महामारीमा महिलाका दु:ख

महामारीमा महिलाका दु:ख

कोरोना महामारीले विश्वमा मानविय क्षति पुर्‍यायो नै अर्थतन्त्रलाई पनि छिन्न–भिन्न पार्‍यो। यो समय हामीले आफन्त पनि गुमायौं। अहिले पनि संक्रमितको संख्या घटेको छैन। विश्व स्वास्थ संगठनले कोरोना महामारी लामो समय सम्म रहने बताएको छ। यसले सामाजिक र स्वास्थ क्षेत्रमा गहिरो संकट भित्रिएको छ। अहिले हामी स्वास्थ संकटबाट मात्र होइन आर्थिक संकटबाट पनि गुज्रिरहेका छौ। निजी क्षेत्र, पर्यटन, व्यापार व्यवसाय, उद्योग, कलकारखाना प्रभावित छन्। 

अर्थ बिना न घर चल्छ, न त देश नै। विभिन्न ज्याला मजदुरी गरी जीवन चलाउने कामदारहरूको समेत आम्दानी गुमेको छ। वैदेशिक रोजगारीमा जानेहरू काम छाडेर फर्किनु बाध्यता बनेको छ। जसको प्रत्यक्ष प्रभाव महिलाहरूमा पनि परेको छ। आम्दानीका बाटाहरू बन्द भए पछि घरायासी कलह, झै–झगडा, शारीरिक तथा मानसिक हिंसा बढ्ने सम्भावना हुन्छ। महिला तथा बालबालिका माथि हिंसाका घटना दिनानुदिन बढिरहेका छन््। रक्सी सेवन गरी हत्या हिंसा गर्ने अपराधका घटनामा समेत वृद्धि भएका छन्। गाउँ छाडेर सन्तान पढाउन बजार पसेका महिलाहरू बालबालिकासहित गाउँ फर्केका छन्। युवाहरू रोजगार र अध्ययनका सिलसिलामा गाउँ घर छाडेर बाहिर गएकाले सम्पुर्ण काम महिलाले गर्नु पर्ने बाध्यता छ। 

जब परिवारमा सुख शान्ति छाउँछ, समाज अनि देश नै समृद्ध बन्दछ

गाउँमा पनि खाद्यान्नको जोहो छैन। गाउँघरका किसान महिलाहरू बालबालिका तथा जेष्ठ नागरिकसँगै छन्। खेती नगरे भोकै परिने डर छ। खेती लगाउन मल, बिउँ, जनधनको अभाव छ। उत्पादन सामाग्री बजार सम्म पुर्‍याउन समस्या छ। कोरोनाकै कारण गर्भवती महिलाहरू चेक जाँचका लागि स्वास्थ संस्थामा जानबाट वञ्चित छन्।  लाखौं बालबालिका खोप लिनबाट वञ्चित छन्। 

कोरोनाका कारण सामाजिक दूरी कायम गर्नु, लकडाउन भए घरमा थुनिनु त छदै छ। महामारीकै कारण घरायासी कामको चाप महिलाका लागि पहिलेको तुलनामा दुई गुणा बढेको छ। बालबालिकाहरू विद्यालय जान नपाउँदा उनीहरूको पढाईको चिन्ता सबैभन्दा बढी आमालाई परेको हुन्छ। शैक्षिक क्यालेण्डर अस्तव्यस्त छ। विद्यालय जान नपाएपछि बालबालिकाको शिक्षामा गम्भिर असर परेको छ। कतिपय महिलाहरूलाई बालबच्चाको अनलाइन कक्षाले तनाव थपिएको थियो÷छ। एक त आफुसँग स्मार्ट फोन, कम्प्युटर आदिको उपलब्धता हुँदैन, अर्कोतर्फ प्रविधिमैत्री वातावरण नहुँदा बच्चाहरूलाई सिकाईमा समस्या छ। तुरुन्तै खरिद गर्न आर्थिक अभाव हुन सक्दछ। यस्ता विविध समस्याहरू पनि मानसिक तनाव बढाउने कारक हुन सक्दछन्। 

