भारतमा कोरोना संक्रमण दर उच्च, उत्तर कोरियाले अस्वीकार गर्‍यो चिनियाँ कोरोना खोप

भारतमा कोरोना संक्रमण दर उच्च, उत्तर कोरियाले अस्वीकार गर्‍यो चिनियाँ कोरोना खोप

आईएसविरुद्ध अमेरिकाले तालिबानसँग मिलेर काम गर्नसक्ने

वासिंटन: इस्लामिक स्टेट आईएस के विरुद्ध लड्न अमेरिकाले तालिबानसँग मिलेर काम गर्नसक्ने बताइएको छ । अमेरिकी सेना प्रमुख मार्क मिलेले आईएस के र अन्य विद्रोही समूहविरुद्ध लड्न अमेरिकाले चाँडै तालिबानसँग सहकार्य गर्नसक्ने बताएका छन् ।

‘युद्धमा जुन मिसनको लागि खटिएको हो सोही अनुरुप कदम चाल्नुपर्छ र बल प्रयोग गर्नुपर्छ’उनले भनेका छन्, ‘अफगानिस्तानको अन्तिम मिसन सफल हुनुमा तालिबानको भूमिका छ । हाम्रो मिसन असफल बनाउन अन्तिम पटक आईएस के र अन्य विद्रोही समूहले गरेको हमलाको विरुद्ध तालिबान पनि आक्रोशित छ । त्यसैले विद्रोही समूहसँग लड्न अमेरिकाले तालिबानसँग मिलेर सहकार्य गर्न सम्भव छ ।’

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमार्फत करिब १ लाख २४ हजार नागरिक उद्धारमा विगत तीन हप्तादेखि तालिबानले अमेरिकी सेनालाई सहयोग गरेको समेत उनले बताएका छन् ।

सन् २००१ सेप्टेम्बर ११ को हमलापछि अमेरिकाले आफ्नो सेना अफगानिस्तानमा खटाएको थियो । करिब २० वर्ष लामो समयसम्म अफगानिस्तानमा खटिएको अमेरिकी सेना अगष्ट ३१ देखि पूर्ण रुपमा स्वदेश फिर्ता भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा १३ अमेरिकी सेना र २० तालिबान सदस्यसहित १७० को ज्यान जाने गरी आई एस के ले गरेको आत्मघाती हमलाको बदला लिने बताउँदै आएका छन् ।
०००

अमेरिकाको खराब सम्बन्धले जलवायु सहयोग खतरामा पर्ने चीनको चेतावनी

बेइजिङ: अमेरिकाको खराब सम्बन्धले जलवायु सहयोग खतरामा पर्ने चीनले चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनसँग अमेरिकाको खराब सम्बन्धका कारण विश्वको तापक्रम बृद्धि र जलवायु परिवर्तन सहयोग खतरामा पर्ने चेतावनी दिएका हुन् ।

बुधबार अमेरिकी जलवायु दूत जोन केरीसँगको भेटमा वाङले चीन र अमेरिकाबीच खराब सम्बन्धका कारण अमेरिकाले जलवायु सहयोगलाई वातावरणबाट व्यापक रुपमा अलग गर्न नहुने उल्लेख गर्दै भनेका छन्, ‘अमेरिकाले सम्बन्ध सुधार्न सक्रिय कदम चाल्नु पर्छ । दुई देशीय सम्बन्ध सुधार नभएसम्म जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी सहयोग दीगो हुन सक्तैन । त्यसैले अमेरिकाले चीनलाई ‘खतरा’ र ‘प्रतिद्धन्द्धी’को दृष्टिबाट हटाएर संसारको लागि संयुक्त रुपमा जलवायु परिवर्तन संकट कम गर्न सक्रिय कदम चाल्नुपर्छ ।’

जलवायु वार्ताको लागि केरी चीनको तियान्जिन शहरको भ्रमणमा छन् । जलवायु संकट कम गर्न अन्य मुलुकसँग अमेरिका प्रतिबद्ध रहेको र चीनले पनि सक्रिय भूमिका खेल्नुपर्ने केरीले बताएका छन् । उनले  विश्वको तापक्रमलाई १.५ डिग्री सेल्सियसमा कायम राख्ने प्रतिबद्धतामा चीनले पनि सहभागिता जनाउनुपर्नेमा जोड दिएका छन् ।

