अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने अमेरिकी सेनाको चेतावनी, जापानमा पहिलो महिला प्रधानमन्त्री बन्‍ने सम्भावना

अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने अमेरिकी सेनाको चेतावनी, जापानमा पहिलो महिला प्रधानमन्त्री बन्‍ने सम्भावना

प्यारा ओलम्पिक्स सम्पन्न

टोक्यो: जापानको राजधानी टोक्योमा अगष्ट २४ देखि आयोजित १६ औं प्याराओलम्पिक्स खेल आइतबार सम्पन्न भएको छ ।

इन्टरनेस्नल प्याराओलम्कि कमिटीले टोक्योमा १३ दिन लामो प्याराओलम्कि खेलको आइतबार साँझ समापन गरेको हो । टोक्यो ओलम्पिक समाप्त भएको करिब २ हप्तापछि प्यारा ओलम्पिक्स खेल सुरु भएको थियो । जापानको आयोजनामा भएको प्यारा ओलम्पिक्समा संसारभरबाट ४ हजार ४ सय खेलाडीले भाग लिएका थिए भने विभिन्न २२ खेलमा प्रतिस्पर्धा भएको थियो ।

000

आईएस हमलामा १३ इराकी प्रहरी मारिए

बग्दादः इस्लामिक स्टेटको आक्रमणबाट आइतबार १३ इराकी प्रहरी मारिएका छन् । इराकको किरकुश सहरस्थित एक चेक प्वाइन्टमा भएको आत्मघाती हमलामा १३ प्रहरी मारिएका छन् भने तीन प्रहरी गम्भीर घाइते भएको एएफपीले जनाएको छ ।

एएफपीका अनुसार उत्तरी इराकमा अवस्थित किरकुक सहरमा आईएसआईएसले प्रहरी चेक प्वाइन्टलाई लक्षित गरी हमला गरेको थियो । सो हमलामा १३ प्रहरी जवानको मृत्यु भएको हो।

इराकको सुरक्षा तथा मेडिकल स्रोतका अनुसार किरकुक सहरदेखि ६५ किलोमिटरको दूरीमा रहेको प्रहरी चेक प्वाइन्टमा आइतबार बिहान हमलाकारी र प्रहरीबीच दुई घण्टासम्म दोहोरो भीडन्त भएको थियो । हमलाकारीले प्रहरी जवान सवार गाडीमा बम हमला गरेका थिए । सो क्षेत्रमा इस्लामिक स्टेट सक्रिय रहे पनि आइएसले सो हमलाको जिम्मा लिएको छैन ।

00

अफगानिस्तानमा फेरि गृहयुद्ध हुनसक्ने अमेरिकी सेनाको चेतावनी

काबुल: अफगानिस्तानको पञ्‍जशीर उपत्याकालाई नियन्त्रणमा लिन तालिबानले शनिबार गरेको हमलाले अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने अमेरिकी सेनाले चेतावनी दिएको छ ।

अमेरिकी सेना प्रमुख मार्क मिल्ल्लीले तालिबान र तालिबान विरोधीहरुबीच चलिरहेको युद्धले अफगानिस्तान गृह युद्धमा होमिने चेतावनी दिएका हुन् । अफगानिस्तानको पञ्‍जशीर उपत्यका आफ्नो नियन्त्रणमा लिनका लागि तालिबान र तालिबान विरोधीहरुबीच लडाइँ भइरहेको छ । दुबै समूहको लडाइँले अफगानिस्तान फेरि गृह युद्धमा होमिने जोखिम उच्च रहेको मार्कले चेतावनी दिएका हुन् ।

‘दुबै पक्षले पञ्‍जशीर आफ्नो भएको दाबी गरिरहेका छन् । पञ्‍जशीरको लडाइँले अफगानिस्तानमा ठूलो तनाब उत्पन्न गराउने खतरा उच्च छ’ मार्क मिल्लीले भनेका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भइसकेपछि तालिबानले पञ्जशीरलाई नियन्त्रणमा लिन पटक पटक हमला गरिरहेको छ । तालिबानका प्रवक्ता विलाल करिमीले पञ्जशीरका ७ जिल्लामध्ये खिन्ज र उनाबाह तालिबानको नियन्त्रणमा लिएको र अन्य जिल्ला कब्जा गर्न हजारौँ तालिबान सैनिकहरु अघि बढिरहेको बताएका छन् ।

