सुयोग्य नेतृत्व, सुसभ्य नागरिक

सुयोग्य नेतृत्व, सुसभ्य नागरिक

नेपालमा लामो समयदेखि सच्चा जनप्रेमी राजनीतिक नेता र नेतृत्व देशले प्राप्त गर्न सकेको छैन।


आधुनिक विश्व लोकतन्त्रको पक्षमा आफ्नो प्रतिबद्धता जाहेर गर्दैछ। सर्वसत्तावाद, तानाशाहीतन्त्र र साम्यवाद क्रमशः लोप हुँदै गएका छन्। राजतन्त्र भएका धेरै देशले यस संस्थालाई सामन्तवादको प्रतीकका रूपमा आत्मसात् गर्दै गणतन्त्र उन्मुख भइराखेका छन्। राजनीतिक प्रणालीका सबल र दुर्बल पक्षभन्दा पनि त्यसबाट देश र जनताले प्राप्त गर्न सकेको उपलब्धिका बारेमा विश्लेषण गर्ने प्रवृत्ति बढ्दै गएको छ। विश्वका अधिकांश देशले स्वीकार गर्दै गएका लोकतन्त्रवादी व्यवस्थासमेत संकटमा पर्दै गएको स्थिति छ। लोकतन्त्रका खराबीलाई यथासमयमा नियन्त्रण गर्न नसक्दा कतिपय देशले असल शासनको अनुभूति गर्न पाएका छैनन्। स्वतन्त्र र उन्मुक्त वातावरणमा बाँच्न पाउने अधिकारका कारण सम्पूर्ण प्राणीको आकर्षण बन्दै गएको लोकतान्त्रिक प्रणाली यसलाई नेतृत्व गर्ने कुपात्रहरूका कारण असफल हुँदै गएको र आलोचित बन्दै गएका उदाहरण विश्व परिवेशमा सघन रूपमा देखिन थालेका छन्।

देशमा कस्तो प्रकारको शासन प्रणाली छ भन्ने भन्दा यसलाई नेतृत्व प्रदान गर्नेहरू कस्ता शासकीय शैलीमा अभ्यस्त छन् ? भन्ने विषय बढी निर्णायक भएको पाइन्छ। लोकतन्त्रकै आधारमा शासन प्रणाली सञ्चालन गर्दै देशको भलाईका लागि तानाशाहकै रूपमा प्रस्तुति दिने शासकसमेत अपवादकै रूपमा भए पनि सफल प्रमाणित भएका छन्। यद्यपि तुलनात्मक रूपमा अन्य शासन प्रणाली अवलम्बन गर्नेभन्दा लोकतान्त्रिक प्रणालीलाई आत्मसात् गर्ने देशहरू नै समृद्धिको गन्तव्यतर्फ अघि बढेको स्थिति छ। अपवादबाहेक लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएकाहरू अत्यन्त भ्रष्ट देखिँदै गएका छन्। उपनिवेशमा रहेकाहरू, विदेशी हस्तक्षेपबाट आक्रान्त भएका देशहरूमा दासत्व प्रवृत्ति ज्यादा हुन्छ, यस्तो दासत्वले सबै प्रकारका विकृतिहरू आमन्त्रण गर्दछ। हाम्रो सामाजिक परिवेश, राजनीतिक प्रणाली, सुशासनको अवस्था सबै निर्धारित हुन पुगेको परिवेशलाई स्मरण गर्नुपर्ने हुन्छ।

हामी सधैं राजनीतिज्ञहरू र सरकारमा रहनेहरूलाई दोषारोपण गर्न अभ्यस्त छौं। हाम्रै बीचबाट शक्तिमा पुगेकाहरू सबै खराब र उनैलाई जिम्मेवारीमा पुर्‍याउने हामी नागरिक नै हौं। सबै इमानदार र कर्तव्यनिष्ठ एवं चरित्रवान् हुन सक्ने स्थितिको कल्पना गर्नु अत्यन्त असान्दर्भिक र अपरिपक्वता देखिनेछ। जनप्रतिनिधिहरू पनि बेइमान, स्वार्थी र भ्रष्टाचारीका रूपमा रूपान्तरित भएका छन्। गलत प्रवृत्तिको दास बनेका छन्। देशको जनसंख्याको मूल प्रवाह यसैमा अभ्यस्त छ। मतदाता नागरिक र राजनीति गर्नेका बीच अधिकारको भिन्नता छ। जनविश्वासविपरीत सबै प्रकारका अधिकारको दुरुपयोग गरी जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त हुन पुग्छन्। अर्को निर्वाचनमा तिनै आलोचित पात्रलाई मत दिन सहज महसुस गर्छन्। आफ्नो गलत निर्णयको आत्मसमीक्षा गर्दै अधिकारको सदुपयोग गर्दैनन्। यसरी चक्रीय प्रणालीका रूपमा नेपालमा विकसित भइराखेको छ। प्रतिनिधि र मतदाता दुवैले अधिकारको दुरुपयोग गरेको अवस्था प्रष्ट छ।

