आरा चल्यो रे !
आरा चल्यो रे
कहाँ चल्यो कहाँ ढल्यो
हिजो आरा चल्यो हरियाली वन सखाप पारे
कतिले घेरा बारे कतिले वारीबाट पारी तारे
स्वार्थमा चल्यो कि निस्वार्थमा
आँखै सामुन्ने आफैंलाई जलाए, आरा चलाए
कतै जनादेशको नाममा आरा चल्यो रे !
भन्छन् कोही कतै परमादेशको आरा चल्यो रे !
हिजो पनि चलिरहेको थियो अरे !
आज फेरि अध्यादेशको आरा चल्यो रे !
थाहा छैन खोइ कसको स्वार्थमा चल्छ आरा
राजनीतिक सामाजिक आर्थिक खोइ के के हुन्
तर आरा चल्यो चिरा चिरा पार्ने गरी आरा चल्यो
निशाना थाहा छैन तर कहाँ ताक्यो कहाँ ढल्यो
राजनीतिक स्थिरताका नाममा आरा चल्यो !
सत्ता जोगाउने नाममा आरा चल्यो !
कहीँ टुटाउन चल्यो कहीँ फुटाउन चल्यो !
हिजो पनि चल्यो आज पनि चल्यो
तर आरा चलिरह्यो।
नेताहरूले कहिले जनताका नाममा आरा समाए
चिरिएका कणहरू पनि छोडेनन् कति कमाए
नेताहरू त परे कहिले आफ्ना लागि केही गर्दैनन्
तर जनताका नाममा आफू र आफ्नालाई बनाए।
जनता भएको देश भए पो चोटको महसुस हुन्थ्यो
दलहरूको भागवण्डामा आफूलाई बाँडिँदा मन रुन्थ्यो
यहाँ त आआफ्ना कार्यकर्ताको छ सबैतिर भिड !
स्वार्थको डम्फू हिजोकाले गरेको बेठिक आफूले गरेको ठिक।
रमाउँछन् एक्लाएक्लै एउटालाई हेरेर अर्को हाँस्छ
जित र हारको लडाइँ हुन्छ स्वार्थको नाता गाँस्छ
सबैको नजर कुर्सीमै जाने मरेर के लान्छ
बुझ्नुपर्ने हो नेताले जुनीजुनी उ बाँच्छ
कि उसको पार्टी बाँच्छ।
आरा चल्यो रे
आज फेरि आरा चल्यो रे !
कहाँ चल्यो कहाँ ढल्यो
आज फेरि आरा चल्यो रे !