व्यक्तिगत लगानीमा पुल निर्माण
नुवाकोट : नुवाकोटको तारुका र धादिङको देउरालीखामी जोड्ने पुल निर्माण भएको छ । एक समाजसेवीको ३ लाख ९० हजार रुपैयाँ निजी लागतमा तारकेश्वर २ र धादिङको निलकण्ठ ५ खानिखोला जोड्ने १३ मिटर लामो पुल निर्माण गरिएको हो ।
विदुरदेखि २० किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाउँपालिका-२ तारूकाका समाजसेवी जनकराज ढुङ्गानाले आफ्ना बाबु स्व. युवराज ढुङ्गाना र आमा रोहिणीकुमारी ढुङ्गानाको स्मृतिमा व्यक्तिगत खर्चमा पुल निर्माण गरेका हुन् ।
समाजसेवी तथा शिक्षासेवी ढुङ्गानाले निर्माण गरेको पुलले सर्वसाधारणलाई खोलामा आवतजावत गर्न सुविधा पुगेको छ । उनले जनताको असुविधालाई तीनै तहको सरकारले सम्बोधन गर्न नसकेपछि व्यक्तिगत लगानीमा पनि विकास गर्न सकिने उदाहरण आफुले सिद्ध गरेको बताए ।
प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले पुलको उद्घाटन गरेका हुन् । खतिवडाले सरकारको ध्यान पुग्न नसक्दा निजी लगानीमा यसरी विकास हुनु स्वागतयोग्य रहेको बताए। उनले तारुकासहित नुवाकोटको विकासका लागि ढुंगानाको योगदान सदैब स्मरणयोग्य रहेको बताए ।
तारकेश्वर गापा २ का वडाध्यक्ष सम्मरबहादुर आलेमगरले यस्ता विकासले सरकारका निकायलाई पनि टेवा पुग्ने बताए । वर्खामा पानी र हावा आउँदा हिड्ने यात्रुहरुको सहजताको लागी पुलमा ट्रस निर्माण गरिएको छ ।
नुवाकोटको तारुका साथैनिलकण्ठ नगरपालिकाका सर्वसाधारणहरु केउरीनी बजार आउने मुख्य नाकामा पुल बनेसँगै देउरालीखामी, पिमलखोला, डाडाँबसा, गैरीबसा, जोगीडाडाँ, धुसेनी कटेनीलगायत स्थानका सर्वसाधारणलाई सहज रुपमा आवत जावत गर्न सुविधा पुगेको छ ।
एक वर्षअघि विहानदेखि बेलुकीसम्म अलपत्र व्यक्तिहरुलाई खोला तार्न दिनभर समय खर्च गरेका ढुंगानाले उक्त ठाउँमा पुल बनाउने निर्णय गरेका थिए । 'एक हुल तारिदियो, अर्को हुलले हात दिन्छ, त्यो हुल सकियो, फेरी अर्को हुल आइपुग्छ',उनले भने ।
जन्मेको १० महिनामै आगोले हातमा पोलेर अपाङ्ग भएका ढुंगाना गाउँमा समाजसेवीको रुपमा परिचित छन् ।