विश्‍वभर आज: चीनमा ६ वर्षमुनिका स्कुले बालबालिकाले परीक्षा दिनु नपर्ने, जापानमा लाखौँ कोरोना खोप बरामद

विश्‍वभर आज: चीनमा ६ वर्षमुनिका स्कुले बालबालिकाले परीक्षा दिनु नपर्ने, जापानमा लाखौँ कोरोना खोप बरामद

चीनमा अब ६ वर्षमुनिका बालबालिकाले परीक्षा दिनु नपर्ने

बेइजिङ: चीनमा अब ६ वर्षमुनिका बालबालिकाले स्कुलको परीक्षा दिनु नपर्ने भएको छ । चीन सरकारले सोमबार अबदेखि ६ वर्षमुनिका बालबालिकाले दिँदैआएको स्कुलको नियमित परीक्षा खारेज गर्दै बालबालिकाले परीक्षामा सहभागी हुनु नपर्ने बताएको छ ।

प्रतिस्पर्धी परीक्षा प्रणालीले बालबालिका र उनीहरुको अभिभावकमा हुने दबाब सिर्जना घटाउन बालबालिकाले दिने परीक्षामा प्रतिबन्द लगाएको चीनको शिक्षा मन्त्रालयले जनाएको छ ।

चीनमा प्राथमिक विद्यालयमा भर्ना भएको १ वर्षदेखि विश्वविद्यालयको प्रवेश परीक्षासम्म अर्थात् १८ वर्षसम्म विद्यार्थीहरुका लागि विद्यालयस्तरीय परीक्षा अनिवार्य छ । तर सानै उमेरमा परीक्षा दिनुपर्ने कारण बालबालिकाको मानसिक एवं शारीरिक स्वास्थ्यमा हानी पुर्‍याउने हुँदा ६ वर्षमुनिका बालबालिकाले परीक्षा दिनु नपर्ने प्रणाली लागु गरिएको चीनको शिक्षा मन्त्रालयले बताएको हो ।

‘परीक्षा शिक्षाको एक अभिन्न अंश हो तर कतिपय विद्यालयहरुले विद्यार्थीको क्षमताभन्दा बढी परीक्षा लिएर समस्या सिर्जना गरिरहेका छन् । त्यसले बालबालिका र उनीहरुको अभिभावकहरुमा बाधा र दबाब सिर्जना गरेकोले हामीले ६ वर्षमुनिका बालबालिकाले परीक्षा दिनु नपर्ने गरी परीक्षा प्रणालीमा सुधार गरेका छौँ’ शिक्षा मन्त्रालयद्धारा सोमबार जारी विज्ञप्तीमा भनिएको छ । यद्यपि, बालबालिकाको सिकाई परीक्षण भने जारी राखिने शिक्षा मन्त्रालयले जनाएको छ ।
०००

प्यालेस्टेनी राष्ट्रपति र इजरायली रक्षामन्त्रीबीच १० वर्षपछि उच्चस्तरीय भेट

जेरुसेलम: इजरायली रक्षामन्त्री बेन्नी गान्ट्ज र प्यालेस्टेनी राष्ट्रपति महमुद अब्बासबीच उच्चस्तरीय भेटवार्ता भएको छ । वेस्ट बैंकस्थित सोमबार दुई पक्षबीच १० वर्षपछि पहिलो पटक उच्चस्तरीय भेट भएको प्यालेस्टेनी अधिकारीले बताएका छन् ।

८५ वर्षीय प्यालेस्टेनी नेता अब्बससँग दुई देशबीचको सुरक्षा, नागरिक र आर्थिक छलफलको लागि इजरायलका रक्षामन्त्री गान्ट्ज रामल्लाह शहरमा अवस्थित वेस्ट बैंक पुगेका थिए ।

