सडक जलमग्न हुँदा घर छाड्न बाध्य
गौशाला : वर्षाको पानीको उचित निकास नहुँदा घर डुबेपछि सोनमा गाँउपालिका ५ खैरबन्नीका राकेश यादव घर छाड्न बाध्य भएका छन्। उनको परिवार अहिले गाँउदेखि ५ सय मिटरको दुरीमा रहेको आफ्नै खेतमा सानो झुप्री बनाइ आश्रय लिइरहेका छन्।
अविरल वर्षाको कारण घर लगायत घरअगाडिको सडकमा पानी भरिएकाले दैनिक कामकाज गर्न समस्या भएपछि घरमा बस्न नसकेको यादवले बताए। सडक स्तरोन्नती गर्ने क्रममा स्थानीयबीच विवाद चर्किंदा यादवको घरछेउको १ सय ५० मिटर सडकको स्तरोन्नती हुन सकेको थिएन। जसको कारण अहिले सानो पानी पर्दा समेत सडक जलमग्न भइ हिंड्न नसक्ने अवस्थामा हुने यादवले बताए।
गाउँपालिकाको कार्यालयदेखि हुलाकी सडकखण्डसँग जोडिने सो सडक निर्माणको क्रममा हतारमा सडकमा पिसिसी ढलान हुँदा वर्षायाममा सडकमै पानी जमेर आवतजावत गर्नका लागि समस्या भएको स्थानीय मंजितकुमार महराले बताए। बस्तीका आधा दर्जन घर वर्षाको पानीको कारण नराम्ररी प्रभावित भएको महराले बताए।
सडक निर्माणको क्रममा आपसी विवाद हुँदा ढल–नाला बनाउन नसकेकै कारण अहिले सर्वसधारणलाई बाटो हिंड्नका लागि समेत समस्या भएको गाउँपालिका कार्यालयका प्रवक्ता अशोककुमार यादवले बताए। गाँउपालिकाभरिका यस्ता समस्यामा परेकालाई उद्धार गर्ने कार्यमा आफूहरु जुटेको यादवले जानकारी दिए।