कोरोनाले भत्काएको सञ्चार–सेतु
सही र परख गरिएका सूचनाको साटोमा आग्रह मिश्रित र अपुष्ट समाचार अनलाइन हुँदै सामाजिक सञ्जालमा छाएका छन्।
कोभिड–१९ ले सञ्चार क्षेत्रमा पारेको प्रभावले आमनागरिकको मनमस्तिष्कमा असर गरेको छ। सञ्चारमाध्यमले प्रसारण प्रकाशन गरेर जुन सूचना जनताबीच पुग्छ, त्यसले उनीहरूको जीवनमा प्रभाव पारेको हुन्छ। सञ्चार क्षेत्रलाई पनि उद्योग भनिन्छ। सञ्चारमाध्यमहरू सूचना उद्योगका महत्त्वपूर्ण घटकहरू हुन्। तर, आमसञ्चार उद्योग अरूभन्दा भिन्न छ। अरूले उत्पादन गर्ने बस्तु वा सेवाले मानिसको जीवनमा बाहिरबाट प्रभाव पार्छ। त्यसको असर सीमित र क्षणिक हुन्छ। तर, आमसञ्चारमाध्यमले प्रवाह गरेको सूचनाको प्रभाव मानिसको दिमागमा पर्छ। त्यही प्रभावका आधारमा अर्को दिनदेखि त्यस मानिसले व्यवहार गर्न थाल्छ। यसरी सूचनाले समाजभित्रका मानवीय गतिविधि र सम्बन्धको गतिशीलतामा प्रभाव पारिरहेको हुन्छ।
समाजमा परेको त्यो प्रभाव सकारात्मक पनि हुनसक्छ र नकारात्मक पनि। तर, सञ्चारमाध्यमले त्यस प्रकारका सूचना प्रकाशन वा प्रसारण गर्नुपर्छ। जसले समाजमा सकेसम्म सकारात्मक प्रभाव पारोस्। त्यहाँका मानिसको जीवनस्तर परिवर्तन र समाज रूपान्तरणमा योगदान हुन सकोस्। तर, यहाँ सूचना प्रवाहका कारण समाजमा पारेको प्रभावका बारेमा होइन, सही सूचना प्रवाह हुन नसक्दा नेपाली समाजमा परेको असरको चर्चा छ। यो एक किसिमले सूचनाको प्रभावबाट सामाजिक मनोविज्ञानमा पारेको नकारात्मक असरको विश्लेषण हो। अहिले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को वितण्डाको चपेटामा नेपाली आमसञ्चारमाध्यम र नेपाली जनता पर्नु अस्वाभाविक होइन। त्यही भएर बेलाबेलामा कोभिड–१९ का कारण सञ्चार क्षेत्रमा परेको असरका बारेमा चर्चा हुने गर्छ। अलि सामान्य अवस्था बन्दै गएपछि अझ योभन्दा धेरै चर्चा परिचर्चा हुनेछ।
अनुसन्धान र खोज हुनेछ। यो गम्भीर र समाजका लागि संवेदनशील विषय भएकाले पनि अरू क्षेत्रको भन्दा बढी चर्चा परिचर्चा हुने गर्छ। तर, कोभिड–१९ लागेर मरनच्याँसे बनेको सञ्चारमाध्यमले पस्तुत गरेका रोगी सामग्रीहरूले नेपाली समाज र यहाँका विभिन्न चेतनाका समुदायमा के कस्तो प्रभाव परिरहेको छ भन्ने बारेमा खासै चर्चा हुने गरेको छैन। यस कोणबाट त्यति अध्ययन पनि भएको छैन। यो लेख त्यही ओझेल पक्षमा केन्द्रित छ। कोभिड–१९ का कारण नेपालका सबै सञ्चारमाध्यम प्रभावित छन्। कोभिड–१९ पूर्व नेपाली जनताको सूचनाको मुख्य स्रोत पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरू थिए।