एउटी आमा घर बाहिर निस्कदा कतै मिठो मसिनो खानेकुरा मिल्दा छोराछोरीलाई नसम्झिकन गाँस निल्न सक्दिनन् भने घर परिवार र बालबच्चाको स्वास्थको सन्र्दभमा त अति नै संवेदनशिल हुन्छिन्। उनीहरूको शिक्षा, स्वास्थ साथै आहार विहार, सुरक्षा सबैतिर ध्यान पुर्‍याउनु पर्छ। अझ परिवारमा जेष्ठ नागरिक, अपांग, दृष्टि विहिन भएको खण्डमा उनीहरूको सुरक्षाको जिम्मेवारीले शारीरिक साथै मानसिक बोझ समेत थपिने गछ। घर परिवार र सन्तानका खातिर आफ्नो स्वास्थ भन्दा परिवारका निम्ति जस्तोसुकै बोझ लिन बाध्य छन् अहिले महिलाहरू। 

यतिबेला जरुरी काम बाहेक घर बाहिर निस्कन त के सामाजिक कार्यक्रम आफ्ना आफन्त, ईष्टमित्र, साथीभाई, परिवार भेटघाट सबै रोकिएका छन्। घरमा कोरोना संक्रमित भए उनीहरूको जिम्मेवारी र भार पनि महिला आफैले लिनु पर्दछ। 

परम्परागत श्रम विभाजनका आधारमा महिलाले घर भित्रको र पुरुषले घर बाहिरको कमाई गर्ने नेपाली समाजमा आज पनि कायमै छ। निजी कम्पनीमा कार्यरत एक सहकर्मीको कोरोना कालको बन्दाबन्दीमा रोजगार गुम्यो। उनी भन्छिन्, ‘घरायासी काम र परिवारको मात्र हेरचाहमा लगातार खटिनु पर्दा आर्थिक अभाव त छँदै छ सृजनशिलतामा नै ह्रास आएको उनी बताउँछिन्।’

त्यस्तै निजी विद्यालयकी एक शिक्षिकाको अनुभवमा अनलाइन कक्षा लिन पुरुषलाई जति महिलालाई सहज छैन। कारण खोतल्दा एक त घरायासी कामको बोझ, घरको वातावरणमा सिकाउन धेरै अप्ठयाराहरू आउने बताउँछिन्। अर्कोतर्फ अनलाईन कक्षामा धेरै बोल्नु पर्ने, मानसिक र शारीरिक श्रम दोब्बर खर्चिनु पर्छ तर मासिक तलब पहिलेको भन्दा आधा दिँदा पनि विद्यालयले सित्तैमा दिनु परे जस्तो व्यवहार देखाउने उनको भनाई थियो। पुरुषलाई घर परिवारको जिम्मेवारी सम्हाल्ने, भात भान्साको जिम्मेवारीबाट पन्छिने, घरमूली, बाहिर फेर घुम्ने, पुरुष भएरै जन्मेको नाताले स्वतन्त्र भएको महसुस नारी अझै गर्छन्। तर यस्तो स्वतन्त्रताको उपभोग गर्न पाउने महिला कति छन््, आफ्नै घरभित्र परिवार र वरिपरीका समाजलाई नियाल्दा छर्लङ्ग हुन्छ। 

प्रख्यात नारीवादी फ्रेन्च लेखिका सिमोन द बुवार भन्छिन्, ‘व्यक्तिगत स्तरमा प्रत्येक महिलाहरूले घरका चौघेरा नाघेर उत्पादनमूलक श्रममा हिस्सेदारी खोज्नुपर्छ। आर्थिक रूपले आत्मनिर्भर हुनु स्वतन्त्रताको आधारभूत आवश्यकता हो। रोजगारी कुनै रामवाण जस्तो अचुक अश्त्र होईन तर मुक्ति र स्वतन्त्रताको आधारभूत सर्त भने हो।’ यद्यपि कोरोना कहरकै कारण नेपाली समाजमा बाहिर निस्केर रोजगार र स्वरोजगारको क्षेत्रमा लागेका केही मात्रामा भए पनि स्वतन्त्रताको अनुभुति गरेका कतिपय महिलाहरू फेरी घरमै थुनिनु पर्ने बाध्यता छ। एक अध्ययनका अनुसार गत वर्ष मात्र ६० प्रतिशत साना उद्योगमा आश्रित महिलाहरूको रोजगार गुमेको थियो। त्यस्तै पर्यटन क्षेत्रमा परेको मन्दीले महिलाहरूद्धारा सञ्चालित उत्पादनहरू क्युरियो र हस्तकलाका सामग्रीहरू थन्किएका छन्, ठप्प छन्। 

