विश्‍वभर आज: चीनले सैन्य गतिविधि बढाउँदा अर्बौँको लडाकू विमान किन्दै ताइवान, काबुल हमलाको बदला लिने अमेरिकी चेतावनी

विश्‍वभर आज: चीनले सैन्य गतिविधि बढाउँदा अर्बौँको लडाकू विमान किन्दै ताइवान, काबुल हमलाको बदला लिने अमेरिकी चेतावनी

चिनियाँ सैन्य गतिविधि बढ्दा लडाकु विमानमा १.४ विलियन डलर अर्थात् १ अर्ब ४० करोड (नेपाली रकम) खर्च गर्ने ताइवानको घोषणा

ताइपेईः ताइवानले नयाँ लडाकु विमानका लागि १.४ विलियन डलर खर्च गर्ने घोषणा गरेको छ । चीनको दबाब र सैन्य गतिविधि बढ्दै जाँदा तयारी स्वरुप लडाकु विमानको लागि उक्त रकम खर्च गर्ने योजना बनाएको ताइवानले जनाएको छ ।

चीनले भने ताइवान नजिकैको एक टापुमा आफ्नो सैन्य अभ्यास गर्दैआएको छ । साथै चीनले आवश्यक परेमा ताइवानको भूभाग पनि आफ्नै नियन्त्रणमा लिनसक्ने ताइवानका कुटनीतिज्ञहरुले आशंका गरेका छन् ।

ताइवानका राष्ट्रपति साई इङ वेनको क्याविनेटद्धारा जारी विज्ञप्ति अनुसार पछिल्लो समय चीनले आफ्नो सैन्य गतिविधि बढाइरहेको छ । आफ्नो सुरक्षाका लागि ताइवान सरकारले आगामी जनवरीदेखि लागु हुने गरी वर्षेनी १६.९ विलियन डलर सैन्य गतिविधमा खर्च गर्ने योजना बनाएको छ ।

ताइवानले सुरक्षा बजेटअन्तर्गत नयाँ लडाकु विमानको लागि १.४ विलियन डलर खर्च गर्ने योजना अघि सारिएको पनि उक्त विज्ञप्तिमा उल्लेख छ । सन् २०१९ मा संयुक्त अमेरिकाले ताइवानलाई ८ विलियन डलरको एफ–१६ लडाकु विमान बिक्री गर्ने सम्झौता गरेको थियो ।
०००

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दा दायर

वासिंटन: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सदस्यहरुमाथि मुद्दा दर्ता भएको छ । गत जनवरी ६ मा क्यापिटल प्रहरीमाथि आक्रमण गरिएको अभियोगमा पूर्वराष्ट्रपति ट्रम्प र उनका समर्थकहरु, रिपब्लिकन पार्टीका पूर्व अध्यक्ष रोजर स्टोन र पार्टीका सदस्यहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।

२०२० नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय चुनाव भएको थियो । चुनावमा राष्ट्रपति जो बाइडेनको जित निश्चित भएपछि गत जनवरी ६ मा ट्रम्पको निर्देशनमा उनका समर्थकहरुले ह्वाइट हाउसनजिकै र्‍याली निकालेका थिए । राष्ट्रपति बाइडेनले चुनाव जित्ने भएपछि ट्रम्पले आयोजना गरेको र्‍याली भड्किएको थियो । भड्किएको र्‍यालीले हिंसात्मक रुप लिएको थियो ।

जसमा क्यापिटल प्रहरीमाथि आक्रमण भएको थियो । जनवरी ६ मा भएको हिंसामा पूर्वराष्ट्रपति ट्रम्प, ट्रम्पका समर्थकहरु, रोजर स्टोन र रिपब्लिकन पार्टीका सदस्यहरुको हात रहेको भन्दै उनीहरुविरुद्ध क्यापिटल प्रहरी अधिकारीहरुले बिहीबार वासिङटन डिसीस्थित फेडरल कोर्टमा मुद्दा दर्ता गराएका हुन् ।

सात प्रहरी अधिकारीहरुले दर्ता गराएको उक्त मुद्दा सिभिल राइट्स अन्तर्गत दर्ता भएको छ । ‘ट्रम्प र उनका सहयात्रीहरुले चुनावी दौडमा गरेको गैरकानुनी गतिविधिले धेरैलाई हानी पुर्‍याएको छ । यी अभियुक्तहरुले गैरकानुनी गतिविधि, हिंसात्मक कार्य, जथाभावी अश्रु ग्यास प्रहार, जातीय अपमान, घरेलु हिंसा निम्त्याउन खोजेको र नागरिकहरुलाई त्रसित पार्ने काम गरेकोले क्यापिटल आक्रमणमा संलग्नहरु विरुद्ध मुद्दा दर्ता गराइएको छ’अभियोग पत्रमा भनिएको छ ।
०००