अचेल घरका रेडियो र टेलिभिजन हप्तौं खुल्दैनन्। पत्रपत्रिका आउँदैनन्। आए पनि नखोली यसै थन्क्याइन्छ।
देशभरिमा लगभग एक हजार छापा माध्यम, ६ सय रेडियो, करिब ६ दर्जन टेलिभिजन च्यानल र करिब पाँच सय अनलाइन समाचार पोर्टलले नेपाली जनताबीच सूचनाको व्यापार गरेर नेपाली जनताको भोक मेटाउने प्रयास गरिरहेका थिए। विराटनगरमा कुरा गर्दा आधा दर्जन राष्ट्रिय दैनिकको क्षेत्रीय प्रकाशन थिए। हरेक अखबार प्रत्येक दिन कम्तीमा १६, २० र २४ पृष्ठमा विविध सामग्रीका साथ प्रकाशित हुन्थे। तिनमा धेरैजसो समाचार हुन्थे। प्रदेशस्तरीय अखबारहरू पनि दैनिक ४ देखि ८ पृष्ठसम्मका प्रकाशित हुन्थे। रेडियो, टेलिभिजन र अनलाइनहरूले दिने समाचार पनि प्रशस्त थिए। मानिसले यीमध्ये मन परेका माध्यमबाट समाचार पढ्थे, सुन्थे र हेर्थे।
एउटाबाट आएको समाचारको सत्यतामाथि शंका लागे अर्को सञ्चारमाध्यमसँग दाँजेर परख गर्दथे। सूचनाको बहुलता थियो। मानिस सूचनालाई परख गरेर बुझ्ने र घटना वा विषयवस्तुको गहिराइमा पुगेर धारणा बनाउँथे। जुन धारणा यथार्थको नजिक हुन्थ्यो। जिम्मेवार मानिसले दिने सुझाव वा समाधानले मानिसको विश्वास जित्थ्यो। मानिसले समाचारमूलक सञ्चारमाध्यममा विश्वास गर्थे। पत्रकार वा सञ्चारकर्मीमाथि भरोसा गर्दथे। मानिसको दिनचर्या सञ्चारमाध्यमले दिएका सूचनामा आधारित हुन्थ्यो। समाजलाई पत्रकारले मार्गदर्शन गरिरहेका हुन्थे। पत्रकारहरू आमशिक्षक थिए।
अहिलेको अवस्था फरक छ। सबैलाई कोरोनाले चिथोरेको छ। कोरोनाले पत्रकार र समाजबीचको विश्वासको सेतु भत्काइदिएको छ। समाजलाई समाचारमूलक सञ्चारमाध्यमको पकडबाट खोसेर सामाजिक सञ्जालको पकडमा पु¥याइदिएको छ। आज राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकका क्षेत्रीय प्रकाशनहरू बन्द छन्। प्रदेशभित्र प्रकाशित अखबारहरू बेलाबेलामा स्थगित हुँदै प्रकाशित भइरहेका छन्। त्यो पनि न्यूनतम पृष्ठमा। रेडियो र टेलिभिजनहरू सीमित जनशक्तिमा चलेका छन्। समाचारमूलक कार्यक्रमहरू घटाएर जनशक्ति कम लाग्ने र बाहिर नगई तयार गर्न सकिने साहित्यिक कार्यक्रम बढी मात्रामा प्रसारण भइरहेका छन्।
सञ्चार गृहले पत्रकारका लागि सुरक्षाको प्रत्याभूति गर्न सकेको छैन। जोगिएर काम गर्नु, फोन वा अन्य माध्यमको प्रयोगबाट सूचना संकलन गर्नु भनिएको छ। घटनास्थल पुग्ने, विभिन्न स्रोतबाट सूचना लिने, परीक्षण गर्ने र सही कुरा पर्गेलेर समाचार लेख्न सम्भव छैन। जेजति समाचारहरू लेखिन्छन्, भरिसक दोस्रो स्रोतबाट र घटनास्थल पुगेको पत्रकारको सहयोगमा लेखिन्छन्। अधिकांश अखबार बन्द छन्। प्रेस काउन्सिल वा यस्तै महत्त्वपूर्ण ठाउँमा पठाउन मात्र उत्पादन गरिरहेका छन्। प्रकाशित हुँदा पनि सीमित संख्यामा प्रकाशित भइरहेका छन्। केही पत्रकार र सञ्चारकर्मीले अनलाइन सञ्चारमाध्यम सञ्चालन गरिरहेका छन्। जेजसो गरेर अलिअलि तथ्य र अलिअलि कथ्य मिसाएर समाचार सम्प्रेषण गरिन्छ।
