वायु प्रदूषणले भारतीयको आयु घट्यो, नयाँ सरकार घोषणाको तयारीमा तालिबान

वायु प्रदूषणले भारतीयको आयु घट्यो,  नयाँ  सरकार घोषणाको तयारीमा तालिबान

तालिबानले तीन दिनभित्र नयाँ सरकार घोषणा गर्ने

काबुल: तालिबानले तीन दिनभित्र आफ्नो नयाँ सरकार बन्ने घोषणा गरेको छ । कतारस्थित अफगान तालिबानको राजनैतिक कार्यायलका उप प्रमुख शेर मोहम्मद अब्बास स्टानिकजइले अफगानिस्तानमा तीन दिनभित्र नयाँ सरकार बन्‍ने घोषणा गरेका हुन् ।

बुधबार बीबीसीसँग उनले भनेका छन्, ‘अफगानिस्तानलाई सबैतिरबाट समर्थन प्राप्त हुने गरी तालिबानले नयाँ सरकार बनाउँदैछ । तालिबान सरकार अब एक समावेशी सरकार हुनेछ । तर पछिल्लो २० वर्षदेखि सरकारमा भएका मानिसलाई नयाँ सरकारमा सामेल गराइने छैन ।’

अब्बासका अनुसार तालिबानले तीन दिनभित्र बनाउन लागेको नयाँ सरकारमा पवित्र, शिक्षित व्यक्ति र महिलालाई सामेल गराइनेछ । ‘नयाँ सरकारमा महिला सामेल गराइनेमा कुनै शंका छैन तर सरकारको मुख्य पदमा महिलालाई राख्ने या नराख्ने भन्नेबारे भने अहिले टुंगो लागिसकेको छैन’ उनले भनेका छन् ।
०००

हङकङका लोकतान्त्रिक अभियन्ताहरु जेल चलान

हङकङ: हङकङमा सात लोकतान्त्रिक अभियन्ताहरुलाई बुधबार जेल चलान गरिएको छ । सन् २०१९ मा हङकङमा चर्केको सरकार विरोधी आन्दोलनमा गैरजिम्मेवारीपूर्ण भूमिका खेलेको अभियोगमा उनीहरुलाई ११ देखि १६ महिना सम्मको लागि जेल चलान गरिएको हो ।

जसमा मुख्य अभियन्ताहरु फिगो चान, सिभिल ह्युमन राइट्स फ्रन्टका राफेल वोङ र आभेरी एनजी, सोसल डेमोक्रेट्स पोलिटिकल पार्टीका सिद हो, येयुङ सम, अल्वर्ट हो र लियुङ क्वोक हुङ छन् ।

२०१९ अक्टोबर २० को र्‍यालीमा १० हजारभन्दा बढी नागरिकहरु आन्दोलनमा सहभागी थिए । नागरिकहरुलाई अवैधानिक रुपमा हङकङको राष्ट्रिय सभाविरुद्ध उत्रिन उक्साएको र नागरिकहरुलाई जबर्जस्ती आन्दोलनमा सहभागी गराएको ती अभियन्ताहरुमाथि अभियोग छ।

सोही अभियोगमा बुधबार हङकङको जिल्ला अदालतका न्यायाधीश जज अमान्दा वुडककले सरकार विरोधी आन्दोलनमा लागेका लोकतान्त्रिक अभियन्तालाई जेल सजाय सुनाएकी थिइन् ।
०००

१४ वर्ष लामो नाकाबन्दी हटेपछि निर्माण सामग्री गाजा पुर्‍याइयो

जेरुसेलम: गत मे महिनामा इजरायली विष्फोटमा परी ध्वस्त बनेको गाजा पुनर्निमाणको लागि निर्माण सामग्री पुर्‍याइएको छ । दर्जनौँ ट्रकहरुमार्फत गाजा पुनर्निमाणको लागि निर्माण सामग्री बुधबार गाजा पुर्‍याइएको हो ।

१४ वर्षअघि देखि इजिप्ट र गाजा सिमानामा नाकाबन्दी लागेको थियो । गत मे महिनामा गाजामाथि इजरायलले हमला गरेपछि नाकाबन्दी झनै कडा बनेको थियो । गत हप्ता सयौँ प्यालेस्टेनी नागरिकहरुले गाजाको पुनर्निमाणको लागि निर्माण सामग्रीमा अनुमति दिनुपर्ने भन्दै आन्दोलन गरेका थिए ।

