फर्नान्डेजको सनसनी
न्युयोर्क : क्यानडाकी लोयला फर्नान्डेजले अमेरिकन (यूएस) ओपन टेनिसमा सनसनीपूर्ण यात्रालाई निरन्तता दिएकी छन्। सोमबार बिहान भएको अन्तिम १६ को भिडन्तमा सन् २०१६ की विजेता एन्जेलिक कर्बरलाई हराउँदै उनले क्वार्टरफाइनलमा स्थान बनाएकी छन्।
१९औं जन्मदिनको पूर्वसन्ध्यामा फर्नान्डेजले जर्मनीकी कर्बरलाई ४–६, ७–६(७–५), ६–२ ले स्तब्ध बनाइन्। त्यसअघि उनले तेस्रो चरणको खेलमा साविक विजेता जापानी स्टार नाओमी ओसाकालाई पराजित गर्दै सनसनी मच्चाएकी थिइन्। फर्नान्डेजले सेमिफाइनल प्रवेशका लागि युक्रेनकी पाँचौं वरीयता प्राप्त एलिना स्वितोलिनाको सामना गर्नेछिन्। एलिनाले रोमानियाकी सिमोना हालेपलाई ६–३, ६–३ को सेटमा पराजित गरेकी थिइन्। एलिना शीर्ष वरीयताकी अस्लेइघ बार्टी र तेस्रो वरीयताकी नाओमी ओसाकापछिको उच्च वरीयता प्राप्त खेलाडी हुन्।
न्युयोर्कस्थित लुइस आर्मस्ट्रङ स्टेडियममा कर्बरविरुद्ध सनसनीपूर्ण जित निकालेपछि फर्नान्डेज खुसीले उफ्रिएकी थिइन्। लगत्तै उनलाई स्टेडियममा उपस्थित दर्शकले उठेर सम्मान दिएका थिए। ‘म धेरै खुसी छु। कर्बरविरुद्धको खेल निकै रमाइलो भएको थियो’, फर्नान्डेजले भनिन्, ‘मैले र्याकेट समाउन थालेदेखि नै मेहनत गर्दै आइरहेको छु। ब्यावसायिक खेलाडीका रुपमा स्थापित गर्न गरेको मेहनतकै प्रतिफल आज पाएको हुँ। मलाई पूर्ण विश्वास थियो, ठूलो अन्तर्राष्ट्रिय मञ्चमा सनसनीपूर्ण जित निकाल्न सक्छु। त्यही आत्मविश्वासकै कारण मैले यो उपलब्धि हासिल गरेको हुँ।’
चार पटकको ग्रान्डस्लाम विजेता नाओमी ओसाका र तीन पटककी च्याम्पियन एन्जलिक कर्बरलाई पराजित गर्ने फर्नान्डेज तेस्रो युवा खेलाडी हुन्।