पहिरोको चपेटामा बुटवल
बुटवल : बुटवल उपमहानगरपालिका–१ देखि ५ र १३ का बस्ती पहिरोको मारमा परेका छन्। चुरेको फेद खोतलेर गरिएको विकासले आधा बुटवल पहिरोको चपेटामा परेको छ। रिङरोड, केबलकारलगायतका विकास निर्माण चुरेको जग क्षेत्रमा सुरु भएसँगै बस्तीमा पहिरो झरेको हो। बुटवलको ज्योतिनगरमा मंगलबार आएको पहिरोले १० घर क्षतिमा पु¥याएको छ। करिब ६० घरमा हिलो पसेको छ। यो क्षेत्रमा २३ वर्षअघि पनि ठूलो पहिरो झरेपछि बस्ती विस्थापित भएको थियो। अहिले पूरै सहरीकरण भएको छ।
रिङरोड र केबलकार आयोजना निर्माणसँगै वन अतिक्रम र आगलागी हुँदा चुरे मासिएको छ। पहिरोको मुख्य कारण यिनै हुन्। वातावरण अध्येता युवराज कँडेल बुटवलको चुरे आसपास क्षेत्रलाई छुनै नहुने बताउँछन्। ‘यो संवेदनशील क्षेत्र हो। चुरे क्षति हुनेगरी कुनै काम गर्नुहुँदैन,’ उनले भने, ‘केबलकार निर्माणका लागि चुरे काटिनु, खोल्साको पानी बग्न नसक्दा चुरेको माटो बगेर सहरमा झरिरहेको छ।’ २०५५ मा झरेको पहिरोले ५७ घरमा क्षति पुर्याएको थियो। तत्कालीन समयमा आएको भू–गर्वविद्को टोलीले चुरे क्षेत्रबाट एक कोदालो माटो र एउटा ढुंगा पनि ननिकाल्न भनेको थियो। तर, त्यसलाई सरकारी निकायले नै अवज्ञा गरेपछि विपत्ति निम्तिएको हो।
ज्योतिनगरका विष्णु खनालले मनपरी डोजर चलाउँदा पहिरो घरमै आएको बताए। ‘घरको गल्लीभरी हिलो पसेको छ। कतिखेर पहिरोले उठाउने हो पत्तो छैन, उनले निराश हुँदै भने, ‘विकासका नाममा विनाश गर्नेहरूले विपत्ति निम्त्याएका हुन्।’ पहिरोले स्थानीय तुलसा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, ईश्वरा पाण्डे, रोशन राणा, सीता थकाली र अमर विकको घरमा क्षति पुराएको इलाका प्रहरी कार्यालयले जनाएको छ। उनीहरूले बुटवल बहुमुखी क्याम्पसमा आश्रय लिइरहेका छन्। हिलो लेदोले गोलपार्क क्षेत्रभरि नै ढाकेको छ। विद्युत्का पोल, सडक क्षति भएका छन्। पहिरो निरन्तर बगेपछि नेपाली सेना, प्रहरीले उद्धार गरेका छन्। ज्योतिनगरमाथि ठूलो पहिरोको ढिस्का खसेर रोकिएको अवस्थामा छ। यदि त्यो ढिस्का खसे लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय क्षेत्रसम्म नै जोखिममा हुने देखिएको छ।
ज्योतिनगरको पहिरो व्यवस्थापनका लागि स्थानीय नेता कमल गौतमले अभियान चलाएका थिए। तीन तहका सरकारलाई ज्ञापनपत्र बुझाए पनि कहीँबाट पहल भएको छैन। जितगढीदेखि बुटवल माध्यमिक विद्यालयसम्मको चुरे पूरै भत्किएको छ। वन फँडानी तीव्र रूपमा भएकाले सामान्य पहिरोसमेत नरोकिई बगेर महेन्द्र राजमार्गमा झरेको छ। पाखापानी क्षेत्रमा झरेको पहिरोले त्यसआसपासका बस्ती अत्याधिक जोखिममा परेका छन्। ‘अहिले सुत्न सक्ने अवस्था छैन, पहिरो ढुकेर बसिरहेका छौं,’ रेशम कार्कीले भने। पाखापानीमाथिको चुरे क्षेत्रमा पार्कसहितका पूर्वाधार निर्माण गरिएका छन्। जसका कारण पहिरो निरन्तर गइरहेको छ। वातावरण अध्येता कँडेलले चुरेमाथिको क्षति नरोकिए पहिरो नियन्त्रण सानो प्रयासले नहुने बताउँछन्।
तिनाउको नदी कटान र चुरेको पहिरोले आधा बुटवल अहिले जोखिममा छ। घना बस्ती भएका क्षेत्र नै प्रकोपको जोखिममा परेका हुन्। पछिल्लो बर्खाले नवलपरासीको दाउन्नेदेखि रुपन्देहीको सालझण्डीसम्मको चुरे क्षेत्र छियाछिया देखिएको छ। यसमा भूकम्पको प्रभाव पनि हुन सक्ने कँडेलले बताए।