आन्दोलनपछि दोहोरो भीडन्त हुँदा १२ वर्षीय प्यालेस्टेनी बालक र इजरायली सीमा सुरक्षा सैनिकको मृत्यु भएको थियो भने ४१ मानिस घाइते भएका थिए । त्यसपछि इजरायलले सो नाकाबन्दी आंशिक रुपमा खुलेको बताएको थियो । प्यालेस्टेनीहरुले गरेको आन्दोलनपछि आंशिक रुपमा नाकाबन्दी खुलेसँगै निर्माण सामग्री गाजा पुगेको बताइएको छ । 

करम अबु सलेमका निर्देशक बसम गाविनका अनुसार ३० ट्रक सिमेन्ट, १२० ट्रक ग्राभेल र १५ ट्रक स्टिल गाजा आइपुगेको छ । गाजाले निर्माण सामग्री आयातमा गत सोमबारदेखि अनुमती पाएको थियो ।

मे महिनामा इजरायलले गाजामाथि गरेको हमलामा परी ६७ बालबालिका र ३९ महिलासहित २६० प्यालेस्टेनी नागरिकले ज्यान गुमाएका थिए भने थुप्रै घाइते भएका थिए । विष्फोटमा परी हजारौँ भवनहरुमा पूर्ण रुपमा क्षती पुगेको थियो ।

हाल गाजामा २ लाखभन्दा बढी आवासीहरु बस्दैआएका छन् । उनीहरुको लागि खाद्य सामग्री र खाना पकाउने ग्यास र भवन निर्माण सामग्री उपलब्ध गराएको बताइएको छ । केही महिला अघि इजिप्टले गाजाको पुनर्निमाणमा सघाउने घोषणा गरेको थियो ।
०००

तालिबानलाई अलग्याए नराम्रो परिणाम हुने कतारको चेतावनी

दोहाः कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल्ल रहमानले तालिबानलाई अलग्याए परिणाम नराम्रो हुने चेतावनी दिएका छन् । शक्ति राष्ट्रहरुले तालिबानको बेवास्ता गर्दै अलग्याउन खोजेमा तालिबानले फेरि अस्थिरता पैदा गर्नसक्ने उनको चेतावनी छ । शक्ति राष्ट्रहरुले तालिबानसँग राम्रो सम्बन्ध कायम राख्न अपिल गर्दै कतारका विदेशमन्त्री रहमानले भनेका छन्, ‘तालिबानसँग शर्त राखेर नभएर राम्रो सम्बन्धमार्फत अघि बढ्नु पर्छ । तालिबानसँगको राम्रो सम्बन्ध सुरक्षाको लागि मात्र नभई सामाजिक र आर्थिक विकासको लागि पनि जरुरी छ । त्यसैले तालिबानलाई अलग्याएर हैन, सम्बन्ध राम्रो बनाएर अघि बढ्नुपर्छ ।’

सन् २०१३ देखि तालिबानले कतारमा आफ्नो शाखा विस्तार गरेको बताइन्छ । कतारबाटै अमेरिकालगायत अन्य मुलुकसँग तालिबानले छलफल गरेको थियो । कतारले तालिबान र अन्य मुलुकबीच मध्यस्तकर्ताको भूमिका निभाउँदैआएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
०००

वायु प्रदूषणका कारण भारतीय नागरिकको आयु ९ वर्ष कमः अध्ययन

नयाँदिल्ली: वायु प्रदूषणका कारण भारतीय नागरिकको आयु पछिल्लो २० वर्षको अन्तरमा ९ वर्ष कम हुने एक अध्ययनले देखाएको छ । भारतका मुख्य शहरमा हुने वायु प्रदूषणको असर मानवीय स्वास्थ्यमा परेको भन्दै मानिसको उमेर निकै घट्दो दरमा रहेको उक्त रिपोर्टले जनाएको छ ।

दी एनर्जी पोलिसी इन्स्टिच्युट, सिकागो विश्वविद्यालयअन्तर्गत अमेरिकी अन्वेषकहरुको समूहले सार्वजनिक गरेको उक्त अनुसन्धान अनुसार भारतको उत्तरी क्षेत्रका करिब ४ करोड ८० लाख मानिसहरु वर्षेनी चरम वायु प्रदूषणको मारमा पर्ने गरेका छन् ।

