स्तनपान अमृत समान
आमाको दूध शिशुको अधिकार तथा प्रकृतिप्रदत्त उपहार हो। अर्कोतिर यो जीवनदायी अमृतसमान। आमाहरूमा स्तनपानसम्बन्धी पर्याप्त जानकारी नभएकाले पहाडी र तराई क्षेत्रका कतिपय जिल्लामा बिगौती दूध दुहेर फाल्ने गरिन्छ। सौन्दर्यमा ह्रास आउँछ, शरीरको तौल घट्छ, स्तनको आकार बिग्रन्छ भन्ने गलत मानसिकतामा आधुनिक नारी देखिन्छन्। कतिले कमजोर भइन्छ, कतिले दूध पुग्दैन भन्छन्।
स्वास्थ्य मन्त्रालयको सर्वेक्षणमा यथेष्ट मात्रामा स्तनपान गरेका बच्चालाई रोग कम लाग्ने, शारीरिक र मानसिक विकास दू्रत गतिमा हुने र बाल मृत्युदर कम हुने देखिएको छ। स्तनपान गर्न नपाएका शिशु पछि गएर झगडालु स्वभावका हुने, अरूसँग घुलमिल गर्न नसक्ने, पछि गएर आपराधिक कार्यहरूमा लाग्ने गरेको, अस्वस्थ हुने, लुलो लंगडो हुने, सानातिना रोगव्याधिले समेत सताउने र जटिलता ल्याउने, बौद्धिक शक्ति कमजोर हुने देखिन्छ। प्रचुर मात्रामा स्तनपान नगर्ने शिशुमा गर्नेमा भन्दा झाडापखाला, श्वासप्रश्वास, निमोनिया, कुपोषण, आउँ र क्षयरोगबाट बिरामी हुने र मृत्यु हुने सम्भावना २५ प्रतिशतले बढी भएको पाइन्छ। साथै समयअगावै दुई महिनामै अतिरिक्त खाना दिने र ज्यादै ढिलो १९ महिनासम्म थप खाना दिने दुवै गलत प्रवृत्तिले कुपोषण र बालमृत्युदर बढाएको देखिन्छ।
स्तनपान गराउँदा प्रोजेष्ट्रोन हर्मोनको वृद्धिले छ महिनासम्म सतप्रतिशत गर्भनिरोधकको काम गर्छ। गर्भधारण ढिलो हुन गई गर्भान्तरमा मद्धत पुग्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई जन्मेको छ महिनासम्म आमाको दूध मात्रै खुवाए पुग्छ। त्यसपछिको शारीरिक र मानसिक विकासका लागि दूधको साथै अन्य ठोस खानेकुरा दुई वर्षसम्म खुवाउनु पर्दछ। त्यसैले उचित समयअनुसार, उचित मात्रामा स्तनपान गराउँदा र शिशुको खाद्य पदार्थमा ध्यान दिँदा कुपोषण हुन सक्दैन। एनडीएचएस २०१६ अनुसार इक्सक्लुजिभ ६ महिनासम्म ६६ र एक घण्टाभित्र बिगौती दूध खुवाउने ५५ प्रतिशत छन्। त्यस्तै ० देखि १ महिनामा ८० प्रतिशत २ देखि ३ महिनामा ७२ प्रतिशत,४ देखि ५ महिनामा ४१ प्रतिशत छ। एनएमएससीएस २०१९ मा बिगौती दूध १ घण्टामै खुवाउने ४२ प्रतिशत, ६ महिनासम्म स्तनपान गराउने ६२ र पूर्ण स्तनपान गराउने ८७.६ प्रतिशत छ। स्तनपान प्रवद्र्धन गर्न सरकारले हाल ९८ दिन तलबी र ६ महिना बेतलबी विदा दिने गरेको छ।
स्वस्थ आमाको स्तनबाट प्रतिदिन ९ देखि १२०० मिलीलिटर दूध निस्कन्छ, ६५ किलो क्यालोरी शक्ति प्रतिसय ग्राम निहीत हुन्छ। बच्चाको शारीरिक आवश्यकतानुसार मस्तिष्क विकास गर्न जरुरत पर्ने सबै एमीनो एसीड पाइन्छ। समय सीमा र मात्रा नभएको खाद्य वस्तु पनि यही नै हो। आमाको दूध स्वच्छ, सुपाच्य, हानीकारक किटाणुको प्रवेश हुन नपाउने, प्राकृतिक तत्त्व निहीत भएकाले घा“टीको संक्रमण, स्कर्भी, रिकेट, पोलियो, इन्फ्लुएन्जा र दमजस्ता रोगबाट बचाउँछ। शिशुको बढ्दो उमेरको आवश्यकता अनुसार दूधको संरचनामा पनि परिवर्तन हुने गर्छ। आमाको दूध प्रचुर मात्रामा ६ महिनासम्म खुवाउँदा पानीको समेत आवश्यकता पर्दैन।
