शानदार शुक्लाफाँटा

शानदार शुक्लाफाँटा

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट सात किलोमिटर यात्रा गरेपछि पुगिन्छ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज। जहाँ पहिलोपटक पुग्नेले भन्छन् ‘आहा ! यस्तो पनि स्थान हाम्रै देशमा छ ?’ बाह्रसिंगे हुल बनाएर दौड्दै गरेको दृश्यदेखि चराचुरुङ्गीको चिरबीर आवाजले अशान्त मन पनि एकैछिनमा शान्त हुन्छ, अनि समय बितेको पत्तो हुँदैन। ‘अशान्त मन शान्त भयो, सबैले एक पटक घुम्नै पर्ने स्थान रहेछ,’ पहिलोपटक शुक्लाफाँटा घुम्न पुकेकी काठमाडौंकी प्रतिमा अर्यालले भनिन्, ‘बाह्रसिंगेको हुलले मनै लोभ्यायो, तालमा पौड्ने गोहीको त कुरै नगरौं, समय बितेको पतै भएन।’

जंगली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिंगे, जरायो र चित्तलजस्ता जनावरले प्रख्यात निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो। यहाँ घुम्न र रामाउन पुग्नेका लागि तिनै संरक्षित जंगली जनावरले मनोरञ्जन दिलाउँछन्। त्यसमध्ये बाह्रसिंगेले यहाँ पुग्नेको ध्यान केन्द्रित गर्छ। सिङमा पनि ६–६ वटा हाँगा हुने भएकाले पर्यटकलाई रोचक लाग्नु स्वभाविकनै हो। आँखै अगाडि देखिने बाह्रसिंगाको समूहले यहाँ आउने आगन्तुकको मन लोभ्याउँछ। धेरै पर्यटक यो दृश्य आफ्नो मोबाइल र क्यामरामा कैद गर्न पछि पर्दैनन्।  

यसै क्षेत्रको रानी ताल र अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दुरीमा शुक्लाफाँटाको विश्वको सबैभन्दा ठूलो घाँसे मैदान (फाँट) छ। जुन फाँटमा एकैपटक सयौं बाह्रसिंगेको झुण्ड देखिन्छ। 

फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेको थिए भने एक रात बास बसेका थिए। हाल दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र बास बसेका स्थानीय बताउँछन्। उक्त मैदानमा बाह्रसिंगेका समूह चरिरहेका हुन्छन्। त्यती मात्र नभई शुक्लाफाँटाको घाँसे मैदानमा मयुर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउँछ। उक्त फाँटमा पाठेबाघको दृश्यसमेत देख्न सकिन्छ। शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बकौला र फाँट पाठेबाघ देखिने ठाउँ हुन्।

शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असासम्म हो। बसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रंगीविरंगी फूलहरूले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ। निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँटा छन्। जहाँ विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाईन्छ। निकुञ्जको पूर्वी सेक्टरमा हिरापुर फाँट छ त्यहाँ कृष्णसार संरक्षण गरिएको छ। निकुञ्ज प्रवेश गर्ने दुईवटा बाटो छन्। एउटा रानी ताल भएर फाँट पुगिन्छ भने अर्को बर्काेलाको बाटो। फाँटमा पर्यटकहरूका लागि काठका ४ वटा मचान बनाइएका छन्। उक्त मचानबाट पर्यटकहरूले शुक्लाफाँटाको दृश्य अवलोकन गर्न सक्छन्।

शुक्लाफाँटा भित्रै रानी ताल छ। त्यहाँ रानी तालसँगै अन्य स–साना तालहरू पनि छन्। त्यहाँ प्रशस्त रूपमा गोही र चराचुरुङ्गीहरू देख्न सकिन्छ। करिब ८/१० वर्ष पहिला यहाँका सिंहपाल राजाका रानीहरूले नुहाउने ताल भएकाले उक्त तालको नामाकरण रानी ताल राखिएको इतिहास छ। दिउँसो तीन बजेभित्र निकुञ्ज प्रवेश गरिसक्नु पर्छ। अध्यारो नहुँदै बाहिरिसक्नुपर्ने निकुञ्ज प्रशासनको नियम छ। निकुञ्जको महाकाली नदी छेउ पिपरियामा हात्तीसार छ। त्यहाँ हात्ती चढ्न पाइन्छ। आगन्तुकको समयअनुसार हात्तीमा जंगल सफारीको समेत सुविधा छ। 

शुक्लाफाँटा निकुञ्जको छेउमै सुविधासम्पन्न शुक्लाफाँटा जंगल कटेज सञ्चालनमा छ। त्यहाँ आगन्तुकहरूका लागि जंगल सफारी गर्न जिप गाडीको व्यवस्था हुन्छ। शुक्लाफाँटा छेउमै रानथारु समुदायले पनि सुविधासम्पन्न होमस्टे सञ्चालनमा ल्याएका छन्। होमस्टेमा आउने आगन्तुकहरूका लागि परम्परागत पहिरनमा रानाथारु नृत्य र खानाका परिकारहरूले स्वागत गर्ने गरेका छन्। यो बाहेक महेन्द्रनगर सदरमुकाममा एक दर्जन बढी सुविधासम्पन्न होटलहरू सञ्चालनमा छन्।

शुक्लाफाँटा निकुञ्ज भ्रमणका लागि सार्क मुलुकका नागरिकका लागि ७ सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ भने विदेशीका लागि १५ सय र नेपालीका लागि १ सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ।  निकुञ्जले कारको १५ सय, स्कारपीयोको २५ सय र ठूलो गाडीको ३ हजार प्रवेश शुक्ल लिने नियम बनाएको छ। २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गरिएको हो। वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा। निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०–९० वटा निलगाई र ४ सय २४ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.