इमरान खानको शासनकालमा पाकिस्तानको खर्बौँ ऋण बढ्यो, म्यानमारमाथि बेलायतको नयाँ प्रतिबन्ध

इमरान खानको शासनकालमा पाकिस्तानको खर्बौँ ऋण बढ्यो, म्यानमारमाथि बेलायतको नयाँ प्रतिबन्ध

इमरान खानको शासनकालमा पाकिस्तानको ऋण २३८ खर्ब पुग्यो

इस्लामाबाद: पाकिस्तानका प्रधानमन्त्री इमरान खानको शासनकालमा पाकिस्तानको आर्थिक ऋण बढेर २३८ खर्ब पुगेको छ । इमरान खानको तीन वर्षे शासनकालमा पाकिस्तानको ऋण बढेर २३८ खर्ब पुगेको शुक्रबार सार्वजनिक एक सरकारी प्रतिवेदनले देखाएको छ ।

सेन्ट्रल बैंक अफ पाकिस्तानद्वारा सार्वजनिक सरकारको वार्षिक प्रतिवेदन अनुसार पाकिस्तानको कुल ऋण ६३८ खर्ब रहेको छ भने इमरान खानको शासन काल अर्थात् तीन वर्षको अन्तरालमा २३८ खर्ब पुगेको छ ।

पाकिस्तानका स्थानीय मिडियाका अनुसार पाकिस्तान पिपुल्स पार्टी र १० वर्षे पाकिस्तान मुस्लिम लिग नवाज सरिफको पालामा पाकिस्तानको ऋण ८० प्रतिशतले बढेको थियो। पाकिस्तानमा सार्वजनिक ऋण पनि ८ प्रतिशतले बढिरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोभिड महामारीको समयमा पाकिस्तानको ऋण झनै बढेको हुनसक्ने न्युज इन्टरनेसनलले जनाएको छ ।
०००

तालिबानका सहसंस्थापकले नयाँ सरकारको नेतृत्व गर्ने

काबुलः अफगानिस्तानमा तालिबानका सह संस्थापक मुल्लाह अब्दुल घानी बरादरले नयाँ बन्ने सरकारको नेतृत्व गर्ने स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । रिटर्नसका अनुसार तालिबानले सम्भवत शुक्रबार साँझ नयाँ सरकारको घोषणा गर्ने तयारी गरिरहेको छ । नयाँ बन्ने तालिबान सरकारमा प्रधानमन्त्री र राष्ट्रपति पनि सामेल हुनेछन् । २५ मन्त्रालयको मन्त्रिपरिषद बन्ने समेत स्रोतले जनाएको छ ।

वरिष्ठ पदको जिम्मेवारीमा मुल्लाह मोहम्म्द याकुब, तालिबानका सह संस्थापकका छोरा मुल्ला ओमार र शेर मोहम्मद अब्बास स्तानेक्जाइ लगायत हुने बताइएको छ ।

नयाँ बन्ने सरकारले देशको पुर्ननिर्माण, भोकमरी संकट कम गर्न र आर्थिक विकासलाई प्राथमिकतामा दिने बताइएको छ । ‘नयाँ बन्ने सरकारका सबै शीर्ष नेताहरु काबुल आइपुग्नु भएको छ । अब सरकार घोषणा गर्न मात्र बाँकी छ’ तालिबानका एक अधिकारीले रिटनर्ससँग भनेका छन् ।
०००

म्यानमारमाथि बेलायतको नयाँ प्रतिबन्ध घोषणा

लण्डनः बेलायतले म्यानमारमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । सैन्य सरकारको लागि सैन्य सामग्री र आर्थिक सहयोगमा बेलायतले म्यानमारमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको हो ।

बेलायतको विदेश मन्त्रालयका अनुसार म्यानमारको एचटु ग्रुप कम्पनी र कम्पनीका संस्थापक ताइ जाले सैन्य सरकारको तर्फबाट सैन्य सामग्री किनबेचमा ठूला व्यापारी संलग्न गराएको बताउँदै सम्पत्ति रोक्का गर्न लगाएको थियो ।

सन् २०१७ मा रोहिङ्ग्या हटाउन एटु ग्रुपले आर्थिक सहयोग गरेको समेत बताइन्छ । सोही कारण देखाउँदै बेलायतले म्यानमानरविरुद्ध नयाँ प्रतिबन्ध लगाएको बताइएको छ । यसअघि बेलायतले फेब्रुअरीको कू पछि म्यानमारका व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको थियो ।

