बीपी प्रतिष्ठानका चिकित्सकले काम छाडेपछि स्वास्थ्य सेवा प्रभावित
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सबै चिकित्सकले काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ। सरकारले प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरूका जायज मागलाई पुरा गर्न अटेर गरेका कारण बाध्य भएर काम बहिष्कार गर्नु परेको आन्दोलनकारीहरूले जनाएका छन्।
चिकित्सकहरूले बिरामी जाँच गर्न छाडेर आन्दोलनमा उत्रिए पश्चात सयौं बिरामीहरू उपचार नपाएर प्रतिष्ठानमा अलपत्र परेका छन्।
चिकित्सकको आन्दोलनका कारण, मेडिसन, सर्जरी, हाडजोर्नी, प्रसुति, नाक कान घाँटी, मानसिक रोगका सयौं बिरामीहरू बिनाउपचार फर्किएका छन्। आन्दोलनका कारण प्रतिष्ठानको रेडियोलोजी विभागको सेवा पनि ठप्प भएको छ। आन्दोलनकारी चिकित्सकहरूले ओपीडी उपचारका लागि बिल काउण्टर खोल्न नदिए पश्चात प्रतिष्ठान आएका बिरामीहरूले पुर्जी काट्न समेत नपाएको धरान १६ की सेवाग्राही गीता खड्काले बताइन्।
बीपी प्रतिष्ठानका पदाधिकारीहरू उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करोडौं आर्थिक अनियमितता गरेको भन्दै पदाधिकारी बर्खास्त र प्रतिष्ठान सुधार गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरूले ८४औं दिनदेखि आन्दोलन थालेका थिए। प्रतिष्ठान सुधारको माग राखेर तीन महिनादेखि आन्दोलनलाई जारी राख्दा समेत सरकारले प्रतिष्ठान सुधारमा चासो नदेखाए पश्चात बाध्य भएर आइतबारदेखि आकस्मिक बाहेकका सबै काम बहिष्कार गर्नुपरेको बीपी प्रतिष्ठान सुद्धिकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले बताएका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गठन गरेको डा. बैकुण्ठ अर्यालको प्रतिवेदन कार्यान्वयन, सरकारले प्रतिष्ठानका आन्दोलनकारीहरूसँग र डा. गोविन्द केसीसँग गरेको सहमति कार्यान्वयन नगरेका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए।
प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपालीले सरकारले नै बीपी प्रतिष्ठानका भ्रष्टाचारी पदाधिकारीहरूलाई संरक्षण गरेका कारण प्रतिष्ठान सुधार गर्नका लागि चिकित्सकहरूले काम बहिष्कार गरेको बताए। उनले आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परीक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प पारिएको बताए।
प्रतिष्ठानका चिकित्सकहरूले बिरामी जाच्न छाडेर आन्दोलनमा उत्रिए पश्चात धरानका कांग्रेस, एमाले, माओवादी, केन्द्र, जसपा लगायतका दलहरूले तत्काल उपचार सेवा सुचारु गर्न माग गरेका छन्। माओवादी केन्द्र धरानका अध्यक्ष शुर्दशन श्रेष्ठले तत्काल उपचार सेवा सुचारु नगरे राजनैतिक दलहरूको अर्को आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।