‘एकदिन भुटान फर्कने समय आउनेछ’
टेकनाथ रिजाल भुटानी शरणार्थी नेता हुन्। भुटानको राज्यसभा सदस्य मात्र होइन, राजाको सल्लाहकार परिषद्मा थिए उनी। नेपाली मूलका अधिकांश नागरिकलाई गैरभुटानी समूहमा पार्ने गरी नागरिकता ऐन ल्याएपछि उनले विद्रोह गरे। त्यही अभियोगमा सन् १९८८ मा सात दिन हिरासतमा राखिए। छुटेपछि निर्वासित भएका उनले पिपुल्स फोरम फर ह्युमन राइट्स अफ भुटान स्थापना गरे। सन् १९८९ मा उनलाई नेपाल सरकारले बिर्तामोडमा पक्राउ गरी भुटानलाई बुझायो। सन् १९८९ देखि १९९९ सम्म १० वर्ष भुटानका विभिन्न कारागारमा चरम यातनासहित बन्दी जीवन बिताए। सन् १९९९ मा भने भुटानका राजाले उनलाई ‘निर्दोष’ घोषित गरे। सन् २००३ यता उनी नेपालमा बस्दै आएका छन्। भुटानी शरणार्थीको नेस्रो मुलुक पुनर्वासको कट्टर विरोधी हुन् उनी। किन त ? के हुन्छ अब शरणार्थी आन्दोलन ? भुटानबाट लखेटिएका र त्यहाँ रहेका नेपालीमूलका नागरिकको भविष्य के होला ? यिनै सेरोफेरोमा अन्नपूर्ण पोस्ट्का अखण्ड भण्डारी र रबिन भट्टराईले ७४ वर्षीय रिजालसँग गरेको कुराकानीको सम्पादित अंश–
भुटानी शरणार्थी समस्याको वर्तमान स्थिति के छ ?
पुनर्वास तत्कालका लागि राम्रै समाधान होइन र ?
तेस्रो देश जाने र लैजाने भन्ने मात्रै भयो सुरुमा। कति लैजाने भन्ने कुरा भएन। संस्था बस्छ, लान्छ भन्ने मात्रै भयो। त्यसले के–के गर्ने भन्ने भएन। कस्तो मान्छे लैजान्छ ? कस्तो लैजाँदैन ? भुटान र भारतसँग कस्तो सम्झौता भएको छ ? भन्ने विषयमा हामी जानकार भएनौं। धेरै तिरबाट दबाब भयो। मैले कुरा उठाउँदा मलाई धेरैले सम्झाउने प्रयास गरे। अरू चुप बसेपछि म मात्रै बोलेको कस्ले सुन्ने ? सातवटा देशले लैजाने भनेको समयमा किन बोल्नु ? पछि कसले खान दिन्छ भनेर मलाई भने। बरु मलाई पनि हिँड् भने तर, म चाहिँ जान मानिनँ। अर्को देश लैजाँदा मात्रै समस्या समाधान हुँदैन भनेर मैले पहिल्यै भनेको थिएँ।
तपाईं किन जान चाहनु भएन ?
यहाँ (नेपालमा) बस्दा र अमेरिका जाँदा उस्तै हो। समाधान भयो र ? हामीले निसाफ पाएका छैनौं। भुटानको जेलमा परेकाहरूले न्याय पाएका छैनन्। उनीहरूलाई अदालत लगिएको छैन। कति मारियो, लेखाजोखा छैन। संसारमा कुनै पनि आन्दोलन भएर त्यसलाई मिलाउने क्रममा छानबिन हुन्छ। त्यसको क्षतिपूर्ति दिने व्यवस्था हुन्छ। हाम्रो समस्यामा त्यो केही भएन। मान्छे खेदियो, मारियो, जेल परेका छन् यस्ता विषयको समाधान नभई पुनः अर्को देश पठाइयो यसले समस्या थपेको छ। पहिले विश्व समुदायले भुटान फर्काउछौं भनेर यहाँ थुनेर राखेको थियो, अहिले समस्या समाधान नगरी अर्को देश लगियो। यस्ता विषयमा कुरा राखौंभन्दा पनि बाहिर जाने पक्षमा रहेका साथीभाइहरूले मलाई कुरा गर्न पनि दिएनन् र साथ पनि पाइनँ।
उहाँहरूको इच्छाको सम्मान गर्नुपर्ने होइन र ?
