अझै स्ट्रेचरकै भर
भोजपुर : षडानन्द नगरपालिका–२ कुदाककाउलेकी ७२ वर्षीया नरमाया घिमिरे साता दिनदेखि पेट दुखाइले थलिइन्। दुखाइ झन् बढेपछि उनलाई अस्पताल लैजान छोरा राजेश घिमिरेले छरछिमेकी दुई–चार जनालाई बोलाए।
वर्षाका कारण हिलाम्य कच्ची सडकमा कुनै सवारीसाधन चल्न सक्ने स्थिति थिएन। भेला भएकाहरूले स्ट्रेचरमै बोकेर स्वास्थ्य चौकी पुर्याए। तर, बिडम्बना सडक पुगे पनि त्यहाँ अझै एम्बुलेन्स पुग्न सकेको छैन।
‘सडक त छ, तर न गाडी गुड्छ न एम्बुलेन्स नै कहिल्यै देख्न पाइयो। कोही बिरामी परिहाले स्ट्रेचरकै भर पर्नुपर्छ,’ राजेशले भने, ‘गम्भीर बिरामी र सुत्केरीलाई बढी जोखिम छ। कष्टकर यात्रा गर्दै एक दिनको बाटो स्ट्रेचरमा बोकेर संखुवासभाको खाँदबारी पुर्याउनुपर्छ।’ उपचारका लागि लैजाँदालैजाँदै बाटैमा बिरामीको ज्यान जाने हो कि भन्ने अर्को तनाव पनि हुने उनले बताए।
राजेश जस्ता यस क्षेत्रका नागरिकको बाध्यता नै स्ट्रेचरमा बिरामी बोकेर उपचारका लागि पुर्याउनु हो। भोजपुरको उत्तरी साल्पासिलिछो, रामप्रसादराई गाउँपालिका र षडानन्द नगरपालिकाका धेरै ग्रामीण भेगमा एम्बुलेन्स सेवा छैन। सडक पनि भरपर्दा छैनन्। अधिकांश स्थानीय तहमा एम्बुलेन्स सेवा पुगे पनि दुर्गम भेगका स्थानीय बिरामी पर्दा अझै स्टे«चरकै भरमा उपचारका लागि पुग्नुपर्ने बाध्यतामा छन्।
एम्बुलेन्स सेवा नहुँदा बिरामीको बाटैमा मृत्यु हुने गरेको साल्पासिलिछो–६ दोभानेका दिक्पाल राईले बताए। ‘सडक पुगे पनि ट्र्याक्टरले बाटो बिगार्छ। बाढीले पनि बगाउने हुँदा बर्खामा त झन् ठप्पै हुने हुँदा कोही बिरामी परे स्ट्रेचरको विकल्प छैन,’ उनले भने, ‘कतिपय अवस्थामा त हेलिकप्टर नै चार्टर गर्नुपर्ने हुन्छ।
बाटो पनि राम्रो छैन, गाउँमा एम्बुलेन्स र अस्पतालको त कुरै छाडौं।’ अप्ठ्यारो बाटोको सामना गर्दै बिरामी उपचारका लागि लैजानुपर्ने राईले बताए। गाउँपालिका क्षेत्रमा एम्बुलेन्स र भरपर्दो सडक नहुँदा समयमा अस्पताल पुग्न नसकेर उत्तरी क्षेत्रका सर्वसाधरणको ज्यान जोखिममा परिरहेको उनको भनाइ छ। साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले कोरोना महामारीले नयाँ एम्बुलेन्स खरिद रोकिएको र चाँडै प्रक्रिया अघि बढाइने बताए।
उनले भने, ‘संवेदनशील विषय भएकाले नागरिकको सेवाका लागि पालिकाबाट एम्बुलेन्स खरिदको तयारी भएको छ।’ अध्यक्ष राईले चालू आर्थिक वर्षभित्रै गाउँपालिकामा एम्बुलेन्स ल्याइने बताए।
सडक सञ्जालले गाउँगाउँ जोडिए पनि अव्यवस्थित सडकका कारण एम्बुलेन्सको पहुँच अझै पनि पुग्न सकेको छैन। सडक पुगे पनि एम्बुलेन्स नहुँदा ग्रामीण नागरिकको जीवन जोखिममा परिरहेको कुदाककाउलेका सन्तोष बस्नेत बताउँछन्। हतुवागढी, पौवादुङमा, टेम्केमैयुङ, आमचोक र अरुण गाउँपालिकाले एम्बुलेन्स ल्याएका छन्।
जिल्ला अस्पतालका २ एम्बुलेन्स बिग्रिएर थन्किएका छन्। अस्पतालमा एम्बुलेन्स नहुँदा सदरमुकामलगायत आसपासका क्षेत्रबाट इन्डियन वेल्फेयर र नेपाल रेडक्रस सोसाइटीबाट सञ्चालित एम्बुलेन्सले बिरामी ओसारपसार गर्ने गर्छन्। दोभाने, तिम्मा, मानेभञ्ज्याङ, सानोदुम्मा, ठूलोदुम्मा, जरायोटार, दुम्माना, हसनपुर, वासिङथर्पु, बासिखोरा, देवानटार जस्ता दुर्गम क्षेत्रका नागरिकलाई अझै पनि सामान्य उपचारका लागि घण्टौं हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ । कोरोना महामारी चरमविन्दुमा पुग्दा गम्भीर बिरामीले एम्बुलेन्स पाएनन्।
कतिपयको अकालमै ज्यान गयो। सञ्चालनमा रहेका एम्बुलेन्स पनि कोरोना संक्रमित बोक्नलाई मात्र प्रयोग भएपछि अरू बिरामी समस्यामा परेका हुन्। कोरोना महामारीका बेला सडक सञ्जालको सहज पहुँच नहुनु र अर्कोतिर एम्बुलेन्स अभाव बिरामीका लागि पीडादायी बनेको षडानन्द नगरपालिका–१ नेपालडाँडाका सौगात गौतमले बताए।