महाधिवेशनको टुंगो छैन, मनाङमा नेतृत्वको लाग्यो टुङ्गो
बेंसीसहर : नेपाली कांग्रेस मनाङले जिल्ला अधिवेशन नहुँदै नयाँ नेतृत्वको टुंगो लगाएको छ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेस मनाङले सहमतिमै नयाँ नेतृत्वको टुंगो लगाएको हो ।
१४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले समय तालिका निर्धारण गरेपनि सोही समयमा हुने नहुने अन्यौल छ । पटकपटक महाधिवेशन मिति सार्दै आएको कांग्रेसले यहि भदौ १८ देखि वडातहबाट अधिवेशन सुरु गर्ने तालिका सार्वजनिक गरेपनि आवश्यक तयारी नहुँदा कार्यकर्ताबीच अन्यौलता छाएको छ ।
तर, मनाङमा भने सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागाइएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए । कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको सचिव गुरुङले बताए । वर्तमान जिल्ला सभापति टेकबहादुर गुरुङको संयोजकत्वमा मनाङका नेता तथा कार्यकर्ताबीच भएको बैठकले नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ नेतृत्व पाउन लागेका गुरुङ देउवा निकट हुन् । उनी यसअघि देउवाले नेतृत्व गरेको कांग्रेस प्रजातान्त्रिकको मनाङ सभापति थिए । मनाङ काँग्रेसले संघ तथा प्रदेशका लागि प्रतिनिधी, जिल्ला पदाधिकारी, क्षेत्रिय कार्यसमिति र स्थानीय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरेको काँग्रेस सचिव गुरुङले बताए । ‘हामीले सर्वसम्मत तरिकाले सवै तह र पदमा नेतृत्व गर्नेहरुको नाम टुङ्गाईसकेका छौं' 'सचिव गुरुङले भने, 'सबै नाम भदौ २२ गते घोषणा गर्छौं ।’ नेतृत्वमा युवाहरुलाई प्राथमिकता दिइएको उनले बताए ।
नेतृत्व छनौट गर्ने विषयमा जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर हुने भन्दै बलियो पार्टी निर्माणका लागि योग्य र क्षमतावान नेतृत्व चयनका विषयमा विवाद गर्न नहुने कांगेस मनाङका सभापति टेकबहादुर गुरुङले बताए । उनका अनुसार मनाङमा यसअघि पनि सर्वसम्मत रुपमा नेतृत्व छनौट गरिँदै आएको छ ।