विश्‍वभर आज: अमेरिकी सेना फर्किएपछि तालिबानको खुसियाली, श्रीलंकामा खाद्य संकट

विश्‍वभर आज: अमेरिकी सेना फर्किएपछि तालिबानको खुसियाली, श्रीलंकामा खाद्य संकट

श्रीलंकामा आपतकालीन खाद्य संकट घोषणा

कोलम्बो: श्रीलंकाले आपतकालीन खाद्य संकट घोषणा गरेको छ । निजी बैंकहरुमा विदेशी मुद्रा आयातमा संकट सिर्जना भएसँगै श्रीलंका सरकारले आपतकालीन खाद्य संकट घोषणा गरेको हो ।

मंगलबार खाद्य संकट भएको घोषणा गर्दै श्रीलंकाका राष्ट्रपति गोतावे राजापाक्षले भनेका छन्, ‘मुलुक यतिबेला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । बितरक कम्पनीहरुले चीनी, चामल र अन्य अत्यावश्यक खाद्य सामग्रीको भण्डारण नरोक्न आपतकालीन नियमहरु लागु गरिएको छ ।’

अनावश्यक रुपमा खाद्य भण्डारण गर्ने र मुल्य बृद्धि गर्ने वितरक कम्पनी र पसलेहरुबाट खाद्य सामग्री जफत गर्न र पक्राउ गर्नसमेत राष्टपति राजापाक्षेले श्रीलंकन सेनालाई निर्देशन दिएका छन् ।

राजापाक्षेले चामल, दाल, चीनी र अन्य अत्यावश्यक खाद्य सामग्री निरन्तर बितरण गर्न कमिस्‍नर जनरल अफ इसेन्सियल सर्भिसका सेना प्रमुखलाई निर्देशन दिएका छन् ।

श्रीलंकामा कोभिड १९ को तेस्रो लहर बढेको भन्दै आगमी सोमबारसम्म कर्फ्यू लगाइएको छ भने चीनी, चामल, प्याज, आलु, दुध पाउडर, खानेतेल, खाना पकाउने ग्यास र अन्य सामग्रीको मृल्य बृद्धि भएको बताइएको छ । साथै श्रीलंकामा २०२० मार्चयता देशको अर्थतन्त्र ३.६ प्रतिशतले घटेको बताइएको छ ।
०००
भारतको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा एकैपटक ९ न्यायाधीशको शपथ

नयाँदिल्ली: भारतको सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक एकैपटक ९ न्यायाधीशले शपथ ग्रहण गरेका छन् । भारतका प्रधानन्यायाधीश एनवी रमनालद्धारा मंगलबार ९ वटै न्यायाधीशलाई एकैपटक शपथ दिलाइएका हुन् । 

मंगलबार शपथ लिनेमा तीनजना महिला न्यायाधीश पनि सामेल छन् । नयाँ न्यायाधीशको शपथसँगै भारतको सर्वोच्च अदालतमा न्यायाधीशको संख्या ३३ पुगेको छ ।

शपथ लिने न्यायाधीशहरुमा अभय श्रीनिवास ओका, विक्रम नाथ, जितेन्द्र कुमार महेश्वरी, हिमा कोहली, बी.बी नागरत्ना, सीटी रविकुमार, एमएम सुन्दरेश, बेला एम त्रिवेदी र पीएस नरसिम्हा छन् । महिला न्यायाधीश नागरत्ना सन् २०२७ मा भारतको पहिलो महिला प्रमुख न्यायाधीश बन्नसक्ने सम्भावना उच्च रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शपथ ग्रहण समारोह सर्वोच्च अदालतको भवनको सभाहलमा सम्पन्न भएको थियो । यसअघि भने भारतमा नयाँ न्यायाधीशको पदको शपथ प्रधानन्यायधीशको अदालत कक्षमा दिलाउने गरिन्थ्यो ।
०००