साथीभाइलाई पनि टेकनाथको कुरा सुनेर बस्यौ भने तिमीहरू पनि जान पाउँदैनौं नि भन्ने दबाब आएको रहेछ। हामी बस्छौं भन्नेहरूमा जेलमा छोराछोरी रहेका र मारिएकाको परिवार थिए। उनीहरूलाई पनि तिमीहरू चुइँक्क नबोल, खुरुक्क फारम भर भने। विभिन्न धम्कीका कारण मान्छे डराए। यहाँभन्दा पनि बरु बाहिर गयो भने त खान लाउन त पुग्छ भन्ने सोचे सबैले। बाहिर गयो भने त धनी हुन्छौं परिवारले राम्रो शिक्षा पाउँछन् भन्ने पनि भयो। त्यसैले गए पनि। सो समय लैजान संस्थाले लामो समय पनि लगायो। एक सालमा कहिले पन्ध्र सय मात्रै लग्यो। कहिले दुई, तीन हजार लग्यो। अहिले पनि उसले लैजान्छु भनेकालाई लगेको छैन। लान्छु भनेकाले अब निकास दिन्छ होला भन्ने सोचे। उनीहरूले कि बाहिर लैजान्छ कि भुटान लैजान्छ कि त यहाँ नागरिकता दिएर राख्छ भन्ने सोचेका थिए।
यसको मतलव, अन्तर्राष्ट्रिय समुदायले गुमराहमा पा¥यो भन्न खोज्नु भएको हो ?
हो, नमिठो गरेर विश्व समुदायले झुक्याएको छ। अझै शरणार्थी क्याम्पमा बेहाल अवस्थामा भुटानी नागरिक बसेका छन्। उसले बाहिर लैजान पनि मान्छेको व्यवहारको विचार गरेको रहेछ। हत्या, हिंसा, बलात्कारका घटनामा मुछिएका, संस्थाको विषयमा नराम्रो कुरा गरेका व्यक्तिलाई छाडेको रहेछ। कति त भुटानलाई खुसी पार्न उसले भने बमोजिमकालाई र भुटानै फर्कन्छु भनेकालाई नलगेको कुरा थाहा भयो। कति त तँ जा, म जाँदिनँ भनेर घुक्र्याउने बूढा यता बसे बूढी अमेरिका गइन्। यस्ता अनेक प्रकृतिका व्यक्ति अहिले यतै रोकिएर बसेका छन्।
तेस्रो देश पठाएपछि समस्या अझै थपिएको हो ?
मैले अर्को देश पठाउँदा समस्याको समाधान हुँदैन भनेको थिएँ, तर कसैले सुनेनन्। धेरै समय त म चुप लागेर बसेँ। अहिले यहाँ रहेका शरणार्थीको अवस्था देख्दा दुःख लाग्छ। अनि म पुनः बोल्न थालें। यी बसेका मान्छेलाई लु न त केही व्यवस्था गरौं, पुनः भुटान फर्कने आन्दोलन नरोकौं भनेर म कराउन थालेको छु। धेरै विद्वान् व्यक्ति पनि अर्को देश गए। उनीहरूले पनि अमेरिकामा रहेर पनि यो घटना भुल्न हुँदैन भनेर म भनिरहेको छु। त्यहाँ रहेर पनि हाम्रो समस्याको विषयमा विश्व समुदायलाई जानकारी गराउनु भनेर भनिरहेको छु।
अन्तर्राष्ट्रिय समुदायले झुक्यायो भनेर के आधारमा आरोप लगाउनुभएको ?
