लघुवित्तले कमाए करोडौं
काठमाडौं : अधिकांश आर्थिक क्षेत्रलाई कोभिडपूर्वको अवस्थामा फर्कन सकश परेको छ। यसमध्ये लघुवित्त वित्तीय संस्थाका ऋणी सदस्यहरू पनि एक हुन्। तर, केही बाहेकका लघुवित्त वित्तीय संस्थाको वार्षिक प्रतिवेदनले भने करोडौंको नाफामा उनीहरू गएको देखिन्छन्।
सञ्चालनमा रहेका ७० लघुवित्त वित्तीय संस्थामध्ये अपरिस्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेका ४७ संस्थामध्ये नाफा कमाउनेमा छिमेक लघुवित्त वित्तीय संस्था अग्रपंक्तिमा छ। केही लघु वित्तको नाफा वाणिज्य बैंक र विकास बैंकभन्दा पनि राम्रो छ। छिमेक लघुवित्तले नै कोभिडका बाबजुद १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँको नाफा गर्न सफल भएको छ। संस्थाको वितरण योग्य नाफाबाट लाभांश दिने क्षमता ३८ प्रतिशत रहेको जानकारी दिएको छ।
यसपछि उत्कृष्ट नाफा गर्नेमा निर्धन उत्थान लघुवित्त छ। यसले ९१ करोड ९१ लाख रुपैयाँ हाराहारीमा कमाएको छ। यसको लाभांश दिने क्षमता ३२ प्रतिशत छ। यसपछि राम्रो नाफा गर्नेमा क्रमशः डिप्रोक्सले ७१ करोड ३७ लाख, स्वावलम्बनले ६१ करोड ९४ लाख, साना किसानले ६१ करोड ४९ लाख, फरवार्ड माईक्रोफाइनान्सले ५७ करोड ४६ लाख, एनआईसी एसिया लघुवित्तले ५६ करोड ४७ लाख, मेरो माइक्रोफाइनान्सले ४४ करोड ७२ लाख र ग्रामीण विकासले ३५ करोड ९५लाख रुपैयाँ हाराहारीमा नाफा कमाएका छन्।
यो बाहेकका संस्थाको नाफा ३३ करोड रुपैयाँभन्दा तल छ। यसमध्ये घोडीघोडा लघुवित्तको नाफा ऋणात्मक देखिएको छ। योबीच उक्त संस्थाको नाफा १८ लाख ४३ हजार रुपैंयाँले ऋणात्मक ह्ँदा लाभांश क्षमता पनि ६.६७ प्रतिशतले संकुचित भएको छ।
तर, पनि कतिपय लघुवित्तका नाफादर कम भए पनि लाभांश क्षमता भने अधिक देखिएको छ। प्रतिवेदनअनुसार गत आवमा ३२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको नेसनल माइएक्रो फाइनान्सको लाभांश क्षमता ५२ प्रतिशत छ। यसपछि लाभांश क्षमता बढी हुनेमा क्रमशः ग्लोबल आईएमई लघुवित्त र महिला लघुवित्तको ४४ प्रतिशत, फरवार्ड माइक्रो फाइनान्सको ४० प्रतिशत र यसबाहेकका संस्थाको ३८ प्रतिशतदेखी तल लाभांश दिने क्षमता छ।
ऋणी मर्कामा पर्दा पनि आर्जन भयो नाफा
कोभिडले उपभोग्य व्यवसाय बाहेकका अधिकांश साना व्यवसाय बढी प्रभावित भए। नेपाल राष्ट्र बैंक र नेपाल लघुवित्त बैंकर्स संघको सर्वेक्षणले पनि यसलाई पुष्टि गरेको छ।
योबीच अधिकांश बैंक तथा वित्तीय संस्थाले खराब ऋणलाई पुनरतालिकीकरण– पुनर्संरचना र इभरग्रिनिङ रणनीति अपनाएका छन्। केही हदसम्म नेपाल राष्ट्र बैंकले पनि छुटको व्यवस्था गर्यो। अझै ऋणीलाई साँवा, ब्याज तथा किस्ता तिर्न थप समयको माग गर्दा केन्द्रीय बैंकले पनि लघुवित्तको वित्तीय विवरण राम्रो भएकाले जरुरी नभएको प्रतिउत्तर दिएको लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्तराज लम्सालले बताए।
विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका लम्साल कोभिडले ऋणीको व्यवसाय प्रभावित भएको र असुलीमा समस्या भएको बताए। ‘वास्तविक ऋणीको अवस्था राम्रो छैन। तर, संस्थाको वित्तीय प्रतिवेदन राम्रो छ,’ उनले भने। वार्षिक वित्तीय प्रतिवेदनअनुसार अधिकांश लघुवित्त वित्तीय संस्था नाफामा गएका छन्। संस्था नाफामा गए पनि ऋणीको ऋण खराब नहोस् भनेर धेरै बैंकले पुराना ऋणीलाई अर्को कर्जा दिएका छन्। यसलाई इभरग्रिनिङ भनिन्छ। राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन अधिकारीका अनुसार कोभिडको दोस्रो लहरले संस्थालाई प्रभाव पारेको देखिएन्। ‘संस्थाको नाफा पनि राम्रै छ। संख्या भने मर्जरको कारणले घटेको छ,’ उनले भने, ‘अधिकांश ऋणीको उद्योग र व्यवसाय राम्ररी चलेको छैन। संस्थाको खासै नाफा पनि घटेको छैन।’
केन्द्रीय बैंकले २०७७ असार मसान्तमा कायम रहेको ८४ वटै लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरीवेक्षणले संस्थाको कर्जा लगानी, निक्षेप संकलन र आम्दानी वृद्धिमा ऋणात्मक असर नपरे पनि कर्जा लगानीसँगै निक्षेपको वृद्धिदरमा संकुचन आएको देखाएको थियो।
प्रतिवेदनले निष्क्रिय कर्जामा वृद्धि भएको समेत निचोड निकालेको थियो। निस्क्रिय कर्जा बढेको देखिए पनि लघुवित्तले ऋण तीर्नलाई नै ऋण दिने अर्थात इभरग्रिनिङ गरेको कार्यकारी निर्देशक अधिकारीको तर्क छ। ‘यो भनेको कर्जालाई सधै ग्रीन अर्थात हरियो बनाइ राख्न रातो अर्थात खराब हुन नदिनु भन्ने हो। जब कर्जा खराब हुन थाल्छ बैंक तथा वित्तीय संस्थाले त्यही ऋणीलाई त्योभन्दा बढी लगानी गरेर पुरानो डुब्न लागेको ऋण चुक्ता गराउँछन्।’
इभरग्रिनिङका कारण संस्था नाफामा गएको देखिए पनि यो प्रवृत्ति उचित नभएको उनको भनाइ छ। यसलाई नियन्त्रण गर्ने गृहकार्य भइरहेको उनले बताए। ‘यस्तो प्रवृत्तिले संस्था नाफामा गएर बलियो बनाएको छ। तर, ऋणी सदस्यको भने व्यापार व्यवसाय चौपट भएको गुनासो आएको छ,’ उनले भने।
संस्थाले इभरग्रिनिङ नगरेको भए अधिकांशको खराब कर्जा ५ प्रतिशतभन्दा धेरै माथि जान सक्ने सम्भावना रहेको उनको भनाइ छ। कोभिडको दोस्रो लहरको प्रभावबारे नेपाल लघुवित्त बैंकर्स संघले समेत अध्ययन गरेको थियो। उक्त अध्ययनले पनि कोभिडका कारण ९३ प्रतिशतले व्यवसाय आंशिक रूपमा मात्र सञ्चालन गर्न पाएको निचोड निकालेको थियो। यो बाहेक बाँकी ७ प्रतिशतले पूर्ण रूपमा व्यवसाय बन्द भएको बताएका थिए।