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट भेटियो

जोहानेसवर्गः दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट फेला परेको बताएका छन् । 
कोरोनाको नयाँ भेरियन्ट संक्रमित छ या छैन भन्नेबारे थप अनुसन्धान भइरहेको उनीहरुले बताएका छन् । सि.१.२ नामक उक्त भेरियन्ट पहिलो पटक मे महिनामा पत्ता लागेको थियो ।

हाल उक्त भेरियन्ट दक्षिण अफ्रिकी प्रान्तसहित अफ्रिका, युरोप, एसिया र ओसेनिया क्षेत्रमा फैलिएको वैज्ञानिकहरुले आफ्नो अध्ययन रिपोर्टमार्फत सार्वजनिक गरेका छन् ।

यसअघि विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा बेटा भेरियन्ट फेला परेको जनाएको थियो । दक्षिण वैज्ञानिकहरुले अफ्रिकामा फेला पारेको नयाँ भेरियन्टले विभिन्न रुप लिनसक्ने र चाडै संक्रमण फैलने आशंका  गरे पनि नयाँ भेरियन्टबारे थप अध्ययन तथा अनुसन्धान गरिरहेको समाचार रोयटर्समा उल्लेख छ ।
०००

ब्राजिलले निर्यात गर्ने ३० प्रतिशत सुन अवैधः रिपोर्ट

रियो द जेनेरियो: ब्राजिलले निर्यात गर्ने करिब ३० प्रतिशत सुन अवैध रहेको तथ्य पत्ता लागेको छ । फेडरल युनिभर्सिटी अफ मिनास जेरेइसले उक्त तथ्य सार्वजनिक गर्दै ब्राजिलबाट संसारभर निर्यात हुने करिब ३० प्रतिशत सुन अवैध खानीबाट उत्पादन हुने र वितरण हुने गरेको बताएको छ ।

उक्त रिपोर्टअनुसार ब्राजिलले सन् २०१९ र २०२० को अवधिमा अवैध खानीमार्फत ४८. ९ टन सुन निर्यात गरेको थियो । अवैध मानिएको ब्राजिलको वाइल्डक्याट खानी लगायत क्षेत्रबाट ब्राजिलले सुन निर्यात गर्दैआएको समेत उक्त रिपोर्टमा उल्लेख छ ।

सन् २०१९ र २०२० को अवधिमा क्यानडा, स्विजरल्याण्ड र ग्रेट ब्रिटेनले ब्राजिलले निर्यात गरेको करिब ७० प्रतिशत सुन खरिद गरेको उक्त रिपोर्टले जनाएको छ ।
०००

टर्की र युएईका नेताबीच फोनवार्ता, दुई देशको सम्बन्ध सुध्रिने संकेत

टर्की: टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगान र युनाइटेड अरब एमिराट्स (युएई) का शासक आबुधावी क्राउन प्रिन्स मोहम्मद विन जायिद अल नाहयानबीच मंगलबार फोनवार्ता भएको छ ।

दुई पक्षबीच भएको फोनवार्तामा क्षेत्रीय प्रतिद्धन्द्धी बीच सम्बन्ध सुधारबारे छलफल भएको बताइएको छ । टर्कीका राष्ट्रपति एर्दोगानले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरुबीच भएको फोनवार्तामा दुई देशबीच र क्षेत्रीय मुद्दाहरुबारे छलफल भएको जानकारी दिएका छन् ।

टर्कीका राष्ट्रपति र युएईका राष्ट्रिय सुरक्षा सल्लाहकार शेइख तनौन विन जायिद अल नाहयानबीच गत शाता भएको दुर्लभ भेटवार्तापछि दुई देशविचको सम्बन्ध सुध्रिन सक्ने संकेत देखा परेको थियो ।

एर्दोगानले एक साताअघिको भेटमा आफू आर्थिक सहकार्यमा केन्द्रित रहेको बताएका छन् । टर्कीसँग भएको भेटले अरबी मुलुकहरुबीच जारी आन्तरिक द्धन्द्धमा सुधार आउनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
०००