जुन बेला भारतले भुटान फर्काउन सहयोग गर्छु भनेको समयमा अमेरिकाले लैजान्छु भनेर समस्या थपेको हो। त्यसैले यो विषय अमेरिकामा बसेर पनि उठाउन जरुरी छ। सो समय भारतका पत्रकारसहितको टोलीले हामी जहाजमा हालेर पारी पठाउँछौं कसरी फकाउँदो रहेछ भनेर भनेकै समयमा अमेरिका जानु हुँदैन थियो।
तपाईं पनि पहिला अमेरिका जानुभएको थियो, बस्न भनिएन ?
म जेलबाट बाहिर निस्किएपछि अमेरिका गएको थिएँ। त्यहाँ अमेरिका सरकारले मलाई टेकनाथ तँ अमेरिका आएर बस्, तलाईँ दलाई लामाको जस्तो सम्मान गरेर राख्छ भनेकै हो। म दलाई लामा जान्दिनँ। म मेरा नागरिक मात्रै जान्दछु। उनीहरू भुटानको जेलदेखि नेपालका क्याम्प सम्म रोएर बसेका छन्। उनीहरू जहाँ छन् म त्यहीँ जान्छु भनेर आएको हुँ। तर, यहाँ आउँदा पनि मैले समस्या समाधान गर्न धेरै प्रयास गर्दा पनि अझै कतै सुनुवाई भएको छैन। बाहिर गएका साथीभाईको गल्तिले यो समस्या आएको हो।
नेपालमा बिचल्ली भई बस्नुभन्दा पुनर्वास उत्तम विकल्प होइन र ?
मेरो पहिलेको भनाइ उनीहरूलाई पाच्य भएन। मेरो त्याग, तपस्या र बलिदान बुझेनन्। हामीले यहाँ बसेर विश्व समुदायको ध्यान हाम्रो समस्याका विषयमा केन्द्रित गरेको थियौं। मैले राष्ट्रसंघमा धर्ना दिएको समयमा विश्वले यो विषयमा चासो दिएको थियो। धर्नामा बस्नेलाई ल्याउने, खाने र बस्नेसम्मको व्यवस्थापन मैले गरेको थिएँ। त्यस समय समस्या पर्दा यहाँका नेवार समुदायले ठूलो सहयोग गरेका छन्। आवाज उठाउन आर्थिक सहयोग पनि गरे। हाम्रो मुद्दाले ठाउँ पाउँदैथियो, अचानक बाहिर जान्छु भन्ने साथीहरूकै कारण मुद्दा भासिएको छ। धेरैले बाहिर जान्छु भन्दा म त रोगी जस्तै भएको थिएँ। जेलबाट म निस्कने समय जेलमा रहेकाले बाबु तिमी त निस्कियौं हाम्रा बालबच्चाको अवस्था के छ ? ख्याल गर है भनेको अहिले पनि झलझली याद आउँछ।
यसको अर्थ पुनर्वास कसैको ‘षड्यन्त्र’ हो ?
भुटानीलाई नेपालबाट पनि भुटानले लखेटेको हो। ऊ भुटानी जतिसक्दो टाढा जाऊन् भनेर खेद्न चाहन्थ्यो। हाम्रा साथीभाई लोभिएर अर्को देश जाँदा भुटान त खुसी भएको होला। वार्ताको मुखमा पुग्ने समयमा अमेरिका पुगे। जति आशा देखाएको थियो न बाहिर जानेले पाए र गर्न सके, न यहाँ बस्नेले न्याय पाए। हल्लाको भरमा बस्ने समाज छ। अमेरिका पुगेकाले पनि सहज रूपमा रहन पाएका छैनन्। अहिले त्यहाँ आत्महत्या गर्नेमा पनि भुटानी शरणार्थीकै संख्या बढी भएको सुनेको छु। सहज भएको भए कसैले आत्महत्या गर्छ र ? अहिले उनीहरू पनि विस्तारै सचेत बन्दैछन्। आवाज उठाउँ भन्दैछन्।
नमिठो गरेर विश्व समुदायले झुक्याएको छ।
नेपालले समस्या समाधानमा कस्तो साथ दिएको छ ?
