमा उनी कयौं पटक जेलसमेत पुगे। उनले जीवन निर्वाहका क्रममा कपडा पसल चलाउने, साग बेच्ने, होटल चलाउनेदेखि किताब पसल पनि चलाएका थिए। उनी दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालिन माओवादीबाट समानुपातिक सांसदसमेत बनेका थिए।
संगीतकार सुरेश अधिकारी टुहुरेको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउँछन्। उनले टुहुरे समाज परिवर्तनका लागि सिर्जना गर्ने प्रगतिशील सर्जक भएको दाबी गरे। पञ्चायतको कठिन समयमा क्रान्तिकारी कुरा गर्नेहरू सरकारको तारो बन्ने गरेको उदाहरण सुनाउँदै उनले टुहुरेको जोश जाँगर र हिम्मतलाई प्रशंसा गरे। ‘कहिल्यै नथाक्ने कर्मवीर हो, उहाँ। जिन्दगीको उत्तराद्र्धमा गीत संगीत सिर्जनाप्रति निस्क्रियजस्तै हुनुहुथ्र्यो तर, लामो समयमा हुने एकल गायन र राजनीतिक कार्यक्रममा उहाँले धमाका गर्नुहुन्थ्यो’, उनी भन्छन्, ‘अनौठो खुबी थियो। मन्त्रमोहक बनाउने तागत। गीतबाटै चेतना फैलाउने, सपना देखाउने हिम्मत भरिदिने सर्जक हुनुहुन्थ्यो।’
केही विशेष काम गरेर जानुपर्छ भन्ने टुहुरे परिवर्तनका लागि मार्गदर्शक भएको अधिकारी बताउँछन्। टुहुरेको कर्मलाई सम्झँदै उनी भन्छन्, ‘गीतमा भनेझैं अझ पनि समाजमा विभेद हट्न सकेको छैन। ५०औं वर्ष अगाडिको समाजका लागि लेखेको गीत आज पनि उत्तिकै समय सान्दर्भिक छ।
टुहुरेको निधनमा प्रधानमन्त्री, पूर्वमन्त्रीदेखि विभिन्न साहित्यकारहरूले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा लेख्छन्, ‘कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’ को निधनको खबरले निकै स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछु।’
सामाजिक सञ्जालमा स्टाटस पोस्ट् गर्दै पूर्वमन्त्री योगेश भट्टराई लेख्छन्, ‘साँस्कृतिक आन्दोलनमार्फत नेपाली समाजको प्रगतिशिल रुपान्तरणमा आदरणीय जेबी दाइले खेल्नुभएको अग्रगामी भूमिका चिरकालसम्म अमर रहने छ। भावपुर्ण श्रद्धाञ्जलि जेबी दाइ।’ साहित्यकार अभय श्रेष्ठले टुहुरेसँग झापा जाँदाको सम्झना याद गरेका छन्। उनले टुहुरेसँगको सम्झनाको रिल आँखा वरिपरि घुमिरहेको बताएका छन्।