विश्‍वभर आज: अमेरिकी युद्धपोत ताइवान पुग्दा भड्कियो चीन, उत्तर कोरिया छाड्दै चिनियाँ आदिवासीहरु

विश्‍वभर आज: अमेरिकी युद्धपोत ताइवान पुग्दा भड्कियो चीन, उत्तर कोरिया छाड्दै चिनियाँ आदिवासीहरु

बेलायतले रोक्यो उद्धार अभियान

लण्डन: बेलायतले अफगानिस्तान छोड्न चाहने नागरिकहरुको उद्धार अभियान (कार्य) रोकेको छ । पछिल्लो समय काबुल विमानस्थलमा भएको घटनाको कारण शनिबारदेखि उद्धार कार्य समाप्त गर्ने निर्णय लिएको बेलायती सैन्य बलका प्रमुख जेन सर निक कार्टरले बताएका छन् ।

हालसम्मको उद्धार कार्य निकै हृदयविदारक रहेको बताउँदै उनले भनेका छन्, ‘बेलायतले आजदेखि अफगानिस्ताबाट उद्धार अभियान समाप्त गरेको छ । पछिल्लो समय काबुल विमानस्थलमा भएको घटनाक्रमले हामीले चार दिनअघि आफ्नो मिसन बन्द गर्ने निर्णय लिएका हौँ । अफगानिस्तान छोड्न चाहने नागरिकहरुको संख्या कम छ । तर अफगानिस्तानबाट सबैलाई बाहिर ल्याउन नसक्दा हामी दुखी छौँ । हामीले जति पनि उद्धार गर्यौँ त्यो निकै नै चुनौतीपूर्ण थियो ।’

बेलायतले अफगानिस्तानबाट बेलायती र अफगान नागरिकहरु उद्धार गर्ने अभियान अगष्ट ३१ सम्म जारी राख्ने बताएको थियो । अगष्ट ३१ आउनुभन्दा चार दिनअघि नै बेलायतले आफ्नो मिसन समाप्त भएको घोषणा गरेको हो ।

द गार्जियनका अनुसार बेलायतले अफगानिस्तानबाट हालसम्म १४ हजार मानिसको उद्धार गरेको छ । बेलायतले ११ सय अफगान नागरिकको भने उद्धार गर्न नसक्ने बताइएको छ ।
०००

अमेरिकी र चिनियाँ सेनाबीच पहिलो पटक वार्ता

वासिंटन: अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन नियुक्त भएपछि अमेरिका र चिनियाँ सेनाबीच पहिलो पटक वार्ता भएको छ । चीन र अमेरिकाबीच सुरक्षा जोखिम व्यवस्थापनमा केन्द्रित रहन शुक्रबार पहिलो पटक दुई निकायबीच वार्ता भएको बताइएको छ ।

अमेरिकाले वर्षौँदेखि चीनको राष्ट्रिय सुरक्षा नीतिलाई केन्द्रमा राखेको छ भने बाइडेन प्रशासनले बेइजिङसँगको शत्रुतालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक मुद्दा परीक्षणको रुपमा व्याख्या गर्दैआएको छ । साउथ चाइना सीमा चीनको सैन्य गतिविधि र आर्थिक द्धन्द्धका कारण चीन र अमेरिकाबीच सम्बन्ध झन तनावपूर्ण बन्दै गएको छ ।

रोयटर्समा प्रकाशित समाचारअनुसार विभिन्न तनावबीच अमेरिकी सुरक्षा निकायका वरिष्ठ अधिकार सहायक सचिव माइकल चेज र चिनियाँ सेनाका मेजर जनरल हुवाङ सुइपिङबीच शुक्रबार पहिलो पटक फोन वार्ता भएको छ । वार्तामा सम्भावित सुरक्षा जोखिम र घटनाक्रमसँग जुध्नेबारे छलफल गरिएको बताइएको छ ।

दुबै पक्षबीच चिनियाँ र अमेरिकी सेनाले चाल्न सक्ने महत्वपूर्ण कदमबारे सम्झौता भएको पेन्टागोनस्थित अमेरिकी सैन्य कार्यालयले जनाएको छ ।
०००