अनलाइनमा आएको समाचारको शीर्षक परिवर्तन गरी छापिन्छ। पाठकले विभिन्न अनलाइनमा पटकपटक घुमीघुमी आएको त्यही समाचार पटकपटक पढ्न बाध्य छन्। सही र परख गरिएका सूचनाको साटोमा आग्रह मिश्रित र अपुष्ट समाचार अनलाइन हुँदै सामाजिक सञ्जालमा छाएका छन्। मानिसले त्यही आधारमा धारणा बनाउँदै र दैनिकी निर्धारण गरेर अगाडि बढिरहेका छन्। यो गतिमा हाम्रो समाज कता जाँदैछ, सोचनीय विषय छ। समाचार कक्ष र समाज दुवै कोभिड–१९ को प्रभावका कारण विगतभन्दा बढी प्रविधिमैत्री बनेका छन्। फेसबुक, ट्विटर, इस्टाग्राम आदि सामाजिक सञ्जालहरू सूचना प्राप्त गर्ने पहिलो माध्यम बनेका छन्। यीमध्ये पनि टिकटक सबैभन्दा लोकप्रिय छन्। यसले धेरैलाई कलाकार बनाइदिएको छ, प्रतिभा प्रस्फुटन गराएको छ।
घटनास्थलमा भएको यथार्थ सामाजिक सञ्जालको माध्यमबाट जो कोहीले तत्काल सार्वजनिक गर्छ। तस्बिर मात्र होइन, भिडियोमा चित्रण गरिन्छ। घटनास्थलको यथार्थ चित्रण गर्न जोकोही सक्ने भएका छन्। पत्रकारबाट नियन्त्रित सूचनाको भर पर्नु वा सम्पादकीय प्रक्रिया पूरा भइञ्जेल सूचनाको प्यासी बनेर पर्खिरहनु पर्दैन। अर्कोतिर सामाजिक सञ्जालका नयाँ प्रयोगकर्ता थपिएका छन्। हिजो कक्षा १२ पार नगरुञ्जेलसम्म मोबाइल, मोटरसाइकल र मिडी प्रतिबन्ध गर्ने कार्ययोजना बनाउने विद्यालयहरू नै विद्यार्थीका लागि इन्टरनेटको सुविधा र स्मार्टफोन खरिद गरिदिन अभिभावकसँग आग्रह गर्दैछन्।
नत्र अनलाइन कक्षा नै सञ्चालन हुँदैन। यसबाट सानो उमेरका बालबालिकाको पहुँच स्मार्ट मोबाइल र असीमित सूचनाको स्रोत इन्टरनेटमा पुगेको छ।
अनलाइनका प्रयोगकर्ताहरू अब बालबालिका र किशोरकिशोर अत्यधिक छन्। घरमा भएका रेडियो र टेलिभिजन सेटहरू हप्तौं खुल्दैनन्। पत्रपत्रिका आउँदैनन्। आए पनि नखोली थन्क्याइन्छ। यसरी मानिस अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालले प्रस्तुत गरेका विषयवस्तुमा निर्भर भइसकेको अवस्था छ। यद्यपि ‘डिजिटल डिभाइड’को असर त छँदैछ। सबैको पहुँचमा यी सञ्चारमाध्यम पुगिसकेका होइनन्। तथापि आमरूपमा परम्परागत सञ्चारमाध्यमप्रति मानिसमा अरुचि
पैदा भएको तथा अनलाइन र सामाजिक सञ्जालमा रुचि र निर्भरता बढेको सत्य हो।
