मन्दिरको जग्गा बेचिसके महन्थले, विवाहमण्डपको भूमि भूमाफियाको खल्तीमा
जनकपुरधाम : प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ। भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन्। नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ। तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन्। भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा बाससमेत पाउँदैनन्। यसको कारण हो, गुठीको जग्गा भूमाफियाको कब्जामा पर्दै जानु। जानकी मन्दिरका पूर्वमहन्थ स्व.रामशरणदास वैष्णवले गुठी र मन्दिरको जग्गा बेचेर व्यक्तिको नाममा गरिदिएपछि यहाँ हुने विवाह पञ्चमीको रौनक नै कम हुँदै गएको स्थानीयवासी बताउँछन्।
यहाँको रानीबजारस्थित मणिमण्डपमा राम, भरत, लक्ष्मण र शत्रुधनको एकैचोटी स्वयंवर भएको जनविश्वास गरिन्छ। त्यसैको सम्झनामा यहाँ हुने स्वयंवर कार्यक्रममा रामजानकी विवाह मण्डप कहिल्यै सजिन पाउँदैन। स्वयंवरको दृश्य हेर्न आउने लाखौं श्रद्धालु भक्तजनले उभिने ठाउँसमेत पाउँदैनन्। यहाँको २५ बिघा जग्गाजमिन जानकी मन्दिरका पूर्वमहन्थ स्व. रामशरणदास वैष्णवले विभिन्न व्यक्तिलाई बेचिदिएका थिए। रामशरण दासको मृत्युपछि बाँकी जग्गा रामतपेश्वर दासले किर्ते हस्ताक्षरमा बेचेका थिए। त्यसैले अयोध्याबाट आउने जन्तीले मणिमण्डप क्षेत्रमा बाससमेत नपाउने अवस्था छ।
जनकपुरधामको ऐतिहासिक तथा साँस्कृतिक धरोहर, रामजानकी विवाह मण्डपको भूमि भूमाफियाको कब्जामा परेको छ।
महन्थ रामशरणदास वैष्णवले आफ्नो कार्यकालमै विवाह मण्डपको साइनबोर्डमा जानकी मन्दिरको नाम सानो अक्षरमा र छुटगुठी ठूलो अक्षरमा लेख्न थालेपछि मन्दिरको सम्पत्ति महन्थको बिर्ता सरह हुन पुग्यो। बेचबिखन यहाँसम्म पुग्यो कि जनकपुरधामका धार्मिक र साँस्कृतिक प्रतीकहरू छिन्नभिन्न हुन थाले। देवभूमि जथाभावी अतिक्रमण पर्दै गएपछि यहाँका पुरातात्विक, धार्मिक र प्रतीकहरू खुम्चिदै गएका छन्।
जनकपुर नगरपालिका भित्र १४ राजगुठी छन्। जानकी मन्दिर, सीता कुण्ड र वीरपुर गुठी भने छुट्टै गुठीमा छन्। जसमध्ये सबै गुठीहरू अतिक्रमणमा परेका छन्। नगरपालिका क्षेत्रका गुठीका ९० प्रतिशत जग्गा मालपोत, नापी, गुठी संस्थानदेखि महन्थको मिलोमतोमा अतिक्रमण भइसके। गुठीहरूसँग मुस्किलले १० प्रतिशत जग्गा मात्र अवशेषका रूपमा बाँकी छन्।
जनकपुरको सबैभन्दा बढी जानकी मन्दिरको साविक ६ हजारमध्ये ५ सय ३० बिघा, राममन्दिरको २८ सय ६७ बिघामध्ये २५ सय बिघा, लक्ष्मण मन्दिरको साविक ४ सय १० बिघामध्ये ३ सय ९० बिघा अतिक्रमणको चपेटामा परेका छन्। रत्नसागरको ६५ बिघामध्ये ४२ बिघा, कुवा मठको ४ सय ८५ बिघामध्ये ४ सय ६० बिघा, हनुमान मठको १ सय ४३ बिघामध्ये १ सय ३० बिघा जमिन भूमाफियाको कब्जामा गइसके।
