‘अब त म पनि बाँचें’
धरान : कोरोना संक्रमणपछि सुनसरी इटहरीकी ९४ वर्षीया पद्माकुमारी भट्टराईलाई मरिने भइयो जस्तो लागेको थियो। वृद्धावस्था। उच्च रक्तचाप र दमले पीडित। तर, २५ दिनमा कोरोना पराजित गरेकी छन्।
अब बाँच्ने आशा पलाएको भट्टराईले सुनाइन्। ‘रोगमाथि रोग थपियो र पनि आत्मबल दह्रो बनाएँ। बल गरेरै औषधि र खानेकुरा खाएँ,’ उनले फोनमा भनिन्, ‘अब त म पनि बाँचेें।’
साउन २० उनीसहित ७१ वर्षीय छोरा प्रवीण र ६१ वर्षीय बुहारी निर्मलालाई कोरोना पुष्टि भएको थियो। त्यसपछि केही कमजोर भए पनि परिवार/आफन्तको हौसला र रेखदेखले कोरोना जित्न सहयोग गरेको पद्माकुमारीको भनाइ छ। ‘कोरोना लागेपछि सबै टाढा हुन्छन्। भेट्न कोही आउँदैनन् भन्ने सुनेकी थिएँ,’ उनले भनिन्, ‘सबै जना भेट्न आए, एक्लो महसुस भएन।’
आफूहरू बिस्तारै तंग्रिरहेको छोरा प्रविणले सुनाए। ‘धेरै ठीक भयौं। खाना रुच्न थालेको छ,’ उनले भने, ‘टाढा हिँडडुल गर्नचाहिँ अलिक हिम्मत आएको छैन।’
कोरोना पोजेटिभ भएपछि आमालाई कसरी जोगाउने भन्ने चिन्ताले सताएको उनले सुनाए। ‘सुरुमा त तीनै जनालाई निकै कमजोर बनायो,’ प्रविणले भने, ‘१०—१२ दिनपछि बाँच्ने हिम्मत पलायो।’
बुहारी निर्मलालाई पनि उच्च रक्तचाप र दमको समस्या थियो। नाती डा. नारायण भट्टराईले नियमित औषधि र चिकित्सकीय परामर्श गरेका थिए। उपचारका लागि अस्पताल लानु परेन। ‘हजुरआमा, बुवा र आमाले ५ महिना अगाडि कोभिशिल्ड खोप लगाउनुभएको थियो। त्यसले पनि प्रतिरक्षा बढायो,’ बीपी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका प्रमुखसमेत रहेका उनले भने, ‘पोसिलो खानेकुरा र औषधिमा कमी हुन दिइनँ।’
सबै उमेर समूहका नागरिकले खोप पाएपछि मात्रै कोरोना विरूद्धको लडाइँ जित्न सकिने उनलेको भनाइ छ।