कोरोना अघिसम्म टोल समूहमा कतिपय महिलाहरू आफ्नो समाजका आमा समूह, टोल विकास, राजनीतिक, सहकारीका कार्यक्रमहरू आदिमा सक्रिय सहभागिता जनाउँथे। जसले गर्दा केही मात्रामा भएपनि उनीहरूको नेतृत्व क्षमता तथा व्यक्तित्व विकासमा सहयोग पुग्थ्यो। सामाजिक कार्यक्रमहरूमा सहभागी हुन पाउँदा समाजमा भएका विभेद, कुरिती, अन्याय, हेपाई जस्ता मुद्दाहरूमा खुलेर बोल्ने, आपसी सुख दुःख बाड्ने, सर सल्लाह लिने दिने जस्ता कार्य सहज हुन्थे। हाल आएर अड्डा, अदालत लगायतका कतिपय कार्यहरू सबै छायाँमा परेका छन्। 

यतिबेला हामी बन्दाबन्दीका कारण अत्यावश्यक घरायासी काम बाहेक अन्य मठ मन्दिर, पूजापाठ, बिवाह, व्रतबन्ध, जात्रा, चाडपर्वमा सहभागि भईरहेका छैनौ। जसको अप्रत्यक्ष प्रस्ताव नयाँ पुस्तामा पर्छ। हाम्रा सन्ततिले आफ्नो कला संस्कृति, खानपान, रहन सहन, मौलिकता आदिको बारेमा खुलेर सिक्ने बुझ्ने अवसर पाउँदैनन्। अर्कोतर्फ हामीसँग भएका सांस्कृतिक ज्ञान र सिप हस्तान्तरणबाट पछिल्लो पुस्ता बञ्चित हुँदै छन्। हाम्रा सिप, धर्म लोप नहोलान भन्न सकिदैन। 

यात्राबाट मानिसले अनेक पात्र, प्रवृत्तिसँग धेरै कुराहरू सिक्न सक्दथ्यो। देशैभर आन्तरिक पर्यटन र बाह्य पर्यटक लाई लक्षित गरि वर्षभरि नै कुनै न कुनै मेला महोत्सव भइरहन्थे। जसका कारण आर्थिक, सामाजिक साथै सांस्कृतिक सिकाइका साथै मनोरन्जन पनि प्राप्त गर्ने अवसर मिल्ने गर्दथ्यो। नेपाली महिलाहरू पनि घरदेखि बाहिर घुम्न डुल्न, यात्रामा विस्तारै निस्कन थालेका थिए। त्यसैगरी विद्यार्थीहरूका शैक्षिक भ्रमण, तिर्थयात्रा आदि कार्यक्रमहरू पनि स्थगित छन्। 

समाजमा सबै पुरुष या महिला खराब छैनन्। एक अर्कालाइ हर क्षण सहयोग गर्ने उदाहरणीय जोडी, परिवार प्रसस्तै छन््। महिला स्वयं सचेत रही घरका सदस्यहरू बिच कामको बिभाजन गर्दै समाजमा आफ्ना आवाजहरू बुलन्द पार्नु पर्छ। महिला सशक्तीकरणको महत्त्वपुर्ण पक्ष परिवार हो तर्सथ घर परिवारबाट नै महिलालाई सदा सर्वदा सहयोग गर्नु पर्छ। जुन घरमा महिला खुसी हुन्छिन् त्यो घरका प्रत्येक सदस्य सुखी रहन्छन्। जब परिवारमा स्ुख शान्ती छाउँछ, समाज अनि देश नै समृद्ध बन्दछ।

अन्तमाः एकातर्फ आगामी दिनमा कोरोनासँगै जीवन जिउनु हाम्रो बाध्यता हो भने अर्कोतर्फ देशमा फ्रन्ट लाइनमा काम गर्ने केही नागरिक र ज्येष्ठ नागरिकहरूले कोरोना विरुद्धको खोप पाउनु सकरात्मक पक्ष हो। कोरोना कालमा महिलाहरूको आत्मसम्मान उचो बनाई उनीहरूलाई सशक्त्त बनाउन सबै क्षेत्रबाट सहयोग गरौ। हामीले अहिले गरेको लगानीले भावी महामारीमा करोडौं महिला तथा किशोरीको भविष्य निर्धारण गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.