अमेरिकी युद्धपोत ताइवान पुग्दा चीन भड्कियो

ताइपेइ: अमेरिकी सेनाको युद्धपोत ताइवान नजिक पुग्दा चीनले आपत्ति जनाएको छ । अमेरिकाको यस गतिविधिलाई चीनले ताइवानलाई भड्काउन खोजेको आरोप लगाएको छ । शुक्रबार अमेरिकी सेनाका दुई युद्धपोतले चीन र ताइवानको बीच भागमा रहेको टापु ताइवान स्ट्रिट हुँदै अन्तर्राष्ट्रिय जल क्षेत्र पार गरेको थियो ।

अमेरिकी युद्धपोतमाथि आपत्ति जनाउँदै चीनले शनिबार एक विज्ञप्ती जारी गरेको छ । ‘अमेरिकाले ताइवानलाई भड्काउन ताइवान हुँदै युद्धपोत चलाएको छ । अमेरिकाले हाम्रो आन्तरिक शान्ति, सुरक्षा र स्थायित्वमा खलल पुग्ने स्पष्ट छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले थाहै नदिई गरेको यस कदमप्रति चीन सरकारको कडा आपत्ति छ ।’
०००

पेरुमा कामदार बोकेको बस पल्टिँदा थुप्रैको मृत्यु

पेरु: पेरुमा खानीमा कार्यरत कामदार बोकेको बस पल्टिँदा १५ भन्दा बढीको मृत्यु भएको र ५ भन्दा बढी कामदार घाइते भएका छन् । दुर्घटनामा परेका सबै कामदार चिनियाँ लगानीमा सञ्चालित एमएमजी लिमिटेड लस बम्बास माइनमा कार्यरत रहेको बताइएको छ ।

पेरुको कोटाबाम्बस प्रान्तमा शुक्रबार राति बस दुर्घटना भएको पेरुभियन रेडियोले जनाएको छ । पेरुभियन रेडियोका अनुसार बस सडकदेखि २ सय मिटर तल खसेको थियो ।

पेरुको कोटाबाम्बसमा अवस्थित लस बम्बास माइन पेरुको सबैभन्दा ठूलो खानी हो । पेरु संसारको दोस्रो ठूलो कपर उत्पादन गर्ने मुलुक हो ।
०००

आदिवासी चिनियाँहरु उत्तर कोरिया छोड्दै

प्योङयाङ: आदिवासी चिनियाँहरुले उत्तर कोरिया छोड्ने भएका छन् । चीन फर्किन लागेका आदिवासीहरु सन् २०२३ मा मात्र उत्तर कोरिया फर्किन पाउने गरी उत्तर कोरिया छोड्न लागेका हुन् ।

‘ह्वागो’ नामक उक्त चिनियाँ आदिवासी समूह लामो समयदेखि उत्तर कोरियामा बस्दै आएको छ । उक्त समूहले जुलाई १४ मा चीनका लागि उत्तर कोरिया छोड्न पाउने अनुमति पाएको थियो । सन् २०२३ सम्म नफर्किने गरी कागजात बनाउनु पर्ने हुँदा उनीहरुले छोड्ने मितिमा ढिलाइ हुँदैआएको थियो । ह्वागो आदिवासीहरुले अगष्ट अन्तिमदेखि सेप्टेम्बरसम्म उत्तर कोरिया छोडिसक्ने बताइएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै सन् २०२० जनवरीदेखि बन्द गरिएको नाका चिनियाँ आदीवासीहरु चीन फर्किन खुला गरिएको बताइएको छ ।

०००

वैज्ञानिकहरुले पत्ता लगाए नयाँ टापु

वासिंटन: वैज्ञानिकहरुले ग्रीनल्याण्ड क्षेत्रको उत्तरतर्फ नयाँ टापु पत्ता लगाएका छन् । नमुना संकलन गर्न ग्रीनल्याण्डको उत्तरी क्षेत्र पुगेका उनीहरुले पृथ्वीको सबैभन्दा उत्तरक्षेत्रमा नयाँ टापु फेला पारेका हुन् ।

‘हाम्रो उद्देश्य नयाँ टापु पत्ता लगाउन नभई नमुना संकलन गर्न हामी उत्तर ध्रुवमा रहेको ओदाक पुगेका थियौँ’ पोलार अन्वेषक एवं आर्कटिक स्टेशन रिसर्च ग्रीनल्याण्डका प्रमुखले भनेका छन्, ‘हामीले नमुना संकलनको मुख्य स्थान खोज्ने क्रममा नयाँ टापु फेला पार्यौँ । यो नै पृथ्वीको सबैभन्दा उत्तरमा रहेको नयाँ टापु भएकोमा हामी ढुक्क छौँ ।’