नेपालले गर्नैपर्छ भन्ने पनि हाम्रो भनाइ होइन। नेपालले हामीलाई बोलाएको पनि होइन। भुटानले खेदाएको बेला हामी भारतमै बस्नुपर्ने रहेछ। राजनीतिको र पनि नजानेका हामी। यो सबै बुझिएन। भारतमा भएको भए समस्या समाधान छिटो हुने थियो। अहिले नेपाल सरकारले भुटान नै जानुपर्छ मात्रै भन्ने गरेको छ। नेपालले यहाँ आश्रय दिएर ठूलो सहायता गरेको छ। तर, नेपालका लागि हामी एक प्रकारले ‘भालुको कन्पट’ भएका छौं। नेपाल आफैं त कलिलो प्रजातन्त्र आएको देश। भुटान र भारतले सहयोग गरेर पालिएका मन्त्रीले हाम्रो समस्या कहाँ बुझ्थे त ? यो विषय म ठाडो शिर पारेर जहाँ पनि भन्न सक्छु।
नेपालले समाधानका लागि भूटानसँग पटक–पटक वार्ता गरेकै हो, कहाँ मिलेन कुरा ?
वार्ता गर्न नेपाली टोली भुटान जान्छन्। तर, अंग्रेजी भाषामा टोली कमजोर रहेछन्। भोटे समुदायका भुटानीले आफ्नो भाषाभन्दा अंग्रेजी राम्रो बोल्छन् र बुभ्mछन् पनि। यताको भाषा अनुवाद गरेर उसको भाषामा पुग्दा मुख्य कुरा नै छुटिसकेको हुन्छ। यो पनि मुख्य समस्या देखेँ नेपालको। नेपाल जब भुटानसँग वार्ता गर्न गयो, यता समस्याका विषयमा छलफल नै नगरी गएकाले असली मुद्दा हरायो। नेपाल आफैंसँग कति नेपाली भुटानमा छन् ? भन्ने पनि तथ्यांक थिएन।
जुन बेला भारतले भुटान फर्काउन सहयोग गर्छु भनेको थियो, अमेरिकाले लैजान्छु भनेर समस्या थप्यो।
यसबारे नेपाल सरकारसँग तपाईंहरू कहिल्यै कुरा भएन ?
मैले यस विषयलाई नेपाल सरकारका प्रत्येक प्रधानमन्त्री र मन्त्रीलाई जानकारी पनि गराएँ। एउटा मन्त्री र प्रधानमन्त्रीलाई पूर्ण रूपमा जानकारी गरायो, घटना बुझायो, बुझिसकेपछि मन्त्री र प्रधानमन्त्री नै परिवर्तन हुन्छन्। सरकार परिवर्तन भए नै पिच्छे जानकारी गराउनुपर्ने, त्यसमा पनि मन्त्रीलाई भेट्नै मुस्किल नेपालमा। म जे बोल्छु, त्यसको अर्थ राख्ने गरी बोल्छु। म बोल्नु भनेको मैले भोगेका कुरा भन्नु हो। मेरो समाजमाथि भुटान सरकारले के गरे भन्ने मैले देखेको र भोगेको छु। सम्झँदा पनि आँसु आउँछ (बोल्दाबोल्दै उनका आँखा रसाउँछन्, आँसु पुछेर सम्हालिएर पुनः बोल्छन्)। आज म नेपालमा छु भनेर जे पायो त्यही बोल्न पनि त मिल्दैन नि। मैले बोलिनँ–लेखिनँ भनेर कुनै भुटानीले भन्छ भने मेरो भन्नु केही छैन।
तपाईँलाई नेपालले भुटान पठाएको समयमा उनीहरूले कसरी तपाईंलाई पुनः यतै पठाए ?
धेरै लामो कथा छ।...(लामो सास फेर्दै उनी सो समयलाई सम्झन्छन्) नेपाल पनि आफैंमा धेरै समस्या बोकेको देश रहेछ। कति कुरामा नेपालले लापरबाही गरेको छ। नेपालले हामीलाई बुझेन। भएका विद्यालय हटाइयो। हाम्रो समस्यामा अझै गम्भीर बनेन। अरू विदेश गए मलाई भुटान पठाइयो। तर, यहाँ रहेकाहरूको समस्या समाधान नभएकाले म पनि फर्किएर आएको हुँ।
भुटानले खेदाएको बेला हामी भारतमै बस्नुपर्ने रहेछ।
अहिले नेपालमा कति शरणार्थी बाँकी छन् ? उनीहरूसँग कस्तो परिचयपत्र छ ?