‘म्यानमारको सैन्य समूहले म्यानमारका जनतासहित हाम्रा साझेदारहरुमाथि क्रूर व्यवहार गरिरहेको छ’ बेलायतको विदेश मन्त्रालयका सचिव डोमिनिक र्‍याबले भनेका छन्, ‘सेनाहरुले बालबालिकासहित निर्दोष जनता मारिरहेका छन् । त्यसको विरुद्ध बेलायतले म्यानमारको सैन्य समूहको लागि आर्थिक सहयोग र  सैन्य सामग्रीमा सहयोगमा प्रतिबन्ध लगाएको छ ।’

नयाँ प्रतिबन्धपछि बेलायतले एचटु ग्रुपको लागि सामग्री र संस्थापक ताइ जा र अन्य धनाढ्यहरुलाई बेलायत प्रवेशमा पनि रोक लगाएको छ । गत फेब्रुअरीमा म्यानमारको सेनाले कू गरेयता सैन्य शासनविरुद्ध आन्दोलित करिब १ हजार ४५ भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
०००

जापानका प्रधानमन्त्री सुगा पार्टीको चुनावमा नउठ्ने

टोक्यो: जापानका प्रधानमन्त्री योसीहिदे सुगाले शुक्रबार आफू पार्टीको चुनावमा नउठ्ने घोषणा गरेका छन् । उनले आगामी महिना हुने सत्ताधारी पार्टी लिबरल डेमोक्रेटिक पार्टीको चुनावी मैदानमा नउठ्ने घोषणा गरेका हुन् ।

टोक्योस्थित शुक्रबार पत्रकारहरुसँग उनले भनेका छन्, ‘चुनावी दौडमा उत्रिन र कोरोना भाइरस व्यवस्थापन गर्नको लागि प्रसस्त उर्जा चाहिन्छ । चुनावी दौडभन्दा मैले मेरो उर्जा कोरोना नियन्त्रणमा खर्चिनेछु । त्यसैले म आगामी चुनावमा लड्नेछैन ।’

गत सेप्टेम्बरमा आफ्नो स्वास्थ्य अवस्था खराब भएको कारण देखाउँदै पूर्वप्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिएपछि ७२ वर्षीय सुगा प्रधानमन्त्रीको पदमा नियुक्त भएका हुन् । 

प्रधानमन्त्रीको सुगाको घोषणापछि उनको पार्टीका शीर्ष नेताले आफूहरु चकित परेको बताएका छन् । ‘कोरोना भाइरसविरुद्ध लड्नमा केन्द्रिन हुने भन्दै प्रधानमन्त्रीले आफ्नो पार्टीको चुनावमा नउठ्ने घोषणा गर्नुभएको छ । उहाँको निर्णयले हामी अचम्मित बनेका छौँ । उहाँले सोचेरै यो निर्णय लिनुभएको हो । उहाँको लागि यो निकै उचित निर्णय हो तर गहिरिएर सोच्ने हो भने यो वास्तवमै खेदजनक छ’ लिबरल डेमोक्रेटिक पार्टीका सचिव तोसिहाइरो निकाईले भनेका छन् ।

प्रधानमन्त्री सुगाले चुनावमा नउठ्ने घोषणा गरेसँगै महामारीसँग जुध्न उनको सरकारसँग निकै कम समय बाँकी रहनेछ । आफ्नो लक्ष्य पूरा नभएमा सुगाले आफ्नो पदबाट राजीनामा दिने घोषणा समेत गरेका छन् ।
०००

जलवायु परिवर्तनमा तत्काल कदम चाल्न उत्तर कोरियाको आह्वान

प्योङयाङ: उत्तर कोरियाका शासक किम जोङ उनले जलवायु परिवर्तनको मुद्दामा तत्काल कदम चाल्न आह्वान गरेका छन् । जलवायु परिवर्तनले निम्त्याएको जलवायु संकटका कारण उत्तर कोरियामा भोकमरी हुनसक्ने भन्दै सो मुद्दामा तत्काल कदम चाल्न उनले आह्वान गरेका हुन् ।

गत वर्ष उत्तर कोरियामा ताइफुनले कृषि र खाद्य बाली उत्पादनमा नराम्रो असर पुर्‍याएको थियो । जलवायु संकटका कारण उत्तर कोरियामा चरम सुख्खा र भारी वर्षा हुन थालेको भन्दै किमले जलवायु परिवर्तन रोक्न तत्काल कदम चाल्न आफ्ना अधिकारीहरुसँग आग्रह गरेका छन् ।

‘हामीले यो असमान्य मौसमको सामाना गर्नुपर्छ’ आफ्ना अधिकारीहरुसँगको बैठकमा उनले भनेका छन्, ‘जलवायु परिवर्तनले खतरा निम्त्याउँदै छ । बाढी र खडेरीजस्ता प्राकृतिक प्रकोपले भोकमरी निम्तिन सक्छ । त्यसविरुद्ध हामीले तत्काल कदम चाल्नुपर्छ ।’