गुठीका ‘श्रीसम्पत्ति’ विनाश गर्ने कामको नेतृत्व महन्थहरूले नै गरिरहेकाले देवभूमि भूमाफियाको कब्जामा परेको छ। गुठीको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट च्युत भएर महन्थहरूले भूमाफियासँग मिलेर अकुत कमाइरहेका छन्।
जनकपुरधामका ७२ तलाउ, १५ कुप (कुवा), १५ शिवालय, २४ देवीपीठ, ५ उपवन, २६ ऋषि आश्रम बनेको रेकर्ड छ। तर, ती मठमन्दिर, कुटी, सरोवर र कुण्ड आदि अतिक्रमणमा परेर लोपोन्मुख छन्। रामानन्द सम्प्रदायका उन्नायक सन्त रामानन्दको गुठी जमिनसमेत भूमाफियाको हातबाट बिक्री भइसकेको छ। वैष्णव सन्त रामानन्दको नाममा अहिले सार्वजनिक रामानन्द चोकमात्र बाँकी छ।
जानकी मन्दिरको सौन्दर्य ख्यालै नगरी लक्ष्मण मन्दिर अधीनस्त सटरहरू भाडामा लगाएर बर्सेनि लाखौं असुली गरे पनि आय–व्यय सार्वजनिक हुने गरेको छैन। तस्बिर : गोविन्द महतो
अमृतकुण्ड, बलदेवसर र गोपाल सरलगायतको जमिनमा व्यापारीहरूले कब्जा गरेर बजार बसाइसके। तैलघृतिकासर, मण्डनसर, चन्द्रकुप, रामसागर, मुरलीसर, पादप्रक्षालन गोडधोइसर, पुरन्दरसर, पाकवतिसर, दीर्घिकासर, लक्ष्मणसर, सेवामन्तकसर, धूतपापसर, सीताकुण्ड, पापमोचनीसर आदिले निरन्तर अतिक्रमण खेप्दै आएको २०६२ सालको सरकारी प्रतिवेदनले जनाएको छ।
जनकपुरधामका विभिन्न गुठीको जमिनमा हजारभन्दा बढी परिवारले अतिक्रमण गरेर भोगचलन गर्दै आएका छन्। यसरी देवभूमि अतिक्रमण गर्नेहरूमा सांसददेखि पूर्वमन्त्री, सांसद र स्थानीय नेतादेखि ठूला व्यापारिक घरानासमेत संलग्न रहेको पाइन्छ। गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न पूर्वसचिव भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ।
जानकी जन्मिएको क्षेत्रलाई धार्मिक र दैविक पहिचान दिन टिकमगढकी महारानी वृषभानुले सन् १९९८ मा जानकी मन्दिरको निर्माण गरिदिएकी थिइन्। यसै मन्दिरको संरक्षणका लागि धनुषा र महोत्तरी जिल्लामा विभिन्न २३ गुठी खडा गरी ६ हजार बिघाभन्दा बढी जमिनको देवगुठी स्थापना भएको थियो। सोही गुठीको ५ हजार बिघाभन्दा बढी जमिन अहिले व्यक्ति विशेषको कब्जामा छ। जनकपुर संरक्षणका दाताले दान गरेका जानकीको ६ हजार बिघा गुठीको जमिनमध्ये ५ हजार बिघा गुठीको आडमा मन्दिरका महन्थहरूले बिक्री गरेर खाइसके। सम्पत्ति जोड्ने होडबाजीमा लागेका महन्थहरूले धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक पोखरी र मठमन्दिरको जगसमेत मासेर अर्बौंको निजी सम्पत्ति जोडेका छन्।
महन्थको अर्बौं सम्पत्ति