अफगानिस्तानको नेसनल रेजिस्टेन्स फ्रन्टका प्रवक्ता फाहिम दास्तीले पञ्जशीरमा दुबै पक्षबीच ‘भीषण युद्ध’ चलिरहेको बताएका छन् । अमेरिकी सेना प्रमुखले तालिबान र तालिबान विरोधीबीच जारी भीषण युद्धले अफगानिस्तानमा गृह युद्ध निम्तिने बताउँदै भनेका छन्, ‘तालिबानले पञ्जशीर नियन्त्रणमा लिन र नयाँ सरकार गठन गर्न सक्छ या सक्दैन तर अफगानिस्तानको अहिलेको अवस्थाले उग्र रुप लिएमा गृह युद्ध हुने करिब पक्का छ ।’

०००

जापानमा पहिलो पटक महिला प्रधानमन्त्री बन्‍ने संकेत

टोक्योः जापानको प्रधानमन्त्री पदमा पहिलो पटक महिलाले नियुक्ति पाउनसक्ने सम्भावना देखिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

आगामी प्रधानमन्त्री चुनावको दाबेदार मानिएकी जापानकी पूर्व आन्तरिक मामिलामन्त्री साना ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री हुने पक्का रहेको आइतबार जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री योसिहिदे सुगाले शुक्रबार आगामी चुनावमा नउठ्ने घोषणा गरेसँगै ताइकाची जापानको पहिलो महिला प्रधानमन्त्री हुने संकेत देखिएको जापानी मिडियामा खबर छ । उनी सत्ताधारी लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी)को तर्फबाट प्रधानमन्त्री पदको लागि लड्ने बताइएको छ ।

६० वर्षीय ताइकाची वरिष्ठ नीति निर्मातामध्ये एक हुन् । उनले जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने उदेश्य राखेको क्योदो न्युजमा खबर छ । ताइकाची पूर्वप्रधानमन्त्री सिन्जो आवे निकट र बेलायतीकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरको प्रशंसकको रुपमा चिनिन्छिन् । चीन र दक्षिण कोरियाको सन्दर्भमा उनले विगतमा ठूलो आलोचना समेत खेपेकी थिइन् ।

00

९ महिनाका गर्भवती महिला इजरायल जेलबाट छुटे

जेरुसेलम: गर्भवती भएको ९ महिना पुगेका प्यालेस्टेनी महिलाहरु इजरायलको जेलबाट रिहा भएका छन् । जेल परेका गर्भवती महिलाहरुलाई सुत्केरी अवस्थामा पुगेपछि आइतबार नजरबन्दीमा रिहा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गर्भवती महिलालाई जेलबाट छुटाउनु पर्ने माग राख्दै इजरायललाई विभिन्न क्षेत्रबाट दबाब आएको थियो । प्यालेस्टेनीहरु सार्वजनिक अभियान सामाजिक सञ्जालमार्फत भाइरल बनेपछि अन्तर्राष्ट्रिय निकायको ध्यान तानेको थियो ।

अन्तर्राष्ट्रिय निकायले घटनाको निन्दा गर्दै ९ महिना पुगेका गर्भवती महिलालाई जेलबाट छुटाउन आग्रह गरेको थियो । जेलबाट रिहा भएका गर्भवती महिलालाई २४ घण्टा निगरानीमा राखिएको छ । इजरायली सैनिकमार्फत पक्राउ परेका दर्जनौ प्यालेस्टेनी महिलाहरु इजरायलको जेलमा कैद भएको अलजजिराले जनाएको छ । 

000

आईयूसीएनको खतराको सूचीमा संसारकै ठूलो छेपारो

जाकर्ता: इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (आईयूसीएन)ले वन्यजन्तुबारे ताजा जानकारी सार्वजनिक गर्दै ड्रयागन प्रजातिको संसारकै ठूलो जीवित छेपारोलाई रातो सूची (खतरा) मा राखेको छ ।

इन्डोनेसियामा पाइने छेपारो प्रजातिको ‘कोमोदो ड्रयागन’लाई खतराको सूचीमा राखिएको हो । कोमोदो ड्रयागन विश्व सम्पदा सूचीमा सूचीकृत इन्डोनेसियाको कोमोदो राष्ट्रिय निकुन्जमा मात्र पाइन्छ ।

कोमोदो ड्रयागनसँगै सार्क माछा, एटलान्टिक ब्लुफिन टुना, जापानमा पाइने सूसी आदिलाई पनि आइसीयूएनले खतराको सूचीमा राखिएको छ । आगामी ४५ वर्षसम्म विश्वबाट ३० प्रतिशतभन्दा बढी प्रजातिका जीवहरु लोप हुने प्रक्षेपण पनि आइयूसीएनले गरेको छ ।