‘रक्षामन्त्री बेन्नीले प्यालेस्टेनी राष्ट्रपति महमुदसँग भेट गर्नुभएको छ । उहाँहरुबीच सुरक्षा नीति, नागरिक र आर्थिक मुद्दामा छलफल भएको छ’ इजरायलको रक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

उनीहरुबीच वेस्ट बैंक र गाजा क्षेत्रको आर्थिक अवस्था र सुरक्षालाई आकार दिनेबारे पनि छलफल भएको र दुबै पक्षबीच विस्तृत रुपमा छलफल जारी राख्ने सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।
०००

जापानमा लाखौँ कोरोना खोप बरामद

टोक्यो: जापानमा कोरानाविरुद्धको मडोर्ना खोपको २६ लाख डोज बरामद गरिएको छ । मडोर्ना खोप लगाएका दुई जापानी नागरिकको मृत्यु भएको र थुप्रैमा खोपको असर देखिएको भन्दै उक्त खोप अस्थायी रुपमा बरामद गरिएको बताइएको छ ।

रोयटर्सका अनुसार कोरोनाविरुद्ध मडोर्ना खोप लगाएपछि जापानमा डेल्टा भेरियन्टले विकराल रुप लिइरहँदा पछिल्लो समय दैनिक २५ हजार डेल्टा वेभका नयाँ संक्रमित फेला परिरहेको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मडोर्ना भ्याक्सिन वितरक कम्पनीले खोपमा बदमासी गरेको हुनसक्ने आशंका गरिएको छ । खोप लगाउँदा भिन्दा भिन्दै सिरिन्ज फेला परेको र उक्त खोप असुरक्षित हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
०००

काबुल हमलामा एकै परिवारका ९ सदस्य मारिए

काबुल: काबुल विमानस्थल नजिकै आइतबार राति भएको ड्रोन हमलामा एकै परिवारका ९ सदस्य मारिएका छन् । अमेरिकाले आएसआएस के लाई लक्षित गरी गरिएको हमलामा ६ बालबालिकासहित एकै परिवारका ९ सदस्य मारिएका हुन् ।

आइतबार राति अमेरिकाले गत बिहीबार काबुल विमानस्थलबाहिर आत्मघाती विष्फोट गर्ने समूहलाई लक्षित गरी ड्रोन हमला गरेको थियो । सो हमलामा २ वर्षीया बालिकासहित परिवारका ९ सदस्यको मृत्यु भएको सीएनएनले जनाएको छ ।

सोमबार बिहान उक्त घटनाको विवरण सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आइएसआइएस के लाई लक्षित गरी आइतबारको हमला अमेरिकाले गरेको बताएका छन् । साथै उनले अमेरिकी सेना फिर्तीमा कुनै बाधा नआउने बताएका छन् ।

अमेरिकी सेना फिर्तीको समयसीमा समाप्तीको अघिल्लो दिन काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर थुप्रै रकेट हमला भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
गत बिहीबार काबुल विमानस्थलबाहिर भएको आत्मघाती विष्फोटमा १३ अमेरिकी सैनिक सहित १७० को मृत्यु भएको थियो । बिहीबारयता काबुल आक्रमणमा परी मृत्यु हुनेको संख्या २ सय पुगेको छ ।
०००

मलेसियाका नवनियुक्त प्रधानमन्त्री क्वारेन्टाइनमा

क्वाललम्पुर: मलेसियाका नवनियुक्त प्रधानमन्त्री इस्माइल सावरी याकुबलाई कोरोना संक्रमितहरुसँग सम्पर्क भएको भन्दै क्वारेन्टाइन पठाइएको छ ।

प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार सोमबारदेखि प्रधानमन्त्री इस्माइल क्वारेन्टाइनमा बसेका छन् । तर कति दिनसम्म क्वारेन्टाइनमा बस्ने भन्ने उनको कोरोना परीक्षणपछि मात्र थाहा हुने बताइएको छ ।