किमले प्राकृतिक विपद्का कारण देशको अर्थतन्त्रमा गिरावट आएको बताउँदै प्राकृतिक विपद् व्यवस्थापन र रोकथामको लागि देशभित्रका पूर्वाधार विकासमा जोड दिन र सुधार गर्न आग्रह गरेका छन् ।
०००

न्युजिल्याण्ड प्रहरीद्वारा अन्धाधुन्ध छुरा चलाउने मारिए

न्युजिल्याण्ड: न्युजिल्याण्डको वेलिङटनस्थित एक सुपरमार्केटमा अन्धाधुन्ध गोली र छुरा चलाउने अभियुक्त न्युजिल्याण्ड प्रहरीको गोली प्रहारबाट मारिएका छन् । श्रीलंकाका नागरिक समेत रहेका ती आक्रमणकारीको अन्धाधुन्ध छुरा प्रहार र गोलीबाट शुक्रबार बिहान ६ जना गम्भीर घाइते बनेका थिए।

अभियुक्त १० वर्षदेखि न्युजिल्याण्डमा बस्दैआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारी व्यक्ति इस्लामिक स्टेटको सैन्य समूहबाट प्रेरित थिए । नागरिकको सुरक्षाको निम्ति प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको प्रतिक्रिया दिएको छ ।

‘एकाबिहानै सुपरमार्केटमा हिंसा मच्चाउने ती व्यक्ति हाम्रो निगरानीमा थिए । उनी आइएसआइएस बिचाधाराबाट प्रभावित थिए । त्यसैले ती व्यक्तिलाई मार्न आदेश दिइएको हो’ न्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्दा आर्डेनले भनेकी छन् ।
०००

बालबालिका र किशोर किशोरीलाई भारतीय खोप लगाउन अनुमती

नयाँदिल्ली: कोभिड १९ विरुद्ध भारतले बनाएको बायोलोजिकल ई खोप बालबालिका र किशोरावस्था समूहका मानिसलाई लगाउन अनुमती दिइएको छ । शुक्रबार जारी विज्ञप्ति अनुसार भारतमा बनेको बायोलोजिकल ई खोप बालबालिका र किशोरकिशोरीहरुले लगाउन अनुमती दिइएको हो ।

भारतको हैदराबादस्थित औषधि कम्पनीले बनाएको उक्त खोपलाई औषधि नियन्त्रक कार्यालयले  स्वीकृती दिएसँगै बायोलोजिकल ई खोप बालबालिका र किशोरकिशोरीमाथि परीक्षण थालिएको छ ।

परीक्षणपछि खोप निर्माता कम्पनीले बायोलोजिकल ई खोपको असर र प्रभावकारितामाथि पनि अध्ययन गर्ने जनाएको छ । जोन हप्किन्सको तथ्यांकअनुसार भारतमा कोभिडविरुद्धको विभिन्न ६ वटा खोपले अनुमती पाएका छन् ।
०००

बंगलादेशमा डेंगुका कारण दर्जनौँको मृत्यु

ढाकाः कोभिड १९ को डेल्टा भेरियन्ट झेलिरहेको बंगलादेशको राजधानी ढाकामा डेंगु फैलिएको छ । डेंगुका कारण हालसम्म ३६ मानिसको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ३३० नयाँ संक्रमित फेला परेका छन् ।

बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार बिहीबार र शुक्रबार सबैभन्दा बढी डेंगुका बिरामी थपिएका छन् । जुलाइदेखि अगष्ट महिनासम्म ढाकामा मात्र करिब ११ हजारभन्दा बढी डेंगुका बिरामी फेला परेका छन् । पछिल्लो तीन महिनामा डेंगुका कारण ३६ ले ज्यान गुमाइसकेका छन् । सेप्टेम्बर १ देखि डेंगु तिब्र रुपमा देशभर फैलिरहेको छ ।

यो वर्ष बंगलादेशमा पहिलो पटक जुलाईमा डेंगुका बिरामी फेला परेका थिए । सरकारी तथ्यांकअनुसार बंगलादेशका करिब २ करोड मानिस डेंगु संक्रमणको उच्च जोखिममा छन् ।

सन् २०१९ मा बंगलादेशमा डेंगुका कारण ६७ मानिसको मृत्यु भएको थियो भने ८० लाख संक्रमित भएका थिए । बंगलादेशमा कोरोना भाइरसका १ करोड ५ लाख नयाँ संक्रमित छन् भने हालसम्म २६ हजार ३ ६२ ले ज्यान गुमाइसकेका छन् ।

संयोजन: अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.