वन्यजन्तु संरक्षणसम्बन्धी विश्वव्यापी निकायले गरेको मुल्यांकन अनुसार मानवीय गतिविधिका कारण संसारबाट १ लाख ३८ हजारमध्ये २८ प्रतिशत प्रजाति संसारबाट सधैँका लागि लोप हुने अवस्थामा छन् ।

शनिबार एक रिपोर्ट सार्वजनिक गर्दै आइयूसीएनले वन्यजन्तुको वासस्थानमा ह्रास, वन विनास, वन्यजन्तुको अवैध व्यापार र जलवायू परिवर्तनको कारण विभिन्न प्रजातिका वन्यजन्तुहरु जोखिममा छन् । पृथ्वीबाट विभिन्न प्रजातिको लोप र प्रर्यावरणीय चक्रको विनाशले खतराको संकेत दिइरहेको आइसीयुएनले बताएको छ ।

000

जी ७ मुलुकले रुस र चीनसँग छलफल गर्ने

टोक्योः जी ७ मुलुकका विदेशमन्त्रीहरुले आगामी हप्ता अफगानिस्तान मुद्दाबारे चीन र रुससँग छलफल गर्ने भएका छन् । जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगीले आइतबार जापानी न्युज च्यानल एनएचकेसँग अफगानिस्तानको मुद्दामाथि जी ७ बैठक बोलाइएको बताएका छन् ।

उक्त बैठकमा जी ७ समूहका सदस्य मुलुकहरुले अफगानिस्तान मुद्दाबारे चीन र रुससँग छलफल गर्ने समेत उनले जानकारी दिएका छन् । जी ७ मुलुकका विदेशमन्त्रीहरुको बैठक सेप्टेम्बर ८ मा आयोजना गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको अगुवाइमा भर्चुअल माध्यममार्फत सो बैठक आयोजना गरिएको छ । बैठकमा २० भन्दा बढी मुलुकका कुटनीतिज्ञ सहभागी हुने अपेक्षा गरिएको छ । जापानका विदेशमन्त्री मोतेगीले रुस र चीनका प्रतिनिधीहरुलाई सो बैठकमा सहभागी हुन आग्रह गरेका छन् । 

000

नक्कली शरणार्थी बनेर न्यूजिल्याण्ड पुगेका आईएस सदस्यले सिकाए पाठ

वेलिंटन: सिरिया, म्यानमार र अफगानिस्तान लगायत मुलुकबाट आएका शरणार्थीलाई शरण दिएको न्यूजिल्याण्डमा शनिबार बिहान भएको आतंककारी हमलाले झस्काइदिएको बताइएको छ ।

शनिबार भएको आतंकवादी हमलाले आफूहरुलाई ठूलो पाठ सिकाएको न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले बताएकी छन् । ‘जालझेल गरेर शरणार्थी बनेका ती आतंककारीले हामीलाई नयाँ पाठ सिकाएका छन् । नक्कली शरणार्थी बनेर मुलुक प्रवेश गर्ने त्यस्ता आतंककारी हाम्रो राष्ट्रिय सुरक्षाको लागि खतरा बनेको छ ’ उनले भनेकी छन्, ‘जानाजान न्यूजिल्याण्डमा आतंक फैलाउन गरिएको आईएसको यो कदम सह्य छैन । कानुनको नजरमा कसैलाई छुट छैन ।’

सरकारले शंकास्पद शरणार्थीलाई पहिलेदेखि नै खोजिरहेको र मुलुकबाट हटाउन खोजिएको जानकारी समेत आइतबार प्रधानमन्त्री जेसिन्डाले दिएकी छन् । न्युजिल्याण्ड सरकारले तत्कालै शरणार्थी प्रक्रियाको अन्त्य गर्ने जनाएको छ ।

नक्कली शरणार्थी बनेर १० वर्षअघि न्यूजिल्याण्ड छिरेका एक आईएसका सदस्यले न्यूजिल्याण्डको वेलिङस्टनस्थित शनिबार बिहान अन्धाधुन्ध आक्रमण गरेका थिए । सो आक्रमणमा परी ७ जना गम्भीर घाइते भएका थिए । हमलापछि ३२ वर्षीय अहमद आतिल मुहम्मद समसुद्दीन न्यूजिल्याण्ड प्रहरीको हातबाट मारिएका थिए ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.