मानिस समाचारमूलक सञ्चारमाध्यम पढेर, सुनेर वा हेरेर होइन, सामाजिक सञ्जालमा पाइएका सामग्रीका आधारमा धारणा बनाउँदै छन्। अझ खतरनाक अवस्था त के छ भने मानिस सामाजिक सञ्जालबाट आएका सामग्री र सम्पादकीय प्रक्रिया पूरा गरेर पत्रकारले तयार पारेका सामग्रीबीच फरक छुट्ट्याउन सक्ने अवस्थामा छैनन्। सामाजिक सञ्जालमा लेखिएका स्टाटसलाई पनि पत्रकारले लेखेको समाचार ठानेर ग्रहण गरिरहेका हुन्छन्। अलिकति चित्त नबुझे पत्रकारलाई गाली गर्छन्। तर, आममानिस पत्रकारिताको विधिबाट तयार भएका तथ्यपरक समाचार सामग्रीको अभावमा सामाजिक सञ्जालबाट आएका अप्रमाणित र अप्रशोधित सामग्रीको प्रभावमा परिरहेका छन्। यसबाट समाजमा नकारात्मक सोच बढेको छ। कुनै नेता, अभिनेता वा समाजका अगुवाप्रति लेखिएको समाचार वा लेख वा स्टाटसप्रति बाँकीले गरेको टिप्पणी हेर्ने हो भने अधिकांश नकारात्मक कोणबाट लेखिएका छन्। यसको अर्थ हो, भ्रामक सूचनाको सञ्जालले दिमाग नकारात्मकताले भरिँदो छ। यही गतिले अगाडि बढ्दै हाम्रो समाज कहाँ पुग्छ ? चिन्ता गर्नुपर्ने भएको छ।
कोभिड–१९ को प्रभाव कम हुँदैछ। विस्तारै सामान्य अवस्थामा जनजीवन फर्किनु नै छ। तर सामान्य अवस्थामा फर्काएर चलाउनु पर्दा कति सञ्चारमाध्यम खत्रक्क थला पर्छन्। कति पत्रकारको जागिर जान्छ, अनुमान लगाउन सकिँदैन। जति सञ्चारमाध्यम र पत्रकारहरू जिम्मेवारीमा फर्किन्छन्, उनीहरूको अगाडि अजंगको सामाजिक सञ्जाल तथा समाजको विभाजित र विकृत मानसिकता अवरोध बनेर उभिएको हुनेछ। त्यसबेला न्यूनतम पारिश्रमिकसहित आवश्यक सुविधा दिन सक्ने सञ्चारगृह, सामाजिक सञ्जालले खडा गरेको चुनौती पार गर्दै गहन, खोजमूलक, परीक्षण गरिएका तथ्यहरूको विश्लेषण सहितको समाचार सामग्री तयार गर्नसक्ने दक्ष पत्रकार मात्र खरो उत्रिन सक्नेछ। त्यसका लागि सञ्चार गृहहरूलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सरकारको ठोस योजना, बजेट र कार्यक्रम हुन आवश्यक छ।
प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघजस्ता सञ्चार क्षेत्रका अग्रणी संस्थाहरूका अगाडि दक्ष एवं पेगागत मर्यादा र उच्च नैतिकताका साथ जिम्मेवार पत्रकारिता गर्ने पेसाकर्मीहरू उत्पादन गर्नुपर्ने दायित्व छ। अहिलेको जस्तो भीड होइन, आवश्यक संख्यामा सञ्चारमाध्यम र सञ्चारमाध्यलाई टिकाउन सक्ने विज्ञापनको बजार व्यवस्थित हुनुपर्छ। पत्रकारिता सधैं मगन्ते होइन, आफ्नो खुट्टामा उभिने सामथ्र्यसहितको हुनुपर्छ। अन्यथा ज्वालामुखी बनेर उभिन सक्ने सामाजिक सञ्जालको आक्रमणबाट पत्रकारितालाई बचाउन कठिन छ।
शर्मा, सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक हुन्।