करिब चार वर्षअघि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व जलवायु कुटनीतिमा बदलाव ल्याएपछि अमेरिकाले जलवायु सहयोगमा हात झिक्ने आशंका गरिएको थियो ।

बढ्दो जलवायु संकट कम गर्न केरी र चिनियाँ विदेशमन्त्री बीच भएको भेटले उल्लेखनीय भूमिका खेल्ने विश्वास जलवायु पर्यवेक्षकहरुले गरेका छन् ।

यदी चीन र अमेरिकाले जलवायु संकट रोक्न तिब्र कदम नचालेमा संसार मरुभुमिमा परिणत हुने चेतावनी वातावरणीय समूह ग्रीनपिसका जलवायु सल्लाहकार ली साउओले दिएका छन् ।

संसारमा हरितगृह ग्यास उत्सर्जन गर्नेमा अमेरिकापछिको दोस्रो ठूलो मुलुक चीन हो । चीनले हाल २० प्रतिशतका दरले कार्बन उत्सर्जन घटाएको बताए पनि सन् २०३० पछि मात्र कार्बन उत्सर्जन घटाउन कदम चाल्ने बताएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० सम्ममा अमेरिकाको हतिरगृह ग्यास उत्सर्जन ५२ प्रतिशतले घटाउने लक्ष्य राखेका छन् ।

जुन पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा पेरिस सम्मेलनमा राखेको लक्ष्यभन्दा दोब्बर लक्ष्य हो । संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन अर्थात् कप २६ आगामी नोभेम्बरमा स्कटल्याण्डमा हुँदैछ । 
०००

भारतमा कोरोना संक्रमण दर उच्च

नयाँदिल्ली: भारतमा कोभिड १९ डेल्टा भेरियन्ट संक्रमण दर हालसम्मकै उच्च रहेको बताइएको छ । बिहीबार सार्वजनिक रिपोर्ट अनुसार दुई महिनाको अन्तरालमा भारतमा कोरोना संक्रमित दर उकालो लाग्दै गएको बताइएको छ ।

चाडपर्व र विद्यालयहरु सञ्चालन गरेकोले केरला प्रदेशमा संक्रमण दर तिब्र रुपमा फैलिएको र देशभर संक्रमण फैलन सक्ने चिन्ता भारत सरकारले गरेको छ ।

केरला प्रदेशका स्वास्थ्यमन्त्री मंशुख मन्दभियाका अनुसार केरला प्रदेशमा मात्र पछिल्लो हप्ता मात्र ७० प्रतिशत नयाँ संक्रमित थपिएको र बिहीबार नयाँ संक्रमितको संख्या ४७ हजारभन्दा बढी पुगेका छन् ।

यो संख्या पछिल्लो दुई महिनायताकै उच्च रहेको बताउँदै उनले भारत सरकारलाई कोरोना प्रभावित क्षेत्रमा चाँडो कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।

‘भारत सरकारले केरलाका अति प्रभावित जिल्लाहरुमा चाँडोभन्दा चाँडो खोप उपलब्ध गराउनु पर्छ । हैन भने संक्रमण देशभर तिब्र रुपमा फैलिने सम्भावना उच्च छ’ स्वास्थ्यमन्त्री मंशुख मन्दभियाले भने ।

भारतमा हाल ३ करोड २९ लाख संक्रमित रहेको बताइएको छ । अमेरिकापछि संसारमा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा रहेको बताइएको छ । भारतमा डेल्टा भेरियन्टबाट बिहीबार ५०९ को मृत्यु भएको बताइएको छ ।
०००

उत्तर कोरियाद्वारा ३० लाख चिनियाँ कोभिड खोप अस्वीकार

प्योङयाङ: उत्तर कोरियाले ३० लाखभन्दा बढी चिनियाँ खोप लिन अस्वीकार गरेको छ । युनिसेफकाअनुसार उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको हो ।

‘कोभिड १९ अन्तर्राष्ट्रिय खोप वितरण कार्यक्रम कोभ्याक्समार्फत चीनमा बनेको करिब ३० लाख डोज सिनोभ्याक उत्तर कोरियालाई उपलब्ध गराउन खोजिएको थियो । तर उत्तर कोरियाले आफूलाई नभई गरिब मुलुक र अति प्रभावित क्षेत्रमा वितरण गर्न भन्दै सो खोप अस्वीकार गरेको छ’ युनिसेफका एक प्रवक्ताले इमेलमार्फत भनेका छन् ।