भ्रष्टाचार आरोपमा मालीका पूर्वप्रधानमन्त्री पक्राउ

माली: अफ्रिकी मुलुक मालीका पूर्वप्रधानमन्त्री बौबेय माइगा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका छन् । पदच्युत राष्ट्रपति इब्राहिम बोबाकार केइटाको शासनकालमा मालीको जेट विमान खरिद प्रकरणमा उनको संलग्नता भएको भन्दै उनलाई बुधबार पक्राउ गरिएको बताइएको छ ।

‘सन् २०१४ मा मालिको जेट विमान खरिद प्रकरणमा मुछिएको आरोपमा पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरिए पनि उनी पक्राउ पर्नुको खास कारण भने स्पष्ट छैन । हामीलाई अहिलेसम्म मुद्दाको फायल पनि देख्न पाएका छैनौँ । त्यसैले यसबारे केही भन्न सकिने अवस्था छैन’पूर्वप्रधानमन्त्री माइगाका वकिल कासोउम टापोले भनेका छन् ।

पूर्वप्रधानमन्त्री माइगाले मालीको जेट विमान खरिदको समयमा ४० मिलियन अमेरिकी डलर हिनामिना गरेको आरोप छ । केइटा प्रशासनले जेट विमानको वास्तविक मुल्य भन्दा बढीमा खरिद गरेको बिल पेश गरेकोले पूर्वप्रधानमन्त्री माइगाले भ्रष्टाचार गरेको आलोचकहरुको दाबी छ । माइगाले सन् २०१७ देखि २०१९ सम्म मालीमा प्रधानमन्त्रीको पद सम्हालेका थिए ।
०००
टर्की र तालिबानबीच पहिलोपटक वार्ता

काबुल: टर्की र तालिबानबीच शुक्रबार पहिलो पटक वार्ता भएको टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानले जानकारी दिएका छन् । वार्तामा काबुल विमानस्थल सञ्चालन गर्न प्राविधिक सहयोगका लागि टर्कीले आफ्नो सैन्य दस्ता सहयोग गर्ने उनले बताएका छन् ।

काबुलको प्राविधिक सहयोगका लागि दुई दिनअघि तालिबानले टर्कीसँग सहयोग मागेको थियो । शुक्रबार दिउँसो टर्कीका नेता र तालिबानबीच काबुलस्थित टर्कीको दूतावासमा वार्ता भएको थियो ।

टर्कीका नेता र तालिबानको भेटवार्तापछि काबुल विमानस्थल सञ्चालनमा टर्कीले प्राविधिक सहयोग गर्ने भएको छ । यसअघि टर्कीस्थित राष्ट्रपतिका प्रवक्ता इब्राहिम खानले एक सञ्चारमाध्यमसँग विमानस्थल सञ्चालनमा टर्कीले प्राविधिक सहयोग गर्ने बताएका थिए ।
०००

काबुल विष्फोटमा मृत्यु हुनेको संख्या ११० पुग्यो, दोषीसँग बदला लिने बाइडेनको चेतावनी

काबुल: काबुल विमानस्थलबाहिर बिहीबार साँझ र शुक्रबार बिहान भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या ११० पुगेको छ । १३ अमेरिकी सैनिक र २० तालिबानीसहित मृत्यु हुनेको संख्या ११० पुगेको हो । विष्फोटमा परी १२० घाइते भएका छन् भने उनीहरुको काबुल अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणपछि पनि अफगानिस्तान छोड्न चाहने व्यक्तिहरुको उद्धार कार्य जारी राखिएको छ भने तालिबानले अगष्ट ३१ को समयसीमा नथपिने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने दर्जनौँको ज्यान जाने गरी भएको काबुल विस्फोटमा संलग्न दोषीसँग बदला लिने चेतावनी दिएका छन् । ह्वाइट हाउसस्थित सञ्चारमाध्यमसँग उनले भनेका छन्, ‘मेरो शासनकालमा हाम्रो हित र रक्षाको लागि अब कडा कदम उठाइनेछ । काबुल विष्फोटको नतिजा अब नराम्रो हुनेछ । काबुल विष्फोट गराउनेलाई कहिल्यै माफी दिइने छैन । अमेरिकाले यसको बदला लिएरै छोड्छ ।’
०००

काबुल विष्फोटमाथि चीनको निन्दा

बेइजिङ: काबुल विमानस्थल बाहिर भएको विष्फोटको चीनले निन्दा गरेको छ । बिहीबार राति र शुक्रबार बिहान भएको विष्फोटमा परी दर्जनौँले ज्यान गुमाउनु परेको भन्दै चीनले उक्त घटनाबारे चिन्ता व्यक्त गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाहो लिजियानले शुक्रबार पत्रकार सम्मेलनमार्फत बताएका छन् ।