यसबाहेक भारतका मुख्य शहरहरुमा उत्पन्न हुने प्रदुषित वायुका कारण वर्षेनी लाखौँ मानिसले ज्यान गुमाउने गरेका छन् । संसारका अन्य क्षेत्रमा बस्ने मानिसको तुलनामा भारतको मुख्य शहरमा बसोबास गर्ने मानिसले १० गुणा खराब स्वास फेर्ने गर्छन् । नयाँदिल्ली, महाराष्ट्र, मध्य प्रदेश आदि वायु प्रदूषणले ग्रसित क्षेत्रमा बस्ने मानिसहरुको औसत आयु सन् २००० को तुलनामा ९ वर्षले कम हुँदै गएको छ । सफा वायु हुने क्षेत्रमा बस्ने मानिसहरुको आयु औसतभन्दा ६ वर्ष बढी हुने समेत उक्त अध्ययनले देखाएको छ ।
०००

आवश्यक परेमा अमेरिकाले अफगानिस्तानमाथि ड्रोन हमला जारी राख्ने

वासिङटनः आवश्यक परेको खण्डमा अमेरिकाले अफगानिस्तानमाथि ड्रोन हमला जारी राख्ने जनाएको छ । मंगलबार अमेरिकी सेना पूर्ण रुपमा फिर्ता गरेको उपलक्ष्यमा अमेरिकाको रक्षा विभागले यस्तो चेतावनी दिएको हो ।

मंगलबार राति अमेरिकी सुरक्षा विभागका सूचना अधिकारी जोन किर्वीले भनेका छन्, ‘अफगानिस्तानमा अब हाम्रा सेनाको उपस्थिति छैन तर अमेरिकाको तर्फबाट हाम्रो रक्षा विभागले आइएसआइएस के र अफगानिस्तानभित्र रहेका अन्य खतरनाक गतिविधिविरुद्ध आवश्यकताअनुरुप ड्रोन हमला भने जारी राख्ने छ ।'

काबुल विमानस्थलबाहिर गत बिहीबार आइएसआइएस के ले गरेको हमलामा परी १३ अमेरिकी सैनिकसहित १७० ले ज्यान गुमाएका थिए । त्यसको जवाफी हमला स्वरुप अमेरिकाले ड्रोम हमला गरेको थियो । जसमा काबुल हमलाका मुख्य योजनाकार मारिएको दाबी अमेरिकाले गरेको थियो । बिहीबार भएको हमलापछि काबुलमा २ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

फक्स न्युजका अनुसार यदी भविष्यमा कुनै खतराको अवस्था सिर्जना भएमा पेन्टागोनस्थित अमेरिकी रक्षा विभागले अफगानिस्तानमा ड्रोन हमला जारी राख्ने संकेत किर्वीले दिएका छन् ।
०००

अज्ञात रोगका कारण भारतमा दर्जनौँ बालबालिकाको मृत्यु

नयाँदिल्ली: भारतमा अज्ञात ज्वरोका कारण दर्जनौँ बालबालिकाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशका ६ वटा जिल्लाहरुमा गत शातादेखि देखिएको अज्ञात ज्वरोका कारण दर्जनौँ बालबालिकासहित ५० को मृत्यु भएको र सयौँ विरामी अस्पतालमा भर्ना भएको बीबीसीले जनाएको छ ।

उक्त क्षेत्रका बालबालिका र अन्य मानिसहरु उच्च ज्वरो र शरीरमा चिडचिड पसिना आउने समस्याले ग्रसित छन् । तीमध्ये ज्वरोका अधिकांश विरामीमा हाडजोनी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिंगटा लाग्ने समस्या देखिएको छ भने कतिपयमा हात खुट्टामा डावर देखा परेको बताइएको छ ।

चिकित्सकहरुका अनुसार आग्रा, मथुरा, मनीपुर, इथा, कोशगंज, फिरोजबाद लगायत जिल्लाहरुमा डेंगु फैलिएको छ । जसका कारण कैयौँको ज्यान गुमेको छ । तर पछिल्लो समय देखा परेको अज्ञात ज्वरो भने डेंगुभन्दा फरक रहेको चिकित्सकहरुले बताएका छन् । अज्ञात ज्वरोका विरामीको कोरोना परीक्षण गर्दा कोरोनासमेत नदेखिएको चिकित्सकले बताएका छन् ।

‘अज्ञात ज्वरोले थला पर्नेमा सबैभन्दा बढी बालबालिकाहरु छन्’ फिरोजाबादस्थित विरामीको उपचारमा खटिएकी डा. निता कुल श्रेष्ठले भनेकी छन्, ‘विगत एक हप्तामा ३२ बालबालिका र ४० अन्य मानिसको मृत्यु भइसकेको छ । यी विरामीको कोरोना परीक्षण गर्दा कोरोना देखाएको छैन । हामीले यसलाई अज्ञात ज्वरो नै मानेका छौँ ।’

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.