दुई खाले छन्। एउटा यूएनको पालादेखि नाम दर्ता गरेर बसेका। अर्को तेरो मान्छे अमेरिका गए, तँ पनि जा भनेर पुनः नेपालले लखेटेर पठाएकाहरू। १०–१२ वर्षको अन्तरालमा पनि भुटानले लखेटेको दुई दर्जनभन्दा बढी मानिस क्याम्पमा आएर बसेका छन्। उनीहरू यूएनले प्रमाणित गरेका होइनन्। यसभित्र अवसरवादी पनि छन्। हाम्रो जन्तरे अमेरिका गयो रे भन्दै भुटानबाट दौडिएर आएका पनि छन्। सबै गर्दा सात हजारभन्दा बढी छन्। अब मेरो त नेपालमा शरणार्थीको सूचीमा नाम छैन। पहिले मलाई बाँधेर भुटान पठाए। पछि म आउँदा अरूको नाम दर्ता गरेर शरण दिएको रहेछ, म नै सूचीमा छैन। म टेकनाथ रिजालको परिचयपत्र पनि छैन।
यहाँ हिँडडुल कसरी गर्नुहुन्छ ? कुनै परिचयपत्र नहुँदा समस्या हुँदैन ?
मलाई धेरै गाह्रो छ। सुरुमा आउँदा यो टेकनाथ कसको भिसाले आयो ? भनेर धेरैले भने पनि। मलाई भेट्न यूएनएचसीआरका दसथरी मान्छे आउँछन्। तर, मलाई एउटा सानो परिचयपत्र पनि दिएनन्। माग्दा भुटानका लागि त हामीले काँकडभिट्टाको बाटो खोलेको तपाईं त धनगढीबाट आउनु भएछ नि ? भन्छन्। के म धनगढीबाट पुनः गएर उताबाट घुमेर आउँ त ? भन्दा अब ओपन भइसक्नु भयो कहाँ हुन्छ ? भनेर यूएनएचसीआरले पनि दिन मान्दैन। नेपालले ट्राभल डकुमेन्ट दिन पनि अर्कै प्रक्रिया रहेछ। मेरो नाम क्याम्पमा दर्ता भएको हुनुपर्ने रहेछ। मेरो नाम पनि दर्ता भएको छैन।
बेलाबेला विदेश भ्रमण कसरी गर्नुहुन्छ ?
सुरुमा जेनेभामा भुटानीको विषयमा बोल्न निम्ता आयो। नेपाल सरकारले अरू केही नहेरी ट्राभल डकुमेन्ट दियो। त्यसकै आधारमा म जेनेभा गएँ उतैबाट धेरै देश घुमेर पनि आएँ। यता आएपछि मैले किताब पनि लेखेँ। चारतिरबाट मलाई बोलाए तर, नेपालले मेरो डकुमेन्ट नवीकरण गर्न मानेन।
ट्राभल डकुमेन्ट नवीकरण नगर्नु र अर्को पनि नदिनुको कारण ?