धनुषा नगराइन नगरपालिका–५ गंगुलीस्थित मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र शिक्षण अस्पतालका संस्थापक जानकी मन्दिरका महन्थ रामतपेश्वर दास हुन्। धनुषा परवाहाको गरिब परिवारमा जन्मिएका रामतपेश्वर अहिले अर्बांैका मालिक बनिसकेका छन्। उनको मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र शिक्षण अस्पताल साढे ६ बिघा जग्गामा बनाइएको छ। अस्पतालको ६० प्रतिशत सेयर महन्थ आफैंको हो। बाँकी ४० प्रतिशत सेयर पनि उनका नातेदार निर्मला झा ठाकुरका नाममा राखिएको छ। निर्मला महन्थ रामतपेश्वर देवी झाकी अघोषित श्रीमती हुन्। मतदाता सूचीमा महन्त दासको श्रीमतीका रूपमा निर्मलादेवी झाको नाम खुलाइएको छ।
अस्पतालको जग्गा र भवनको सम्पत्ति मात्रै झण्डै ५० करोड रुयैयाँको छ। कलेज व्यवस्थापन राम्ररी हुन नसक्दा केही वर्षदेखि बन्द छ। जानकी मन्दिरबाट वार्षिक रूपमा उठ्ने भेटी र चढौना झण्डै २ करोडभन्दा बढी रामतपेश्वरले निजी तवरले खर्च गर्छन्। यो काममा उनलाई छोटे महन्त भनिने रामरोशन दासले सघाउँछन्। उनीहरूले आफ्नो निजी सम्पत्तिको रकम जस्तै गरी उपभोग गर्दै आएका छन्, जसको न कुनै आय–व्यय सार्वजनिक हुन्छ, न त कुनै लेखापरीक्षण नै हुन्छ।
जनकपुरधामको जग्गा बेचबिखनबाट आएको अबैध कमाई नै महन्थको सम्पत्ति बन्यो। देवत्वको भूमिको जग्गा बेच्ने र त्यसैबाट आउने नगदलाई रुपैयाँमा बदल्ने प्रवृत्ति पछिल्लो समय बढेर गएको छ। जग्गाको विषयमै महन्थहरूबीच आपसी झगडा हुँदा सशस्त्र समूहहरू परिचालित गरेर अपहरण गर्ने, फिरौती असुल्ने र हत्या गर्नेसम्मको अपराध भएको तथ्य प्रहरी अनुसन्धानबाट देखिएको तत्कालीन धनुषाका प्रहरी उपरीक्षक (हालः डीआईजी) उत्तमराज सुवेदी बताउँछन्।
२०६२/०६३ मा मधेस आन्दोलनका क्रममा तराई–मधेस क्षेत्रमा दर्जनौं भूमिगत सशस्त्र समूह देखा परे। अधिकांश सशस्त्र समूहले गुठीको जग्गामा आँखा गाडे। धम्क्याउँदै गुठीको जग्गा कौडीको भाउमा किने। त्यही जग्गा महँगोमा बेचेर रातारात अर्बपति बने। जसमा महन्थको प्रत्यक्ष संलग्नता थियो। त्यसबेला सशस्त्र समूहको नाममा जग्गा किनबेचदेखि अपहरण, फिरौती र रकम असुलीका घटना दैनिक हुन्थे।
महन्थबीच विवाद
२०५३ सालमा रामतपेश्वर दास जानकी मन्दिरमा ५ वर्षका लागि महन्थमा नियुक्त भए। नियमअनुसार उनी ०५८ सालमा पदमुक्त हुनुपर्ने हो। तर, हालसम्म महन्थ छन्। झण्डै २० वर्षदेखि ‘अवैध’ रूपमा मन्दिरमा हालिमुहाली जमाइरहेका छन्।
गुठी संस्थानले २०७० माघ १७ मा रामतपेश्वर दासलाई हटाएर जगदीश दास वैष्णव ‘त्यागी’ लाई ‘एक वर्ष परीक्षण कालसहित’ पाँच वर्षका लागि महन्थ पदमा नियुक्त गर्यो। तर, प्रक्रिया नपुर्याई नियुक्त गरिएको भन्दै रामतपेश्वर र उनका समर्थकले १९ माघमा गुठी संस्थान जनकपुरका तत्कालीन प्रमुख दीपक पाण्डेलाई कार्यकक्षमै मोसो दले र कार्यालयमा तालाबन्दी पनि गरे।
सर्वोच्च अदालतले ३ कात्तिक २०७० मा रामतपेश्वरको नियुक्तिमा समयावधि उल्लेख नरहेको हुँदा अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्दै फैसला सुनाएकाले आफ्नो पद नसकिएको रामतपेश्वरको तर्क छ।