उक्त विष्फोटले अफगानिस्तानको सुरक्षा अवस्था अझै गम्भीर रहेको भन्दै सम्बन्धित समूहहरुले जिम्मेवारीपूर्ण भूमिका निभाउनु पर्ने र प्रभावकारी कदम अघि बढाउनुपर्ने बताएका छन् ।

अफगानिस्तानस्थित चिनियाँ दूतावासले सूचना जारी गर्दै चिनियाँ नागरिक, हङकङ नागरिक, मकाओ र ताइवानका नागरिकहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।
०००

अफ्रिकामा खोपपछि कोभिड १९ को तेस्रो लहर नियन्त्रणमाः डब्ल्युएचओ

जेनेभा: अफ्रिकी मुलुकहरुमा खोप लगाउनेको संख्या बढ्दै जाँदा कोभिड १९ तेस्रो लहरका बिरामी घट्दो दरमा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

अफ्रिकाका तीन गुणाभन्दा बढी मानिसलाई कोभिड खोप लगाएपछि संक्रमितको संख्या ह्वात्तै घटेको डब्ल्युएचओका क्षेत्रिय निर्देशक मासिचो मोयतीले बताएका छन् ।

उनका अनुसार अफ्रिकाको कुल जनसंख्या १ अर्ब ३० करोडमध्ये १ करोड ३० लाखले कोभिड खोप लगाइसकेका छन् । खोपपछि संक्रमणको दर ३० प्रतिशतले घटेको छ ।

अफ्रिकामा गत मे महिनादेखि कोभिड १९ तेस्रो लहर फैलिएको थियो । डब्ल्युएचओले विकासोन्मुख मुलुकहरुमा कोभिड भ्याक्सिन वितरण गरिरहेको छ । हालसम्म २० प्रतिशत मानिसले खोप लगाइसकेको र आगामी सेप्टेम्बरसम्म थप १० प्रतिशतलाई खोप उपलब्ध गराउने डब्ल्युएचओले जनाएको छ ।
०००

भारतका दुई राज्यमा कर्फ्यू लगाउन आदेश

नयाँ दिल्लीः भारतको केरला र महाराष्ट्र प्रदेशमा रात्रीकालिन कर्फ्यू लगाउन शुक्रबार भारत सरकारले आदेश दिएको छ ।

कोभिड १९ डेल्टा भेरियन्ट संक्रमण दर बढ्दैगएको भन्दै ती प्रदेशहरुमा रात्रीकालीन कर्फ्यू लगाउन भनिएको हो । केरला र महाराष्ट्रसँगै कोरोना संक्रमण उच्च जोखिम भएका क्षेत्रहरुमा पनि रात्रीकालीन कर्फ्यू लगाउन निर्देशन दिइएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४० हजार नयाँ संक्रमण भेटिएका छन् ।
०००

नाइजेरियामा बन्दुकधारीद्वारा ३६ स्थानीयको हत्या

नाइजर: नाइजेरियाको प्लेटो स्टेटको एक गाउँमा बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा ३६ स्थानीय मारिएका छन् । 

बुधबार राति भएको यस घटनासँगै बन्दुकधारीहरुले घटनास्थल पुग्ने पुल र स्थानीयहरुका घर पनि भत्काएको नाइजेरियन सेनाले जनाएको छ । घटनास्थल पुग्ने पुल भत्किएकोले सहजै घटनास्थल पुग्न समस्या भएको समेत सेनाले बताएको छ । 

उक्त घटनामा संलग्न १० शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । नाइजेरियामा जारी जातीय द्धन्द्धका कारण उक्त घटना भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् । उत्तर नाइजेरियाको मिडल बेल्ट भनिने क्षेत्रमा हौसा–फुलानी जातीय समूहबीच द्धन्द्ध जारी छ ।

प्लेटो स्टेटका गर्भनर सिमोन लालोङले उक्त घटनालाई ‘क्रुर हिंसा’को संज्ञा दिएका छन् । थप घटना घट्न नदिन उक्त क्षेत्रमा २४ घण्टाको लागि कर्फ्यू आदेश जारी गरिएको समेत उनले जानकारी दिए ।

घटनामा संलग्न बन्दुकधारीहरु फुलानी समुदायका मानिसहरु रहेको स्थानीयहरुले बताएका छन् । यद्यपि यसको प्रमाण भने फेला नपरेको सिएनएन न्युजले जनाएको छ । यसअघि अगष्ट १४ मा जातीय द्धन्द्धकै कारण उक्त क्षेत्रमा २२ स्थानीय मारिएका थिए ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.