काजकिरियामा पनि विभेद

काजकिरियामा पनि विभेद

झापा : अन्तरजातीय बिहेका कारण झापा बिर्तामोडकी सीता ढुंगाना २ दशकदेखि विभेद खप्न बाध्य छन्। दलितसँग विवाह गरेकी उनलाई परिवारले निरन्तर अवहेलना गरिरहेको छ। आफ्नै बिहेदेखि बाबुको निधनसम्म ढुंगानाले विभेदको सामना गर्नु परिरहेको छ। 

ढुंगानाका बाबु धर्मानन्दको गत भदौ ७ गते ९३ वर्षको उमेरमा निधन भयो। तर, सीतालाई बाबुको मुख हेर्न पनि दिइएन। ‘फेसबुकबाट बुवा खसेको थाहा पाएँ’, उनले भनिन्, ‘आउँछु भन्दा नआउँदा राम्रो भन्दै खबर पठाइयो।’ सीताका ४ दिदीबहिनीमध्ये जेठीको पहिल्यै मृत्यु भएको हो। माहिँली र कान्छी दाजुभाइसँगै बसेर बाबुको काजकिरिया गरिरहेका छन्। तर, साहिँली सीतालाई भने ढुंगाना परिवारले सहभागी गराएका छैनन्। उनी बिर्तामोडस्थित आफ्नै घरमा बाबुको काजकिरिया गरिरहेकी छन्। 

सीताका तीन दाजुमध्ये माहिला र कान्छा शिक्षक छन्। तर, जातीय विभेदविरुद्धको अभियानमा उनीहरूको पनि चेत फिरेको छैन। घरपरिवार र समाजले गरेको विभेद सहन नसकेर पाँचथरको रानीगाउँबाट झापा झरेकी सीता २१ वर्षदेखि उही नियतीको सामना गरिरहेकी छन्। श्रीमान् छविलाल विश्वकर्माले उनलाई साथ दिएका छन्। २०५७ पुस ५ गते उनीहरूको प्रेम विवाह भएको थियो। सीतालाई माइतीपक्षले आजसम्म स्वीकार गरेको छैन। 

सीता अखिल नेपाल महिलासंघको कार्यालय सचिव हुन्। छविलाल एमाले झापाका प्रभावशाली नेता मानिन्छन्। छविलाल र सीता कक्षा ८ देखिकै साथी हुन्। क्याम्पस पनि सँगै पढे। ३ वर्ष पाँचथर रानीगाउँको सूर्याेदय प्राविमा सँगै पढाए पनि। एकले अर्कालाई बुझ्ने मौका पाएपछि उनीहरूले प्रेम विवाहको बाटो रोजे। तर, घरपरिवार र समाजले स्वीकार गरेन। 

‘मेरो बिहेदेखि बुबाको मृत्युसम्म सधँै अपमान र तिरस्कार भोग्नु परेको छ,’ ढुंगानाले भनिन्, ‘यो विभेदको अन्त्यहीन श्रृंखला कहिलेसम्म चलिरहने हो, सामना गरिरहन्छु।’ छविलाल आजसम्म ससुराली पुगेका छैनन्। छोरा विपुल २० वर्षका भए। मावली जाने उनको रहर पूरा भएको छैन।

‘माइतीपक्षले न्यूनतम मानवीय व्यवहार पनि देखाएनन्,’ सीताले भनिन्, ‘यो भन्दा ठूलो अपमान र विभेद अरु के हुनसक्छ ?’ दलित युवासँग बिहे गरेपछि माइती पक्षले उतिबेलै ‘छोरी मरी भनेर’ उनको काजकिरिया गरेको थियो। ‘छोरी कामीसँग गई भनेर जिउँदै मेरो किरिया गर्नुभयो,’ उनले भनिन्, ‘कपाल काटेर नौ दिनपछि गाईको बाच्छी नै दान गरिएको थियो।’

कुसंस्कारविरुद्ध लड्न अहिले पनि मुस्किल रहेको छविलाल बताउँछन्। ‘संविधानमा सबै समान भनेर लेखियो, तर व्यवहारमा लागु हुन सकेन,’ उनले भने।

सीता दम्पतीले सहनु परेको विभेद निन्दनीय रहेको अखिल नेपाल महिला संघ प्रदेश नं १ की अध्यक्ष मेनुका काफ्लेले बताइन्। ‘यो मानवताविरुद्धको अपराध हो,’ उनले भनिन्, ‘विभेदविरुद्ध अझै डटेर लड्न आवश्यक छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.