आमाको दूध बच्चाका लागि तयारी खाना हो, जसलाई शिशुले चाहेमा जुनसुकै बेला र जुनसुकै स्थानमा सजिलैसँग खुवाउन सकिन्छ। बट्टाको दूध खानेमा भन्दा निमोनिया, दम, झाडापखालाले समात्ने र मृत्यु हुने सम्भावना २५ गुणा कम र भिटामिन ए, फलाम र पोषणको कमी भई कुपोषण हुने सम्भावना न्युन रहन्छ। शारीरिक अवस्था कमजोर हुने, समयमै घस्रिने र हिँडडुल गर्न नसकिने, दूध पचाउन नसकिने, वान्ता हुने, आँखा कमजोर हुने र पछि रतन्दो हुने, बौद्धिक क्षमता कम हुने र कमजोर शारीरिक अवस्थाका कारणले व्यक्तित्त्व विकास गर्न सक्दैन।
आमाको सुरुको दूध ७—१० दिनभित्रको अलि बाक्लो, पहेलो र च्यापच्याप लाग्ने, वंशाणुगत, कोलोष्ट्रमसहित हुन्छ जसलाई बिगौती दूध भनिन्छ। जसमा हानिकारक संक्रामक जीवाणु र किटाणुलाई नष्ट पार्ने, संक्रामक रोगसँग लड्न सक्ने तत्त्वहरू भएको, कार्बोहाइटे«ड, प्रोटिन, चिल्लो पदार्थको अलावा सबै पौष्टिक तत्त्वले भरिपूर्ण भएकाले विगौती दूधलाई पहिलो खोप पनि भनिन्छ। आमामा जन्मेदेखि गर्भधारण गर्दासम्म उत्पन्न भएका रोगविरुद्ध विकसित एण्टीबडी भएको दूध, बच्चा जन्मनेबित्तिकै वा ढिलोमा जन्मेको आधादेखि एक घण्टाभित्रै खुवाउनु पर्दछ। पीप मिसिएको दूध भनी फ्याँक्ने र सट्टामा ५० प्रतिशत महिलाले गर्ने विशेषगरी तराईमा मह चटाउने, घ्यू, जन्मघुन्टी, ग्लुकोज र घोटीचौथी खुवाउने जस्ता कार्यहरू उचित होइनन्। उक्त कुरा खान दिँदा संक्रमण हुने र दूध खान नमान्ने हुन जान्छ।
शिशुलाई ममताको पहिलो उपचार ‘स्तनपान’ गराउँदा शिशुका लागि मात्र नभई स्वयं आमाका लागि उत्तिकै महत्त्वपूर्ण छ। बच्चाले दूध चुस्दा अक्सिटोसिनले दूध पगार्ने भएकाले उक्त तत्त्वले आमाको पाठेघर (जुन बच्चा गर्भमा रहेको बेला खुलेको हुन्छ) खुम्चन मद्दत पुर्याई पाठेघरमा लाग्ने रोगहरू न्यूनीकरण गर्दछ। प्रसवपछि हुने रक्त श्रावलाई रोक्छ। आमालाई पछि गएर हुने डिम्बासय, स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना ८ गुणाले कम हुन्छ। स्तनपान गराउँदा प्रोजेष्ट्रोन हर्मोनको वृद्धिले छ महिनासम्म सतप्रतिशत गर्भनिरोधकको काम गर्छ। गर्भधारण ढिलो हुन गई गर्भान्तरमा मद्धत पुग्छ। स्तनपान ५० प्रतिशतले कम गर्दा ३७ प्रतिशत प्रजनन् दरमा वृद्धि हुन्छ। डब्बा तथा अन्य दूध खुवाउँदा हुने खर्चको आर्थिक भार तथा बिरामी भई उपचारमा लाग्ने खर्चको भार कम हुन्छ।
आमालाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्छ भने बच्चाले आफूलाई सुरक्षित ठान्छ। स्तनपान गराउँदा आमाले पूर्णता पाउँछिन्। पारिवारिक बचतसमेत बढाउँछ। गर्भावस्थामा सञ्चित बोसो घटाउँछ। अन्तमा, आमालाई उचित समय, तरिका र सुरक्षित स्तनपान सिकाउनै पर्छ। जसका लागि युवावस्थामा र गर्भवती हुँदा परीक्षण गर्नुपर्छ। ६ महिनासम्म शिशुलाई स्तनपान मात्र गराउनुपर्ने र त्यसपछि दुई वर्षसम्म खानाका साथ दूध चुसाउनु पर्छ। स्तनपानलाई शिशुको नैसर्गिक तथा बालअधिकारको रूपमा स्थापित गराउन जरुरी छ।
लेखक नेपाल चिकित्सक संघका कोषाध्यक्ष हुन्।