कतिपयले भने पटकपटक देशले अवलम्बन गरेको लोकतान्त्रिक प्रणालीको समेत खुलेर आलोचना गरिराखेको स्थिति छ। निर्वाचनमा मतदातालाई राजनीतिज्ञहरूले स्वीकृत गराएका छन् भन्ने आरोप  राजनीतिज्ञमाथि लागेको छ। अरूको अधिकार, स्वतन्त्रता, धर्म, रीतिरिवाज र संस्कृतिको सुसभ्य नागरिकको पहिचान दिँदै पूर्ण सम्मान गर्ने दृढता व्यवहारमा गर्न सक्नुपर्छ। समाजमा जातपात छुवाछूत आदिका आधारमा विभेदपूर्ण व्यवहार गर्दा हामीलाई थोरै मात्र पनि असहज हुँदैन। सम्पन्न र कुलीन ब्राह्मण परिवारको सदस्यले गरिब दलित परिवारको कन्यासँग मागी विवाह गर्न सक्ने साहस गर्न सक्दा मात्र छुवाछूत जस्तो सामाजिक अन्धविश्वासमा सुधार गरी सामाजिक परिवर्तन गर्न सक्दछौं। विभेदपूर्ण व्यवहारबाट उन्मुक्ति पाउन सक्छौं। यसका लागि सामाजिक परिवेशमा सुधार हुनु जरुरी छ। यस प्रकारको समाज सुधारकको रूपमा उपस्थिति दिन सक्ने व्यक्ति र त्यसलाई स्वीकार गर्ने समाजकै अभाव छ। यस परिवेशमा छुवाछूतविरुद्ध सैद्धान्तिक अभिव्यक्ति दिएर खासै प्रयोजन रहँदैन।

अधिकारको दुरुपयोग र भ्रष्टाचारजन्य व्यवहारलाई सर्वत्र भत्र्सना गर्न थालिएको छ। यसले सामाजिक विकृतिहरूको सुधार गर्नेछ।

व्यवहारमा स्वीकार गर्न नसक्दा विभेदपूर्ण व्यवहारको अन्त्य गर्न सम्भव हुँदैन। नेता जनतामा रहेको कमी, कमजोरीसँग परिचित छन्। त्यसैले जनतालाई स्वार्थअनुकूल प्रयोग गर्छन्। प्रयोजन सकिएपछि परित्याग गर्दछन्। यस यथार्थताको पहिचान गर्न सक्नुपर्छ। नेताहरूले यस प्रकार प्रयोग गरेकोमा उनीहरूलाई दोषारोपण गर्न सकेका छैनौं। निर्वाचन खर्चिलो भयो, निर्वाचनमा मत खरिद गरेर सत्तामा पुगेकाहरू अत्यन्त भ्रष्ट भएकाले निर्वाचन प्रणालीमा नै पुनरावलोकन हुनुपर्ने दाबी नागरिकले गरिराखेको देखिन्छ। हामी पनि आफ्नै क्षणिक स्वार्थमा बेचिएको पक्षलाई विस्मरण गर्दछौं। पवित्र मतको महत्त्वबोध हामीमा भएन। आफ्ना अनियमित कार्यहरूको संरक्षण गरी दिने राजनीतिज्ञप्रति हामी आकर्षित भई मतपत्रको सही प्रयोग गर्न नसकेको अवस्था छ।

आफूबाहेक सबैलाई भ्रष्ट देख्ने हामी आफैं भ्रष्ट भएकोतर्फ ध्यान दिनु आवश्यक छ। भ्रष्टाचारलाई दैनिकी बनाउँदै विकृतिको विरोध गरिराखेको अवस्था त छैन। आफूलाई फाइदा हुने अवस्थामा हामी स्वयं भ्रष्ट बनेको अवस्था छ। व्यापारी, उद्योगपति र कर्मचारीबीच देखिने मित्रवत् व्यवहार, ठेकेदार र इन्जिनियरका बीच लेनदेन, राजनीतिज्ञ र उद्योगी व्यापारीका बीचको गठबन्धन आदि भ्रष्टाचारका स्रोतहरू हुन्। दहेज प्रथाबाट आजित भई दाम्पत्य जीवन मात्र होइन, जीवनलीला नै जोखिममा पारेका महिलाले पति र घरपरिवारविरुद्ध न्याय प्राप्तिका लागि तयार भएको अवस्थासमेत उल्लेखनीय देखिँदैन। त्यसैले राजनीतिज्ञहरू पनि हामीजस्तै हुन्, हाम्रै व्यवहार कार्यशैली सीप, कलाकौशल सिकेर सत्तामा पुगेका हुन्। समाजले ठीक पथप्रदर्शन गर्न सक्दा यस प्रकारका सामाजिक विसंगतिहरू नियन्त्रण हुन सक्छ। अधिकांश नागरिक भ्रष्ट छौं, देशले अवलम्बन गरिआएको लोकतान्त्रिक पद्धतिमा इमानदार र नैतिकवान् व्यक्ति अपवादका रूपमा समेत नेतृत्वमा पाउन कठिन भएको छ।

