सम्झौताविपरीत बेचियो मणिपाल

सम्झौताविपरीत बेचियो मणिपाल

पोखरा : सरकारसँगको सम्झौता विपरीत पोखराको मणिपाल कलेज बिक्री भएको छ। पोखराका व्यवसायी आनन्दराज बतास र नारायण पौडेल (बापौं होल्डिङ्स) ले सवा ३ अर्ब रुपैयाँमा कलेज किनेका हुन्। शुक्रबार मणिपाल ग्रुप र बापौं होल्डिङ्सबीच खरिद बिक्री सम्झौता भएको छ। आनन्दको बतास अर्गनाइजेसनको ६० र नारायणको अटोवेज प्रालिको ४० प्रतिशत लगानी रहने भएको छ। 

मणिपाल ग्रुप र सरकारबीच २०४९ सालमा कलेज सञ्चालनको सम्झौता भएको थियो। सम्झौताबमोजिम सरकारले पोखरा—११ फूलबारीमा १ सय ६० रोपनी जमिन ४९ वर्षका लागि भाडामा उपलब्ध गराएको थियो। २०५२ सालमा अस्पताल सञ्चालनमा आएपछि ४९ वर्षेअघि सुरु भयो। 

सम्झौतामा भनिएको छ, ‘उक्त ४९ वर्षको अवधि समाप्त भएपछि वा बिचैमा दोस्रो पक्षले उक्त जग्गा छाडि जाने भएमा भू—बहाल रकम प्रथम पक्षले फिर्ता नदिने र उक्त जग्गामा उपलब्ध (निर्मित) भौतिक सुविधाहरू अरूलाई हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमै प्रथम पक्षलाई छाडिजानु पर्नेछ। त्यसबापत प्रथम पक्षले दोस्रो पक्षलाई कुनै रै—रकम दिनुपर्ने छैन।’ 

यो सम्झौता सार्वजनिक भएको छैन। सम्झौता तत्काल सार्वजनिक गर्न पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले सरकारसँग माग गरे। उनले भने, ‘सरकारलाई हस्तान्तरण हुनुपर्ने कसरी बिक्री भयो ?, जनताले थाहा पाउनुपर्छ।’

सम्झौताअनुसार २२ वर्ष बाँकी छँदै लगानीकर्ता बाहिरिन लागेपछि यसप्रति पोखरेलीले चासो जनाएका छन्। पोखराकै व्यवसायीले कलेज किनेकामा कतिले खुसी व्यक्त गरेका छन्। अधिकांशको भने विदेशी लगानी बाहिरिँदा गलत सन्देश गएको प्रतिक्रिया छ। 

सम्झौताअनुसार सरकारले १ सय ९३ रोपनी जमिन भाडामा दिएको छियो। ४० रोपनी भने मणिपाल आफैंले किनेको निजी जमिन छ। ४० रोपनिमा कलेजको मुख्य संरचना छ। सरकारी जमिनमा होस्टल, कर्मचारी क्वार्टर, मैदानलगायत संरचना छन्।

अटोवेज प्रालिका पौडेल सबै काम कानुनबमोजिम भएको र हुने बताउँछन्। ‘हामी कानुनलाई पालना गर्ने व्यक्ति हौं, जे हुन्छ सबै कानुनबमोजिम हुन्छ,’ उनले संक्षिप्त प्रतिक्रिया जनाए। मणिपाल गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल हो। जमिन र सबै दायित्वसमेत गरी ३ अर्ब २५ करोड रुपैयाँमा खरिद गरेको पौडेलले पुष्टि गरे। केही वर्ष अस्पताल र कलेज मणिपाल नाममै सञ्चालन हुने छ। पछि भने नाम फेरिने उनले बताए। ‘स्नायु र मुटुको उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्छौँ,’ पौडेलले भने। 

मणिपालले ९ सय बेडको अनुमति लिएको छ। अहिले भने साढे ७ सय बेड सञ्चालनमा छ। बर्सेनि सय विद्यार्थी चिकित्साशास्त्रको अध्ययनका लागि भर्ना हुन्छन्। अस्पतालमा दैनिक हजार हाराहारी बिरामी पुग्छन्। 

स्थापनादेखि नै मणिपालले बिरामीका आफन्त, कर्मचारी र मजदुरका धेरै आन्दोलन मणिपालले झेलेको छ। आन्दोलनका कारण अस्पतालको सेवासमेत कैयौं पटक बन्द भयो। ३ वर्षयता भने ठूला आन्दोलन भएका थिएनन्। 

तर पनि मणिपाल ग्रुप इन्डिया फिर्ता हुने निष्कर्षमा पुगेको छ। मणिपालका कर्मचारीहरूले आफूहरूको कल्याणकारी कोषमा जम्मा भएको रकमलगायत दायित्व के हुने भन्ने प्रश्न गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.