यसअघि कोभ्यास कार्यक्रमअन्तर्गत उत्तर कोरियामा चिनियाँ खोप पठाउन सकिने बताइएको थियो । करिब १ महिनापछि जवाफ फर्काउँदै उत्तर कोरियाले आफूले कोभिड खोप नलिने बताएको छ ।

यसअघि जुलाइमा कोभिड १९ विरुद्धको रुसले उपलब्ध गराएको खोप र एस्ट्राजेनिका खोप पनि उत्तर कोरियाले अस्वीकार गरेको थियो । त्यसबेला रुसले उपलब्ध गराएको खोपमा असर देखिएको भन्दै उत्तर कोरियाले उक्त खोप अस्वीकार गरेको थियो ।

दक्षिण अफ्रिकी थिंक ट्यांक इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्ट्राटेजी–आइएनएसएस) को एक रिपोर्टअनुसार चिनियाँ खोपको प्रभावकारीतामाथि उत्तर कोरियाले शंका गरे पनि रुसले बनाएको खोप प्रयोग गर्न भने इच्छुक थियो ।

अगष्ट १९ सम्ममा उत्तर कोरियामा कोभिड संक्रमण नभेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उत्तर कोरियाले कोभिड नियन्त्रणलाई ध्यानमा राख्दै गत जनवरीदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गराएको छ ।
०००

आइभोरी कोस्टका टिभी प्रस्तोतालाई जेल सजाय

आइभोरी कोस्ट: पश्चिम अफ्रिकी मुलुक आइभोरी कोस्टका एक टेलिभिजन प्रस्तोता (होस्ट)लाई १२ महिनाको लागि जेल सजाय सुनाइएको छ । बलात्कारका आरोपीलाई टिभीको मुख्य शोमा बोलाएको र उनलाई शोमार्फत माफी गर्न लगाएको भन्दै टिभी प्रस्तोता एविज दे एमबेल्लालाई जेल सजाय सुनाइएको हो ।

टिभी प्रस्तोता एमबेल्लालाई आइभोरी कोस्टको श्रव्यदृश्य प्रशासनले १२ महिनाको जेल सजायसँगै ३ हजार ६ सय अमेरिकी डलरको जरिवाना समेत सुनाएको छ ।

टिभी प्रस्तोता एमबेल्लाले निजी क्षेत्रबाट सञ्चालित एनसिआई टिभी च्यानलमार्फत बलात्कारको आरोप लागेका व्यक्तिको अन्तर्वार्ता प्रसारण गरेका थिए । उक्त च्यानलमार्फत प्रशारित प्राइम शोमा बलात्कार आरोपीले आफूले पीडितमाथि बलात्कार गरेको घटनाक्रमहरु हाँस्दै बताएका थिए ।

उक्त कार्यक्रम हेरेपछि भड्किएका ५० हजारभन्दा बढी दर्शक एवम् श्रोताहरुले टिभी प्रस्तोतालाई कारवाहीको माग गर्दै टिभी च्यानल र च्यानलमार्फत प्रशारित कार्यक्रम बन्द गर्न माग गरेका थिए ।
०००
नाइजेरियाका ७० विद्यार्थी बन्दुकधारीको कब्जामा

नाइजर: उत्तर पश्चिम नाइजेरियाको उच्च माध्यामिक विद्यालयका करिब ७० भन्दा बढी विद्यार्थी बन्दुकधारीको कब्जा (अपहरण)मा रहेको नाइजेरियन प्रहरीले जनाएको छ ।

पछिल्लो समय विभिन्न विद्यालयमा गरेको आक्रमणपछि बन्दुकधारीले विद्यालयका बालबालिकालाई लक्षित बनाएको प्रहरीले जनाएको छ ।

नाइजेरियाको जामफारा स्टेट प्रहरी प्रवक्ता मोहम्मद शेहुका अनुसार बन्दुकधारीको ठूलो समूहले विद्यालयका बालबालिकालाई लक्षित गरेका छन् । बन्दुकधारीले बुधबार मात्र ७३ विद्यार्थीलाई आफ्नो कब्जामा लिएका छन् ।

प्रहरीको समूहले ती विद्यार्थीहरुको उद्धार कार्य अघि बढाएको र उद्धारपछि सेनाले विद्यार्थीलाई सेनाले सार्वजनिक गर्ने तयारी गरिरहेको प्रवक्ता शेहुले बताएका छन् । डिसेम्बरयता नाइजेरियामा १ हजारभन्दा बढी विद्यार्थीहरु अपहरणमा परेको बताइएको छ ।
०००