अफगानिस्तानबाट सेना फिर्ता गर्नु सुधारको सुरुवात होः चीन

बेइजिङ: चीनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ती जिम्मेवारीको अन्त्य नभई सुधारको सुरुवात भएको बताएको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता गरेको र उद्धार अभियान समाप्त गरेको घोषणापछि चीनले यस्तो प्रतिक्रिया दिएको हो ।

संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी सचिव जेन सुआङले सोमबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा प्रतिक्रिया जनाउँदै तालिबानको समर्थन र अफगानिस्तानको समस्या समाधान सम्बन्धी मस्यौदामा भोट गर्न आग्रह गरेका थिए ।

अफगानिस्तानको समस्या समाधान र तालिबानको समर्थनमा १३ भोट खसेको थियो भने चीन र रुस त्यसबाट अलग रहेका थिए । चीन र रुसले अफगानिस्तानको विषयमा तालिबानलाई समर्थन जनाए पनि दुबै मुलुकले पूर्ण समर्थन भने नजनाएको जेनले बताएका छन् ।

‘रुस र चीनले तालिबानको समर्थन जनाए पनि कतिपय मुद्दामा तालिबानमाथि अझै शंका छ’उनले भनेका छन्, ‘संसारका कतिपय मुलुकहरुले अझै पनि विगतबाट सिक्नुपर्छ । अमेरिकाले अहिले अफगानिस्तानबाट सेना फिर्ती गरेर आफनो जिम्मेवारी सकियो भनेर बुझ्नु हुँदैन, सुधारको सुरुवातको रुपमा लिनुपर्छ ।’
०००

तालिबान भन्छ: यो जित हाम्रो हो

काबुल: तालिबानले अफगानिस्तानलाई ‘एक स्वतन्त्र र स्वायत्त मुलुक’ घोषणा गरेको छ । अगष्ट ३१ को अमेरिकी सेना फिर्ती र अफगानिस्तान उद्धार अभियान समाप्तीसँगै मंगलबार तालिबानले यस्तो घोषणा गरेको हो ।

सन् २००१ सेप्टेम्बर ११ को ट्वीन टावर हमलापछि अमेरिकाले तालिबान सत्ता अपदस्थ गर्न आफ्नो सेना अफगानिस्तानमा खटाएको थियो । करिब २० वर्षसम्म अफगानिस्तानमा रहेको अमेरिकी सेना फिर्ती समाप्तीलाई उत्सवको रुपमा मनाउँदै तालिबानले 'ऐतिहासिक क्षण’ र अफगानिस्तान अब ‘स्वतन्त्र र पूर्ण रुपमा स्वायत्त मुलुक’ भएको घोषणा गरेको छ ।

अमेरिकी सैनिकको अन्तिम विमानले मंगलबार काबुल विमानस्थल छोडेपछि तालिबानी विद्रोहीहरुले उत्सव मनाएका थिए । ‘इस्लामिक एमिराट्स अफ अफगानिस्तान अब एक पूर्ण रुपमा स्वतन्त्र र स्वायत्त मुलुक भएकोमा कुनै शंका छैन’ मंगलबार काबुल विमानस्थलमा रिपोर्टरहरुसँग तालिबानका प्रवक्ता जाविहुल्लाह मुजाजिदले भनेका छन्, ‘अमेरिका पराजित भयो र अहिलेको यो जित हाम्रो हो । अफगानिस्तानको तर्फबाट म भन्दैछु, बाँकी विश्वसँग हामी राम्रो सम्बन्ध बनाउन चाहन्छौँ ।अफगानिस्तानको तर्फबाट अब हामीले स्वतन्त्रता, स्वाधिनता र इस्लामिक मुल्यको रक्षा गर्नेछौँ ।’

तालिबानले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ती माग गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सेना फिर्तीको लागि अगष्ट ३१ सम्मको समयावधी ताकेका थिए ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.