इमानदार नेता सर्वजन हितायमा र धनी एवं गरिबका बीचको दूरीलाई कम गर्न समर्पित रहन्छ। कानुन कार्यान्वयन गर्ने निकायहरूमा भ्रष्टाचार नियन्त्रण गर्न लागि पर्दछ। राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको समृद्धिका लागि चिन्तन गर्दछ। सार्वजनिक निकायहरूलाई पारदर्शी बनाउन तल्लीन रहन्छ। स्वार्थलोलुप भ्रष्ट माफियाहरूलगायतका अपराधीलाई राजनीति गर्ने ढोका सधैंका लागि बन्द गर्न प्रयास गर्दछ। देशको रूपान्तरणका लागि दीर्घकालीन सोचका साथ काम गर्दछ। सार्वजनिक सेवालाई सहज, सरल र गुणस्तरीय बनाउन भगीरथ प्रयास गर्दछ। यी सबै परिणामस्वरूप समाजमा उसको कार्यशैली इमानदारिता र देश एवं जनताप्रतिको निष्ठाभाव व्यवहारमा परिणत हुँदै गर्दा जिम्मेवारीबाट वञ्चित हुनुपर्छ। लामो समयदेखि सच्चा जनप्रेमी राजनीतिक नेतृत्व देशले प्राप्त गर्न सकेको छैन।

लोकतन्त्रका लामालामा वक्तव्यबाजी नगरी व्यवहारमा देशका लागि केही राम्रा कार्यहरूको थालनी गर्ने इमानदार तानाशाहको शासन जरुरी देखिएको छ। तर जनताको पक्षमा कार्य गर्ने तानाशाह आफैंमा लोकतन्त्रवादी हुने भएकाले हाम्रो परिवेशमा यस प्रकारको नेतृत्व प्राप्त गर्ने सन्दर्भ उत्तिकै चुनौतीपूर्ण छ। खोजी गरे यस प्रकारको नेतृत्व देशले प्राप्त गर्न सक्छ तर प्रदूषित, भ्रष्ट र स्वार्थीहरूको बाहुल्य भएको प्रायः माफियाबाट नियन्त्रित समाजले यस प्रकारको आदर्श र समग्र समाजका लागि समर्पित हुने व्यक्तिलाई नेतृत्वमा पुग्न र निरन्तरता प्रदान गर्न दिँदैन। इमानदार नेताले पनि भ्रष्टाचारलाई समूल समाप्त गर्न सक्दैन तर कडा कारबाहीबाट हतोत्साही गर्न सक्छ। कारबाही गर्दा मृत्युदण्डको व्यवस्था भएका देशहरूले भन्दा सामाजिक दबाबबाट नागरिकहरूले क्रियाशीलता प्रदर्शन गर्दा भ्रष्टाचारजन्य अपराध घट्दै गएका छन्।

समाज एवं शासकीय शैलीमा सुधार भएको उदाहरण विश्व परिवेशमा पाउन सकिन्छ। उदाहरणका रूपमा चीनमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिइन्छ तर त्यहाँ भ्रष्टाचार खासै नियन्त्रण हुन सकेको छैन। राजनीतिक प्रतिशोध लिने हथकण्डाका रूपमा यो दण्डलाई प्रयोग भएको अवस्था छ। डेनमार्क समाजमा आएको सुधारबाट भ्रष्टाचार नियन्त्रण गर्न सफल हुँदै आएको छ। भ्लामिदिर पुटिन, सिल्भिया वार्लुस्कोनी, ह्युगो चाभेज सबैले भ्रष्टाचार नियन्त्रण गर्ने नारालाई शक्तिमा पुग्ने माध्यम बनाए तर परिणाम सकारात्मक दिन सकेनन्। हङकङमा नागरिक दबाब र सचेतनाकै कारण सामाजिक विकृतिहरूमा उल्लेखनीय सुधार भएको छ । वर्तमान समयमा नागरिकमा आएको चेतना, सञ्चारमाध्यमहरूको प्रभावकारिता, राष्ट्रिय चिन्तनका साथ सेवाभावले राजनीतिमा लागेकाको क्रियाशीलता देखिन्छ।

यस्तै कारण अधिकारको दुरुपयोग र भ्रष्टाचारजन्य व्यवहारलाई सर्वत्र भत्र्सना गर्न थालिएको छ। यसले सामाजिक विकृतिहरूको सुधारमा उल्लेखनीय सहयोग पुगी असल शासन कायम गर्न योगदान दिने स्थिति छ। त्यसैले सबै प्रकारका विकृतिहरूको नियन्त्रण गर्दै, देशलाई सुशासन र समृद्धिको दिशामा अभिमुख बनाउन समाजमा सबै प्रकारका सकारात्मक रूपान्तरण हुन अत्यावश्यक छ। एक वर्गले अर्को वर्गको आलोचना गरेर समस्याको समाधान सम्भव हुँदैन। सामाजिक रूपान्तरणका दिशामा हामी सबै प्रतिबद्ध नहुँदासम्म यस प्रकारका विकृति र विसंगतिमा मौलिक रूपमा सुधारको अपेक्षा गर्नु अस्वाभाविक हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.