उनी कोरोना संक्रमित भए नभएको हालसम्म थाहा नभएको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री याकुब अगष्टको पहिलो साता प्रधानमन्त्रीको रुपमा नियुक्त भएका थिए ।
०००

रेगे संगीतका गुरु पेरीको ८५ वर्षको उमेरमा निधन

जमैका: रेगे संगीतका प्रसिद्ध गुरु मानिने जमैकन संगीतकार ली स्क्रयाच पेरीको ८५ वर्षको उमेरमा निधन भएको छ । जमैकन संगीतलाई उचाइमा पुर्‍याउन सफल पेरीको उत्तर जमैकाको लुसियामा निधन भएको हो ।

जमैकाका प्रधानमन्त्री एन्ड्रयु होलनेसले उनको मृत्युप्रति शोक व्यक्त गरेका छन् । पेरीले सुरु गरेको रेगे संगीतलाई  जमैकन संगीतकार बब मार्लीले संसारभर चिनाएका थिए । 
पेरीको जन्म उत्तर पश्चिम जमैकाको ह्यानओभरमा सन् १९३६ मा भएको थियो ।

सानैमा विद्यालय जान छोडेर पेरीले आफ्नो सांगीतिक यात्राको थालनी गरेका थिए । १९६५ मा ‘दि चिकेन स्क्र्याच’ गीत रेकर्ड गरेपछि ‘स्क्र्याच’ उपनाम पाएका उनका दुई सन्तान छन् ।
०००

पेरुमा डुंगा पल्टिँदा ११ को मृत्यु

पेरु: पेरुको अमेजोन क्षेत्रस्थित हौलागा नदीमा डुंगा पल्टिँदा ११ यात्रुको मृत्यु भएको छ भने अन्य केही हराइरहेका छन् । दुर्घटनामा ६ जना गम्भीर घाइते छन् ।

अधिकारीहरुका अनुसार डुंगामा २० बालबालिका सहित धार्मिक यात्राबाट घर फर्किएका यात्रुहरु सवार थिए । टिभी पेरुका अनुसार स्थानीय समयअनुसार आइतबार साँझ ५: ३० मा मुयुनाको हौलागा नदीमा डुंगा दुर्घटना भएको थियो । दुर्घटनामा बेपत्ता यात्रुहरुको खोजी कार्य भइरहेको छ । क्षमताभन्दा बढी यात्रु सवार भएकाले डुंगा पल्टिएको हुनसक्ने नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जनाएको छ ।
०००

इटालीको २० तले अपार्टमेन्टमा आगलागी 

रोम: इटालीको मिलान सहरमा २० तले अपार्टमेन्टमा सोमबार बिहान भीषण आगलागी हुँदा अपार्टमेन्टको १५ औँ तलासम्म भत्किएको छ ।

स्थानीय सरकारका अनुसार उक्त अपार्टमेन्टभित्र ७० भन्दा बढी परिवार बस्दै आएका थिए भने हाल सबैको उद्धार गरिएको छ । आगलागीबाट निस्केको धुँवाका कारण २० भन्दा बढी परिवार घाइते भएको र सबैलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । आगलागीबाट निस्केको धुवाँ सहरभर फैलिएको स्थानीय मिडियाले जनाएका छन् ।

दमकल र अग्नि नियन्त्रकमार्फत आगलागी नियन्त्रणमा लिइए पनि आगलागीबाट अपार्टमेन्टमा ठूलो क्षति पुगेको बताइएको छ । आगलागी भएको उक्त भवनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।
०००

उत्तर कोरियाले फेरि परमाणु हतियार उत्पादन गर्दै

प्योङयाङ: उत्तर कोरियाले प्लुटोनीयम (अणु बम बनाउने केमिकल) उत्पादनका लागि पावर प्लान्ट फेरि सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको परमाणु निगरानीका अनुसार उत्तर कोरियाले परमाणु हतियारहरुका लागि प्लुटोनीयम उत्पादन गर्न पावर प्लान्ट पुन सञ्चालनमा ल्याउन लागेको हो ।

