उदयपुरमा पहिरोमा परी बालकको मृत्यु
उदयपुर: पहिरोमा परेर उदयपुरमा एक ७ वर्षीय बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
कटारी नगरपालिका २ मिलनचोकका पोष्टबहादुर मगरका छोरा कर्ण मगरको पहिरोमा परी ज्यान गएको हो । घर नजिक रहेको आँप खहरे खोलामा खेल्ने क्रममा माथिबाट अचानक बगेको पहिरोमा परेर बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
घटना लगत्तै स्थानीयले बालकलाई उद्धार गरी उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको उनले बताए ।