विश्वका एक तिहाइ रुखका प्रजाति लोप हुँदै !
वासिंटन: विश्वमा पाइने करिब एक तिहाइ रुखका प्रजातिहरु लोप हुने अवस्थामा रहेको हालै सार्वजनिक एक रिपोर्टले देखाएको छ ।
बोटानिक गार्डेन्स कन्जर्भेसन इन्टरनेसनल (बिजिसीआई) द्वारा बुधबार सार्वजनिक एक अध्ययन रिपोर्टअनुसार विश्वमा पाइने विभिन्न प्रजातिका बोटविरुवामध्ये करिब ३० प्रतिशत अर्थात् १७ हजार ५ सय बिरुवाका प्रजाति लोप हुने जोखिममा छन् भने विरुवाका सयौँ प्रजाति लोप भइसकेका छन् ।
करिब ४४० प्रजातिभन्दा कम विरुवाका प्रजातिको विजमात्र जंगलमा उपलब्ध भएको समेत उक्त रिपोर्टले देखाएको छ । संसारभर विरुवाको प्रजाति लोप हुने जोखिम दोब्बर रुपमा बढ्दै जाँदा स्तनधारी, चराचुरुङ्गी, घस्रिने जीव, जमिन र पानी दुबैमा पाइने जीवहरुको अस्तित्व समेत संकटमा रहेको उक्त रिपोर्टमा उल्लेख छ ।
‘रुख विरुवाहरुलाई मानवीय सहयोगको खाँचो छ भन्ने बुझाउन यस रिपोर्टले एकपटक संसारभरका सबै मासिसलाई झस्काउने छ’ बिजिसीआईका महासचिवले भनेका छन्, ‘हजारौँ रुखहरुको भीडमा पनि हरेक विरुवाको एउटा प्रजातिले केही न केही भूमिका खेल्छ । मुल्य राख्छ । संसारका मानिसहरु रुखविरुवामा निर्भर हुन्छन् ।’
बिजिसीआईद्वारा सार्वजनिक रिपोर्टअनुसार दक्षिणपूर्वी एसियाको जंगलमा पाइने विरुवाका विभिन्न प्रजातिहरु सबैभन्दा बढी लोप हुने अवस्थामा छन् । प्राकृतिक पर्यावरणीय चक्र स्वस्थ बनाउन बोटविरुवाको मुख्य भूमिका हुन्छ ।
यति मात्र नभइ विश्वभरको तापक्रम बृद्धि र जलवायु परिवर्तन कम गर्न पनि बोटविरुवाको मुख्य भूमिका रहन्छ । संसारबाट बोटविरुवाको एउटा प्रजाति मात्र लोप हुँदा यसले अन्यमा ठूलो हानी पुर्याउँछ ।
उक्त रिपोर्टअनुसार बोटविरुवाका विविध प्रजातिमध्ये सबैभन्दा बढी संसारका विभिन्न ६ वटा मुलुक (ब्राजिल, इन्डोनेसिया, मलेसिया, चीन, कोलम्बिया र भेनेजुयला) मा पाइन्छन् । तीमध्ये ब्राजिलमा मात्र सबैभन्दा बढी करिब १ हजार ७८८ विरुवाका प्रजाति लोप हुने अवस्थामा छन् ।
विरुवाका प्रजाति लोपोन्मुख अवस्थामा रहनुको मुख्य कारणमा कृषि उत्पादनका लागि वन विनाश, स्टक कृषि र जलवायु परिवर्तनका कारण वन जंगलमा फैलिने डढेलो र विकराल बनिरहेको मौसमको अवस्था रहेको उक्त रिपोर्टले जनाएको छ ।