आकाशमा साइकल चलाउँदै
काठमाडौं : एउटा डाँडाबाट अर्को डाँडासम्म जोडिने गरी बनाइएका फलामका लामा डोरीहरु लमतन्न टाँगिएका छन्। हावाको बहावसँगै डोरीमा झुन्डिएर ओरालो झरिरहेका मानिसहरुको दृष्य मनमोहक लाग्छ।
कोही कहाल्लिएर चिच्चाउँदै आकाशमा झुन्डिरहेका छन् त कोही हावाको वेगसँगै आकाशमै साइकल दौडाउनमा मस्त छन्। अग्लो पहाडको टुप्पोबाट मिनेटभरमै अर्को डाँडाको फेदीमा पुगिन्छ।
साइकल भन्नासाथ सडकमा सलल कुद्ने स-सानो सवारी सम्झन्छौं हामी। तर भक्तपुरको पाइलटबाबा परिसर पुग्ने जोकोही आकाशमै साइकल कुदाउन सक्छन्। दुई डाँडाको बीचमा साइकल रोकेर मज्जा लिन सक्छन्। क्यानोपीमा दौड्दै खुसी हुन सक्छन्। त्यो पनि फलामको डोरीमा हावाको बहावसँगै।
भक्तपुरको ध्याम्पेडाँडामा योयो जिपलाइन सुरु भएको छ। योयो टिमले ध्याम्पेडाँडाको टुप्पा र पाइलटबाबा रहेको स्थानलाई जोडेर जिपलाइन सेवा सुरु गरेको हो। जसमा लङ जिपलाइन ३५०० प्रतिव्यक्ति सर्ट जिपलाइन २००० प्रतिव्यक्ति, स्काइ साइक्लिङ १५०० प्रतिव्यक्ति र क्यानोपी १८०० प्रतिव्यक्ति रकम तिरेर यी खेल खेल्न पाइन्छ।
केही समयपछि स्विङ खेल पनि विस्तार हुँदै छ। काठमाडौं उपत्यका नजिकै रहको पाइलटबाबा आश्रममा आन्तरिक तथा बाह्य पर्यटक विस्तार गर्न जीपलाइन तथा सुविधा सम्पन्न होटल सुरुवात गरिएको आयोजक योयो टिमले जानकारी दिएको छ। अनौपचारिक रुपमा यो खेल सुरु भैसकेको छ। केही समयमा नै औपचारिक उद्घाटन गरिने आयोजकले जानकारी दियो।