गुठीको जग्गा अतिक्रमण र जानकी मन्दिरको आम्दानीमा अनियमितता गरेकाले रामतपेश्वरलाई त्यसबेला पदमुक्त गर्नुपरेको गुठी संस्थान सञ्चालक समितिका तत्कालीन अध्यक्ष पञ्चलाल महर्जनको भनाइ छ। रामतपेश्वरलाई महन्थ नियुक्त गर्दा समयावधि उल्लेख नरहेकाले पाँच वर्षपछि उनको पदावधि स्वतः समाप्त भएको महर्जनको दाबी छ।
यता गुठी संस्थान जनकपुरले नियुक्ति गरेका जगदीश दास वैष्णव ‘त्यागी’ अहिले पनि विधिसम्वत् आफू जानकी मन्दिरको महन्थ हुनुपर्ने तर्क गर्छन्।
मन्दिरको आम्दानी, महन्थको निजी सम्पत्ति
जानकी मन्दिर अधीनस्त पोखरी, बजार, रामजानकी विवाह मण्डप, साँस्कृतिक संग्रहालय, फोटो ठेक्कालगायतबाट बर्सेनि १० करोड आम्दानी हुन्छ। तर, खर्चको कुनै लेखाजोखा छैन। २०५३ सालमा नियुक्त भएका रामतपेश्वर दास वैष्णवले महन्थको ताज ‘पगडी’ लगाएपछि मन्दिरको श्रीसम्पत्ति आफ्नो निजी सम्पति झैं प्रयोग गर्दै आएका छन्। जानकी मन्दिरको सम्पत्तिको न कुनै पारदर्शिता छ, न कुनै लेखाजोखा नै। महन्थ रामतपेश्वर र उनका चेला रामरोशन दासले मनपरी ढंगमा सम्पत्तिको प्रयोग गरिरहेका छन्। नातामा मामा–भान्जा पर्ने रामतपेश्वर र रामरोशनको मिलिमतोमा अधिकांश रकमको दुरुपयोग हुने गरेको छ। रामतपेश्वर महन्थ भएदेखि गुठीको लेखापरीक्षण हुन सकेको छैन। कुनै पनि वर्ष आयव्यय सार्वजनिकसमेत गरिएको छैन।
टेण्डर नगरी सुटुक्क ठेक्का
जानकी मन्दिरको आम्दानीका स्रोतहरूमध्ये पोखरी, सटर, विवाह मण्डपलगायत ठेक्का प्रक्रियाका लागि न टेण्डर आह्वान हुन्छ, न त सार्वजनिक सूचना नै प्रकाशन हुन्छ। तर, कमिसनको चलखेलमा महन्थ रामतपेश्वरदेखि छोटे महन्थ भनिएका रामरोशनको सेटिङमा हरेक वर्ष एउटै व्यक्तिले ठेक्का पाउने गरेको छ। ठेक्का पाउने जति सबै रामतपेश्वर र रामरोशनको निकट मान्छे हुन्छन्। जसले उनीहरूलाई हर प्रकारले ‘रिझाउन’ प्रयत्न गर्छन्।
रामरोशन दास बेला–बेलामा विवादमा आउने गर्छन्। उनलाई महन्थ रामतपेश्वर दासले नै मन्दिरको आर्थिक हिसाब किताबमा पारदर्शिता नअपनाएको आरोप लगाउँदै आएका छन्। उनीहरूले एकापसमा आरोप प्रत्यारोप लगाउने गरे पनि ‘कमिसन’ मा भने चोचोमोचो मिलाउने गर्छन्। मन्दिरकै आम्दानीबाट रामरोशन दासले १ करोड २५ लाख पर्ने आलीसान इन्भो कार चढ्ने गरेका छन्।
यता महन्थ दासको भने आफूले मठमन्दिरको कुनै जग्गा बिक्री वितरण नगरेको दाबी छ। ‘मैले मन्दिरको एउटा पनि जग्गा बेचेको छैन,’ महन्थ दास भन्छन्, ‘यदि बेचेको छ भने जानकी माताले हेरिरहनुभएको छ। उहाँले नै सजाय दिनुहुन्छ।’ रामरोशन दास भने यस विषयमा सम्पर्कमा आउन चाहँदैनन्। जति पटक फोन गरे पनि उनको मोबाइल उठ्दैन।