सबै प्रधानमन्त्रीलाई म चिन्छु र मलाई पनि चिन्छन्। तर, डकुमेन्ट रिन्यु गर्न र परिचयपत्र दिन कसैले मान्दैनन्। मेरा छोरा बाहिर गए, आफन्त पनि बाहिर नै छन्। तर, मेरो डकुमेन्ट नहुँदा म यहाँ थुनिए जस्तो तरिकाले बसेको छु। यो लुकेर भारत हुँदै कागज बनाउन जान्छ भन्ने सोचेर होला अहिले मलाई भारत जान पनि रोक लगाएको छ। मलाई भुटानको राजा खेद्न खोजिस् भनेर सार्वजनिक रूपमा पनि यतै दुव्र्यवहार भएको छ। यो कुरा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासम्म पनि पुग्यो। त्यस समयमा मलाई एक जना नेपाल प्रहरीका गार्ड पनि दिइयो। तर, मलाई त्यो गार्ड झन् भार भयो। खान पनि दिनुप¥यो, लाउन पनि दिनुप¥यो।
नेपालमा एउटा मन्त्री र प्रधानमन्त्रीलाई पूर्ण रूपमा जानकारी गरायो, घटना बुझायो, बुझिसकेपछि मन्त्री र प्रधानमन्त्री नै परिवर्तन हुन्छन्।
त्यो कुरा प्रधानमन्त्री कोइरालालाई राख्नु भएन ?
कुरा राखेँ। प्रधानमन्त्री कोइरालाले यो सुरक्षा गार्डकै कारण बिना परिचयपत्र हिँड्न सहज हुन्छ नि भनेर मलाई भन्नुभयो। नारायणकाजी जापान र चीन गएको समयमा टेकनाथलाई त मार्छन् है भनेर भनेका रहेछन्। त्यसपछि झनै तीन जना गार्ड दिए। बाहिर जानु परे मलाई भन्नु, म पठाउँला भनेर प्रधानमन्त्रीले नै भन्नुहुन्थ्यो।
तेस्रो देश पुगेका भुटानीबाट तपाईँ के अपेक्षा गर्नुहुन्छ ?
हामी सबै एउटै गोलीको सिकार भएर आएका हौं। अहिले सबै छिन्नभिन्न भएका छौं। कोही भुटानको जेलमा त कोही अमेरिका र कोही अझै क्याम्पमा छन्। सबैको पीडा एउटै हो। आपूm मात्रै खुसी र सुखी भएर पनि हुँदैन। आपूm जुन स्थानमा छ, त्यहाँ विश्वलाई भुटानले खेदाएकाहरूको पीडा जानकारी गराउन सक्नुपर्छ। म तीन महिनाका लागि मात्रै अमेरिका पुगेको समयमा पनि यूएनको अगाडि धर्ना राखेको थिएँ। बाहिर रहेका भुटानीले यस्ता कदम चाल्नुपर्छ। अमेरिकामा रहेको भारतीय दूतावासमा पनि मैले कागजात बुझाएको छु। यस्ता उदाहरणबाट तेस्रो देश पुगेका भुटानीले पाठ सिक्नुपर्छ। महिनामा एक दिन १०–१५ जना मान्छे लगेर यूएनअघि उभ्याएर हाम्रा मान्छे खै ? हामी किन भुटान नजाने ? भन्ने प्लेकार्ड मात्रै देखाउन सके पनि विश्वको ध्यान केन्द्रित गर्न सकिन्छ। जहाँ पुगे पनि बोल्ने आँट गर्नुपर्छ। अन्याय गर्नेभन्दा खप्ने खत्तम हो। त्यसैले नामर्द भएर नबस्न भन्छु म।
यो समस्याको एउटा कारण भाषा पनि हो नि है ?
अगाडिको समयमा पढाइ नै भएन। नपढी जान्ने कुरै भएन। यो सबै उनीहरूको खेद्ने प्रक्रिया मात्रै थियो। षड्यन्त्रपूर्ण रूपले यो नियम लागू गरिएको हो। यसो गर्दा नेपाली बोल्नेहरू हिँड्छन् या आन्दोलन गर्छन् अनि गोली चलाउनुपर्छ भन्ने उनीहरूको मानसिकता थियो। पूर्वत्तर क्षेत्रमा नेपाली भाषी बढ्दै गएको भारतलाई पनि मन नपरेको कारण यो नियम भुटानले लागू गरेको हो। अहिले पनि तपाईंले विचार गर्न सक्नुहुन्छ। भारतको नेपाली भाषी बस्ने स्थानमा दिल्लीको राम्रो नजर छैन। भुटानले पनि आफ्नो भाषा र संस्कार मासिएको समयमा नेपालीले मलाई अप्ठ्यारो पार्छन् भनेर भारतलाई भनेको र भारतको पनि मनमा त्यही कुरा भएकाले हामी खेदिएका हौं।
नेपाल सरकारले विश्व समुदायलाई ‘हामी भुटानीका विषयमा जान्दैनौं’ भन्नुपर्छ।
भुटानबाट ठूलो संख्या छाडेर हिँड्दाको जग्गा जमिन के भयो ? जानकार हुनुहुन्छ ?
