ई–पासपोर्ट जारी गर्दैछौं
२०६७ पुस ६ गतेदेखि मेसिन रिडेबल राहदानी (एमआरपी) लागू भयो।अब तेस्रो पुस्ताको विद्युतीय राहदानी वितरणको तयारी हुँदैछ। माघदेखि राहदानी विभागले ई–पासपोर्ट अर्थात् विद्युतीय राहदानी जारी गर्न लागेको हो। अन्नपूर्णकर्मी राजकरण महतो र सीताराम गुरागाईंले राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालसँग गरेको कुराकानी :
नेपालले पनि विद्युतीय राहदानी जारी गर्न लागेको हो ?
हालको मेसिन रिडेबल राहदानी र विद्युतीय राहदानीमा फरक छ ?
मेसिन रिडेबल राहदानीको तस्विर भएको पेज अर्थात् डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकगनाइजेसन फम्र्याटमा मेसिन रिडेबल जोन हुन्छ। राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन्। विद्युतीय राहदानीमा यसको अलावा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुन्छ। चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन्। यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन।
विभागले चाँडै जारी गर्न लागेको यसका विशेषता ?
नेपालले जारी गर्न लागेको पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो। पोलिकार्बोनेट सहितको डाटा पेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिँदैन। यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो। अब जारी हुने साधारण राहदानीको रंग चकलेटी खैरो हुन्छ। साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी हुनेछ। अब जारी हुने राहदानीहरू कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण (३४ र ६६ पृष्ठ), सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने छन्। सिम्यान्स अभिलेख किताब जारी गर्न भने आन्तरिक तयारीको कारण केही बढी समय लाग्ने छ।
राहदानीका के के पुस्ता हुन्छन् ?
यसो हो। हातले लेख्ने राहदानीलाई पहिलो पुस्ताको राहदानी भनिन्छ। हाल प्रयोगमा रहेको मेसिन रिडेबल राहदानी दोस्रो पुस्ताको राहदानी हो। विद्युतीय राहदानी तेस्रो पुस्ताको राहदानी हो।
अरू पुस्ता पनि छन् कि ? विद्युतीय राहदानी बनाउनु पर्छ कि त्यसैले काम गर्छ ?
चौंथो पुस्ता पनि छ। चौैंथो पुस्ताका राहदानीमा पासपोर्ट कार्ड, स्मार्टफोन पासपोर्ट, क्लाउड पासपोर्ट, भर्चुअल आईडी आदि पर्छन्। तर चौथो पुस्ताको राहदानी कुनै देशले खासै चलनचल्तीमा ल्याएको अवस्था भने छैन। तर, भिसा आवश्यक नहुने केही सीमित देशहरूको भ्रमण गर्न मिल्ने गरी स्मार्ट कार्डहरू भने प्रयोग गर्ने गरिएको छ। हालको मेसिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन।
विद्युतीय राहदानी जारी भएपछि के कस्ता सुविधा हुने अनुमान गर्नु भएको छ ?
विदेशस्थित कुटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयहरूले रुजु गर्ने लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य गरी सकेपछि राहदानी विभागबाट राहदानी उत्पादन हुन्छ। मेसिन रिडेबल राहदानीका लागि आईसीआर फर्म स्क्यान गर्दा धेरै त्रुटि हुने सम्भावना हुन्छ। तर विद्युतीय राहदानीमा डिजिटल रूपमा फर्म भर्नुपर्ने हुनाले त्रुटि हुने सम्भावना पनि कम हुन्छ। विश्वमा हाल चलेको सबैभन्दा सुरक्षित र भरपर्दो राहदानी हुनाले विश्वासयोग्य हुनुको साथै विदेश यात्रामा सहजता हुन्छ। विद्युतीय गेटहरूमा पनि आफैं स्क्यान गरेर जान सकिने हुन्छ। लाइभ इन्रोलमेन्ट गर्नुपर्ने हुनाले पहिले जस्तै तस्बिरहरू नमिलेर दु:ख पाउनुपर्ने पनि हुँदैन।
राहदानीको म्याद सकिएपछि नवीकरण गर्नैपर्ने हो ?
पटक्कै होइन। राहदानी नवीकरणभन्दा पनि नयाँ नै बनाउने हो। बनाएर घरमा राख्न राहदानी बनाउनु पर्दैन। जहिले आवश्यक पर्यो त्यही बेला बनाउन सकिन्छ। यो चालक अनुमतिपत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन। जरुरी परेमा राहदानी विभागले एकै दिनमा राहदानी बनाइदिन्छ।
राहदानी लिने सेवाग्राहीलाई के सुझाव छ ?
राहदानी बनाउन अनधिकृत व्यक्तिलाई रकम नदिनु होला। बेलाबखत म राहदानी बनाइदिन्छु भनेर सोझासाझा सेवाग्राहीको रकम लिई ठग्ने गरेको पाइएको छ। विभागको वेवसाइटमा राहदानी तथा विद्युतीय भुक्तानी आदिसम्बन्धी विस्तृत विवरण राखिएको छ। त्यसलाई राम्रोसँग पढेर मात्र फर्म भर्नु हुन म अनुरोध गर्दछु। साथै नेपालबाट विद्युतीय राहदानी बनाउनेहरूको हकमा राष्ट्रिय परिचय पत्र वा सोको नम्बर आवश्यक पर्ने हुनाले यथासमयमै जिल्ला प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिई राष्ट्रिय परिचय पत्र वा नम्बर मात्र भए पनि लिइ राख्न अनुरोध गर्दछु।
सेवा सञ्चालनमा चुनौति के छन् ?
दैनिक आउने सेवाग्राहीको संख्या सीमित गरिएको छैन। कुनै दिन एक्कासि सेवाग्राहीको संख्या बढ्दा व्यवस्थापन गर्न कठिन हुन्छ। हामीहरूले बेलुका सात आठ बजेसम्म बसेर भए पनि उसै दिन राहदानी जारी गर्ने प्रबन्ध गरेका छौं।
विभागले राहदानी संग्रहालयको स्थापना गर्न लागेको हो ?
विद्युतीय सुविधासहितको राहदानी संग्रहालय हो। जुन विद्युतीय माध्यमबाट अडियो, भिडियोका रूपमा राहदानी विभागको वेवपोर्टलबाट पनि हेर्न सकिन्छ। हामीहरूले सार्वजनिक रूपमा सूचना जारी गरेर आफूसँग भएका संग्रहालयमा राख्न उपयुक्त हुने पुराना ऐतिहासिक राहदानी वा यससम्बन्धी कागजात, दस्तावेज आदि उपलब्ध गराउन अनुरोध गरिरहेका छौं। विभागले दुईवटा समिति गठन गरेर काम गरिरहेको छ।
पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयसँग समेत आवश्यक समन्वय गरेर काम गरिराखेका छौं। यसरी प्राप्त हुने राहदानी भपाई गरेर बुझी लिन्छौं। व्यक्तिगत विवरण हुने हुनाले लिखित स्वीकृति लिएर मात्र सार्वजनिक गर्दछौं। हालसम्मको सबैभन्दा पुरानो राहदानी १९५७ सालमा नेपाली कागजमा जारी राहदानी फेला परेको छ।
कहिलेदेखि सुरु गर्ने सोच छ ?
विद्युतीय संग्रहालयको रूपमा वेवपोर्टलमार्फत तीन महिनाभित्रै सार्वजनिक गर्ने छौं। त्यसको केही महिनापछि त्रिपुरेश्वरस्थित नवनिर्मित भवनमा भौतिक रूपमा भ्रमण गरी हेर्न सक्ने व्यवस्था गर्ने छौं।