ओदाक टापु सन् १९७८ मा डेनिस सर्भे टोलीले पत्ता लगाएको थियो । ओदाक भन्दा ७८० मिटर उचाइमा नयाँ टापु फेला परेको वैज्ञानिकहरुले दाबी गरेका छन् । आफूहरुले पत्ता लगाएको नयाँ टापु करिब ३० मिटर चौडाइ र ६० मिटर उचाइको रहेको वैज्ञानिकहरुले बताएका छन् ।
०००

पाकिस्तानी सीमा शुल्क अधिकारीद्धारा विदेशी हतियार बरामद

इस्लामाबाद: पाकिस्तानी सीमा शुल्क अधिकारीले शनिबार अमेरिका र नाटो बलले प्रयोग गरेका विदेशी हतियार बरामद गरेको दाबी गरेको छ । साथै पाकिस्तानबाट अफगानिस्तान पुर्‍याउन लागिएका हतियार बरामद गरेको समेत पाकिस्तानी अधिकारिको दाबी छ ।

पाकिस्तानी स्रोतका अनुसार हतियारले भरिभराउ ट्रकसँगै एक अफगानिस्तान नागरिकलाई पनि पाकिस्तानी सीमा शुल्कका अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । उक्त ट्रकमा एम४ए१ कार्बाइन राइफल, सात वटा ज्लोक ९ एमएम पेस्तोल र गोला बारुद रहेको बताइएको छ ।
०००

अमेरिकी सिनेटरका हत्यारा ५३ वर्षपछि रिहा हुँदै

वासिंटन: अमेरिकी सिनेटरको हत्या अभियोगमा करिब ५३ वर्षदेखि अमेरिकाको जेलमा रहेका एक हत्यारालाई रिहाइको लागि सिफारिस गरिएको छ । अमेरिकामा सन् १९६८ मा न्युयोर्कका सिनेटर रोबर्ट एफ केनेडीको हत्यामा संलग्न सरहान विसारा सरहानलाई रिहाइका लागि सिफारिस गरिएको हो ।

सिएनएन न्युजकाअनुसार सिनेटर रोबर्टको हत्यामा जेल सजाय भोगिरहेका ७७ वर्षीय सरहानको रिहाइको माग गर्दै अदालतमा अनुरोध गरिएको थियो । अनुरोधपछि अदालतले सिनेटर रोबर्टको छोरालाई बयानको लागि बोलाएको थियो ।

रोबर्टका दुबै छोराले आरोपित सरहानको रिहाइको समर्थन गरेका थिए । सो समर्थनको आधारमा आरोपित सराहन जेलमा थुनिएको ५३ वर्षपछि रिहा हुने भएका हुन् । उनलाई क्यालिफोर्निया अदालतले सन् १९६९ मा उमेर कैदको सजाय सुनाएको थियो । सरहानले ४२ वर्षको उमेरमा सिनेटर केनेडीको हत्या गरेका थिए । आगामी १२० दिनमा जेलबाट उनको रिहाइ हुने बताइएको छ ।
०००

चिनियाँ अभिनेत्रीमाथि ४६ मिलियन डलर जरिवाना

बेइजिङ: चीन सरकारले चिनियाँ अभिनेत्रीमाथि कर छली अभियोगमा ४६ मिलियन डलर रकमको जरिवाना तोकेको छ । चीन सरकारले शुक्रबार फिल्म तथा टेलिभिजन अभिनेत्री झेङ सुआङमाथि कर छलीको आरोपमा २९९ मिलियन युआन (४६ मिलियन अमेरिकी डलर) को जरिवाना सुनाएको हो ।

साथै जरिवानासहित अभिनेत्री सुआङलाई रेडियो तथा टेलिभिजन कार्यक्रम र फिल्म अभिनयमा समेत रोक लगाएको ग्लोबल टाइम्सले जनाएको छ । यसअघि उनीमाथि अमेरिकामा दुईवटा सेरोगेट सन्तान छोडेको आरोप समेत लागेको थियो ।

सो आरोपमा उनले जरिवाना स्वरुप सांघाइ म्युनिसिपल ट्याक्स सर्भिस समक्ष २२० मिलियन युआन तिर्नुपरेको थियो । चिनियाँ कानून अनुसार कर छली गर्नेलाई कडा कारवाही गरिन्छ । अभिनेत्री सुआङलाई मनोरञ्जन क्षेत्रमा सबैभन्दा बढी आम्दानी गर्ने अभिनेत्रीको रुपमा चिनिन्छ ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.