दी इन्टरनेसनल अटोमिक एनर्जी एजेन्सी (आइएईए)का अनुसार यसबारे ठोस प्रमाण फेला नपरे पनि उनीहरुले संकेत पाएका छन् । 'स्याटेलाइट तस्बिर र अन्य माध्यमबाट हेर्दा यही जुलाईदेखि उत्तर कोरियाले परमाणु हतियार उत्पादनका लागि पावर प्लान्ट सञ्चालन गरिरहेको देखिन्छ’ इन्टरनेसनल अटोमिक एनर्जीले सीएनएनसँग भनेको छ ।

प्योङयाङको परमाणु कार्यक्रमबारे शुक्रबार प्रकाशित एक वार्षिक प्रतिवेदनमा आइएईएले उत्तर कोरिया चिन्ताजनक अवस्थामा रहेको र गम्भीर प्रयोजनका लागि परमाणु हतियार उत्पादन गरिहेको उल्लेख गरेको छ ।

‘दी डेमोक्रेटिक पिपुल्स रिपब्लीक अफ कोरिया (डिपिआरके)ले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यसले सम्बन्धित निकायलाई भड्काउने स्पष्ट देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।

आइएईएका अनुसार गत फेब्रुअरीदेखि जुलाई पहिलो सातासम्म उत्तर कोरियाले परमाणु हतियार उत्पादन गर्ने न्युक्लियर पावर प्लान्टनजिकै रेडियो ल्याबोरेटोरी पनि सञ्चालन गरेको संकेत फेला परेको छ । पावर प्लान्ट र ल्याब दुबै उत्तर कोरियाको न्युक्लियर कम्प्लेक्स भनेर चिनिने योङब्योनमा अवस्थित छ ।

यसअघि पनि आइएईए र अन्य विश्लेषकहरुले परमाणु हतियारको लागि न्युक्लियर इन्धनलाई प्लुटोनियममा परिणत गर्न उत्तर कोरियाले अभियान नै सञ्चालन गरेको भन्दै केही रिपोर्टहरु सार्वजनिक गरेका थिए ।

दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार उत्तर कोरियाले संयुक्त राज्य अमेरिकासँगको घनिष्ठ सहयोग र निरन्तर निगरानीमा आफ्नो परमाणु र क्षेप्यास्त्र गतिविधि सञ्चालन गरिरहेको छ ।

यद्यपि, अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको सम्भावित चुनौती सामना गर्न उत्तर कोरियाले परमाणु हतियार उत्पादनका लागि पावर प्लान्ट सञ्चालन गर्न आइएईएको रिपोर्टबाट अनुमान गर्न सकिने हतियार विशेषज्ञ एवं मिडलब्युरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजका प्रोफेसर जेफ्री लुइसको भनाइ छ ।

‘उत्तर कोरियाले यस्ता गतिविधि गर्नु नौलो विषय होइन । तर पछिल्लो समय असामान्य रुपमा परमाणु सम्बन्धी विभिन्न गतिविधिमा सक्रिय देखिन्छ’ उनले भनेका छन् । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनका अनुसार सन् २०१९ मा उत्तर कोरियाका नेता किम जोङ उनले ट्रम्पसँग परमाणु हतियार उत्पादन सम्बन्धी सम्झौता गरेका थिए ।

ट्रम्पले ब्यालिष्टिक मिसाइल र अन्य न्युक्लियर क्षेत्रबारे उत्तर कोरियासँग सम्झौता गर्न खोजे पनि उक्त सम्झौता किम जोङ उनले अस्वीकार गरेका थिए । त्यसयता अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनको प्रशासनले पटकपटक उत्तर कोरियासँग इमेलमार्फत छलफल गर्न खोजिरहेको बताइन्छ । तर हालसम्म उक्त प्रयास सफल हुन सकेको छैन ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.