अमेरिकी सर्वोच्च अदालतद्धारा टेक्सासको गर्भपतन प्रतिबन्ध रोक्न अस्वीकार

वासिंटन: संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले टेक्सास राज्यले पारित गरेको गर्भपतन सम्बन्धी प्रतिबन्ध रोक्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले बिहीबार बिहान गर्भपतन सेवा प्रदायक निकायहरुले उपलब्ध गराउँदैआएको सेवा कार्यान्यवन रोक्न टेक्सासले पारित गरेको प्रतिबन्ध अस्वीकार गरेका हुन् ।

राज्य टेक्सासले ६ हप्तामाथिको गर्भपतनमा रोक लगाउन बुधबार नयाँ कानून पारित गरेको थियो । टेक्सास राज्यले ‘हर्टविट ऐन’ नामक ऐनमार्फत बुधबार ६ हप्तामाथिको गर्भपतनमा रोक लगाउन आदेश दिएको थियो । सो कानून कार्यान्वयनमा नआउँदै सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

टेक्सासको कानूनले अमेरिकी संधिधानको मर्मविपरीत विना निचोड गर्भपतनमा प्रतिबन्ध लगाउन खोजेकोले सर्वोच्च अदालतले गर्भपतन प्रतिबन्ध रोक्न अस्वीकार गरेको न्यायाधीशहरुले बताएका छन् ।

सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले महिलाको संवैधानिक हकको कदर गर्नुपर्ने बताएका छन् । अमेरिकामा सन् १९७३ देखि गर्भपतनले मान्यता पाउँदै आएको छ ।

गर्भपतनका समर्थकहरुले टेक्सासले नाटकीय रुपमा गर्भपतनमाथि प्रतिबन्ध लगाएको भन्दै बुधबार चर्को आलोचना गरेका थिए । गर्भपतनसम्बन्धी नयाँ कानून लागु भएपछि राज्यमा हुने ८५ प्रतिशत गर्भपतन निषेध हुने र गर्भपतनको मुद्दामा कडा नियम लागु गर्ने टेक्सास अमेरिकाकै पहिलो राज्य हुने अधिकारीहरुले बताएका छन्।
०००

आँधीका कारण न्युयोर्कमा संकटकाल घोषणा

वासिंटन: उत्तरपूर्वी अमेरिकाको न्युयोर्क राज्यमा समुद्री तुफानका कारण शहरमा बाढी पस्दा संकटकाल घोषणा गरिएको छ । हुरिकेन इदाको कारण न्युयोर्क शहरमा भीषण बाढी आउँदा बिहीबार आपतकालीन संकटकालको घोषणा गरिएको हो । भीषण बाढीका कारण न्युयोर्क शहरमा हालसम्म ९ मानिसको मृत्यु भएको रिटनर्सले जनाएको छ ।

न्युयोर्क राज्यका गर्भनर केथी होचुलले बिहीबार बिहान ट्विटमार्फत ऐतिहासिक मौसमी घटना बताउँदै संकटकालको घोषणा गरेका छन् । उनले भनेका छन्, ‘यो एक ऐतिहासिक मौसमी घटना हो । हुरिकेन इदाले न्युयोर्कवासीहरु निकै प्रभावित बनेकोले मैले बिहीबार बिहानदेखि आगामी तीन दिनसम्मका लागि संकटकालको घोषणा गरेको छु ।’

न्युयोर्कको चर्चित सेन्ट्रल पार्कमा एक घण्टाभित्र करिब ८ सेन्टिमिटर पानी परेको छ भने शहरभित्रको भूमिगत रेल सेवा र हवाई सेवा बन्द गरिएको छ । गत आइतबारदेखि अमेरिका प्रवेश गरेको हुरिकेन इदाले पहिलो चरणमा लुइजिनिया, न्यु जर्सी राज्यमा वितन्डा मच्चाएको थियो ।

शक्तिशाली हुरिकेन इदाको कारण उत्तर पूर्वी अमेरिकाका विभिन्न राज्यहरुमा भारी वर्षा र भीषण बाढी गएको समाचार छ । न्युयोर्कसँगै न्यु जर्सीमा पनि आगामी तीन दिनको लागि संकटकाल घोषणा गरिएको छ ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.