‘अनलाइन बजारीकरण गर्न खोजेका छौं’

‘अनलाइन बजारीकरण गर्न खोजेका छौं’

करिब १ सय ७५ भन्दा बढी महिला उद्यमीहरू केन्द्रीय सदस्यका रूपमा रहेको महिला उद्यमी महासंघ नेपालले यस वर्ष भर्चुअल माध्यमबाट व्यापार मेला आयोजना गर्ने भएको छ। महिलाहरूलाई उद्यमशीलता विकास र आर्थिक सशक्तीकरण गर्दै आएको महासंघले सन् २०१६ देखि प्रत्येक वर्ष यस्ता मेला आयोजना गर्दै आएको थियो। तर, कोभिड–१९ का कारण गत वर्ष रोकियो। यसपटक भने आगामी १७ गतेबाट ५ दिने ‘पाँचौंं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२१’ सुरु गर्ने भएको छ। उक्त मेला र कोभिडका कारण महिला उद्यमीका चुनौती लगायतबारे आमा नेपाल (ढाका तथा अल्लो) सञ्चालक तथा महासंघ अध्यक्ष रीता सिम्हासँग अन्नपूर्णकर्मी ममता थापाले गरेको कुराकानी। 


गत वर्ष रोकिएको एक्स्पो यसपटक भर्चुअल गर्नुको कारण के हो ?

कोभिडले गर्दा गत वर्ष गर्न सकेनौं। अघिल्ला वर्ष भौतिक उपस्थितिबाट गर्दा मेला साह्रै प्रभावकारी बनेको थियो। कोभिडले महिला उद्यमीको व्यवसायमा नकारात्मक असर पारेको छ।  

यसैले यसलाई मध्यनजर गरेर विशेष बजारीकरणमा टेवा पुगोस् भनेर चुनौतीको सामना गर्दै भर्चुअल मेला गर्ने चेष्टा गरेका हौं। यसैले आउँदो बिहीबार भदौ १७ देखि २१ गतेसम्म ‘पाँचौंं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२१’ गर्न लागिएको हो। 

एक्स्पो सुरु हुन अब ३ दिन बाँकी छ। तयारी पूरा भयो ?
तयारी लगभग ९० प्रतिशत गरिसक्यौं। आज (सोमबार)महासंघकै सचिवालयमा प्रेस सम्मेलन गर्दैछौं।  प्राविधिकहरूको सहयोगले भर्चुअल मेला गर्ने आँट गर्‍यौं। डाटा सोलुसन अनलाइन मार्केटिङसँग समझदारी गरेका छौं। 

मेलामा महिलाहरूले उत्पादन गरेका हस्तकला, कृषि र सेवामूलक प्रस्तुति रहनेछ। हरेक महिला उद्यमीले कम्तीमा पनि १० वटा प्रडक्ट प्रदर्शन गर्ने भनिएको छ। 

यस्तो विषम परिस्थितिमा पनि यो अनलाइन मार्केटिङ हाम्रा लागि अवसर पनि हो। यसले उद्यमीलाई अनुभवी पनि बनाउला। महासंघको वेब पोर्टलमार्फत बजारीकरण गर्न चाहेका हौं। स्वदेशीे उत्पादनहरूलाई अनलाइन बजारीकरण (मार्केटिङ)मार्फत पनि निरन्तरता दिन खोजेका छौं।

एक्स्पोका मुख्य आकर्षण के–के  हुने छन् ?
हामीले १ सय वटा स्टलको अपेक्षा गरेका छौं। आइतबारसम्म ७० वटा स्टलको निश्चित भएको छ। स्टललाई ३ वटा क्षेत्रमा वर्गीकरण गरेका छौं। 

जसमा कृषिजन्य वस्तुहरू, हस्तकलाको सामान र सेवामुलक भनेर विभाजन गरिएको छ। हस्तकलाअन्तर्गत उनीको, पश्मिना, ढाका, लोक्ता कागजहरूका सामग्री, टेक्सटायल, गार्मेटलगायत वस्तु रहने छन्। कृषिजन्यमा महलगायतका स्वास्थ्यजनक फुडहरू, कस्मेटिकमा हर्वल प्रडक्टहरू र सेवाअन्तर्गत बुटिक, तयारी पोसाकहरू राखिएको छ। 

आम सर्वसाधारण यसमा कसरी सहभागी हुन सक्छन् ?
विभिन्न सामाजिक सञ्जालमार्फत एक्स्पोको विज्ञापन गर्दैछौं। एक्स्पो सुरु हुनुअघि सञ्चारमाध्यमहरूलाई पनि उपलब्ध गर्नेछौं।

अनलाइन एक्स्पोको खरिद बिक्री प्रक्रिया अनलाइन नै हुने हो ?
हामीले  छनौट गर्ने सुविधा राखेका छौं। कतिपयले सामान नदेखेसम्म नगद दिन चाहँदैनन्।  इच्छुकले ई–सेवामार्फत अनलाइन भुक्तानी पनि गर्न सक्छन्।   

स्टल राख्न चाहने यसमा कसरी जोडिन सक्छन् ?
महासंघका सदस्य महिला उद्यमीका लागि ५ हजार रुपैयाँ तोकिएको छ । अरूले स्टल राख्न चाहे ७ हजार रुपैयाँ शुल्क तोकिएको छ। साथै,  विदेशबाट सहभागी हुनेहरूका लागि भने १५० डलर तोकिएको छ। 

