लुम्बिनी विश्‍वविद्यालयको छात्रावास डुबानमा: १० घण्टादेखि शिक्षक-विद्यार्थीसहित ३० जना थुनिए

लुम्बिनी विश्‍वविद्यालयको छात्रावास डुबानमा: १० घण्टादेखि शिक्षक-विद्यार्थीसहित ३० जना थुनिए

बुटवल: लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावास र शिक्षक आवास क्षेत्र डुबानमा पर्दा शिक्षक र विद्यार्थीसहित ३० जना फसेका छन् ।

निरन्तर परेको पानीले रुपन्देहीको खडैयामा रहेको आवास र छात्रावास क्षेत्र डुबेको हो । दानव नदीमा उच्च बाढी आएपछि आवास क्षेत्रसहित खडैया गाउँ नै डुबानमा परेको छ ।

बौद्ध विश्वविद्यालयका निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्लेले बिहान ७ बजेपछि दानव नदीमा बाढी आउँदा गाउँ नै डुबानमा परेको बताए । ‘अहिले खोला र बस्तीको पानी सम्मै छ, कोही पनि बाहिर निस्किन सक्ने अवस्था छैन,' उनले भने ।

विश्वविद्यालयको छात्रावासमा विद्यार्थी बस्दैआएका छन् । पूर्वाधार निर्माण गरिरहेका मजदुरहरु पनि सोही भवनमा आश्रय लिएका छन् । उनीहरुको अस्थायी क्याम्प नै डुबेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले पानीको सतह नघटे उद्धारको प्रयास गर्नुपर्ने बताए । ‘नदीको पानी नै पसेका कारण पानीको सतह घटिरहेको छैन, पानी नघटे उद्धार नै गर्नुपर्ने हुन्छ, बाहिर निस्किनका लागि अरु कुनै विकल्प छैन,' उनले भने । शिक्षकहरु थुनिएपछि विश्वविद्यालयको पठनपाठन समेत अवरुद्ध भएको उनले बताए ।

रुपन्देहीमा बिहीबार बिहानदेखि नै निरन्तर पानी परिरहेको छ । निरन्तरको बर्खापछि ससाना खोलाहरुमा पानीको सतह बढेको छ । लुम्बिनी क्षेत्रका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

बाढीले लुम्बिनी प्रदेशका तराई क्षेत्रमा बढी क्षति गरेको छ । पश्चिम नवलपरासी सदमुकाम पनि डुबानमा छ । रुपन्देहीको देवदहमा पुल भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कपिलवस्तुका दक्षिणी क्षेत्रको अधिकांश खेती र ससाना घरहरु डुबानमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.