त्यहाँको जग्गा जमिन भोटे समुदायले आफ्नो नाममा सारेर नेपाली मूलकालाई नै कुत र अधियाँमा लगाएको छ। आफ्ना पुर्खाले आर्जेको सम्पत्ति अर्काको नाममा राखेर काँधमा धान, कोदो बोकेर पु¥याउन जानुपर्ने बाध्यता अहिले छ। यो समस्याको समाधान गर्दा ती जग्गा जमिन त इतिहासलाई साक्षी राखेर फिर्ता गर्नुपर्छ। त्यहाँ कोहीकेही बेचेर आएको होइन। कतिको बैंकमा पैसा थियो। कतिले लगानी गरेका स्थान थिए। सबै छाडेर भाग्नु परेको थियो। अहिले दक्षिण भुटान छ्यासमिस भएको छ। माथिका भोटे समुदाय तल झरेका छन्।
भुटानी शरणार्थीको समस्या समाधान गर्न अब के गर्नुपर्छ ?
पहिलो कुरा नेपाल सरकारले विश्व समुदायलाई ‘हामी भुटानीका विषयमा जान्दैनौं’ भन्नुपर्छ। हाम्रा नागरिक पनि होइन्। कसरी आधा मान्छे अर्को देश लगिए र आधा यहाँ छाडिए ? किन क्याम्पबाट हटे ? थाहा छैन भन्नुपर्छ। अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले त यो भन्नु पनि भएको थियो। अहिलेका प्रधानमन्त्री के भन्नुहुन्छ, थाहा छैन।
नेपालले नागरिकता दिए सबै भुटानी ठगिने छन्।
यसले झन् बिचल्ली हुँदैन ?
अब पनि नेपाल सरकारले बाँकी रहेका मान्छे जो छन्, यी मान्छेलाई हचुवाको भरमा नागरिकता दिनु हुँदैन। कुनै पनि हालतमा नेपालमा स्थापित गर्ने वातावरण बनाउनु हुँदैन। यो नै हामीलाई गर्ने नेपाल सरकारको सहयोग हो। भुटानले यी नेपालका मान्छे हुन् भनेर खेदाएकालाई नेपालले नागरिकता दिन्छ भने यो विषयमा भुटान सही हुन्छ। उसको मुद्दा माथि पर्छ। नेपालले नागरिकता दिए सबै भुटानी ठगिने छन्। अर्को भारतका उच्च अदालतमा तथ्य र तथ्यांकसहित भुटानविरुद्ध मुद्दा हाले यो समस्याको समाधान निकाल्न सकिन्छ। मुद्दा हाल्न धेरै रकम चाहिन्छ। त्यसको जोहो तेस्रो देशमा पुगेकाहरूको सहयोगमा गर्न सकिन्छ। हेगसम्म पुगेर मुद्दा हाल्नुपर्छ। हेगले लिएन भने अन्य विभिन्न अदालतमा गएर मुद्दा हाल्नुपर्छ।
त्यसो भए यो समस्या समाधान हुन्छ भन्नेमा आशा छ ?
म पूर्ण आशावादी छु। हामीले मुद्दा जित्ने धेरै बाटा भुटान र भारतले राखेका छन्। कुनै दिन हामी भुटान फर्कने वातावरण बन्नेमा म ढुक्क छु। भारतले चाहेको समयमा जुनै समय समस्याको समाधान हुन्छ। सबै स्थानमा रहेका भुटानीले भारतीय दूतावासमा आन्दोलन र धर्ना दिन थालेको समयमा छिटो समस्याको समाधान हुन्छ। यो हतियार उठाएर गरिने लडाइँ र मुद्दा होइन।