एक्स्पोमा कति सहभागीको अपेक्षा गरिएको छ ? विदेशीहरूले पनि स्टल राख्दै छन् कि ?
 हामीले यो एक्स्पोमा भारत, बंगलादेश, कम्बोडिया, श्रीलंका जस्ता सार्क मुलुककै लागि सहभागी गर्न खोजेका थियौं। केहिले चासो देखाएका थिए तर कोभिडले गर्दा उनीहरूको सहभागी आएको छैन। यद्यपि हाम्रा उत्पादन खरिद गर्न भने भर्चुअलमार्फत जुनसुकै देशले पनि गर्न सक्छन्। 

पछिल्लो समय  महिला उद्यमीको संख्या बढ्दै गएको छ।  सफल महिला उद्यमी हुन कत्तिको चुनौती छ ?
एकदम चुनौती छ। किनभने समाज नै पितृसत्तात्मक समाज भएकाले हो। सुरुमा व्यवसाय गर्नलाई नै महिलाको वित्तीय पहुँच नहुनु ठूलो चुनौती हो। किनभने महिलाहरूको नाममा सम्पत्ति हुँदैन। बैंकमा गयो, सम्पत्ति धितो माग्छ। अहिले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत महिला उद्यमी तथा लघु उद्यमलाई प्रोत्साहन स्वरूप ब्याज अनुदानमा सहुलीयतपूर्ण कर्जा सुविधा छ। 

अझै अधिकांश महिलाहरूमा सूचना र ज्ञानको अभाव छन्। प्रविधिको अभावले पनि भएको हुन सक्छ। सरकारी तहबाट एकद्धार प्रणालीमार्फत नै महिला उद्यमीले सबैखाले सूचना पाउने व्यवस्था हुनु पर्‍यो। इच्छा भएका कतिपय महिलाहरू घरमै सीमित छन्। यसैले यस्ता महिलाहरूलाई पनि महासंघले प्रोत्साहन गरेको छ। तर, यो सरकारबाटै पहल भैदियोस् भन्ने चाहन्छौं।  

कोभिडबाट बढी प्रभावितलाई छुट दिएकै छ त ?
सरकारले राम्रा व्यवस्था ल्याउँछ तर कार्यान्वयनमा समस्या देखिन्छ। कतिपय कुरा हामी महासंघमा भएर पनि थाहा हुदैन। कोभिडपछि विभिन्न अनलाइन ट्रेनिङहरू गर्‍यौं। महिलाहरूका लागि बजेट आउँछ तर यसभित्र महिला उद्यमका लागि के–के आएको छ भन्ने थाहा हुँदैन। यसमा खोजी नीति गर्ने बानी पनी छैन। यो पनि हाम्रो कमजोरी हो। सरकारको तर्फबाट पनि सूचना प्रवाह राम्रोसँग भएको पाइँदैन। 

सहुलीयतपूर्ण कर्जा नपाउनुमा लघुउद्यम महिलाहरूको हिसाब पारदर्शी नहुने बैंकरहरूले कर्जा दिन नसक्ने कारण देखाउँछन् त। यो पक्ष त बलियो बनाउनुपर्ने होइन र ?
कतिपय महिलाले यस्तोक कर्जा पाएका छन्। तर, महिलालाई सहुलियत शीर्षकमै बैंकहरूले पनि बिना धितो कर्जा दिन हिच्किचाएको देखिन्छ। बैंकरहरू पनि आम जनताको निक्षेपलाई बिनाधितो दिएर जोखिम मोल्न चाहँदैनन्। 

अधिकांश लघु उद्यमीसँग राम्रो व्यवसायीक योजना हुँदैन भन्ने बैंकरहरू बताउँछन्। साथै डकुमेन्टेसन पनि राम्रोसँग प्रस्तुत गर्न अनुरोध गर्दै आएका छन्। यसकारण अब हामीले महिलाहरूलाई कसरी राम्रो व्यावसायिक योजना बनाउने, पारदर्शी कारोबार कसरी गर्ने भन्नेबारे जानकार बनाउन तालिम दिने योजनामा छौं। 

विगत २ वर्षदेखि कोभिडले उद्योगहरू थला परेका छन्।  खास के–केमा असर परेको छ ?
हाम्रो  ठूलो समस्या भनेकै प्रायः अधिकांश कच्चापदार्थ विदेशबाटै ल्याउँछौं। हामी आफैं आत्मनिर्भर हुनुपर्‍यो। अब कच्चापदार्थ आफ्नै देशमा उत्पादन गर्नुपर्‍यो। किनभने नेपालमा पर्याप्त सम्भावना र स्रोतहरू छन्। यसैले कच्चापदार्थ आयातभन्दा कोभिडका बेला आफ्नै देशमा जुटाउन सकेको भए महिलाहरूले यो बेला उत्पादन बढाउन सक्थे। यसैले अब मुलुकभित्रै कच्चा पदार्थ उत्पादन गर्नुपर्छ भन्ने पक्षमा जोड दिएर अघि बढेका छौं।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.